क्यानडाको ब्रिटिश कोलम्बिया राज्यमा पर्ने भ्यानकुभर सहर, मार्च २०१७ को अन्तिम साता । सोसाइटी फर अमेरिकन आर्कियोलोजीको वार्षिक सम्मेलन त्यही रमणीय शहरमा आयोजित गरिएको थियो । सम्मेलनमा भाग लिन विश्वभरका पुरातत्त्वविद्, इतिहासकार, अनुसन्धानकर्ता, विश्वविद्यालयका प्राध्यापकहरू भेला भएका थिए । अधिकांश सहभागीहरू भने अमेरिकीहरू नै थिए ।
म र डेल पनि सम्मेलनमा भाग लिन भ्यानकुभर गएका थियौं । केही वर्षदेखि, हामी दुवैजना अफगानिस्तानको प्रसिद्ध मेस आइनाक र छेउछाउका क्षेत्रहरूको इतिहास, पुरातात्त्विक सम्पदाको अन्वेषण, दस्ताबेजीकरण र संरक्षणमा पनि सहकार्य गर्दै आएका थियौं । अफगानिस्तानबाट रुस पछाडि हटेपछि, तालिबान शासनकालमा ऐतिहासिक र पुरातात्त्विक स्थलहरूको विनाशको शृङ्खला देखेको थियो त्यहाँ विश्वले ।
संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूको सहयोगमा अफगानिस्तानमा निर्वाचित सरकार सत्तामा आएपछि प्राचीन सम्पदाहरू जोगाउन अन्तर्राष्ट्रिय निकायहरू द्रुत र युद्धस्तरमा काम गरिरहेका थिए । तालिबानहरूको अझै पनि ग्रामीण इलाकाहरूमा केही उपस्थिति थियो, र कहिलेकाहीं अक्कल-झुक्कल सहरहरूमा समेत अझै पनि छिटपुट आतंकका समाचार सुनिन्थे ।
पुरातात्त्विक स्थल वा त्यहाँका रहेका चीजहरू ढिलोचाँडो सबै, सधैंका लागि हराउनेछन् कि भन्ने एक भावना, एक भयानक भय र सम्भावना त्यहाँ काम गर्ने हामी सबैका मनमा थियो । अफगानिस्तानको ऐतिहासिक र पुरातात्त्विक सम्पदालाई सकेसम्म जोगाउन विश्वका देशहरू मिलेर काम गरिरहेका थिए। म र डेल पनि यसको एउटा सानो भाग थियौं ।
मैले र डेलले भ्यानकुभरमा भएको त्यो सम्मेलनमा दुईवटा शोधपत्र प्रस्तुत गर्यौं । दुवै शोधपत्र हामीले संयुक्त रूपमा तयार पारेका थियौं । एउटा लेखको शीर्षक ‘अफगानिस्तानमा पुरातात्त्विक स्थलमा सहरीकरणको प्रभाव’ थियो भने अर्कोको शीर्षक थियो ‘उत्तरी अफगानिस्तानको बल्ख क्षेत्रका केही गुफा-मिथकहरू’ । पहिलो लेखमा म प्रमुख अनुसन्धानकर्ता थिएँ र दोस्रोमा डेल ।
सम्मेलन अवधिमा बेलाबेला समय छुट्याएर, हामीले हाम्रो ‘नयाँ ढिस्को’ को प्रस्तावमा राष्ट्रिय विज्ञान फाउन्डेसनले सोधेका प्रश्न र राखेका जिज्ञासाका जवाफ कसरी दिने भन्ने खेस्रा तयार गर्यौं । अन्तत, मैले अन्तिम मस्यौदा तयार परेर डेललाई पठाउने र उनले त्यसलाई एकपटक हेरेर पठाउनेमा सहमति भयो ।
सम्मेलन समाप्त हुनु एकदिन अघिको बिहान, म र डेल, हामी बसेकै होटलको रहेको रेस्टुरेन्टमा बिहानको खाजा खान भनेर गयौं, हिजो बेलुकाकै सल्लाहअनुसार ।
“यस वर्षको अधिवेशन पनि सकियो,” डेलले कफीको पहिलो चुस्की लिँदै भने ।
“हो,” मैले भनें र आफ्नो कफीको कप उठाएँ र एक घुट्की कफी निलें । त्यसपछि बिस्तारै कप टेबलमा राखे र भनें, “म भोली बिहानैको फ्लाइटबाट फर्किन्छु। तिमी त आज राती नै फर्किने, हैन ?”
