विगत चौबीस घण्टादेखि उसको पेटमा अन्न परेको थिएन । पानीले पटकपटक पखालिएका आन्द्राहरू नराम्रोसँग बाउँडिएका थिए । फेरि पनि पानीमात्र पिउने हिम्मत बाँकी थिएन । अब उसको हालत राम्ररी उभिन समेत नसक्ने भइसकेको थियो । रिँगटा लागिरहेको थियो । यही अवस्थामा रहिरहे आफू कुनै पनि बेला बेहोस भएर ढल्न सक्ने अनुमान लगाइसकेको थियो उसले ।

ऊ ओम प्यालेसको ठीक पारिपट्टि घरको पेटीमा बसेको थियो । प्यालेसभित्र भोज चलिरहेको थियो । तर ओहोरदोहोर निकै पातलो देखिन्थ्यो । पक्का थियो, भोज धेरै ठूलो थिएन । भोज सुरु हुनासाथै एक पटक त उसले हिम्मत गरेको थियो ।
‘जे पर्लापर्ला । गएर बजाइदिन्छु, ग्वाम कि ग्वाम ।’

“एक रोपयाँको पनि चाना नै लिइहाल्नुस् ।”

 

उसले त्यसै गरी पहिले पनि पटकपटक बजाएको थियो । तर त्यस भोजमा ज्यादा भीड थिएन । थोरै मानिसहरू मात्र थिए । बाहिरिया मान्छेले खाएर सजिलै उम्कन सक्ने अवस्था थिएन । गेटैमा पुगेर पनि भोकै फर्किएको थियो ।

आफ्नो कमिजको खल्तीभित्र दुई औँला घुसारेर भारु दशको नोट छाम्यो । ‘मौकामा हिरा फोर्न सक्नुपर्छ,’ हिम्मत गर्यो । नजिकैको ठेलामा बेचिराखेको चना किन्यो, दश रुपैयाँको । ठेलावालाले नेपाली पाँच रुपैया फिर्ता दियो । थोरै चना फेरि थपिदिँदै भन्यो,
“एक रोपयाँको पनि चाना नै लिइहाल्नुस् ।”

आधा चना एकै सासमा खायो । बाँकी प्लास्टिकको थैलामा पोको बनाएर खल्तीमा घुसार्यो । घटघट पानी पियो । अब राम्ररी उभिन र बोल्न सक्नेसम्म भयो ।
मनमनै भन्यो, “साला चुतिया ।”
०००

भारतमा रोजगारी गरेर घर फकर्नेहरू लुटिएका खबरहरू पटकपटक आउने गर्थे । चिनजानका सबैलाई ऊ आफैँले सल्लाह दिने गथ्र्यो ।

सानी बच्चीलाई समेत खुवाउँदै छन् । के फरक पर्ला त ?”
एक पटक त ‘आ ! खाइदिन्छु’ जस्तो पनि गरेको थियो । तर अहँ ! खाएन । सम्हालियो ।

 

“ मुख्य कुरा, नचिनेका मान्छेहरूले दिएको खानु भएन के । खाएर नै हो हाम्रा दजुभाइहरू फस्ने । जयपुर बसेर मेरो आधा कपाल पाकिसक्यो । आजसम्म कसैले चवन्नी ठग्न सकेको छैन ।”, ऊ सधैँ आफूलाई निकै चलाख ठान्थ्यो । तर आज आफैँ लुटियो ।
राजस्थानको जयपुरबाट राजधानी एक्सप्रेस चढेदेखि नै ऊ चनाखो थियो । ऊ बसेकै रेलको डिब्बामा एक भारतीय परिवारको बूढो मान्छे आफ्ना छोराबुहारी र नातिनीका साथमा यात्रा गर्दै थियो । उनीहरू आफैँले खाना बनाएर ल्याएका थिए । घरीघरी फरक फरक परिकार झिकेर खाइरहन्थे । प्रत्येक पटक उसलाई खान अनुरोध पनि गरिरहन्थे ।

“ यत्रो परिवारै हिँडेको छ । एउटै भाँडोबाट झिकेर आफू पनि खाँदै छन् । सानी बच्चीलाई समेत खुवाउँदै छन् । के फरक पर्ला त ?”
एक पटक त ‘आ ! खाइदिन्छु’ जस्तो पनि गरेको थियो । तर अहँ ! खाएन । सम्हालियो ।

रेल आदमपुरबाट अघि बढेपछि शौचालय गयो । फर्किएर आएपछि आफ्नो झोलाको बहिरै घुसारिएको आधा बोतल पानी भिकेर घटघटी पियो । बोतल सिटमुनि मिल्काइदियो । बुहारी चाँहि सोध्दै थिई,
“चाय लेङ्गे ?”

