दुई जना भिखारीहरु एउटै गल्लीमा बस्ने गर्थे । प्रत्येक दुख- सुख, हिउँद-बर्खा सँगै झेल्ने गर्थे । कहिले भोकै सुत्ने गर्थे त कहिले भिज्दै ।

हिजो एउटा भिखारीले दिनभरिमा पचास रुपैयाँ भिखमा पाएर एक पाकिट पाउरोटी किनेथ्यो र दुवैले बाँडेर खाएका थिए किनभने दोस्रो भिखारीले एक रुपैयाँ भिख पाउन सकेको थिएन ।

आज भने दोस्रो भिखारीले साठी रुपैयाँ प्राप्त गरेछ र पहिलोको हात खाली भएछ । दोस्रो भिखारीले एक पाकिट पाउरोटी

दिपेन्द्र आचार्य

किनेर एक्लै कुपुकुपु खान थाल्छ । पहिलो चाहिँले उसलाई साथीले रोटी नदिने कुरो बुझेर सोध्छ

“आज कति कमाइ भो ?”

“साठी रुपैयाँ ” दोस्रो भिखारीले उत्तर दिन्छ।

प्रत्युत्तरमा पहिलो बोल्छ, “त्यसो भने बचेको दस रुपैयाँ मलाई देउ न ! म भोलि फिर्ता दिन्छु। आज मैले त एक रुपैयाँ पाइनँ। असाध्यै भोक लागेको छ।”

” तिम्रो जस्तै भोलि मेरो पनि कमाइ नहुन सक्छ यसैले यो दस रुपैयाँ भोलिको लागि राखेको हुँ । यो तिमीलाई दिन मिल्दैन।” यति भनेर बोतलको पानीसँग पाउरोटी कुपुकुपु खान थाल्छ।

पहिलो भिखारीले आफ्नो मित्रलाई एक पटक निर्निमेष हेर्छ अनि पुरानो च्यादर ओडेर भोकै सुत्छ।
दोस्रो भिखारी भने पाउरोटी खाइरहन्छ कुपुकुपु…