केही न केही हल्ला र अफवाह नभए काठमाडौँको वातावरण नीरस हुन्छ, पीपलको बोटमुनिको जमात लाटो हुन्छ, कफीहाउस र रेस्टुराँ टुहुरा हुन्छन्, क्याम्पस र अड्डाहरू नून खाएको कुखुराझैँ झोक्रिन्छन् ।
जुनै तहको कुरा भए पनि पुग्छ । ती कुरा राष्ट्रिय हुन् अथवा अन्तर्राष्ट्रिय । केही कुरा नभएको दिन कसैको पारिवारिक कुरा भए पनि काम चल्छ । फलानोले फलानीलाई राख्यो रे । फलानी त पोइ छँदाछँदै फलानोसित पो सल्केकी छ रे ! फलानो र फलानीलाई फलानोले फलानो ठाउँमा भेट्टायो रे । फलानीले अविवाहिता रहेर आमाबाबुको अंश लिएपछि फलानीको पोइसित लसपस गरेकी छ रे । फलानो दुलहादुलहीले इन्कम टेक्स तिर्नुपर्छ भनी कागजमा मात्र पारपाचुके गरेका रे !
यस्ता ‘फलानो र तिलानो’ को लेबल लागेका कुरा गरेर पेट भर्नेहरूको कमी भन्ज्याङभित्र छैन । इन्दिरा र ओम रेस्टुराँमा क्राइभेन चुरोट र स्टार बियर उडाएर यस्ता गफ चुटिरहेका भद्रभलाद्मीका घरमा बबुरा दुलहीहरू भान्सामा काँचो दाउरा फुक्दाफुक्दा पिरो आँखा पारी बल्लबल्ल मासको दाल, भात र आलुको झोल पकाइरहेका हुन्छन् ।
धेरै अघि नै थाहा पाइसक्नुपर्ने मेरो र उनको सम्बन्धको छनक बल्ल हिजोआज अलिअलि मेरो अड्डामा चल्न थालेको म थाहा पाउँछु । मेरो अड्डामा टीका लाएर आउने बाजेहरूदेखि लिएर अनेकौं ‘चिप्ला-प्रसाद’हरूको समेत कमी छैन । बेलप्यान्ट लगाउने उत्ताउला युवकहरूभन्दा माछा, मासु, फुल नखाई बाह्रै घण्टा गीता एवं सीताका कुरा गरी टीकाको स्वाँग रचाउने अनि चिप्लाचिप्ला कुरा गर्ने चिप्ला-प्रसादहरू ज्यादै खतरनाक, ज्यादै डरलाग्दा हुन्छन् ।
यिनीहरू बाहिरबाहिर आत्मा र परमात्माका कुरा गर्छन् र भित्रभित्रै स्याँगी उध्याउँछन्, मुखले एक ठेकी तेल घसेर वातावरण नै यति चिप्लो तुल्याउँछन् कि एकसाथ धेरैलाई चिप्ल्याएर पछार्न समर्थ हुन्छन् ।
यस्ताहरू बाहिरबाट हेर्दा हातमा माला जप्दै मुसाहरू अघि लगाई तीर्थाटनमा जान लागेका साधु बिरालाजस्ता देखिन्छन् । राम्ररी ‘डाइग्नोसिस्’ नगरी यिनीहरूको वास्तविकता पत्ता लगाउन रामेको फादर चामे हुँ भन्नेलाई पनि गाह्रै पर्छ ।
यिनीहरू स्वास्नीमानिस टाइपिस्टलाई समेत काममा लगाउँदा स्वाभाविक नरहेर जहिले पनि सतर्क रहेको देख्दछु, मानौँ आफैले बारम्बार आफ्ना कपडाहरू टकटक्याइरहेका छन् । यस्ता नक्कली व्यक्तित्वहरूले डम्म ढाकेको मेरो अड्डामा मेरो र उनको सम्बन्धको के प्रतिक्रिया हुन्छ भनी म आफ्नो फाइल ओल्टाईपल्टाई सोचिरहन्छु । फुर्सतको समयमा यस्तै कुराहरू नसोची अरू सोच्ने नै पो के र मजस्तो साधारण सेक्सनअफिसर भई खाइटोपलेकी स्वास्नीमान्छेले ।