“हो ।”
एकछिन सम्म हामी चुपचाप कफी पिइरह्यौं ।
“जेन,” डेलले मौनता भङ्ग गर्दै भने, “ए साँची, आगामी अगस्टमा २१ का दिन एउटा दुर्लभ, खग्रास सूर्यग्रहण लाग्दै छ । म ओरेगन राज्यको एउटा सानो सहरमा यो हेर्न जाँदैछु । तिमी पनि आउने हो ?”
“तिमी र यी ग्रहण, के सम्बन्ध छ तिम्रो र ग्रहणको ?” मैले अलिकति जिस्क्याउँदै भनें । मलाई थाहा थियो डेलको ग्रहण प्रतिको जिज्ञासा, चासो र उत्सुकताको बारेमा ।
“जसरी पुरातात्त्विक वस्तुहरू, जीवाश्महरू, वा ऐतिहासिक महत्त्वका अन्य चीजहरू पृथ्वीका पत्र भित्र भेटिन्छन् । उसैगरी ग्रहणहरूले पनि समयको पत्रबाट ऐतिहासिक जानकारी दिन सक्छन् नि ।” आफ्नो कुरालाई तर्कले बाँध्न डेलले चलाखीपूर्वक उनी आफू इतिहास र म पुरातत्त्वको प्राध्यापक भएको र हाम्रो कामको बारेमा सम्झाएका थिए ।
“मलाई एक वा दुई उदाहरण दिन सक्छौ ? मैले चुनौती दिएजसरी सोधें ।
“म धेरै उदाहरणहरू दिनसक्छु । ईसा पूर्व ५८५ मे महिनामा, दुई ग्रीक राज्यहरूको युद्धको बिचमा सूर्यग्रहण लागेको थियो । त्यो युद्ध केही वर्षदेखि चलिरहेको थियो । त्यस दिन मध्य दिनमा जब आकाशबाट अन्धकार धरामा झरेको थियो, घाम दिउँसै अचानक अस्ताए जस्तै भयो । दुवै सेनाका सिपाहीहरूले भयभीत भएर आफ्ना-आफ्ना हतियार भुइँमा फाले । यसले गर्दा दुई युद्धरत पक्षबीच शान्ति सन्धि भयो । भनिराख्न पर्दैन, त्यो ग्रहणले जीवन बचाएको थियो । मानव इतिहासमा पहिलो पल्ट, मिल्ने गरी गरिएको सूर्यग्रहणको भविष्यवाणीको पहिलो घटना पनि थियो त्यो ।
त्यसैगरी २९ मे १९१९ को ऐतिहासिक सूर्यग्रहणले आइन्स्टाइनको सापेक्षताको सिद्धान्तलाई पहिलो पटक प्रमाणित गर्न मद्दत गरेको थियो,” यति भनेर डेल चुप लागे ।
“अनि, अगस्ट २०१७ मा तिमीले ओरेगनबाट हेर्न चाहेको ग्रहण चैं ?” मैले जिज्ञासापूर्वक सोधें ।
“करिब आठ सय वर्षअघि, इ. स. १२५७को जुन महिना पछि यस्तो कुनै सूर्यग्रहण लागेको थिएन । अर्थात् पछिल्लो पटक यस्तो सूर्यग्रहण लाग्दा, संयुक्त राज्य अमेरिकाको जन्म पनि भएको थिएन ।”
“डेल, तिमी इतिहास र आइन्स्टाइनको पछाडि लुक्ने प्रयास नगर । सिधै स्वीकार गर न, ग्रहण प्रति त्यसै आकर्षित हुन्छौ,” मैले उनलाई जिस्क्याउँदै भने ।
“हो, म स्विकार्छु,” डेल मुस्कुराए र आत्मसमर्पणको भावमा आफ्ना दुवै हात उठाए ।
अनि उनले फेरि भने , “तिमीले मलाई कतिपल्ट के भनेकी छ्यौ भने, तिमी कलेजमा हुँदा अठारौं र उन्नाइसौं शताब्दीका साहित्यको रोमान्टिसिज्म आन्दोलन प्रति ठूलो झुकाव थियो र त्यस्ता साहित्य तिमीलाई औधी मन पर्थ्यो । अर्थात् तिमी त्यसको फ्यान थियौ । संसारका विभिन्न संस्कृतिले पनि ग्रहणको घटनालाई त्यस्तै प्रकृतिको एउटा रोमान्टिक कृति वा विशेष गरेर स्वर्गीय अथवा आकाशीय कृतिको रूपमा हेर्ने गर्छन् ।”
“जस्तो ?”
