गाउँलेहरूले भ्यागुताको बिहे धूमधाम सँग गरे ।

जन्ती गएर आएपछि दुखीरामले निधारको पसिना गम्छाले पुछ्दै भन्यो, “हेर ! धनेकी आमा अब त पानी पर्छ होला, बाँझो खेत पानीको घुट्को नपाएर चिरा-चिरा परेर खङ्ग्रङ्ग भएको छ । यस पटक बारीमा मकै पनि छर्न पाइएन असार सुरु भैसकेको छ, बिउ राखेको पनि छैन यस पालि समयमा धान रोप्न पनि नपाइने हो कि खै !”

दुखीरामले दुख बिसाउँदै बुढीलाई जम्मै पीडाहरू एकै पटक ओकल्यो । साँझपख आकाशमा बादल मडारियो । दुखीरामको चिन्ता बादलसँगै आकाशमाथि उडिसकेको थियो । धनेकी आमा खुसी हुँदै बाहिर निस्की र आकाश तिर हेर्न थाली,  “आज त पानी पर्ला जस्तो छ । साँच्चै भ्यागुतोको बिहे गरेपछि पानी पर्दो रहेछ है धनेको बा !”

उसको अबोध आश्चर्यजनक जिज्ञासाको जवाफ दुखीरामसँग थिएन ।

“खै कसरी पर्छ के थाहा पानी परे त भई गो नि, किन तँलाई खोजीनिती  चाहियो ।” दुखीरामले बुढीलाई आफ्नो अज्ञानता लुकाउने प्रयत्न गर्दै सम्झाउन खोज्यो ।

रातभर हुरी, बतास सहित ठुलो पानी दर्कियो । दुखीरामको घरको छानो उडायो । घरभित्र पानीको आहाल जमेको थियो । भ्यागुताहरू उफ्रेर रमाउँदै थिए  ।

घरनजिकै उर्लिएर सुसाउँदै बगेको खहरेको आवाजले दुखीरामको कान नराम्रो सँग चिमोट्यो ।

हेटौंडा-४