“यो चमेली के भन्छे अघिदेखि ? मैले बुझिरहेको छैन ।” काजीले जान्ने कोशिस गरे ।

त्यहीँ बेला खेतबाट घर फर्कंदै गरेको कप्तान्नी भतिजो रामकुमारले, “धर्म पण्डितले बाख्रा काटे भन्छे ।”

“हँ ! लौन के के सुन्न पर्छ ! त्यस्तो धार्मिक गुरुले कसरी बाख्रा काट्न सके ?” काजीले  छक्क पर्दै प्रति प्रश्न गरे ।

कप्तान्नी  घरमा बाख्रा काटिएको  खबर गाउँभरि भुसको आगो जस्तै फैलिएको थियो । त्यहीँ कुराको छिनोफानो गर्न काजी पनि आज कप्तान्नी घर आएका थिए ।

० ० ० ०

यसैपनि बहुविवाह गर्न पाइने चलन, त्यसमा हुनेखाने कप्तान । उनले तीन विवाह गरेका थिए । तर भाग्य पनि  कस्तो ?

भनिन्छ नि, “भाग्य दिने कर्म ठेल्ने ।”

अब पहिलो र दोस्रो श्रीमतीबाट पनि बच्चा नभए पछि पचास कटेर पनि कप्तानले  तेस्रो विवाह गरे । तैपनि कप्तानको भाग्यमा भने सन्तान रहेनछन् । तेस्री श्रीमती – उमेरले धेरै कान्छी भएर पनि हुनसक्छ । चलन पनि उदेक लाग्ने नातिनी सरहका महिला पनि श्रीमतीको रूपमा भित्रिन्थे । नभित्रिएर के गर्नु ? रोज्ने चलन थिएन । भागी विवाह पनि आँट गर्न नसकेपछि मागी विवाहलाई स्विकार्नु पर्‍यो । फेरि कप्तान कम्ता धनीमानी हुन र ! त्यत्तिका धनी त गाउँमा कमै हुन्थे । त्यसैले दुई बुढी अगि लगाइसकेका कप्तानले अब कान्छीबाट पनि सन्तान नहुने बुझेपछि कुनै धर्म सन्तान पालेर मुक्तिको बाटो कोर्ने बिचार गरे ।

धर्म छोराको खोजी चारै दिशामा गरियो । फलस्वरूप सोही सन्दर्भमा जेठीको माइती  घरबाट नजिकै एक अत्यन्तै गरिब ब्राह्मणको घरमा तीक्ष्ण बुद्धि गरेको बालख रहेको र जुन बालख आर्थिक अभावका कारण गुरुकुलबाट निःशुल्क शिक्षा आर्जन गर्दै गरेको जानकारी कप्तानले पाए । उनलाई ‘के खोज्छस् काना भन्दा आँखा’झैँ भयो ।

‘गुरुकुलमा नैतिक आचरणले भरिपूर्ण बालकलाई धर्म छोरा बनाउन पाउनु पनि हाम्रो ओहो भाग्य हो ।’भन्दै उनले धर्म छोरा स्वीकार गरी घर भित्र्याए । बालकले  संस्कृतिसँगै अंग्रेजी र नेपाली पनि दक्षता साथ पढ्न सफल भए । साथसाथै कप्तान दम्पतीको मन जिती सबै कारोबार आफ्नो हातमा ल्याउन पनि सफल भए । अब ऊ धर्म छोरा भन्दाभन्दै छोरा भन्दा प्रिय भैसकेका थिए ।

समय भन्दा बलवान् कोही नहुने रहेछ । मृत्यु पनि त्यस्तै भयानक । यसले धनी गरिब नछुट्याउने रहेछ । एक किसिमले वृद्ध भैसकेका कप्तान हृदयाघातका कारण अचानक एकदिन  मृत्युको मुखमा धकेलिए । अब कप्तान्नी एक्ली भइन् । अलि दिन अलापविलापमा समय कटाइन् । तर सधैंभरि जीवन त्यसरी नचल्ने बुझेपछि, उनले मनमनै  सोचिन्, “कति एक्लो जीवन बिताउने ? अब यो छोराको बिहे गर्दिन पाए मेरो कर्तव्य पनि पूरा हुने घरमा बुहारी पनि आउने । यो छोरा पनि बिहे गर्ने उमेर भाकै छ ।”

कप्तान्नी प्रायः बरन्डामा बसेर बत्ती कात्ने गर्थिन् । आज पनि उनले बत्ती कात्दै गर्दा धर्म छोरालाई सल्लाह गर्न बोलाइन् र मनका कुरा पोखिन् ।

धर्म छोरा – माताजी ! हजुरले किन बोलाइ बक्सेको ?

कप्तान्नी – बाबु ! मैले तिम्रो बिहे गर्ने बिचार गरेँ ।

धर्म छोरा – किन र माता जी ! यस्तो हतार ?