“संसारका अनेकौं समाजमा थरिथरिका किम्बदन्ती र मिथक छन् । ग्रहण सम्बन्धी यस्ता मिथकमा तहितीको एउटा किम्बदन्ती यस्तो छ – घाम र जुन प्रणयलिला वा रासलीलामा लिप्त रहेको बेला ग्रहण लाग्छ, अँध्यारोमा उनीहरूको त्यो क्रियाकलाप नदेखियोस् भनेर । उनीहरूको मिलनबाट जन्मेका हुन् अरे ताराहरू।”
म यसो मस्किएको देखेर होला, डेलले अरू हौसिंदै भने, “त्यस्तै अर्को एक मिथक अनुसार, पहिले घाम र जुन सधैँ सँगसँगै हुने गर्दथे, हिंड्ने गर्दथे । यस्तैमा सूर्यलाई धोका दिएर एक पल्ट चन्द्रमाले झिसमिसे बिहानको तारासँग अनैतिक सम्बन्ध राख्न पुगे । त्यसको सजायस्वरूप घाम र जुनले छुट्टिनु पर्यो, जसअनुसार घाम दिउँसो हिँड्न थाले अनि चन्द्रमाले राति-राति हिँड्नु पर्ने भयो । तै पनि उनीहरूलाई वर्षको एकदुई पल्ट मिलनको अवसर दिइयो । ग्रहण भनेको त्यस्तै मिलनको लागि दिइएको अवसर हो जसमा उनीहरू एकअर्कालाई म्वाइँ खान्छन्, एकछिन् अँगालोमा बेरिन्छन् । अनि फेरि सजाय पूरा गर्न छुट्टिइहाल्छन्,” डेलेले भने ।
“त्यसो भए तिमी मलाई एउटा आकाशीय अश्लील सिनेमा हेर्न निम्त्याउँदै छौ, उक्साउँदै छौ, हैन ?” मैले ठट्टाको भावमा भने ।
“त्यसो त सिधै कसरी भन्नु, तर प्रेमलीला वा रासलीला भन्दा होला, त्यो पनि मैले भनेको हैन, केही मिथकहरूले इङ्गित गरेको आधारमा । अझ भन्नु पर्दा, आकाशमा प्रकृतिको एउटा मिलनको उत्सवमा सामेल हुन मैले तिमीलाई निम्त्याएको । त्यो अवसरमा सामेल हुन भनेर ताराहरू पनि एकैछिनको भए पनि आकाशमा आउँछन् । भन त, कस्तो विलक्षणको क्षण हुन जान्छ त्यो क्षण, अरू बेला कहिल्यै दिउँसै तारा देखिन्छन् ?”
“त्यसो भए त्यो सब हेर्न किन ओरेगन नै जानु पर्यो, के अन्य ठाउँबाट त्यो ग्रहण हेर्न सकिंदैन र ?” मैले ग्रहण हेर्न ओरेगन जानु पर्ने कारण जान्न चाहें ।
“खग्रास सूर्य ग्रहणको बाटो अमेरिकाको दक्षिणपूर्व समुद्री तट हुँदै पुरा उत्तर-पश्चिमी समुद्र तटसम्म हुनेछ ।”
“अनि ?”
