
ऊ टेक्दै जाँदैछ, टेक्दै जाँदैछ, कालो सडकलाई – धेरै धेरै असफल पैताला छाप प्रिन्ट भएका कालो छिप्पट सडक । टेक्दै जाँदा टेक्दै जाँदा कीरा गिजिकगिजिक भएको ठाउँमा पुग्छ । उसका आँखा मात्रै सलबलाइरहेका बेअर्थका कीराहरू माथि परिरहेछन् । एक झमट ऊ आफूलाई पनि त्यस्तै कीरा सम्झिदिन्छ। फेरि ऊ आफैलाई चिमोट्छ, धेरै मान्छेहरूले आफूलाई हेरिरहेका हुन्छन् । उसलाई झनक्क रीस उठ्छ । उसका आँखाले केही देख्तैनन् ।
अहिले ऊ आफूलाई धेरै धेरै माछा सलबलाइरहेका पोखरीको डीलमा पाउँदछ । उसलाई माछा मार्ने रहर हर्हर तिर्खाउँछ । उसलाई कुन मारूँ, के गरूँ हुन्छ । धेरै पाउँदाको चञ्चल स्वभाव । आफूसित जाल नभएको, बल्छी नभएको, नल नभएको खट्को अमिलिन्छ । एउटा डाइनामाइट हुँदो हो त पोखरीका जम्मै माछा मारिदिने थिएँ ।
मार्नुको भावनाले उसलाई पुलिसको डर लागेर आउँछ, नियम-कानून, समाज र सरकारको डर लागेर आउँछ । आफू उभिएको ठाउँलाई एक लात कस्छ । कडा भुइँमा ठोकिँदा उसको दाहिने खुट्टाका औंला जुत्ताभित्रबाटै धेर दुखेको थाह हुन्छ । उसका आँखा आफू वरिपरिका परिवेशमा दौडन्छन्, उसको फटाहा मन फेरि आफूभित्र आइदिन्छ । चौकबजारमा लाटो जस्तो, बौलाहा जस्तो, चोर जस्तो बेअर्थको भएर उभिबसेको रहेछ । यति बिघ्न मानिसहरू यति बिघ्न आवाजहरू आएर एकैचोटि कान र आँखामा कोचरिन्छन् ।
ऊ सकपकाउँछ, छटपटिन्छ, आफूलाई हिलोमा अथवा ग्याँस च्याम्बरमा उकुसमुकुस भएको जस्तो लाग्छ । त्यति ने वेला आँखा, नाक, मुख सलग्गै आफू जस्तो एउटा ठिटो आएर नमस्कार गर्दै भन्छ, “नमस्कार सर !”
नमस्कार थाप्दै उसले सम्झन्छ : म एउटा स्कूल मास्टर, यसरी यो केटोले देख्ने गरी मैले यस्तरी नउभिदिनुपर्ने थियो । अघिल्लो दिन नैतिकता उपर आफूले दिन सकेको व्याख्यान सम्झ्यो । उसको मास्टरको मन अतासिएर आयो, चुँडिएको फूल जस्तो ओइलिएर आयो । यहाँ उसलाई मास्टर भनेर चिन्ने मान्छेहरूले उसलाई लोफर ता सम्झिदिएनन् ! अहिले उसलाई आफू मास्टर भइदिएकोमा दुःख लागेर आयो । म किन क्लर्क बनिदिइनँ, पसले किन भइदिइनँ, पसलमा शाक-पात, लुगा-फाटा किनिदिने साधारण ग्राहक किन भइदिइनँ । ऊ आफूलाई अहिले सरापिरहेको थियो ।
