सहायक सडकलाई पनि छोडेर साँघुरिएको भित्री गल्लीमा पर्छ मेरो घर । गल्ली साँघुरो भएकै कारण बटुवाहरू खासै त्यताबाट हिँड्दैनन् । तर त्यस दिन म जागिरबाट घर फर्कँदा केही नौला मान्छे मेरो टोलबाट फर्किरहेका थिए । तीमध्ये केहीसँग आँखा जुधे ।
अझ अगाडि बढेपछि देखेँ मेरो घरको सामुन्ने अघिल्तिरको घरअगाडि केही मान्छे जम्मा पनि भएका थिए । तीमध्ये केहीले कपाल खौरिएका थिए । साँघुरो गल्लीको आमनेसामने भएकाले ती मान्छेहरूबाट मेरो घर छिर्ने बाटो छेकिएको थियो । प्रायः अनुहार परिचित नै थिए । केही अपरिचित पनि थिए ।
“मर्यो जस्तो छ !” मनको शङ्काले मेरो तनलाई छिमेकतिर डोर्यायो । नजिकै पुगेर माहोल हेरेपछि पक्का भयो, हो रहेछ । दलखम्बे मरेछ । जलाएर भर्खर फर्किएका रहेछन् ।
दलखम्बे केही वर्ष अघिबाट थला परेको थियो । घरको धुरीमा उम्रिएको पिपल जसरी क्यान्सरका कोषिकाहरू दलखम्बेको शरीरभित्र मौलाइरहेका थिए । औषधी विज्ञानले हात उठाइसकेको थियो । ऊ आफ्नै जीवनको भारीले थिचिएको थियो । स्याहार्नेहरू पनि झिँजिन थालिसकेका थिए । न स्याहार्नेलाई जाँगर थियो न त बाँच्नेलाई रहर । आज मरेछ । लामो समय दु:ख पाएन । राम्रै भयो ।
उसको घरभित्र हेरेँ । छिँडीको एउटा कुनामा कोरा लगाएर नीरव बसेको रहेछ । हाम्रा आँखा चार भए । “लौ ! कतिखेर ? थाहै पो भएन,” मेरो मुखबाट निस्कियो ।
“अघि ब्यान, एघार बजे,” एक अपरिचितले भने । मेरो ध्यान उनीतर्फ खिचियो । हातमा पुस्तक समातेका थिए, ‘अथ: अन्त्यपद्धति’ । “पुरेत जस्तो छ,” मनमनै लख काट्दै घर फर्किएँ ।
०००
घरभित्र छिर्दाछिर्दै दीपाले भनी, “था पाइस्यो ? दलखम्बे मर्यो नि !”
“अँ, था पाएँ ! भर्खर पसेर आएको ।”
“उत्तिखेरै फोन गरेर सुनाइदिऊँ कि जस्तो लाग्याथ्यो । ‘घाटमा जाने होइन होला त । होस् !’ भनेर सुनाइनँ । … कस्तो राम्रो दिनाँ मर्यो, हरिशयनी एकादशी । हरिसँगै सुत्यो । सिधै वैकुण्ठ जालाजस्तो छ,” दीपा मज्जाले हाँसी ।
म केही बोलिनँ । दीपा खाजा ठिक पार्न थाली । म लुगा फेर्न थालेँ ।
हो ! दीपाले भनेकी ठिकै हो । बेलैमा जानकारी भएको भएपनि सायद म घाटमा जाने थिइनँ होला । न जान्थेँ कि पनि ? थाहा छैन । मेरो स्वभावै त्यस्तै छ, अपरिपक्व ।
हुन त नीरव पनि मेरो बाको मलामी गएको थिएन । न त मेरो बिहेमा जन्ती नै गएको थियो । हामी एकअर्काका न जन्ती हौँ, न त मलामी । मात्र छिमेकी हौँ । निरस छिमेकी ।