“म त खाली भीडलाई पछ्याउँदै छु । सुक्खा हावा, सफा आकाश र उपयुक्त उचाइको कारणले गर्दा म्याड्रस भन्ने ओरेगनको एउटा सानो सहरमा, ग्रहण हेर्न भनेर त्यसदिन संसारभरका मानिसहरूको भीड लाग्नेछ । मैले भने नि, म भीडलाई पछ्याउँदै छु ।”
डेलले मतिर छड्के आँखा लगाउँदै फेरि थपे, “आउने हैन त तिमी ?”
“हुन त, मैले पनि त्यसैताका कामबाट अलिकति फुर्सत लिने र बिदामा बस्ने विचार गरी नै राखेकी थिएँ । ओरेगनको म्याड्रस र खग्रास सूर्यग्रहण नै सही, म विचार गर्नेछु ।” मैले जवाफ दिएँ ।
अन्ततः म पनि ओरेगनको त्यो सानो सहर म्याड्रसमा खग्रास सूर्य ग्रहण हेर्न जम्मा भएको भिडमा गएर मिसिएँ । त्यहाँको स्थानीय समाचारपत्र अनुसार, त्यस दिन त्यो सहरमा त्यहाँका बासिन्दा भन्दा बाहिरका मान्छेको संख्या धेरै थियो ।
साँझ परेपछि हामी बसेको होटलको सिफारिसमा अलिक पर रहेको एउटा रेस्टुराँमा खाना खान भनेर होल्ताल्बात निस्केर त्यतातिर लाग्यौं । फुटपाथमा हिँड्ने मान्छेको र बाटामा गुड्ने कारको भिड थियो ।
“यो हेर्दा त यो सहरको नाम म्याड्रस नभएर म्याड-रश (बहुला भिड) हुनु पर्ने देखिन्छ,” मैले हाँस्तै भनेकी थिएँ ।
मेरा आँखा खुले । कहाँ छु भनेर एकैछिन् अलमलिएँ तर तुरुन्तै म आफ्नो होटलको कोठामा छु भन्ने थाहा पाइहालें । अलिअलि टाउको पनि दुखेको थियो; राती बारमा अलिक धेरै पिएँ भन्ने पनि लागेको थियो । म बाथरुम जान भनेर यसो उठेकी मात्र के थिए अचानक ओछ्यानको अर्को छेउमा डेललाई सुतिराखेको देखेर झन्डै चिच्याएँ ।
“डेल,” मैले अलिक चर्को आवाजमा बोलें । अनि सोधें, “मेरो कोठामा तिमी के गर्दै छौ ?”
“यो तिम्रो कोठा होइन, यो मेरो कोठा हो,” डेलले भने ।
म छक्क परेको देखेर डेल भन्न थाले, “राती बारबाट फर्कंदा तिमीलाई निकै लागेको थियो । एक प्रकारले तिमीलाई तङ्ग्रिंदै ल्याउनु परेको थियो । तिम्रो कोठाको ढोका अगाडि आइपुगेर मैले साँचो मागें, तर तिमीले त्यो तिम्रो पर्समा भेटिनौ । अनि मैले तिमीलाई मेरो कोठामा झन्डै-झन्डै घिसार्दै ल्याएर ओछ्यानको एउटा छेउमा सुताएँ र म अर्को छेउमा पल्टेको यसो के थिएँ, कुन बेला भुसुक्कै निदाएछु पत्तै भएन ।”
मेरो रिस मरिसकेको थियो, मुख तातो र सेट रातो पनि भएको थियो होला ।
डेल तिर हेरे मैले काँतर स्वरमा सोध्न खोजें, “हामीले…”
डेलले ‘अहँ’ को भावमा टाउको हल्लाए । मैले ढुक्कको, लामो सास फेरें ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।