
कुनै समयको कुरा हो । एउटा विशाल राज्य थियो । शासकहरू अमरत्वको रहस्य खोज्दै थिए । उनीहरू विश्वास गर्थे – “जो कहिल्यै मर्दैन, ऊ नै सधैं सत्तामा रहन्छ ।”
राज्यका विद्वानहरू भन्थे, “अमरत्व शरीरमा होइन, कर्ममा खोज्नुपर्छ ।”
तर शासकहरू हाँस्थे । उनीहरू पुस्तक होइन, सुनका महलहरू जोड्थे । राजमार्ग होइन, आफ्ना बाटाहरू कोर्थे ।
समय बित्दै गयो । महलहरू अग्लिए । जमीन चिरिन थाल्यो । दरबारभित्र उत्सव चलिरह्यो । बाहिरका बस्तीहरू उजाडिए । सिंहासनमा बसेकाहरू एकअर्कासँग खेल्न थाले । खेल सत्ताको, खेल अधिकारको ।
राज्यमा एउटा अनौठो नियम थियो । हरेक दशकमा सिंहासन फेरिनुपर्थ्यो । सिंहासन पाउँथ्यो, ऊ अर्को दशकसम्म सुरक्षित रहन्थ्यो । प्रश्न उठ्थ्यो – “सिंहासन कसरी जित्ने ?”
यसका लागि एउटा अदृश्य खेल थियो । खेल नदेखिने थियो, तर चलिरहन्थ्यो । कोही देखिने थिए । कोही छायामा बसिरहेका थिए । कसैले युद्ध जित्थे । कसैले शब्दहरूको पासा फाल्थे । यो खेल कहिल्यै रोकिएन ।
जसले जसरी जिते पनि, सिंहासन उस्तै रहन्थ्यो । समयका साथ अनुहार बदलिन्थे । सिंहासनको नियम बदलिंदैनथ्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

