साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

“झण्डा उचालेर डण्डा खाएर मलाई कहीँ पुग्नु छैन”

वानीरा गिरी, स्केचः कृष्ण मर्सानी

जीवनको अधिकांश समय साहित्य साधनामा समर्पित स्रष्टा हुनुहुन्छ, डा. वानीरा गिरि । उहाँ नेपाली साहित्यमा वरिष्ठ कवयित्रीका रूपमा स्थापित र सम्मानित हुनुहुन्छ । कविताका साथै उपन्यास र निबन्ध विधामा पनि आफ्नो काव्यात्मक विशिष्टता प्रकट गरिसक्नु भएको छ उहाँले । आफ्नो सिर्जना र साधनामा विश्वस्त डा. वानीरा गिरिले पहिलो पटक लेख्नु भएको कविता नै लोकप्रिय भएर सात ठाउँबाट प्रकाशित भएको थियो ।

श्रीओम श्रेष्ठ‘रोदन’

‘गोपालप्रसाद रिमालको कवितामा स्वच्छन्दतावाद’ विषयमा विद्यावारिधि गरेर उहाँ नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम नारी हुनु भएको छ ।

सन् १९४६ अप्रिलमा दार्जिलिङको खरसाङमा जन्मनु भएका डा. गिरि साहित्यिक सिर्जनाका साथै स्पष्ट विचार र व्यवहारका पनि धनी हुनुहुन्छ । उहाँले व्यक्तिगतरूपमा गर्नु भएको विदेश भ्रमणबाहेक रुस, अमेरिका, जापान, भारत र फ्रान्सका विभिन्न सहरमा भएका अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा नेपालको तर्फबाट सहभागी हुनु भएको छ ।

हालसम्म उहाँका ‘एउटा एउटा जिउँदो जङ्गबहादुर, जीवन थाय्ः मरु, मेरो आविष्कार कवितासङ्ग्रह कारागार, निर्बन्ध र शब्दातीत शान्तनु उपन्यास र पर्वतको अर्को नाम पार्वती (निबन्धसङ्ग्रह) उहाँको The Prison, My Discovery, From the Lake, Love / From the  Otherland जस्ता अङ्ग्रेजी पुस्तकहरू पनि प्रकाशित छन् ।

वि.सं. २०५८ देखि प्रत्येक वर्ष प्रदान गर्दै आएको मधुपर्क सम्मान–२०५९ बाट डा. वानीरा गिरि सम्मानित हुनुहुन्छ ।

█ तपाईंको सिर्जना यात्रा कसरी सुरु भएको थियो ?
मैले कक्षा २ मा पढ्दा ‘वर्षा’ शीर्षकमा कविता लेखेको थिएँ स्कुलमै । त्यो कविता हेरेपछि शिक्षकहरूले सानो बच्चाले लेखेको भए पनि कवितामा प्राण छ भनेर चर्चा गरेका थिए । पछि सेन्ट जोसेफ स्कुलमा पढ्दा साहित्यप्रति निकैआकर्षित भैसकेको थिएँ । त्यही कक्षा ८ मा पढ्दा ‘मुटु’ भन्ने हस्तलिखित पत्रिका निकाले । पत्रिका निकालेपछि मैले धेरै माया पाएँ, अरूले ल्याएका खाजासमेत मलाई खुवाउँथे ।
यसरी नै थाहै नपाइकन मेरो नियतिले मलाई साहित्यिक यात्रा गराएको थियो ।

█ रचना चाहिँ कहिले छापिएको थियो ?
सम्भवत म १० कक्षामा पढ्दै गर्दा ‘एउटा फूलको जिन्दगी’ शीर्षकको कविता लेखेँ । यो कविता दार्जिलिङबाट निस्कने ‘दियो’ वा कुनै पत्रिकामा प्रकाशित भएको थियो । त्यही कविता आसाम, बनारसका स्थानीय पत्रिकालगायत सात ठाउँका पत्रिकामा साभार गरेर छापिएको थियो । मैले जीवनमा पहिलोपटक छापिएको कविताले नै धेरै चर्चा पाएको थिएँ ।

█ अभिव्यक्तिका लागि कविता र उपन्यासमध्ये कुन बढी सहज ठान्नुहुन्छ ?
उस्तै हो । म कविता र उपन्यास दुवै एकै प्रकारले लेख्छु । त्यसैले मेरा तीनवटै उपन्यासहरूलाई काव्यान्यास हुन् भनेर भनेका छन् । मेरा उपन्यास पनि काव्यसरह नै हुन् । अहिले प्रकाशन भएको ‘पर्वतको अर्को नाम पार्वती’ निबन्धसङ्ग्रहलाई पनि कविताजस्तै भन्न थालिसकेका छन् ।

█ तपाईं आफूचाहिँ कुन विधालाई प्रिय ठान्नु हुन्छ ?
म आफ्नो रचनालाई छोराछोरीजस्तै ठान्छु, आफ्नो सन्तानमध्ये कुनलाई राम्रो, कुनलाई नराम्रो भनेर कसरी छुट्याउनु ?

