वानीरा गिरी

 

– ए हिँड हिँड… स्टार्ट, स्टार्ट…
– अबेर भो, लौ बा क्लास छुट्ने भो… ल ड्राइभर सा’ब चाँडै…
– पाइलट भन न पाइलट… अनि पो कुद्छ त…
– हेर के सिद्रा कोचेजस्तो कोच्या… मरिने भो बा !…
– नयाँ सन्देश !… नयाँ सन्देश !!… सरकारी सेवामा अनुपयुक्त ठहरिएका प्रथम, द्वितीय र तृतीय श्रेणीका तीस जना कर्मचारी सेवामुक्त…
– लिनुहोस् ! लिनुहोस् सुन्तला दुई रुपियाँको पाँच ! दुई रुपियाँको पाँच…
– ल ल भो, अर्कोमा आउनुस् ! अर्कोमा आउनुस्…

कन्डक्टरको खस्रो आवाजसितै बसको ढोका थुनियो, थुनियो के भन्ने बसको ढोका कोल्टे पर्‍यो, झुण्डने विद्यार्थीहरुको मोहडा उज्यालो भयो, फर्सी र कुभिन्डोजस्तो तर्लाङतुर्लुङ झुण्डिएर भए पनि कीर्तिपुर पुग्ने भइयो ।

ढ्याप–ढ्याप… कण्डक्टरको हत्केलाको आवाजले ड्राइभर अक्कलबहादुर झसङ्ग भयो । उसको सर्वाङ्गलाई हिजो रातिदेखि आज बिहानसम्मका दृश्य र घटनाहरुले झ्वाम–झ्वाम पोलिरहेको थियो । सानामा डाँडा–चउरतिर चिप्लेटी खेल्दा कहिलेकाहीँ सिस्नुका घारीमा परियो भने कतिबेरसम्म सिस्नुका काँढाले त्यसरी नै झ्वाम–झ्वाम पोलिरहन्थ्यो तर त्यो पोलाइमा कुन्नी कस्तो आनन्द थियो, अक्कले आफैँ बुझ्न सक्तैन, सायद चिप्लेटी खेल्दाको पोलाइ थियो त्यो, सायद बालक किशोर हुन लाग्दाको पोलाइ थियो त्यो तर हिजोको पोलाइले उसको शरीरको रगतलाई समेत झनझनाइदिएको छ, ठोसलाई मात्र होइन तरललाई समेत, तरल पनि झन्झनिन सक्दो रहेछ । यो हिजो र आज बिहानभरिमा उसले थाहा पायो, यो एउटा अनौठो तर सत्य कुरो उसले थाहा पाएको छ । यस अर्थमा ऊ एउटा नयाँ दिग्विजय गरेको एउटा सिङ्गो सिकन्दर बनेको छ ।

अक्कलेले कहिल्यै सोचेको थिएन– उसलाई यसरी एकाएक सिस्नुले पोल्ला, ऊ यसरी एकाएक झन्झनिनुपर्ला, यसरी उसका सारा इन्द्रियहरु मर्लान् र ऊ केवल ‘झ्वाम–झ्वाम’को एउटा अभिव्यक्ति मात्र हुनुपर्ला ।
अक्कले, बिचरो हिजो राति आठ बजेअघिसम्म मात्र कत्ति उन्मुक्त थियो । एक पाउ रक्सीले मस्त र सन्तोकी बनी कति टाढा–टाढासम्म ऊ पखेटा चाल्न सक्थ्यो… सयपत्री र गोदावरी ढकमक्क फुल्ने उसका आँखा भरिभरि, छाती भरिभरि, रहर भरिभरि, हिजोसम्म कत्ति जागरुक थिए उसका सारा इन्द्रियहरु… स्वास्नीको मतमताउँदो शरीरको स्पर्शको कल्पना मात्रले पनि ऊ कत्ति रमाउन सक्थ्यो… ! रमाइलो झझल्कोसितै अन्तिम ट्रिप सिध्याएर बस थन्क्याएपछि कसरी एउटा सस्तो हिन्दी फिल्मी गाना गुन्गुनाउँदै ऊ ‘घर’ नामक एउटा गन्तव्य स्थलतिर कुदिरहेको थिया… कसरी उसले साबिकजस्तै थापाथली–माइतीघरकै छेउको त्यो सानो छाप्रोमा मुड्की पारेर ढकढकायो… स्वास्नीको तातो गन्धको सम्झनाले मात्र ऊ एक छिन त्यसमा रमायो… हेर्‍यो अर्थात् भनौँ थाहा पायो ढोको खुलेको छैन, अब उसको ढकढकाइको मात्रा बढ्यो, ढकढकाइको आवाज पनि उच्च हुँदै गयो… ।

ती मात्रा र आवाजको तुलनामा अब अक्कले झन् पुड्को झन् पुड्को हुँदै गयो, झन् बिलाउँदै झन् बिलाउँदै गयो… अब आफूलाई उसले हरायो र आफूलाई उसले त्यो मुड्कीसित साट्यो.. अक्कले अब मुड्की भयो र भएभरको बलसित मुड्कीले ढोका उघार्‍यो…