एक मनले भन्यो, होस्, यस्तो मास्टरी काम अब छोडिदिन्छु, फेरि कता कता कुनामा मास्टरीको लोभ बसेको पनि थाह लाग्छ । मास्टर भइदिनु कत्रो धाक ! वेला वेलामा कच्चा अम्बक जस्ता युवकहरूलाई दर्शनशास्त्र छाँटेर बाठो भइदिने तथा ट्यूशन पढाउँदाका नरम मासुहरू सुमसुम्याउन पाउने मौका ! फेरि मास्टर काम छोडिदिएर के गर्ने ? उसको मगज सल्याङ मल्याङ भएर आउँछ; जिन्दगीमा धेरै धेरै चीजको कमी महसूस गर्छ । उसलाई त्यहाँ बसिरहनु सजाय पाउनु, सास्ती पाउनु जस्तो लागेर पाउँछ । त्यहाँबाट हिंड्नलाई के चलमलिएको हुन्छ, झट्ट हेर्दा राम्री लाग्ने तर हेरिरहँदा नराम्री देखिने केटीले बेपर्वाहसित भनिदिन्छे,
“दाज्यू, ओ दाज्यू ।”
उसले रंग उडिसकेको फूल जस्ती त्यो युवतीलाई झ्वाम्मै हेरिदिन्छ । यस्तरी छेवैबाट त्यस्तरी झ्वाम्मै हेरिदिंदा उसलाई नमीठो कुरा खानुपरेको जस्तो लाग्छ । उसको अहिलेसम्म रहेको मास्टरी हृदयमा कसैले सुँगुर घोचिदिए झैं लागेर आउँछ । बाहिर बाहिरै सम्झिरहेको उसको मन भित्री सम्झन पुग्छ अनि आफू रक्सी पिउन जाने घर सम्झ्यो ।
त्यो घर उसको आँखाले देखिसकेपछि त्यो केटीको चेहरा आफै आफ आउँछ । त्यो केटीका छाडा कुराहरू आएर उसको मन एकतमासको हुन्छ । आफू मात्दै गएको सम्झन्छ, जिब्रो मोटो हुँदै गएको थाह लाग्छ । अनि आफू पनि त्यो वातावरणमा त्यो युवतीको सस्तो मुस्कान पाउने लोभमा त्यस्तै कालो रातमा कालो हुँदै गएको सम्झन्छ । केटीको थलथलाउँदो छातीमा हात राख्न पाउँदा सधैं सधैं त्यस्तै कालो रातमा माती बस्न पाए हुनेथियो : उसको निम्ति मात्र त्यो कोठा त्यसरी रक्सीको दुर्गन्धमा निकै लामो रात टाँगिएर बसिदेओस् भनेर मतवाला मनले सम्झिदिएको कुरा तिक्खर भएर झोल कुरा भइदिन्छ अनि ऊ ठुँगामा ठोकिन पुग्छ : यथार्थ कति चाम्रो, सम्झेर उसको खप्परमा दह जम्दछ केवल यति पानी कुराले अहिले कुरी कुरी लागेर आउँछ, छातीभित्र लाज कस्तो-कस्तो हुन्छ ।
ऊ त्यहाँ कति साधारण मान्छे भइदिन्छ, म्यूनिसिपलको च्यामे जस्तो, मासु बेच्ने कसाई जस्तो, दिनभरी काम गर्ने पाखुरे जस्तो, मोटर हाँक्ने चालक जस्तो, मातेर स्वास्नी पिट्ने मत्थु लोग्ने जस्तो : ऊ पनि ता रक्सी पिएर झगडा गर्न सक्छ, मान्छे मार्न सक्छ, त्यो केटीलाई जबर्जस्ती बलात्कार गरेर, पैसा नतिरेर थाना पुग्न सक्छ ।
‘दाज्यू, रात छिप्पिसक्यो, हामीलाई सुत्न नदिने ? मान्छे मातेपछि सब एकनास भइदिन्छ ! खोइ, अघि आउँदाको भद्रता, मीठो बोली ? भो, भो, एक तुर्को छैन ? छाडा, के म सबै रक्सी खान आउनेको नखाई नहुने पानी जस्तो चीज हूँ ! छोडिदेऊ मेरो छाती ! जाऊ, यहाँ अरू गाहकीले पनि ठाउँ पाउनुपर्छ !’