मैले ठानेकी थिएँ, तिनीहरू अवश्यै पनि मेरो सम्बन्ध एउटा विवाहित व्यक्तिसित भएको थाहा पाएर ‘रामराम’ र ‘शिवशिव’ गरिरहेका होलान् । तर कस्तो अचम्म । ठीक उल्टो प्रतिक्रिया देख्दा म साहै नै छक्क मात्र होइन दिक्क पनि भएँ । अब त आफूभन्दा माथिल्लो हाकिमको कोठाबाट चियाको बखत निम्ता पनि आउन थाल्यो । जाऊँ-नजाऊँ गर्दै हाकिमसाहेबको कोठामा पसें ।
हाकिम महोदय जाडोको याम भएकाले सरकारी हिटर बाली रनक्क भएर बसेका । आँखाका दुवै कुनामा नदेखिने प्रकारको वासनामय तरलता । पस्मिनाको खास्टोले मैले राम्ररी नै आफ्नो आङलाई ढाकेकी थिएँ । तर पनि उनको आँखाका हिंस्रक लोलुपताले मलाई उदाङ्गको आभास गरायो र म खास्टोभित्र पनि एकपल्ट खुम्चिएँ ।
उनको औपचारिक हाँसोमा माउसुलीले फुत्तफुत्त जिब्रो निकाली-निकाली पुतली निल्न लागेको बेलाको जस्तै तत्परता देखें । मैले उसलाई हेरें न उसको घिनलाग्दो हाँसोको प्रत्युत्तर नै दिएँ । तर पञ्चतत्त्वले बनेको मासु नै मासुको थुप्रोलाई यसले कुनै प्रतिकूल असर पारेन, बरु मासुको थुप्रोको वाक्य पो फुटयो- “चिया खानुहोस् न, चिसो भइसक्यो, जाडो पनि कत्ति होइन ? काम नभएको बखत त अफिसमा बस्न पनि बोर नै लाग्ने, यसै त एक्लो हुनुभएकोले घरमा यहाँलाई त बोर नै लाग्दो हो ।”
मनमनमा सोचें- ‘अहँ, बोर लाग्दैन, पटक्क लाग्दैन । लोग्ने भनाउँदा तिमीहरूजस्ता मासु नै मासुका थसुल्लाहरू, जो अड्डापछि कुनै भट्टीमा जान्छौ अथवा सर्प प्वालमा पसेजस्तो पप्लूको अड्डामा पुग्छौ र आधारात गएपछि घरको कामले थाकेर चूर भएर मीठो निद्रामा पुगेका स्वास्नीहरूलाई (कुनै भावनात्मक अनुरागबिना) दुःख दिन पुग्छौ, बरु तिमीहरूजस्तो लोग्नेको उपस्थितिले बोर हुन्थें हुँला ।’
तर प्रकटमा भनें- “बोर लाग्दो हो तर लेखपढमा केही रुचि भएकोले आजसम्म बोर हुनुपरेको छैन ।” यति रुखो जबाफले पनि ऊ निरुत्साही भएन, मानौँ जसरी भए पनि आज उसलाई आफ्नो दुनो सोझ्याउनु छ- “खोइ एउटै विभागमा यत्तिका वर्ष काम गरियो, यहाँले डेरासम्म देखाउनुभएको छैन ।”
मलाई थाहा थियो उसले अघिदेखि चालेको गोटी यहाँ आएर थामिन्छ । मलाई जुरुक्क उठेर उसको पोक्चे गालामा चड्याम्म एक चड्कन लगाउन मन लाग्छ । मेरो कान र गाला रनक्क रन्किन्छन् तर आफैलाई अनुशासित तुल्याई प्यालामा रहेको चिया एकै घुट्कोमा सिद्ध्याउँछु ।
“जाऊँ है सर, एकदुइटा टिप्पणी उठाउनु छ ।”
उसलाई पनि थाहा भयो टिप्पणी छैन तर ऊ बोल्न सक्दैन, म बाहिरिन्छु र आफ्नो कोठाको मेचमा बसेर लामो सास तानेपछि हल्का हुन्छु ।
