“आमा ! बाबालाई आज स्कुलमा राम्रो नयाँ लुगा लगाएर जानु अरे भन्दिनु है, सबैका बाबा राम्रा लुगा लगाएर आउँछन्, मलाई सरम हुन्छ, सबै साथीहरूले जिस्काउँछन् ।”

स्कुलको वार्षिक उत्सवको कार्यक्रममा जाने तरखर गर्दै श्यामले आमालाई सम्झाउँदै भन्छ ।

“मैला कपडा पो नलाउनु त नानी ! हामी गरिबले नयाँ लुगा फेरी-फेरी लगाएर हिँड्न कहाँ पुग्छ र ? हामी दुईले दुखेसो गरेर कमाएको धन तेरै पढाइको निम्ति खर्च गरिरहेका छौँ । तँलाई शिक्षित बनाएर आफ्नो खुट्टामा उभ्याउने बनाउन सके हाम्रो सपना पूरा हुन्थ्यो।”

दुःखको परिभाषा नअटाउने कलिलो दिमागले केही बुझेजस्तो गर्दै श्याम बाटो लाग्छ।धनमाया एक छिन केही सम्झिएर टोलाए पश्चात्  छोरो गएको परसम्म हेर्छिन्।

जयप्रकाश  र धनमायाको एक मात्र सन्तान श्याम।निम्न वर्गीय परिवार, सानो कोठेबारीमा सब्जी खेती गरेर बेचबिखन गरी छोराको पढाइसँगै  घर खर्चका लागि आयस्रोतको माध्यम पनि त्यही नै थियो। दुवैको आशा, भरोसा र सपना केवल छोराको भविष्य थियो।

आज श्यामको स्कुलको  वार्षिक उत्सव, विभिन्न कार्यक्रमसँगै अभिभावकले पनि आफ्ना विचार पोख्ने कार्यक्रम राखिएको थियो।

बोल्न इच्छुक अभिभावकलाई अघि आउने अनुमति उद्घोषकले दिएपछि  प्रायः अभिभावकहरू क्रमैले आफ्नो विचार राख्दै गए ।

अन्तमा जयप्रकाशको पालो आयो र उनले स्कुलबारे कुरा राखेपश्चात्  विद्यार्थीले बुझ्ने लवजमा-शिक्षासँगै संस्कारका कुरा  राखे । सानु-ठुलो, उच्च-निचको भाव त्याग्ने कुरा गरे । परिश्रमको अर्थ सम्झाए । धनको र मनको, धनी-गरिबको अन्तर प्रस्ट्याए । निम्न वर्गीय परिवारहरूका कथा-व्यथा समेटेर अन्तमा शिक्षा नै अमूल्य धन हो भन्नेबारे प्रस्ट पार्दै मन्तव्य टुङ्ग्याए।

श्यामले सुन्दर दृश्य देख्यो- ‘आफूलाई बाबाको पुरानो  लुगालाई लिएर जिस्काउने साथीहरूसँगै पढाउने शिक्षक-शिक्षिकाले  जोडदार ताली बजाए। पुराना लुगा लगाएका बाबा आज उसलाई संसारकै राम्रो, धनी एवम् असल बाबा जस्तो लाग्यो !

रालिङ्ग-कोकले, पूर्व सिक्किम