फेरि मन आफ्नै ठाउँमा आएर बस्छ । अहिलेसम्म उसले आफूलाई एउटा बदमाश मान्छे सम्झिरहेको रहेछ । मन पनि नरमाइलो भइराखेको रहेछ । छिः छिः आफूलाई ऊ काग जस्तो सम्झिरहेको थियो, तुवाँलोमा पोतिएको एउटा नियास्रो दिन जस्तो आफूलाई लाग्दै गइरहेको रहेछ । उसका आँखाले वरिपरिका घरहरू, हाटहरू, मानिसहरू अहिलेसम्मन् व्यर्थैमा हेरिदिरहेका रहेछन् । ती कुराहरूमा उसले केही ठोस विचार सम्झन सकेकै रहेनछ । एउटा नराम्रो दह छातीमा जमिसकेको रहेछ, सङ्ल्याउँदै उसले राम्रो बन्ने कोशिश गर्यो । प्यान्टका गोजीमा हात हाल्यो । शाक-पात किन्दै गरेकी एउटी युवती आइफल जस्तै राम्री, शाक जस्तै हरियो लागेर आयो ।
ऊ त्यतैतिर बढ्यो । बाटामा दुईचार मान्छेले उसलाई हेल्लो भने, हात उठाए । उसलाई गर्व लाग्यो । आफ्नो सूट र टाइलाई हेर्यो, कुकुरको नाक जस्तो चुच्चे जुत्तालाई हेर्यो । आफूलाई एउटा सुखी जीउ सम्झेर निकै परसम्म हिंड्यो । उसलाई देखेर एउटा घरको झ्यालका दुई फूलहरू हल्लिए । कति राम्रा फूल, फेरि दुइटै कति राम्रा । एउटा उमेरदार भावनाले छाती गुलाफी भयो । म पनि नर्सरीभित्रको बेगनिया फूल जस्तै राम्रो रहेछु, प्रदर्शनीको सप्रेको फर्सी जस्तै लायकको रहेछु, उसलाई त्यस्तै लागेर आयो ।
फेरि किन हो उसलाई यस्तो लाग्छ, नर्सरीको फूल मात्र फूल होइन । अघि झ्यालमा देखेका मात्र पनि फूल होइनन् । के बाँझो धरतीमा खालि फूलैफूल मात्र उमार्ने । प्यारासाइट जस्तो जम्मै फूलहरूलाई उम्रिने र फुल्ने अधिकार दिनु हुँदैन ! रगत चुसेर फुल्ने कसैलाई अधिकार छैन । रगतको एक थोपो बनाउन कति चीज खर्चनुपर्छ ! अहिले उसलाई राम्रो वस्तुसित विरोध उब्जेर आयो । एउटा राम्रो र नराम्रो फूल ओइलिएर आएपछिको जरा-कुरा सम्झियो । सबै मासुको ल्याथ्नो हो, सबै कुहेर जाने कुरो हो ! उन्यू पनि त्यस्तै हो, नर्सरीको फूल पनि त्यस्तै हो, म पनि त्यस्तै हुँ, झ्यालका युवतीहरू पनि त्यस्तै हुन् ।
हिंड्दा हिंड्दै उसले सम्झिरहेको थियो । उसका दुई खुट्टा मात्र कालो सडकमा कुनै तोकिएको ठाउँमा पुग्नलाई हिंडेर जाँदै रहेछन् – बिहानी निस्कँदाको माउ विचारमा ! उसको कल्पना कता कता पखेटिएर उडिरहेको रहेछ, गिदीले फूल विषयमा विचारिसकेर सबै कुहेर जानेहुन् भनेर निर्णय घोप्टाइसकेको रहेछ ।
जाँदाजाँदै एउटी राम्री केटीले साइनबोर्ड भइदिएर हाँसिदिइन् । उसलाई त्यो युवती आफूलाई हेरेर व्यर्थैमा हाँसिदिइन् जस्तो लागेर आयो । बरु नहाँसिदिएर सोझै हिंडिदिएकी भए शायद उसले त्यो केटी विषयमा एक क्षण सोचिदिने थियो । उसले मनमनै कुरा गर्यो । तिनी व्यर्थैमा हाँसिन्, बरु त्यो मुस्कान भविष्यलाई साँचेकी भए राम्रो हुने थियो : सम्झदै थियो, ऊ तोकिएको ठाउँमा पुगिसकेको थियो । त्यो कुरो त्यहीं लछेप्रो भएर बस्यो । ऊ भित्र पस्यो । लटरम्म मानिस भक्रेल्ती भएका ठाउँमा पुग्दा उसको होश ढुङ्गा