रमा कुर्सीमा थाकेको मान्छेझैँ ढल्केकी थिइन् । श्रीमान् कोठामा बसेर अफिसको काम गर्दै थिए, छोरा छोरी स्कूलको प्रोजेक्टमा व्यस्त । परिवेश शान्त थियो । चिसो भइसकेको चियातिर एक नजर डुलाएर सोचमा थिइन् किनकि उनको मनभित्र आँधी चलिरहेको थियो।

आज विद्यालयमा ‘समाज विज्ञान’ पढाउँदै गर्दा एउटी छात्राले सोधेकी थिइन्, “म्याम, तपाईंले पढाउनु भएको नारी स्वतन्त्रताको आशय आफैँ कसरी बुझ्नु र व्यवहारमा उतार्नु हुन्छ ?”

उनी झसङ्ग भएकी थिइन् । हिजोआज उत्तर सोचेर-सम्झेर दिनुपर्छ । छात्राहरूको सोचनीय विचार धाराहरू उच्च छन् । विषयलाई गम्भीरतापूर्वक प्रस्तुत गर्नु छ ।

उनले धैर्यतापूर्वक बोलिन्, “जब नारीले आफ्ना निर्णयहरू आफैँ गर्न थाल्नेछन्, त्यही स्वतन्त्रता हो ।”

तर यो प्रश्नले उनको भित्रसम्म घोचिरह्यो । आफ्नो उत्तरमा सन्तुष्टि थिइनन् ।

“के म स्वतन्त्र छु ?”

उत्तर मनभित्र सलबलाउन थाले, “कसैले उनलाई कलेज पढ्न रोकेको थिएन । शिक्षिका बन्नबाट पनि रोकको पाइएन । स्वतन्त्र आवाज उठाउन सक्छिन् । नारी हित र अधिकारको कुरा गर्दा भाषणमा ताली पड्किँदा आफ्नो नेतृत्वमा गर्वको अनुभूति हुन्छ ।”

तर…

बिहान कुन रङको सारी लगाउने ? बेलुका कुन साथीलाई भेट्न जाने ? बजारबाट के किन्न पाइन्छ र पाइन्न, यी सबै निर्णय अरूले गर्छन् । भनौं अरूको रुचिको पछि लाग्दालाग्दै आफ्नो रुचिको विषय बिर्सेकी थिइन् ।

रमा भित्रभित्रै हराउँदै बाँचिरहेकी थिइन् । रङ र रुचिमा आफ्नो अधिकार नै छैन भने, ज्ञानको के मूल्य ? शिक्षण नै छैन भने, शिक्षकताको के अर्थ ?

त्यस साँझ उनले पहिलो पटक श्रीमानलाई केही सोधिनन् । सिधै भनिन्, “मलाई अबको आइतबारदेखि दुई घण्टा समय आफ्नो लागि चाहिन्छ ।”

श्रीमानले अलिक अचम्मित र मौन बसेर हेरिरहे ।

उनी मुस्कुराइन्, किनभने जवाफ जे आए पनि, आज उनले आफ्नो लागि पहिलो पटक सिमाना मिचेकी थिइन् ।