सोच्छु- हो, मैले एउटा विवाहित व्यक्तिसँग सम्बन्ध स्थापित गरेर सामाजिक अपराध निश्चय नै गरेकी हुँला तर यो सम्बन्ध त्यतिको निरर्थकचाहिँ छैन । हामी दुईले वासनारूपी बाध्यतालाई मात्र घिस्याएर यो सम्बन्धलाई लम्ब्याएका छैनौं । वासनाभन्दा परको अर्को केही पनि निहित छ यसमा, जुन दिन त्यो केही टुङ्गिन्छ, उत्निखेरै हाम्रो सम्बन्ध पनि टुक्रिन्छ, यसमा हामी दुवै आश्वस्त छौ ।
नत्र जेजस्तो भए पनि उनकी दुलही नै उनको आवश्यकताको परितुष्टिको निम्ति प्रशस्त हुने थिइन र ? हो, हामीले एकअर्कालाई आहारको रूपमा अवश्यै ग्रहण गरेका छौं, गरेका छैनौं भन्ने ढोंग म कदाचित् रच्दिनँ तर आहारबाहेक हामीले एकअर्काको अस्मितालाई पनि अस्मिताको रूपमा अङ्गीकार गरेका छौं । यो सत्यले नै हाम्रो सम्बन्धलाई हुर्काउनमा मलजलको काम गरेको छ । जुन दिन यो सत्य मर्छ त्यो दिन म उसको निम्ति उसकै स्वास्नीको अर्को रूप हुन पुग्छु, ऊ मेरो निम्ति केवल मासु नै मासुको थुप्रो भएको अर्को हाकिम हुन पुग्छ ।
तर साधु बिरालाजस्ता तत्त्वहरूले मेरो र उनको सम्बन्धलाई यति गहिरिएर हेर्ने आवश्यकता नै किन ठान्छन् र ? उनीहरू त सोच्छन् – “माल तयार छ, हत्याउनै पर्छ ।”
उनीहरू राँगो हुन् भैंसी भए पुग्छ, उनीहरू चितुवा हुन् बाख्रो भए पुग्छ । यसो त उनी पनि लोग्नेमानिस हुन् जोसँग म सम्बन्धित छु । तर उनी लोग्नेमानिस हुन् राँगो र चितुवा मात्र चाहिँ होइनन् ।
म पनि स्वास्नीमानिस हुँ, अस्तित्व बोकेकी छु, एउटा अहम्लाई पालेकी छु, एउटा कमनीयतालाई सँगालेकी छु मैले ? एउटा गुलाफी आरुको फूलझै बैंसलाई भित्री हृद्खण्डमा जोगाएकी छु, मैले । म फगत सडक मात्र होइन जहाँ मानिस केवल हिँड्छन्, इनार मात्र होइन जहाँबाट पानी निकालिन्छ, पलङ मात्र पनि होइन म जहाँ निद्रा लागेपछि मानिस सुतिदिन्छन् । सडक, इनार र पलङबाहेक पनि म केही हुँ, र यस ‘केही’लाई नै चिनेर उनी मेरा आत्मीय हुन पुगेका छन् ।
यी राँगा र चितुवाहरू जो हरदम फाइलको बल्छी हानेर ठाउँ-कुठाउँबाट घूस असुलउपर गर्नमा वस्ताद छन्, यिनीहरूका अघि अहम् र अस्तित्वको कुरो केवल एब्सट्रेक्ट पेन्टिङ हो । यिनीहरूका फुट्नै लागेका शरीरले इङ्गित गर्छ यिनीहरू भ्रष्टाचार गर्न पाएर कति सन्तुष्ट छन् । भ्रष्टाचार यिनीहरूको निम्ति भ्रष्ट आचार होइन परन्तु आचारपूर्ण धर्म बन्न पुगेको छ । आफूखुसी यो धर्म अवलम्बन गरिसकेपछि शारीरिक एवं यौनात्मक भ्रष्टाचार गर्न किन नतम्सिऊन् ? किन नजमजमाऊन् ?