छिमेकमै जन्मिएर पनि आजसम्म नीरवको पाइला मेरो घरभित्र परेको छैन । म भने उसको घरभित्र केही पटक पसेको छु । केही पटक कामै परेर, केही पटक काम नपरी आमाबाको आँखा छलेर ।
नीरव र म केटाकेटी उमेरदेखि सँगै पढेका साथी हौँ । तर साथीको साथ घरबाहिर मात्र सीमित छ । मित्रता स्वच्छन्द छैन । केही सीमाहरू छन् । मलाई सानैदेखि पढाइएको छ, “यिनीहरूसँग एउटा दूरीमा बसेर मात्र सङ्गत गर्नुपर्छ ।”
त्यही दूरीभित्रै पर्छ कहिलेकाहीँको लुकीछिपी खाने र पिउने, तर घरबाट अलि टाढा, कुनै कान नभएका चार भित्ताभित्र थुनिएर मात्र ।
०००
दलखम्बे बसेको घडेरी मेरा हजुरबाले कुनै उच्चपदस्थ व्यक्तिलाई बेच्नुभएको रे । थोरै, पैसाको आवश्यकताले । त्योभन्दा धेरै, ठूलो रूखको ओत पाउने आशामा । तर पछि ती उच्चपदस्थ दलखम्बेलाई घर बेचेर हिँडेछन् । त्यही घटनाले हजुरबालाई आफ्नो जीवन पूरै खल्लो महसुस गराएछ ।
दलखम्बे विदेश पठाउनका लागि धातुका भाँडाकुँडा बनाउँथ्यो । साह्रै मिहिनेती थियो । उसले आफ्नै छिँडीमा ज्यासल थापेको थियो । आधा रातसम्म पाखुरा बजार्थ्यो । बिहान पनि उषाकालमै परिश्रम रोप्न बस्थ्यो ।
मैले सम्झन सक्ने उमेरदेखि नै बिहान निद्राबाट बिउँझदा दलखम्बेको ज्यासलबाट आएको ‘ट्याकट्याक ! ट्याकट्याक !’ पहिलो आवाजको रूपमा मेरो कानमा ठोकिन्थ्यो । निकै बेरपछि त्यही आवाजसँग मिसिएर हजुरबाले बजाउनुभएको शङ्खघण्टको आवाज आएपछि म ओछ्यान छोड्थेँ । नत्र ढिलोसम्म सुतेको भनेर हजुरबाले गाली गर्नुहुन्थ्यो ।
राति सुत्ने बेला पनि दलखम्बेको सीपको लयबद्ध ‘ट्याकट्याक ! ट्याकट्याक !’ को तालमा निदाउँथेँ । हजुरबा भने त्यही आवाजबाट झिँजिएर थक्थकी मान्दै बेलाबेला भन्नुहुन्थ्यो, “राहु ! आफू त भागिहाल्यो । तेसका रथ भने पण्डितका दैलोमा ठड्याएर गयो । … थुक्क बज्या ! सधैँ ब्यानब्यानै शूद्रको दर्शन गर्नपर्ने गराइदिस् !”
फेरि सम्हालिएर भन्नुहुन्थ्यो, “हुन त मानव भएर मानवलाई नै हेलाँ गर्नु पनि अपराधै हो । यिनकै सीपले हाम्रो दैनिकी चल्याछ । तर के गर्नु हामीले संस्कारै गलत पायौँ । सिकाउनेले जस्तो सिकाए हामीले त्यस्तै गर्यौं ।”
हजुरबा अझै जोस्सिनु हुन्थ्यो र भन्नुहुन्थ्यो, “खासमा वास्तविक राहु त जयस्थिति मल्ल हो । पानी चल्ने नचल्ने भनेर जात छुट्याएर बज्ज्याले समाजलाई नै विखण्डित गराइद्यो । एउटै रगतका मान्छे कसैलाई ब्यासानमा राख्द्यो । कसैलाई पशुभन्दा तल्लो स्तरमा राख्द्यो । थुक्क अपराधी !”