अगाडिको खल्तीबाट रुमाल झिकेर चस्मा पुछ्यो । संयोगवश रुमालमा अल्झिएको भारु बीस रुपैयाँ फुत्त खस्यो ।

 

हातले भयो पर्दैन भन्ने सङ्केत गरेकोसम्म याद छ । त्यसपछि के भयो याद भएन । होसमा आउँदा दौलतपुर आइपुग्न लागेको थियो । टाउको भारी थियो । डिब्बाभित्रको परिवार उत्रिसकेको थियो । आफूले बोकेर आएको सुटकेस साथमा थिएन । कमिजको खल्ती छाम्यो, मोबाइल थिएन । पाइन्टको पछाडिको खल्ती छाम्यो, पर्स पनि थिएन । अगाडिको खल्तीबाट रुमाल झिकेर चस्मा पुछ्यो । संयोगवश रुमालमा अल्झिएको भारु बीस रुपैयाँ फुत्त खस्यो ।

रेलबाट ओर्लिएपछि भारु दश रुपैयाँ भाडा तिरेर गौरीफन्टासम्म आइपुग्यो । नेपाल पसेपछि ऊ चौकीतिर जानुपर्ने हो, तर गएन । समाचार बन्ने बाहेकको उपलब्धि उसले देखेको थिएन । लुटिएको खबर आफूभन्दा पहिले गाउँ पुर्याउने मन गरेन । सात किलोमिटर लुखुरलुखुर पैदल हिँडेपछि धनगढी आइपुगेको थियो । बैतडीसम्म पुग्ने गाडी भरे सात बजेको मात्र थियो । पैसा तिर्नु नपर्ने पानी खाँदै यताउता डुलिरह्यो । डुल्दाडुल्दै सत्य मार्ग आइपुगेको थियो । ओम प्यालेसभित्रको भोजले लोभ्याएर त्यहीँ अल्मलिएको थियो ।
०००

उसलाई थाहा थियो, त्यति चनाले धेरै बेर धान्नेवाला छैन । एकै छिनमा चनाको शक्ति सकिनेछ, अनि फेरि शरीर लत्रिनेछ । अलिकति सास आएको बेला केही त गर्नैपर्छ ।

चापाकलमा पुगेर मुख धोयो । चस्मा पुछ्यो । जुत्ता पनि पुछ्यो । ढाका टोपी मिलायो । लुटिएपछि ओइलाएको आफ्नो व्यक्तित्वलाई फेरि ताजा बनाउने प्रयास गयो । जे पर्ला, हिम्मत गर्यो । सडक पार गरेर सरासर ओम प्यालेसभित्र पस्यो ।

थोरै मान्छेहरू थालीमा डुलाइएका परिकारहरू टिपेर खाँदै, गफ गर्दै थिए । बच्चाको भात खुवाइ रहेछ । मान्छेहरूको भीडले बच्चो झिँजिएको देखिन्थ्यो । भित्र पसेपछि प्रायः मान्छेले उसलाई हेरे । खानाको टेबुलतिर गएर थाल समात्ने अवस्था रहेन । फेरि बाहिर निस्कन पनि अप्ठ्यारो नै भयो । बाटो मोड्न बाध्य भयो । अन्तै कतै मोडियो ।
“नमस्कार सर !”
ढोकाभित्रैबाट कसैले भन्यो । अनि मात्र उसले थाहा पायो, प्यालेसको कार्यालयतिर पो पुगेछ । बसेको सिटबाट उठेर हात जोडिरहेको म्यानेजर ढोकाबाट सिधा अगाडिको टेबुल पछाडि उभिएको थियो । नमस्ते फर्काएर भित्र पस्न बाध्य भयो ।

