वसन्त श्रेष्ठ

“विसर्ग” उपन्यास संयुक्त लेखनको निरन्तरता हो । नेपाली साहित्यमा संयुक्त लेखनको सुरुवात वरिष्ठ साहित्यकार परशु प्रधानबाट भएर उनैबाट “विसर्ग” सम्म पनि भएकोछ । यस उपन्यासमा अर्का साहित्यकार गोविन्द गिरी प्रेरणाले साथ दिएका छन् । दुई भिन्न महादेशमा रहेर एउटा उपन्यासका माध्यमले लेखनमा एकाकार भएका लेखकद्वय नेपाली भाषा साहित्यमा निरन्तर सिर्जनारत वरिष्ठ साधक हुन्।

दश जना लेखकका संयुक्त लेखनबाट “आकास विभाजित छ” ले इतिहास बनाएको संयुक्त लेखन “विसर्ग” ले निरन्तरता मात्र दिएको नभै यसले नेपाली साहित्यको संयुक्त लेखनको विकासमा एक खुड्किलो उक्लेको अनुभव गराएको छ । संयुक्त लेखन एउटा कठिन अनि चुनौतीपूर्ण हुन्छ । कुनै निश्चित विषय वा प्रसंगको आधारमा एक वा धेरै जना लेखकबाट लेखिने यस प्रकारको साहित्य निकै जोखिमपूर्ण पनि मानिन्छ । यो पछिल्लो उपन्यास विसर्गले चुनौती सकारेको छ र निरन्तरता पनि दिएकोछ । यसका लागि लेखकद्वय धन्यवादका पात्र छन् । पहिलो संयुक्त लेखन “आकास विभाजित छ” उपन्यास र यो “विसर्ग” उपन्यास दुवैको प्रकाशन पनि नेपालको निजी क्षेत्रको एक स्थापित प्रकाशन रत्न पुस्तक भण्डारबाट प्रकाशन हुनु पनि एक सुखद् संयोग नै मान्नु पर्छ ।

वरिष्ठ साहित्यकार परशु प्रधान लेखनमा चुनौती मन पराउॅंछन् । त्यसैले उनले संयुक्त लेखनको शुरुवात मात्र गरेनन्, निरन्तरता पनि दिए । उनी साहित्यमा मात्र होइन, जीवनमा पनि त्यत्तिकै चुनौती अनि संघर्षपूर्ण जीवन मन पराउॅंछन् । जब परशु प्रधानलाई सम्झन्छु, म उनका विगतका संघर्षमय दिनहरु याद गर्न मन पराउॅंछु । वास्तवमा उनी हाम्रा प्रेरणाका स्रोत हुन् । किनकि उनी नयाॅं नयाॅं विचारका प्रतिपादक मात्र होइन कार्यशील कर्मठ व्यक्ति पनि हुन् भने प्रगतिशील विचारका क्रान्तिकारी योद्धा हुन् । त्यसैले बीसको दशकमा उनको अन्तरजातीय वैवाहिक गठबन्धनलाई धेरैले कम्युनिष्ट पनि भन्ने गर्थे । आठ वर्षीया बाल विधवा जानकीदेवी घिमिरेसँग बीस सालमा प्रेम विवाह गरेका परशु प्रधान त्यति बेलाका समाज परिवर्तनका द्योतक हुन् भन्दा अत्युक्ति नहोला । प्रशासनिक क्षेत्रमा र साहित्यमा शिखर चुमेका परशु प्रधानले आफ्नो श्रीमती जानुकादेवीलाई विशिष्ट बाल साहित्यकार कल्पना प्रधानमा परिवर्तन गर्नमा यथेष्ठ सहयोग र प्रेम गरे । बाउन्न वर्षअघि कल्पनाले रचेको बाल गीत “ मेरो सानो खरायो आज कता हरायो …… “ आज पनि सबैलाई याद छ । साहित्यमा परशु प्रधानले नयाॅं नौलो विचारलाई प्रश्रय दिँदै संयुक्त साहित्यको लेखनलाई अघि सारे । त्यसैको फलस्वरूप “आकाश विभाजित छ” देखि यो “विसर्ग” सम्म निरन्तर लागिरहेका छन् ।