भयो : म त यहाँ कवि भएर कविता पाठ गर्न आएको छु । ऊ पक्का कवि भइसकेको थियो । मुख्य-पाहुनाको बेन्चीमा बस्नुअघि नै उसले आफूलाई कवि सम्झिदिइसकेको थियो । उसको यथार्थ सोलोडोलोका बौद्धिक कविताहरू सुनेर यी भक्रेल्तै मानिसहरूले के अर्थ लगाइदिने हुन् जिन्दगीलाई च्याप्टो भित्ता मात्र सम्झिदिने यी सेलिँदै गएका मान्छेहरूले कविता सुनेपछि के विचार लिनेहुन्; ऊ फिटिफिटी थियो । एकपल्ट सारा मानिसलाई हेरिपठायो । यी बाहिरबाट रसालु देखिने मानिसहरू देखेर उसको कवि-हृदयमा रस जमेर आयो । उसले आफू जस्तै अरू कविहरूलाई हेर्यो । हात-खुट्टा, आँसु-पसिना र आँखा-कानमा बाँचिदिने जीउहरूभन्दा भिन्नै लागेर आयो आफूलाई विशिष्ट लागेर आयो । नयाँ नयाँ प्रतीक र नीला-नीला प्रयोगका उसका कविता जहाँ उसले जिन्दगीलाई सोलोडोलो रूपमा हेर्नसकेको छ ।
उसले मानिसहरूलाई ख्याउटे देख्न थाल्यो, छाती भासिएका, आँखा गाडिएका एउटा धमिलो आकार मात्र ! उसले कविता पढ्दा मान्छेहरू गललल हाँसिदिए : उसलाई पढ्दा पढ्दै यस्तो लागेर आयो मान्छे आफ्नै विकृत रूपमा हाँसिरहेका छन् । मान्छे कति पातला भएर गइरहेछन्, कति त्यान्द्रिएर मौलिक रूप हराउँदै जाँदैछन् । सभापतिको भाषण पछि सभा शेष भयो । ढोकाबाट बाहिर निस्कँदा ऊ अरू जस्तै सालाखाला आलु भइसकेको थियो एउटै बोराको, एउटै बारीको ! सालाखाला आलुबाट एउटा कुहेको आलुले उसलाई नाम काटेर सेतै भनिदियो: “के फलाके त्यस्तो, किनेमाको झोल जस्तो !”
उसले आफ्नै छातीलाई दरिलो भएर भन्यो, ‘भोलिले बुझिदिन्छ मैले आज फलाकेको, छ्यातछयाती जोखना जस्तो लाग्छ, कुखुराको सिरुवा जस्तो लाग्छ, गोरुको सूप हुन्छ !’
अनि यस्तै त्यान्द्राहरूसित अल्झिएर ऊ निकै परसम्म पुगिसकेको हुन्छ । आफ्नो कविलाई ऊ भवनभित्र छोडेर आइसकेको हुन्छ । बाटामा एउटा चिनारु साथीले बाटो छेकेर भन्छ, ‘जाऊँ रम्मी खेल्न ?’
उसलाई खल्तीमा पैसा नभएको थाह हुन्छ । ऊ खङ्ग्रङ्ग स्याउला सुक्छ, चुरुम चुरुम । पैसा नहुँदाको भावनाले मन डल्ले खुर्सानी हुन्छ । ऊसित आज किन पैसा भएन ? हिजोको कुरा धमिलो पानी बगुवा हुन्छ : पैसा हारेको, जोकर सल्याक्क भइदिएको, राजा, रानी र राजकुमारहरूले बैरी भइदिंदा रहल पैसा पनि पेग किनेर खाएर मातेर एउटा साथीसँग पार्टि-पोलिटिक्स र साइन्सका कुरा गर्दा मुक्कामुक्की परेको झरिलो सिस्नोले पोल्छ अनि च्यापू सुमसुम्याँउछ । कता कता अझै बोदो दुखिरहेको हुन्छ अनि त्यो साथीलाई सम्झेर झनक्क रीस लाग्ने खुकुरी दापबाट फुत्त हुन्छ । त्यो लाग्ने खुकुरी हिजो आफूलाई हियाउने जोकरसित जम्काभेट भइदिन्छ : रीस दोबर हुन्छ ।
उसले आफूसित आउँदै गरेको तास खेल्ने साथीलाई त्यो रीस पोखाइदिन्छ, “मसित पैसा छैन भनेर जान्दाजान्दै तिमी किन यसरी मसँग हिंडिबसेको ? के मसित सधैं पैसा होइरहन्छ ? जाऊ, जाऊ तिमी, मलाई एक्लै ह्वांग हिंड्न देऊ !”