“बसौँ सर”, अगाडिको कुर्सी देखाउँदै म्यानेजरले स्वागत गर्यो ।
“के लिनुहुन्छ सर ? तातो कि चिसो ?”
अतिथि सत्कार राम्रै पायो उसले । पेटको चाहना मुखबाट फुत्त निस्कियो ।
“तातो !…चिया नै लिऊँ”, एकै छिनमा दुई कप चिया टेबुलमा आइपुग्यो ।
“ भन्नुस् सर । के कार्यक्रम छ हजुरको ?”
“कार्यक्रम ? कस्तो कार्यक्रम ? कहिले ?”, ऊ अकमकायो ।
“ए ! मेरो मतलब बिवाह, व्रतबन्ध, पास्नी, जन्मदिन त्यस्तै केही कार्यक्रम भएर न यहाँसम्म आइपुग्नुभयो ।”
“एए, मेरी छोरीको बिहे गर्नु छ ! पच्चीसकी भैसकी । त्यसैका लागि ठाँऊ हेर्न आएको”, उसले सजिलै बहाना बनायो ।
०००

हो त । उसकी छोरी पच्चीसकी भएकी नै हो । बिहे गर्न बितेकै पनि हो । उत्तराले पटकपटक भनेकी पनि हो,
“हमरी चेलिखि लै ब्या गद्दे केटो पाएबठी निको हुन्थ्यो क्या ! सानिका बा ?”
(हाम्री छोरीलाई पनि बिहे गर्ने केटा पाए हुन्थ्यो नि ! है सानीका बा ?)
तर उसले छोरीको बिहे गर्ने सपना कहिल्यै देखेको थिएन । सधैँ भन्ने गथ्र्यो,
“ यै सित ब्या को गद्दे हो…कबलै चेलाचेलीखि समय नाइ भ्यो । घरभित्र थुनी बठी खेतगडा काम खि नगया भए ल चुल्हामी नाइ पड्डे थि । यै को अनुहार त नाइ बिगड्डे थ्यो । दुएइ आँखा निग्गेरी देख्दे थि । तलाइ मागनेको ल हानाथाप हुन्थ्यो के ।”
(खै कसले गर्ला र यस्तीलाई बिहे ? हामीलाई सधैँ कामले छोप्यो । कहिल्यै छोराछोरीलाई समय दिन पाइएन । घरभित्र थुनेर खेतबारी डुल्न नपरेको भए, हाम्री छोरी पनि अँगेनामा पर्ने थिइन । अनुहार डढ्ने थिएन । दुबै आँखा राम्ररी देख्ने थिई । उसलाई पनि माग्नेहरूको लाइन हुन्थ्यो ।)

ऊ फेरि तुरुन्तै मिठो कल्पनामा रमाउँथ्यो । अझै जोसिँदै भन्थ्यो,
“ तुइले याद गर्याइ छै उत्तरा ? हमरी सानिको बच्याको अनार कति निगो छ । नड्ड्या भया त तोइ भन्ना निकि हुन्थी के सानी ।”
(तैँले याद गरेकी छेस्, उत्तरा ? हाम्री सानीको बचेको अनुहार कति राम्रो छ ? नडढेकी भए तँभन्दा राम्री हुन्थी सानी !)
होला । उसकी छोरी नडढेकी भए, आमा चाहिँ उत्तराभन्दा राम्री हुन्थी होला । तर डढेकीले हुन सकिन । त्यसैले कोही माग्न आएन । बिहेको लगन नै जुरेन ।
०००

“बैसाखको लगन हो सर ? कति गतेको ?” म्यानेजरले सोध्यो ।
“यति नै गते भन्ने त टुङ्गो लागेको छैन । एकदुई दिनमै लाग्छ ।”
“हुन्छ सर । एकदुई दिनमा भन्नुहोला । अहिले नै बुक गरिहाल्नुपर्छ । नत्र पछि अरूले नै ओगट्छन् । पाइन्न ।”
“ त्यो त ठिकै छ । रेट कस्तो छ ? खानाको क्वालिटी कस्तो हुन्छ तपाईँकोमा ?”, उसले कुरा आफ्नो भोकतिर सोझ्यायो ।
“…हेर्नुस्, खानाको गुणस्तरमा केही चिन्ता नै नलिनुस् । यहाँ तराईमा बासी राख्नै मिल्दैन । एकै छिनमा गन्हाउँछ । बरु दुई पैसा बढी परोस्, हामी राम्रो सामान मात्र हाल्छौँ । हाम्रो कुक पनि पहिले काठमाडौँको तारे होटेलमा काम गरेको हुनुहुन्छ । स्वादको त कुरै नगरौँ ।”

