‘बाबा ।’

‘भन छोरी ।’

सानी छोरी गृहकार्य गर्दै थिइन् । मिसले दिएको एउटा वाक्यांशको अर्थ नजानेर उनी अलमलिरहेकी थिइन् । आमालाई सोधिन् तर आमाले ‘मलाई थाहा भएन, बाबासँग सोध न छोरी’ भनेपछि उनले बाबासँग सोध्ने मनसाय बनाइन्  ।

‘बाबा, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ को अर्थ सिकाइस्यो न । मिसले भोलि यसको अर्थ भन्न सक्ने भएर आउनू भन्नुभएको छ ।’

‘मैले राम्ररी सुनिनँ, यतै आऊ त छोरी । म सिकाइदिन्छु ।’ कोठाबाटै बाबाले उत्तर दिनुभयो ।

छोरी बाबा बसेकै ठाउँमा गइन् र त्यही प्रश्न पुनः दोहोर्‍याइन ।

‘ए यसको अर्थ त निकै सजिलो छ नि । सुन, यसको सार भनेको जन्म दिने आमा र जन्मभूमिलाई हामीले धेरै माया गर्नुपर्छ भन्ने नै हो । अर्थात् जन्म दिने आमा र आफू जन्मिएको ठाउँ (जन्मभूमि) भनेका स्वर्गभन्दा पनि ठूला हुन्छन् भन्ने अर्थ यस वाक्यांशले बोकेको छ ।”

बाबाले यसो भनिरहँदा छोरी भने निकै ध्यान दिएर सुनिरहेकी थिइन् ।

“अब बुझ्यौ त छोरी ?” बाबाको छोरीलाई प्रश्न थियो ।

छोरीले टाउको हल्लाउँदै बुझेको सङ्केत गरिन् । आफ्नी बूढी भएकी आमालाई वृद्धाश्रममा पुर्‍याएका बाबाले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ को अर्थ सिकाएको उनलाई पटक्कै मन परेनछ क्यार । उनले त्यही प्रश्न बाबालाई गरिन् । बाबा हेरेका हेर्यै हुनुभयो । छोरीले यसो भनिरहँदा आमा पनि नजिक आइसक्नुभएको थियो ।