█ पाठकीय दृष्टिले नि ?
कवितालाई जस्तै गरेर पाठकले उपन्यासलाई पनि मन पराएका छन् । प्रशंसा पनि शालिन गर्छन् ।

█ आफूलाई चाहिँ के लाग्छ नि ?
मेरा कविताका पृष्ठभूमि र कारण छन् । त्यतिकै कविता लेख्ने मान्छे होइन, त्यसैले मलाई मेरा लेखनको हाइट छ भन्ने महसुस छ किनभने पाठक सचेत छन् र मूल्याङ्कन गरिरहेकै हुन्छन् भन्ने लाग्छ ।

█ नेपाली साहित्यमा पहिलोपटक विद्यावारिधि गर्न कसरी आकर्षित हुनु भएको थियो ?
नेपाली साहित्यमा विद्यावारिधि गर्ने म नेपालको मात्र नभएर विश्वकै पहिलो नारी हुँ । किनभने नेपाली साहित्यको अध्यापन नेपालमा मात्र नभएर भारतको बनारस, अक्सफोर्डलगायत अन्य विश्वविद्यालयहरूमा पनि हुन्छन् । ती विश्वविद्यालयबाट पनि कसैले पीएचडी नगर्दै सबैभन्दा पहिला मैले नै गरेको थिएँ ।

मेरो सानैदेखिको साहित्यप्रतिको प्रेमले गर्दा साहित्यमा नै पीएचडी गर्न आकर्षित भएकी थिएँ । अर्को कुरा म गोपालप्रसाद रिसाललाई अत्यन्त मन पराउँछु । यदि पूर्वजन्म थियो भने मेरो रिमालसँग पक्कै कुनै सम्बन्ध थियो होला । किनभने रिमालको कविता पढ्दा मैले नरोएको दिन हुँदैन । त्यसैले मैले ‘गोपालप्रसाद रिमालको कवितामा स्वच्छन्दतावाद’ विषयमा नै पीएचडी गरेको थिएँ ।

█ पीएचडीको परिणामको विषयमा शक्ति प्रयोग गर्नु भएको भनिन्छ नि ?
कहाँबाट कसरी शक्ति प्रयोग गर्नु ? यतिसम्म त मैले सुनेको थिइन तर केही कथित विद्वान्हरूले मेरो पीएचडीलाई केही पनि होइन भनेर भनेको चाहिँ सुनेको थिएँ । मेरो पुस्तक अङ्ग्रेजीमा अनुवाद ग¥यो भनेर मञ्जुश्रीसँग रिसाउने पनि थिए रे । यस्ता हावादारी विषयमा कसले के भन्छ भनेर पछाडि लागेको भए आज वानीरा, वानीरा हुने थिएन । हेर्नुस्, म फाइटर होइन, राइटर मात्र हुँ ।

█ साहित्यिकसभा समारोहमा जाने गर्नु हुन्न किन ?
कुनै विशेष कारण छैन । म नियतिले लेखक बनेको मान्छे हुँ । म सधैँ लेखक नै भएर बाँच्न चाहन्छु । त्यसैले एक्लै बस्छु । मेरो साथी म नै हुँ ।

█ अहिले सिर्जनाले भन्दा सक्रियताले प्रभावकारी हुने गरेको समयमा तपाईंको निस्क्रियताले हानी पुयाउला नि ?
ठीकै छ, मलाई कुनै अर्थ राख्दैन । लेखकको सबैभन्दा ठूलो कुरा लेखन र अध्ययन नै हो । अरूले प्रभावकारी बन्नेहरू क्षणिक हुन्छन्, स्थायी बन्न सक्दैनन् । कार्यक्रमहरूमा नगएकै कारण हानी पुर्‍याएछ भने म स्वीकार गर्छु । आखिर मलाई के चाहिँ लिनु छ र ?