उसले मुन्टो मात्र हल्लायो । केही बोलेन । म्यानेजर जसरी पनि उसको विश्वास जित्न चाहन्थ्यो ।
“एक्कै छिन है सर”, म्यानेजर बाहिर निस्कियो ।
ऊ आफ्नी बिहे गर्ने उमेरकी छोरी सम्झिएर टोलाउन थाल्यो ।
करिब एक महिनाअघि उत्तराले फोनमा भनेकी थिई,
“ सानी निग्गेरी टोलाउन्छ र घोरिन्छ अच्याल । कत्तिलै नाइ बोल्ली । बोल्न्ज्याल झड्किन्छ ।”
(सानी अचेल असाध्यै टोलाउँछे । खासै बोल्दिन । बोलाउँदा पनि झर्किन्छे ।)
कुरा सुन्दा ऊ अवाक् भएको थियो ।

“त्यसो भनेर कहाँ हुन्छ र सर ? पार्टी चलिरहेको भएर त हो । नत्र मैले चाहेर पनि टेस्ट गराउन सक्ने थिइन । मौका मिलेर नै हो ।”

 

एउटा थालीमा केही स्न्याक्स् र अर्कोमा खाना लिएर म्यानेजरभित्र पस्यो ।
“…आज कस्तो संयोग पर्याे भने सर पार्टी चलिरहेकै बेला आइपुग्नुभयो । खाना टेस्ट नै गर्ने मौका मिल्यो ।”
“हैन । यो आवश्यक नै थिएन”, उसले थालीको पकौडा टिप्दै भन्यो ।
“त्यसो भनेर कहाँ हुन्छ र सर ? पार्टी चलिरहेको भएर त हो । नत्र मैले चाहेर पनि टेस्ट गराउन सक्ने थिइन । मौका मिलेर नै हो ।”
उसले केही नबोली भोक मेटाइरह्यो । मन भने फेरि घरतिरै पुिगसकेको थियो ।

“ रात सानी घर लै नाइ आइ सानिका बा । तै को फुन ल नैलाग्दाछ ।”
(राती सानी घर आइन, सानीका बा । उसको मोबाइल पनि लाग्दैन ।)
एकाबिहानै उत्तराले रुँदै फोन गरेकी थिई । दिउँसो फेरि उसैले फोन गरेको थियो ।
“चेली आइत घर ?”
उत्तराले आश मारिसकेकी थिई,
“नाइ आइ । नैऔनी आब । तैले दुःख नपायाबटि हमलाइ तति भया भैग्यो ।”
(आइन । आउदिँन होला अब । दुःख चै नपाओस् । मलाई त्यत्ति भए पुग्छ ।)

उसले खाना खाइसक्नै लाग्दा म्यानेजरले सोध्यो, “खाना कस्तो लाग्यो, सर ? ठीक छ नि ?”
“ठीक छ, हजुर । मेरी छोरीको बिहे भयो भने यहीँबाट नै गर्छु । अन्त कतैबाट गर्दिनँ ।”
ऊ वाचा गरेर निस्कियो । साँझ पर्न लागिसकेकाले बसपार्कतिर कुद्यो । मस्तिष्कमा छोरी र उत्तराका सम्झना सिँगौरी खेल्दै थिए । रेल चढ्नु अगाडि उत्तरासँग भएको संवादहरू जाली फुटाउने गरी कानमा थर्कदै थिए ।

“चौकिमी उजुर गद्दु पड्यो के । म आझै औन्छु ।”
(चौकीमा उजुरी गरिहाल्नू क्या । म आजै फर्कन्छु ।)
उसले भनिनसक्दै उत्तराले भनेकी थिई,
“आब मुखिलाइ सङ्लाइ लैझाए सानिका बा । म लै नाइ बस्दे हुं आब याँ ।”
(अब मलाई पनि भारत नै लैजाऊ है, सानीका बा । म पनि बस्दिनँ अब यहाँ ।)
भन्दाभन्दै उत्तरा रोकिएकी थिई ।
“ लौ, उत्तरा लै बेहोस भै त, पानी ल्याए त ।”
(ए लौ न, उत्तरा बेहोस पो भई त । यसलाई पानी ल्याओ ।)
उत्तराको हातबाट खसेको मोबाइलले टिपे को खैलाबैला सहितको आवाज उसको कानसम्म पुग्दै थियो । बसको सिटमा बसेर उसले आफ्नो दुबै कान बेस्सरी थुन्यो ।