“मन्त्री ज्यू ! हजुरको आदेशमा हरेक पसलबाट ऐना नियन्त्रणमा लिने काम सम्पन्न भयो ।” कामको प्रगति विवरण सुनाउँदै सचिवले भन्यो ।

“राम्रो ! ल ठिक छ । यसरी नियन्त्रणमा लिएर मात्र हुँदैन; यसको आयातमा पनि प्रतिबन्ध लगाउनुपर्छ । भन्सारलाई आदेश जारी गर्नुहोस् ।” मन्त्रीले आदेश दिए ।

“यी ऐनाहरू कहाँ राखौँ मन्त्रीज्यू ? यतै मन्त्रालयको भण्डार कक्षमा राख्दा कसो होला ?”

“अहँ ! हुँदै हुँदैन । सबै ऐनाहरूलाई नष्ट गरिदिनुहोस् । मेरो सामु ल्याउँदै नल्याउनोस् ।”

“हस् मन्त्रीज्यू ! तर मेरो मनमा एउटा जिज्ञासाले घर गरिरहेको छ, आज्ञा भए राख्ने थिएँ ।”

“क्या यार ! तपाईँ त मेरो सचिव, प्रश्न सोध्न पनि अनुमति लिइराख्नुपर्छ र ? निर्धक्क भन्नोस् के कुरा हो ?”

“माफ पाऊँ मन्त्रीज्यू ! हजुर त जति बेला पनि ऐना अगाडि उभिने मान्छे, एक्कासि यो ऐनाप्रति यत्रो वितृष्णा किन ? घृणा किन ?”

“प्रश्न सोधिहाल्नुभयो, जवाफ दिऊँ कि नदिऊँ ? तर तपाईँलाई मात्र सुटुक्क भन्छु, बाहिर नजाओस् है । खासमा पछिल्लो समय ऐनाले पनि मसँग गद्दारी गर्‍यो यार ! मेरो अनुहारमा अपराधीको अनुहार देखाउन थाल्यो ।”