“के बेछाँटको मान्छे ।”- साथीले भनेको पर नपुगिञ्जेल सोचिरहन्छ । के छाँट र बेछाँट ! ऊ आकाश जत्रै भएर सोच्न थाल्छ ! सोच्दासोच्दै हिजो पार्टी-पोलिटिक्स र साइन्सको कुरा गर्दा आफू एकलकाँटे भइदिएको रहेछु भनेर ठान्छ । सापेक्षवाद जन्यन्त नार्लीकारसम्म आइपुग्दा साथीले गतिलो एक मुक्का कसेको कुरा याद आउँछ । यो एकलकाँटे भइदिएको त्यही खरो झोलपानी हो । अहिले ऊ राम्रो भएर लहलह फाँटिलो हुन्छः होस् आज ता रक्सी पिउन्न, साथीकहाँ गएर थोत्रो कुरा पनि गर्दिनँ । यसरी नै बरु हिंडिरहन्छुः आकाशलाई हेरिदिन्छु, धरतीलाई हेरिदिन्छु, मान्छेलाई हेरिदिन्छु, रूख-पात, झार-जङ्गल र गडेउला कीरालाई हेरिदिन्छु ।
आकाश कति अग्लो छ, ऊ लाप्चेहरूको कुरा सम्झेर मज्जा लागेर आउँछ । मान्छे संसारमा नआँट्ने भइसक्यो भन्ने कुरा चिताएको ठाउँमा पुग्दा नपुग्दै उसलाई आफू एक्लो भएको नमीठो लाग्छ । यसरी एकलै हिंड्नु हुँदैन, मनमा धेरै-धेरै कुराहरू आउँछन्, धेरै-धेरै कुरा गर्ने ख्यालले छातीमा कात्रा पार्छ । ख्याल आउँदाआउँदै चियाका हरिया मुन्टाहरू देखेर ऊ सम्झनपुग्छ, भोलिको मानवयुग, भोलिको दर्शन र भोलिसित आउने जम्मै कुराहरू ! रोग-शोक, भय-त्रास, अभाव-गरीबी, युद्ध र बौद्धिक र वैज्ञानिक प्रगतिसित बढिरहेका आजका कुण्ठित मानव, छातीमा हजार खटिरा फलाएर बाँचिरहेका छन् ।
उसलाई आफ्नो जिन्दगी सम्झेर विरक्त लागेर आयो, एउटा नियास्रोपनले गाँज्यो । कति सीमित-क्षेत्रमा जिन्दगी साँघुरिएको छ । कति सानो परिवेशभित्र बाँचिदिएको छ । सडकछेउको रेलिङमा दाहिने खुट्टा अड्याएर ऊ सम्झिरहेछ । पारिपट्टि नेहूर कमानको चियापत्तीको गोदामबाट पत्थर कोइलाको धूवाँ मुस्लो बनेर अकासिइरहेछः उसलाई यस्तो लाग्छ, कि यो धूवाँ हजार-हजार लाश डढेको धूवाँ हो !
उसले हातेघडी हेर्यो, ठीक छ बज्न लागेछ । उसलाई हिजो आफूले दिएको वचन याद आयो । उसको मन फेरि मौलिएर सुना लाग्यो- दुई पात एक सुइरो, क्लोरोफिल र फ्लेवरयुक्त । उसले चायाँका कुराहरू मनबाट पन्छ्याइदियो अनि फरक्क फर्केर मास्तिरै मास्तिर गयो, सुसेलो पार्दै गयो, रहरलाग्दो हरियो भएर गयो ।
उसलाई आफ्नी मायालुको ख्यालले धरती मलिलो लागेर आयो अनि ता फूल मन परेर आयो अनि रोमान्टिक भावनाले फूल फुलेको ठाउँमा पुग्यो तर त्यहाँ बाँझो जग्गामा परपरसम्मन् लहलह उन्यू फिजिएको थियो । ऊ आगो भयो । रीसले एक बुज्को उन्यू उखालेर फ्याँक्ने मन भइदियो परन्तु उसको एक मुठी अनिकालको बल सित्तै खेर गयोः नराम्रो वस्तुसित धरतीको कति गहिरो सम्बन्ध बरु उसले आफूलाई राम्रो लागेको फूल एक मुठी बलमै उखेल्न सक्ने थियो, टपक्क पार्ने थियो । ऊ उदास भयो, पहेंलो भएर ओह्रालो झर्यो । बाटाभरि उदास उदास कुराहरू मात्र आए ।
लखतरान भएर घरको सँघार नाघेर अनि घरभित्र पस्यो । सानी छुनुमुनु बहिनी खुशी हुँदै कराई, “आमा, दाज्यू आउनुभो…”
आमा गद्गद हुँदै भनिरहेकी थिइन्, “कान्छा खानै बिर्सेर दिनभरि कता हिँडिरहिस् ?”
उसलाई दिनभरिका कुराहरू सबै झूटा र केवल आफ्नी आमा मात्र दूध जस्तो पोसिलो-सत्य लागेर आयो ।
(हरीश बमजनको कथासंग्रह ‘शो–केस भित्रको जिन्दगी’बाट)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