मेरो उमेर अलि केटाकेटी नै थियो । एक दिन हजुरबाले सधैँ पूजा गरिराखेको अण्डाकार शालिग्राम दिएर मलाई दलखम्बेकहाँ पठाउनुभयो । दलखम्बेले घर्राबाट चाँदीको जलहरी निकाल्यो । हेर्दाहेर्दै शालिग्रामलाई जलहरीको माथिल्लो भागमा जड्यो । तुरुन्तै आधारसहितको सुन्दर शिवलिङ्ग तयार भयो । अनि भन्यो, “खोइ, बुड्बाजेलाई बोलौनू त ।”
मैले बाहिर निस्केर हजुरबालाई बोलाएँ । मुखको सुपारी थुक्दै आउनुभयो । अनि दलखम्बेको ढोकामा उभिएर भन्नुभयो, “ठिक छ ! राम्रो बनाइछस् ।”
शिवलिङ्ग दिनुअघि दलखम्बेले सोध्यो,” ढोग्न मिल्च बाजे ? छोइ त हालेँ ! “
“हुन्छ । ढोग् न !”
दलखम्बेले शिवलिङ्ग आफ्नो निधारमा छुवायो र मलाई दियो । घरभित्र छिर्नुअघि हजुरबाले म लगायत शिवलिङ्गमा सुनपानी छर्कँदै संस्कृतका केही श्लोक वाचन गर्नुभयो ।
हाम्रा त्यस्ता सानामसिना काम दलखम्बेले धेरै गर्यो तर कहिल्यै ज्याला लिएन । पुण्य महसुस गर्दै आत्मरतिमा रमाएर बस्थ्यो ।
०००
दलखम्बे अग्लो कदको थियो । सोरिएको गोरो अनुहार र कुहिरा आँखा थिए । तिलचामले कपाल सपक्क कोर्थ्यो । नाकछेउको काफल कोठीले उसको सौन्दर्य बढाएको थियो । दलखम्बेलाई देख्दा बेलाबेला कवि मनु मञ्जिलको ‘दुस्मन’ कविता सम्झन्थेँ । दलखम्बेको ठाउँमा आफूलाई उभ्याएर मनमै भन्थेँ, “ऊ मलाई फोहरजस्तै घृणा गर्छ । म उसलाई फूलजत्तिकै मन पराउँछु ।”
भनिसकेँ, मेरो परिवारको दलखम्बेसँग व्यक्तिगत दुस्मनी केही छैन । दुस्मनी छ त केवल संस्कार र जातीय अभिमानको । त्यो पनि एकतर्फी । दलखम्बेले मात्र होइन, उसको सिङ्गो परिवारले मेरो परिवारलाई आदर गर्छ । श्रद्धा पनि गर्छ । त्यसैले आजसम्म समाजले उनीहरूलाई उभ्याएको धरातल दलखम्बेको परिवारको कुनै पनि सदस्यले बिर्सिएन । मेरो परिवारको आस्थामा ठेस लाग्ने काम आजसम्म गरेन । मेरो जातीय समुदायले आफूलाई उसको समुदायभन्दा उँचो देख्छ । उनीहरूलाई छालाको थैलो लिएर सूर्यचन्द्रलाई छोप्न हिँडेको राहुझैँ ठान्छ ।
मेरा हजुरबा बनारसमा पढेका हिन्दु धर्मशास्त्रका ज्ञाता हुनुहुन्थ्यो । बुवाले पनि हजुरबाबाट शास्त्रको धेरथोर ज्ञान लिनुभएको थियो । त्यही परम्परालाई कायम राख्दै बुवाले मलाई शास्त्रीय अध्ययन गराउने प्रयास गर्नुभएको थियो । तर मेरो मुन्टो नकारात्मक दिशामा बटारियो । बुवाले दबाव भने दिनुभएन ।
दलखम्बेका बाबुआमाको तिथि मेरा हजुरबालाई कण्ठै थियो । तिथिको हप्तादश दिनअघि दलखम्बेका घरतिर फर्केर भन्नुहुन्थ्यो, “ए ! दलखम्बे ? बाउको श्राद्ध गर्छस् कि गर्दैनस् ?”