पालेले ‘अत्यन्त जरुरी’, ‘अति गोप्य’ का छाप लागेका तीन-चारओटा खाम टेबुलमा राख्छ । म खाम खोल्न थाल्छु, थाहा छ यहाँ केही अति गोप्य छैन, केही अत्यन्त जरूरी छैन, यी त केवल अड्डाका औपचारिकता हुन् । खामको गोप्यता र जरूरीपन टेलिफोनको घण्टीमा निर्भर गर्छ । अन्यथा यस्ता खामहरू खात लागेर रहन्छन्- धूलाहरूमन्तिर ।
तीन बज्यो, अब चाहिँदा नचाहिँदा मानिसहरूको छुचुन्द्रे ताँती लाग्छ । एक प्रकार ठीकै छ, तीन बजेको अघि नै पो कति काम गरें मैले नै पनि । बरु चिनजान साथीभाइहरूसित भेटघाट, रमाइलो, चियापानी, गफगाफ, ठीकै छ, ‘हाई’ काढ्दै बस्नु पर्दैन ।
अब थाहा छ, अर्को विभागको सेक्सनअफिसर अर्थात् मेरी चिरीबिरी साथी पनि आउँछे । उसको ‘एक्सप्रेस’ छुटेपछि एकनाससित चल्छ- घड घडा घड, घड घडा घड । उसको अघिल्तिर बोल्न कसैले ‘आँ’ पनि गर्न पाउँदैनन्, आफै बोलेको बोलेकै ।
लोग्नेमानिसको त के कुरा बोल्नमा ‘मै हुँ’ भन्ने स्वास्नी-मानिसहरूले पनि उसको अघि सरेन्डर गरिसकेका छन् । ऊसित मित्रता गर्नुअघि अनौपचारिक रूपमा एउटा शर्तलाई स्वीकार गर्नुपर्छ- “ऊ वक्ता हो म श्रोता हूँ ।”
मैले मनमनै उसको यो सर्तलाई स्वीकार गरी श्रोता बनेकी छु । यसैले ऊ मकहाँ आउँछे । उसको कुराकानी प्रसङ्गविहीन हुन्छ ।
उसलाई प्रसङ्ग र सिलसिलासित केही वास्ता छैन, उसलाई कुरा गर्नु छ बस त्यति नै ।
कुराको केन्द्र कहिले कुनै हाकिम हुन्छ, कहिले कुनै युवक, कहिले सिनेमा, कहिले सारी, कहिले नयाँसडक, कहिले दिदीबहिनी, कहिले दौंतरी, कहिले भाउजू, कहिले टाइपिस्ट ठिटीहरू, कहिले पियन । फेरि कुराको ग्राफ एकै चोटि माथितिर तानिएर मन्त्री एवं मन्त्रिमण्डलसम्म पुग्छ । जे होस्, एउटा कुरा भने मान्नै पर्छ उसलाई कसैको पनि कस्तै गोप्य कुराको पनि पत्ता लागेको हुन्छ ।
उसको ‘इन्फर्मेसन’ देखेर म छक्क पर्छु । कसले रक्सी खाएर एक्सिडेन्ट गरायो, कसले रक्सीको सुरमा अर्काकी ठिटी पक्रन जाँदा गोदाइ खायो, कुन भू.पू. मन्त्री बदनाम टोलमा फेला पर्यो, शहरको कुन प्रतिष्ठित व्यापारीलाई कुन होटेलको कोठामा ‘रेड ह्यान्ड’ पक्रयो, कुन माननीयले आफ्नो टेलिफोन कसलाई कतिमा बेच्यो, कुन सचिवले कुन बेपारीलाई कति ऐंठ्यो, कुन माननीयले कुन मन्त्रीकाँ तारेको माछाको कोसेली लग्यो, कुन मन्त्री दुलही भनेपछि छुलछुल हुन्छ यावत् खबर उसलाई छ ।
कुरा गर्दागर्दै ऊ मेरो कानैको छेउमा आएर भन्छे- “तँपनि मानिस त घुसघुसे नै होस् बा, अर्काको पोइलाई कसरी भुलाउन सक्या होला ।”
म उत्तर नदिएर सुनिरहन्छु ।
“ए लाटी, खालि पुस्तक नै पुस्तकको थुप्रो मात्र उपहार दिन्छ कि यसो खर्चबर्च रुपियाँपैसा पनि झार्छेस् ?” म मौनताको सहारा लिन्छु । उसको एक्सप्रेस अझ दौडन्छ पूरा वेगमा- “अर्काको चीज भनेपछि त निकै रोमान्स हुन्छ होइन ? आफ्नै पोइ, आफ्नै दुलहा, के मजा र ? साँच्चै लोग्नेमानिसहरू पनि भन्छन् ‘लिगलाइज्ड’मा आनन्दानुभूति हुन्न रे, बुझिस् ?”