█ पुरस्कार/सम्मानमा त फरक परेकै होला ?
होस् न त । त्यो भएर के हुन्छ र नभएर के चाहिँ भएको छ र ? झण्डा उचालेर, डण्डा खाएर मलाई कहीँ पुग्नु छैन । कविहरूले जे सत्य छ त्यही बोल्न सक्नुपर्छ । कसैको झण्डामुनि बसेर सत्य लेख्न नसक्ने कसरी कवि हुन सक्छन् ?

█ स्वदेशमा सक्रिय नभए पनि विदेशी कार्यक्रममा सक्रिय हुनुहुन्छ ?
नेपालमा मैले जिन्दगी दिएँ तर नेपालले मलाई चिनेन तर विदेशीहरूले चिने । उनीहरू सबै सुविधा दिएर डाक्छन् अनि किन नजानु ? म कहिले पनि निम्तोको पछाडि लागेको छैन निम्ताहरू नै मेरो पछि लागेका हुन् । हेर्नुस्, वानीराले केही खोज्दिँन, वानीरालाई नै खोज्दै आउँछन् ।

█ तपाईं आफ्नो थरलाई किन प्रचलित भन्दा फरक ‘गिरि’ लेख्नुहुन्छ ?
यसको ठूलो कारण छ । मैले लेख्ने गरेको ‘गिरि’ ले पर्वतलाई बुझाउँछ । म सन्न्यासी परिवारबाट आएकी भए पनि ‘गिरी’ जातलाई म मान्दिन ।

कुनै समय हिन्दू धर्ममा भएको अन्याय, अत्याचार र कट्टरताले गर्दा धेरै हिन्दूहरू अन्यत्र लागेका थिए । त्यसपछि हिन्दूधर्मको पुनरुत्थानका लागि शङ्कराचार्यले ‘यदि तिमीहरू साँचो सन्न्यासी हौं र हिन्दू हौं भने सबै कुरा छोडेर मसँग हिँड भनेर लैजानु भयो । एकथरीलाई गिरिराज हिमालतिर जान भन्नुभयो र तिनीहरू ‘गिरी’ भए । अर्काथरीलाई भारतवर्षमा बस्न भन्नुभयो र तिनीहरू ‘भारती’ भए र दसनामीहरूलाई जगन्नाथपुरी जान भन्नुभयो र उनीहरू ‘पुरी’ भए । यस अर्थमा हामी ‘गिरी’ नभएर ‘गिरि’ नै हौँ ।

█ तर एक्लो वृहस्पतिजस्तो हुनुभयो नि ?
केही छैन । यसलाई पनि म मेरो नियति नै ठान्छु तर मैले लेख्न थालेपछि प्रदीप गिरी र अरुले पनि लेख्न थालेका छन् ।

█ अहिलेको युवा पुस्ताको लेखनलाई कसरी हेरिरहनु भएको छ ?
अहिलेको युग युवाहरूकै युग हो । उनीहरूको लेखन शक्तिशाली छ । अहिले युवाहरूले भोगिरहेको कुरा हामी हेरी मात्र रहेका छौँ । युवाहरूबाट हामीले के पाउँछौ त्यो लिने हो हामीबाट उनीहरूले के पाउँछन् त्यो लिने हो । यसबाट लेखनमा अनुभवको एक्सचेन्ज पनि हुन्छ ।

█ नेपाली साहित्यमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदमै सन्तुष्ट छु । किनभने मलाई बुझ्नेहरू पनि प्रशस्त छन् । मेरो रचनालाई सम्मान गर्नेहरू पनि छन् । देशविदेशबाट खोजीखोजी आउनेहरू पनि छन् । म खुसी छु । म जे छु जे पाइरहेको छु त्यो भन्दा बढी के हुनु छ र ?

█ भविष्यमा कुनै विशेष लेखनको योजना छ कि ?
मेरो अटोबायोग्राफीलाई विशेषरूपमा नै लेख्छु भन्ने सोचेकी छु । केही जिम्मेवारीहरू सकिएपछि लेख्न थाल्छु । त्यसैले जीवनका प्रत्येक घटनाका विवरणसहित तिथिमिति टिपिरहेको छु । मेरो अटोबायोग्राफी कतिपय स्थापित पात्रहरू जिउँदो हुँदै छाप्न चाहन्छु । मरेपछि कसैले जवाफ दिइरहनु पर्दैन तर म मरेँ भने तिनीहरू बाँच्न पनि सक्लान् ।

२०६८ असारमा लिइएको अन्तर्वार्ता

प्रतिक्रिया
Loading...