“गर्छु नि बाजे ! किन नगर्नु ?” दलखम्बेले अनुहार उज्यालो बनाउँदै भन्थ्यो । अनि हजुरबाले श्राद्धको मिति तोकिदिनुहुन्थ्यो । अलिअलि श्राद्धको विधि पनि बताइदिनुहुन्थ्यो । दलखम्बे चाख दिएर सुन्थ्यो र बीचबीचमा केही प्रश्न पनि गर्थ्यो ।
मलाई थाहा भएसम्म दलखम्बेको कुनै पुरोहित थिएन । हजुरबा सिकाइदिनु पनि हुन्थ्यो, “भए भानिज वा ज्वाइँलाई राखेर गर्लास् । नभए चेलीबेटी भए पनि हुन्छ । आफूले देखेसुनेसम्मको विधि र पाठ नछोडेस् । नजानेको छोड्दा दोष लाग्दैन ।”
त्यति सुन्न पाउँदा पनि दलखम्बे कृतज्ञ देखिन्थ्यो ।
एक दिन हाम्रो घरमा मैले नचिनेका पाहुना आएका थिए । लगभग हजुरबाकै उमेरका । उहाँहरू बाहिर बरन्डामा बसेर गफ गर्दै हुनुहुन्थ्यो ।
दलखम्बेका घरमा पनि छुट्टै चहलपहल थियो । दलखम्बे शरीरको तल्लो भागमा गम्छा मात्र बेरेर बाहिर निस्कियो । माथिल्लो भाग भने नाङ्गै थियो । पीताम्बर हो वा के हो एउटा पहेँलो धरोलाई जनैजसरी लगाएको थियो ।
“ओइ मोरा ! तेरो के हो त्यो ? जनै हो ?” पाहुनाले सोधे ।
“हो बाजे,” दलखम्बेले हाँस्दै भन्यो ।
“अनि के अपसभ्य लाको त? सभ्य बन् !” पाहुनाले झोक्किएर भने ।
दलखम्बेले पनि डराएजस्तो गर्यो र सोध्यो, “त्यो भन्या के बाजे ?” पाहुना केही बोलेनन् । रिसाए जसरी बसे । हजुरबाले बताइदिनुभयो, “जनै सधैँ देब्रे काधाँ चैँ अड्याउनपर्छ के ।”
“ए ! थाई थेन बाजे,” दलखम्बेले तुरुन्तै आफूलाई सुधार्यो ।
“दलितलाई शास्त्र सिकाउँदै पनि के हिँड्नु ! देख्या कुरो बोल्न पनि मन लागिहाल्नी । गाह्रो छ,” पाहुनाले भने । हजुरबा केही बोल्नुभएन । उहाँहरूको गफको प्रसङ्ग अन्तै मोडियो ।
एकैछिनमा दलखम्बे पिण्ड राखेको टपरी हातमा बोकेर निस्कियो । पाहुना कराइहाले, “कति छिटो सकिस्, ए बज्या ? पिण्ड बाट्दैमा श्राद्ध सकिन्छ ?”
