“जाबो हाकिमले भन्दैमा हुन्छ ? मेरो मन लागेको पोशाक लगाउँछु,” मासिक भनिने चौमासिक स्टाफ मिटिङमा कार्यालय पोशाकको कुरा उठेपछि क्यान्टिनमा नवदीप लामिछाने कुर्लिए ।
“कार्यालयको आचारसंहिता र मर्यादा त सबैले पालना गर्नुपर्छ हाकिमले त्यति त भन्छन् नै । भन्नुपर्ने कर्तव्य हो ।” भर्खर नियुक्त भएका बलबहादुरले सुस्त तर कडै दिए ।
“तपाईं भर्खरै नियुक्त हुनुभएको छ सर ! नियम कानून र आचारसंहिता हामीलाई नसिकाउनुभए हुन्छ ।” हाकिमले काम अह्राउने बित्तिकै राजीनामा दिन्छु भन्दै वर्षौं जागीर खाइरहेका कृष्णले बलबहादुरलाई आँखा तरे ।
कार्यालय प्रमुखले अह्राएको, जिम्मा लाएको काम सजिलै गर्ने, अन्य सहकर्मीहरूमाझ पनि मिलनसार बलबहादुरको कुरा ठीकै थियो । सबैलाई मनमा ठीकै लागे पनि उनको पक्षमा बोल्न कोही देखिएनन् ।
बलबहादुर इमानदार र सहयोगी मात्रै थिएनन्, नियम कानूनको पालना कर्मचारी तथा जनता सबैले गर्नुपर्छ भन्ने मान्यता राख्थे । त्यसैले कुनै दलको भातृसंगठनको सदस्य समेत लिएका थिएनन् । उनी विशुद्ध जनताको काम गर्ने हो भने राजनीतिक दलको चाकडी आवश्यक पर्दैन भन्थे ।
कार्यालयमा पोशाककाण्ड चले पनि पुराना कर्मचारीहरूले यसलाई खासै परिवर्तन गरेन । बलबहादुर र २/४ जना अरू कर्मचारीहरू बाहेक अरूले ड्रेसको पालना गरेनन् । उनीहरूलाई न त जनताको कामको चिन्ता थियो न त आचारसंहिता र नियम कानूनको नै । खाली शुक्रवारे पार्टीको जोहो गर्ने र एक अर्काको कुरा काट्नमै उनीहरूको दैनिकी चल्दथ्यो । कुनै पनि हाकिमले उनीहरूलाई कारबाही त के ठाडो मुखले किन यसो गर्नुभएको भन्ने समेत हिम्मत राख्दैनथे । सबै खालका नेताहरूसँग उनीहरूको उठबस चल्थ्यो ।
वर्षाको समय, कार्यालय आउँदा लडेर बलबादुरको कपडा लगाउनै नहुने भयो । एकमनले त कार्यालय नगई घर फर्किने विचार गरे । फेरि असार मसान्त आइपुग्ने बेलामा धेरै मान्छेको काम अड्किने बुझेपछि बाहिरी पोशाक लगाएरै कार्यालय पुगे ।
त्यो दिन अचम्मै भयो
बलबहादुर बाहेक सबै कर्मचारीले पोशाक लगाएर कार्यालय आएका थिए ।
सोही दिन प्रशासनबाट छड्के टोली आयो र बलबहादुरलाई कार्यालयको पोशाक नलगाएकोमा कारबाही भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
७ माघ २०८२, बुधबार 