उसको कुरा सुन्दा मेरो मुखभरि थुक जम्मा भइसकेको हुन्छ । लोग्नेमान्छेप्रतिको उसको कमजोरी मलाई थाहा छ । जहाँ पायो उहीं उदाङ्ग भइदिन्छे । त्यति मात्र भए हुन्थ्यो अँगालोमा बाँधिएकोदेखि लिए अन्तसम्मको घटनालाई आफ्नै मुखले प्रचारप्रसार गर्छे । पहिलेपहिले प्रशस्त युवा र अधबैंसेहरू यसका सम्पर्कमा आए, पछि प्रचारप्रसारको शिकार भएपछि यस्तरी टुप्पी फर्कँदै भागे कि फेरि यसलाई कहिल्यै नाकमुखसम्म देखाउने धृष्टता गरेनन् । आजभोलि सबै तर्कन खोज्छन् ।
ऊ कुराको सिलसिला अर्कैतिर मोड्छे, “थाहा छ महाराजगन्जको कार्की पाइलटले मलाई माग्न आएको छ । मोरो, ठिटीजस्तै छ त्यो त । आइमाई देख्यो कि त्यसै लजाउने । म अफिस आउने बेला पारेर सधैं ज्ञानेश्वरमा मोटरसाइकलमा दौडन्छ, थाहा छ ? मलाई हेर्न ।”
मलाई थाहा छ कुनै पाइलट किंवा डाक्टर किंवा इन्जिनियर किंवा कुनै अफिसको हाकिम उसलाई हेर्दैन । रोज यस्तै काल्पनिक वैवाहिक उम्मेदवार उसको मानसपटलमा दौडन्छ, बिलाउँछ, उदाउँछ, अस्ताउँछ ।
उसका दाजुभाइहरू पनि ऊसँग आजित छन् । धेरै चोटि उसको घरमा उसलाई लिएर अर्थात् उसले नाकै काटिदिइसकी, इज्जतै फालिदिइसकी भनेर रडाको पनि नमच्चिएको होइन ।
त्यति नराम्री पनि होइन ‘एक्सप्रेस’ तर नराम्रो लतले उसलाई नराम्री पारिसकेको छ, शुष्क पारिसकेको छ, आकर्षणरहित पारिसकेको छ । साउतीको स्वरमा ऊ एकाएक मलाई उपदेश दिन थाल्छे- “हेर् नि लोग्नेमानिसको जात के भर ? तेरो रूप र अलिकति बैंस छँदाछँदै थपक्क एउटालाई फसाएर बिहे गर् । अर्काको पोइसँग झुन्डिएर के पाउँछेस् ?”
मेरो उत्तरको उसलाई जरूरत छैन, स्वयं उत्तर दिन्छे, मानौँ ऊ आफैं प्रश्नोत्तर हो, “एउटा कुरा याद राखेस्, उसकी दुलही तगडा छे नि, भुत्ल्याउली अनि खालिस् ।”
यति भनिसकेर ऊ खितितिति हाँस्छे । ऊ कतिबेरसम्म हाँस्छे भने म पनि ऊसित नहाँसी सुख पाउँदिनँ र कानमा मुख नलगी स्वाभाविक स्वरमा भन्छु, “तिनलाई भुत्ल्याउने फुर्सत छैन ।”
(वानीरा गिरिको उपन्यास ‘कारागार’ बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
११ कार्तिक २०८२, मंगलवार 