“के गर्नु त बाजे ? जान्या त्यत्ति हो । सिकौनी कोई छैन,” जवाफ दिँदै दलखम्बे पिण्ड सेलाउन गयो ।
“यसको त थुतुनो पनि छुरा रै’छ । तुरुन्तै जवाफ पो लाउँदो रै’छ ए ! … तपैँलाई त झन् कति गाह्रो भा होला ? सधैँ राहुको रथाँ टाँस्सेर बस्न ।”
पाहुनाले बाटो तताए । उनी गएपछि हजुरबाले हामीलाई भन्नुभएथ्यो, “यी प्रकाण्ड विद्वान् हुन् । असाध्यै चोखोनितो खोज्छन् ।”
०००
मेरा हजुरबाको देहान्तपछि दलखम्बे अलमलमा पर्यो । उसलाई बाउको तिथि सम्झाइदिने मान्छे नै भएन । अघिल्लो साल श्राद्ध गरेको मितिका आधारमा तिथि लेखेर बुवाले एउटा चिर्कटो दलखम्बेलाई दिनुभयो । दलखम्बेलाई तिथि सम्झाइरहन भने बुवाले आवश्यक ठान्नुभएन । बरु कता हो नेपालीमा श्राद्धको विधि लेखिएको किताब फेला पार्नुभएछ । ल्याएर दलखम्बेलाई दिनुभयो । त्यसपछि नीरव छेउमा बसेर किताब पढ्दै बाउलाई सिकाउन थाल्यो । अनि दलखम्बेको श्राद्धगराइ अलि लम्बियो । त्यो किताब र तिथि लेखिएको चिर्कटो दलखम्बेले सुरक्षित राखेको थियो ।
साधारण पात्रो हेर्न मैले सानै उमेरमा जानेको थिएँ । हजुरबाको शेषपछि दलखम्बेले मलाई तिथि सोध्न थाल्यो ।
तर दलखम्बेलाई बुढ्यौलीले थिच्न थालेपछि धेरै कुरा बिर्सन थालेको थियो । पोहोर साल घरबाट म बाहिर निस्कने बेला पारेर दलखम्बे बाहिर कुरेर बसेको रहेछ । मलाई देख्नासाथै हातको चिर्कटो अघि बढाउँदै भन्यो, “तिथि हेर्दिनू न सान्बाजे ।”
मैले चिर्कटो समातेँ । अनि मोबाइलमा पात्रो खोलेर हेर्दै भनेँ, “लौ ! तिथि त कटिसकेछ । अस्ति सात गते नै गर्नपर्ने ।”
दलखम्बेको गोरो अनुहार एकाएक अँध्यारो भयो, “ल ! पोर त उनन्तीस गते गर्या । फेरि राम्ररी हेर्नू त बाजे ।
“होइन के, गतेले हुन्न । सात गते नै हो । यसपालि छिटो छ, मलमासले ।”
दलखम्बे केही बोल्न सकेन । खिन्न भएर उभिरह्यो । मैले नै भनेँ, “क्यै छैन । अब आउने औँसीमा गर्न मिल्छ । उन्नाइस गते शनिबार गर्नू ।”
दलखम्बेको उदासी केही कम भयो ।
मैले तोकिदिएको दिन दलखम्बेले बाउको श्राद्ध गर्यो । अबेरतिर घरका छतको चेपबाट छिरेको घाम तापेर दलखम्बे बसेको रहेछ । निधारमा पहेँलो टिका लगाएको थियो । मैले सोधेँ, “सराद्दे सक्यो त ? “
“अघि नै सक्काइवरी पुरेत गैसके । … तर के गर्नु ? गर्नपर्नी दिनाँ गरिएन । टाउका ओखती नाइटाँ !”