ढोका उघ्रिनु के थियो, अक्कलेको सारा अस्तित्व इन्तु न चिन्तुको फलामे मुड्की हुनुथियो, उसकी स्वास्नी फरिया काखमा थुपोर घोप्टेकी थिई, आफूसित सधैँ कामकाजबिना पनि मित्रु बन्न खोज्ने ठेकेदारसाहेब (जसले चुरोट दिँदा कहिले चिया खान होटल लग्दा ऊ आफ्ना ड्राइभरसाथीबीच कत्ति गर्व महसुस गथ्र्यो) अन्डरवियर मात्र लगाइसकेर प्यान्ट ाउन खोज्दाखोज्दै हात कामेर उसलाई हेरिरहेछ । होइन, मुड्कीलाई थर–थर काँप्दै कुरिरहेको छ, मुड्की पहिले सारा शक्तिका साथ ऊमाथि नै बज्रियो, नेताको भाषणजस्तै अबाध गतिमा मुड्की बज्रियो.. बज्रियो.. बज्रियो, मुड्कीको वज्र अब स्वास्नीतिर हानियो र मुड्कीले ‘मार्‍यो मार्‍यो, गुहार गुहार !’ को एउटा कोलाहल जन्मायो । मुड्की रोकिएन र आफ्नै दुइटै गन्तव्य थलोमा पालैपालो मुड्की बज्रिरह्यो… । कति बेला अरु ड्राइभर, कन्डक्टर र क्लिनर छिमेकीहरु भेला भए, कति बेला मुड्कीको सञ्चालनमा बाधा पर्‍यो, मुड्कीलाई केही होस भएन, कोलाहलको बीच मन्चेती बस्यो, मुड्कीका कानहरु मरिसकेका थिए… रातभरि के के बके ती समूहित कोलाहले, मुड्कीले केही बुझेन, केही सुनेन मुड्कीले, स्वास्नीको यत्ति एउटा वाक्य मात्र सललल सर्पजस्तो बगेर कानको प्वालभित्र पस्यो, ‘ठेक्दारसाहेबले मलाई करनी गर्नुभा होइन, म स्वेच्छाले उहाँसित सुतेकी हुँ ।’

यो सर्पदंशसितै मुड्कीको फेरि चोला फेरिन थाल्यो, उसका कानहरु विषयपानपछिको शिवको घाँटीजस्तै सजग भएर उम्रिए, उसका हातगोडा उम्रे, उसका मुटुकलेजा उब्जे, उसका सारा इन्द्रियहरुमा, इन्द्रियहरु यस्तरी मर्न सक्दा रहेछन्, इन्द्रियहरु यसरी नपुङ्सक हुन पुग्दा रहेछन्, एउटा नौलो अधमरो अनुभूति रगतका थोपाथोपामा लिएर एउटा अर्कै अक्कले देखापर्‍यो ।

नयाँ अक्कले कसैको मुख नहेरी त्यहाँबाट जुरुक्क उठ्यो, बिहानीका पहेँला क्षयरोगी किरणहरुले उसका आँखाहरुलाई भतभती पोले । आज दिसा–पिसाबजस्तो साधारण तर अनिवार्य क्रियाकलापलाई पनि वास्ता नगरी सोझै ग्यारेजमा पुग्यो । कतिबेला कुपण्डोल पुग्यो, कति बेला पुल्चोक पुग्यो, नयाँ अक्कलेले केही थाहा पाएन, एउटा सिस्नोको झ्याङको झ्वाम–झ्वाम अघि–पछि, दायाँँ–बायाँ लाएर ऊ हिँड्यो, गाडी हाँकेकोसम्म उसले थाहा पाएन, पेसिन्जर कोचाकोच भएकोसम्म उसलाई थाहा भएन ।

सहिदगेटमा बसभित्र हूल अझ बढ्यो, दुई तीन वटा मस्त बेलबट्स तरुनीहरु ड्राइभरको ढोकापट्टिबाट उक्लेर ड्राइभरकै पछाडि उभिए, कता–कता अक्कलेसित स्पर्शित भए ती तरुनी शरीरहरु, तर अक्कलेभित्र केही पनि चलमल भएन, काखी र पसिनाको गन्धले उसको नाकलाई बिउँझाएन, हाँसो र खितखितले उसका कानलाई उघारेन, बसलाई दगुरायो उसले ।
बसभित्र पेलापेल थियो, भत्किन लागेको पुलको छेउमा पुगेपछि आफूपछाडिका तीनवटा बेलबट्ससमेत सब पेलापेललाई हुत्याएर पानीमा पुर्‍याउने सनकले उसलाई अलिकति ‘वाह वाह’ भन्ने खालको सिरिङ्ग दियो, स्टेयरिङलाई बेस्करी घुमायो ।
बसभित्र ठूलो हल्ला भयो, ‘ए.. खत्तम खत्तम … के गर्‍या के गर्‍या… !’

स्टेरिङ फेरि घुमायो, बस सडकमा नै छोड्यो, पानीमा परेन । सबै एक छिनको त्रासपछि छिल्लिएर हाँसे ।
अक्कलेलाई आफ्नो गल्तीमा आफैँलाई पछुतो भयो, उसले किन बसलाई सडकतिर ल्यायो ? … ‘म स्वेच्छाले उहाँसित सुतेकी हुँ’ झ्वाम–झ्वाम.. सिस्नुको झ्याङमा अक्कले लटपटियो ।

अहिले अक्कले स्वेच्छाले सडकमा गाडी हाँकिरहेछ, अक्कले स्वेच्छाले बस कीर्तिपुर पुर्‍याइरहेछ, अक्कले स्वेच्छाले फेरि रत्नपार्क फर्कन्छ, अक्कले स्वेच्छाले बसलाई पानीमा डुबाउँदैन, अक्कले स्वेच्छाले स्टेयरिङ पक्रन्छ, झ्वाम–झ्वाम… अक्कलेलाई सिस्नुको झ्याङले पोलिरहन्छ, पोलिरहन्छ ।