विसर्ग उपन्यास

यस उपन्यासका अर्का लेखक हुन्, नेपाली साहित्यका स्थापित साहित्यकार गोविन्द गिरी प्रेरणा । उनी नेपाली साहित्यका सबै विधामा समानरुपमा निरन्तर सिर्जना गर्ने एक कर्मठ तथा कार्यशील साहित्यकार हुन् । तीसको दशकदेखि प्रत्येक साहित्यिक आन्दोलन होस्, साहित्यकार हुन् या कुनै पनि साहित्यिक गतिविधिसँग जोडिन सक्ने र पुग्ने क्षमता राख्ने साहित्यकार गोविन्द गिरी प्रेरणा नेपाली साहित्यका अर्का जाज्वल्यमान साहित्यकार हुन् । उनी अथक सिर्जनाका स्रोत हुन् । उनी निरन्तर अनि अविरल विचारका प्रवाह हुन् ।उनी जागरुकता र क्रियाशीलताको पर्याय पनि हुन् ।

तसर्थ यस्ता प्रखर र सिद्धहस्त साहित्यकारद्वय द्वारा रचित यो “विसर्ग” उपन्यास कम्जोड छ भनेर भन्न सकिने कुनै आधार देखिदैन । यो संयुक्त लेखनमा कसले कहाँबाट शुरु गरेको र कसले अन्त गरेको, कुनै पनि खुलाएको नभए तापनि नेपाली साहित्यका पाठकले शैली र वाक्य गठ्जोड़का विभिन्न कारणबाट कसको शब्द र शैली कुन हो भनेर खुट्याउन सक्नेछन् भन्ने मेरो नितान्त अभिमत रहेको छ ।उपन्यासको आकार ठीकै भएको कारणले करिब तीन घन्टाको समय अन्तरालमा यो पढी सकिन्छ । पुरुष पात्र भन्दा नारी पात्रको अधिक संख्या रहेको यो उपन्यास वास्तविक रूपमा नारीको त्याग, तपस्या अनि बलिदानको कथा हो । यस उपन्यासमा गाउँको कथा छ । शहरको वास्तविक चरित्र चित्रण छ । अनि काठमाडौँको पुरातन व्यवहारमा संक्षिप्त चित्रणको आयाम पनि कथानकमा समेटिएको छ । अनि छ यसमा देशको प्रशासनिक, राजनैतिक दुरावस्थाको वास्तविक चरित्रको नाङ्गो चित्रण । उपन्यासमा समाजमा विद्यमान भ्रष्टाचारको जताततै जालोको तानावाना छ । यस उपन्यासले विद्यमान नैतिकता, शुद्ध आचरण र महँगीले पीडित अवस्थाको चित्र प्रदर्शन गरेको छ अथवा भनौं त्यो पाटो छताछुल्ल पारेको छ ।

उपन्यासले पाठकलाई कतै पनि अल्मलिन दिँदैन र सरासर अन्त्यमा पुर्याएर टुंग्याइदिन्छ । कथामा यथार्थता छ । यो आफ्नै गाउँघर अनि हामी बसेकै परिवेशको कथा हो । फरक केही छैन तर प्रस्तुतिको सीप र शैलीको कारणले कथा स्वादिलो बन्न पुगेकोछ ।

यस उपन्यासभित्र सुब्बा सन्तोष शर्माको सोझोपन, इमान्दारिता र लगनशीलताको व्याख्या जताततै उल्लेख छ । ऊ आफ्नो निष्कलंक व्यवहारका कारणले आफ्नो कार्यक्षेत्रमा टिक्न सक्दैन । रातारात आफ्नो जागिरे अड्डाबाट राजनीति गरेको मिथ्या आरोप लागेर सरुवा हुन्छ काठमाडौँको मन्त्रालयमा । यहाँ मैले नबुझेको कुरा कोही कुनै कर्मचारीलाई मन नपराएर सरुवा गर्दा मालामाल हुने शक्तिको केन्द्र मानिने काठमाडौँमा बिना कुनै नातागोता कुनै आर्थिक चलखेल कसरी सम्भव भयो यो मेरो व्यक्तिगत जिज्ञाशा । यो चैं अलिक अमिल्दो भयो कि भन्ने मलाई लागिरह्यो । रमाको निःस्वार्थ र निष्कलंक प्रेम एउटा प्रमुख शक्तिको रुपमा सबैलाई उदाहरणीय बन्न पुगेकोछ ।

उपन्यास “विसर्ग” समष्टिमा पठनीय र संग्रहनीय छ । नेपाली भाषा साहित्यमा एउटा विशिष्ट उपन्यासको संख्यामा थप भएकोछ ।विशिष्ट साहित्यकार द्वयलाई शुभकामना र बधाई ।