दलखम्बेको मन अझै बुझेको रहेनछ । थप गफ गर्न मन लाग्यो । अलि नजिक गएर बसेँ ।
“केही हुन्न के, औँसीमा गरेपछि क्यै दोष लाग्दैन ।”
“खै के हो ? तपैँ बाउनहर्लाई नै था होला ! लाग्च कि लाग्दैन ?” दलखम्बेले मलाई हिङ बाँधिएको टालोभन्दा बढी स्विकारेको रहेनछ ।
“हेर्नुस् सान्बाजे ! बुड्बाजे त हाम्रा भौवान् । अराईसिकाई सप्पै गर्नुन्थ्यो । अब तेस्ता मान्छे काँ पाउनु ?” दलखम्बे भावुक बन्यो ।
“ऊ बेलाँ हाम्रा पुरेत थेनन् । अरू मान्छ्या डर नभा भे नि ? बुड्बाजे त सराद्दे नै गराइदिन पनि पछि नपर्नी खालको मान्छे ।”
“साँच्ची, अहिले चैँ कसले गराइदियो नि सराद्दे ?” मेरो जिज्ञासा बढ्यो ।
“ए ! उइलेजस्तो हो र ? ऐले त हाम्रा आफ्नै पुरेत छन् । मजाले गुटुङटुङ किताप पड्दिन्चन्,” दलखम्बेको गोरो अनुहार अझै चम्कियो ।
अझै जोसिएर भन्यो, “पढेका बाउनले सराद्दे नगराइदिनी । हामी दलितले शास्तर पढ्न पनि नहुनी ! नगरे बाउको सराद्दे नि गरेन भन्नी ! अन्या पनि कतिसम्म त लौ ? अनि क्रिस्चन नबनी सुख भो त ? क्रिस्चन बन्न लाउनी यिनै बाउनहरू हुन् । हाम्रा पाडाँ नि थुप्रै क्रिस्चन बने ।”
दलखम्बेको आक्रोश बढ्दो थियो ।
“अनि ऐले चैँ कसरी जाने त नि तेस्तो गाह्रो किताब पढ्न ? बाउनको छोरो भएर मलाई त आउँदैन !”
“ए ! पैले शुरुमा दुईचार जनाले कताकता गर झुक्यार सिकेर आचन् । पछि त तिनैले गुटुङटुङ सबैलाई सिकाइहाले नि ! सिनामङ्गलाँ त्यस्तो पढ्नी ठामै च त ! अचेल हामी पनि पुरेत चाइँदा त्यहीँबाट बोलाम्चम् ।”
दलखम्बे सन्तुष्ट देखियो । मैले सुनिहरेँ ।
दलितले शास्त्र पढेर ठिक गरे वा बेठिक ? मेरो मस्तिष्कले खुट्याउन सकेन । दलखम्बेको ट्याउँट्याउँ बोली अझै मेरो कानमा गुञ्जिरहेको छ, “ऐले त सान्बाजे ! गामतिरका बाद्देताले क्रिस्चन भका कोईकोई त आफ्नै हिन्दूमा फर्किसके ! साँच्चै मनैदेखि क्रिस्चन भकाहरू त किन फर्किन्थे र ? बिचराहरू !” दलखम्बे रोकिएर भावुक बन्यो ।
०००
दलखम्बे मरेको आठौँ दिन थियो । बिहान घरबाट म निस्कँदा नीरवको छोरो मलाई कुरेर बसेको रहेछ । मलाई देख्नासाथै भन्यो, “अङ्कल, बाबाले बोलाउनु भा’छ !”
म केही नबोली पछि लागेँ । नीरव ठाडो किरिया बसेको थियो । अलि पर अरू बसेका थिए । मलाई देख्नासाथै भन्यो, “दश दिनाँ काम सक्काउन खोज्या । हाम्रोमा ठाउँ अलि नपुग्ला जस्तो भो । उता तिम्रो करेसामा ख्वाउने बेबस्था गर्न मिल्ला त ?”
आफ्नो भोगचलनको क्षेत्रमा राहुहरूको उपस्थितिलाई सकेसम्म टार्नुपर्छ भन्ने खालको संस्कार मैले पाएको थिएँ । तैपनि दायाँबायाँ नसोची प्याच्च बोलिदिएँ, “भै हाल्छ नि !”
नीरवले फेरि तुरुन्तै भन्यो, “तिथि चैँ लेख्दिहाल है ! पछि बिर्सिन्च फेरि ।”
एउटा चिर्कटो र कलम ठिक्क परेको रहेछ । छोरोचाहिँले दियो । मैले लेखिदिएँ,
“हरिशयनी एकादशी, २०८२ साल “



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ पुष २०८२, बिहीबार 