कप्तान्नी – हतार भन्दा पनि म एक्लै भएँ । नातिनातिना भए  बोल्ने साथी हुन्थे । फेरि बुहारीले चुरा बजाउँदै बनाएको खानाको स्वादै पनि त अर्कै हुन्छ नि ! (कप्तान्नी मुसुक्क मुस्काइन् ।)

कप्तान्नी मुस्काउँदा पण्डितलाई कताकता काउकुती लागेझैं भयो । पण्डितले कप्तान्नीलाई शिरदेखि पाउसम्म नियाले । बच्चा नभएको पट्ठो शरीर । फेरि कप्तानकी कान्छी पो त ! उमेर मेरो  भन्दा यस्तै दस/बाह्रले बढी होला ! गोरी खाइलाग्दी । पण्डितले आमा भन्ने कुरा बिर्सिसकेका थिए ।

उनले कप्तान्नीलाई मालिस गर्ने चाह राखे । अनि पाउ समाउँदै मालिसको बहानामा शरीरका विभिन्न अंग मालिस गर्न थाले । कप्तान्नीले सर्माउँदै, “बाबु ! मेरो उमेर यति वृद्ध भैहालेको छैन । यसो भित्र बाहिरको साथी हुन्छ भन्ने लागेर मात्रै तिम्रो विवाह गर्न खोजेकी हुँ ।”

“यो चमेली; यतिका वर्ष भयो बसेको । यसले नबोले पनि  हजुरको भाषा सबै बुझ्छे । सेवा गरेकै छे । बिहे बिस्तारै गरौंला नि ।” पण्डितले पुन:उम्किन खोजे ।

“बाबू ! समयले पर्खिंदैन, म जवान छँदै नातानातिना हुर्काउने थिएँ भन्ने लागेको मात्रै हो ।”

“अ:..”मुन्टो हल्लाउँदै नबोली पण्डित उठेर आफ्नो कोठातर्फ मोडिए ।

कप्तान्नी मनमा नजानिँदो तरिकाले आगो बल्यो । धर्म छोराप्रति आशङ्का जन्मियो । चमेलीतिर हेरिन् । चमेलीको असाध्यै माया लागेर आयो । कप्तान्नी सँगै दाइजोमा आएकी थिई चमेली पनि ।

फेरि अर्को मनले सोचिन्, “पण्डित हो, ज्ञानगुनका कुरामा पोख्त छ । घरमा मात्रै हो र ? छरछिमेकदेखि लिएर देशैभरि उसको नाम छ । थुइक्क: म नपढेका मान्छेको बुद्धि… ! उनले आफैंलाई धिक्कारिन् ।

फेरि एकैछिनमा मन अशान्त भयो । बत्ती कात्न छोडेर बरन्डामा वरपर गर्न लागिन् । आँटमा राखेको गर्भे करुवाको पानी घटघट पारिन् । उनले कप्तानले भनेका कुरा सम्झिन् ।

० ० ० ०

एकदिन कप्तान धनसारबाट आएको बेला, “कान्छी ! तँलाई एउटा नयाँ कुरा सुनाउन मन थियो । के कति फुर्सद छेस् ?” कप्तान्नीलाई कप्तानसँग बसेर कप्तानको कुरा सुन्न एकदम धेरै मन पर्थ्यो ।

त्यसैले हतपत्त, मलै बुट्टे ढलोटको करुवामा पानी टक्रयाउँदै, “त्यस्तो के कुरा हजुर ?” भनेर छेउमा बसिन् । कप्तानले जुँगामा ताउ लगाउँदै प्रवचन सुरु गरे । ती सिरुपाते जुँगामा ताउ लगाउँदा कप्तान साँच्चै बीस/पच्चीसको पो देखिनुहुन्थ्यो । उहाँलाई हेर्न व्यस्त कप्तान्नीको मानसिकता खिच्दै कप्तानले भन्नुभयो -“त्यो धनसार नजिकैको ज्योतिषी चिन्छ्यौ नि ? हो तिनै ज्योतिषीले एकदिन आफ्नै बाह्र बर्षे छोरीलाई बलात्कार गरेछन् । छोरी रुन कराउन थालेपछि अब गाउँलेले थाहा पाउने भए भनेर त होला, छोरीलाई आमा भएको ठाउँमा जाने । आमा मामाघरमा छ, ल चुपचाप लाग । छिटोछिटो मामा घर जाऔं भनी फकाएर, बाटोमा पर्ने खोलामा बगाएछन् । यसरी नमारी बगाउँदा छोरी चिच्याउन थालिछे । सोही बखत पारिपट्टि बल्छी हान्दै गरेको माझीले  देखेर छोरी बचाएका रे ! त्यो बेलाबाट ज्योतिषीको दुष् चरित्र बारेमा हल्लाखल्ला भएर सबैले थाहा पाएछन् ! त्यो भन्दा पहिले थारा(बच्चा नभएका) महिलालाई चिना टिपनबाट दोष निवारण गर्दिन्छु । रात्रिकालीन पूजा गर्नुपर्छ । पूजा सामग्री लिएर आउनु भन्दै पेट बोकाएका केस त भनिसाध्यै रहेनछ । सबैले मानेका ज्योतिषी बदमासी गर्दा पनि थाहै नहुने । हुनत दोष लगाउने महिला आफै पर्छु भनेर डराउँथे रे । नडराएर के गर्नु ? ज्योतिषीले राखेको बुझेपछि घरबाट निक्लिनुपर्थ्यो ।”

कप्तानका हरेक शब्द कप्तान्नीकालाई अनौठो लाग्यो । कप्तान्नीले पनि आफ्ना दुईचार शब्द राखिन्, “यी पढेका गुरु, पण्डित, नेता, हाकिम उस्तै उस्तै छन् भन्या । यहीँ लेउती स्कुलको हेडमास्टर भन्थे, आफ्नै विद्यार्थीसँग होटेलको कोठामा रङ्गेहात नै  भेटेछन् । हैन बुद्धि पनि किन पो बिग्रिएको होला ! घरमा बत्ती जस्तै श्रीमती भएर पनि ।”

कप्तानले कुरा लम्ब्याए, “आ..जतिसुकै गरेपनि सुध्रिने चाहिँ कोही होइन रहेछन् । क्या त ! म सानै छँदा हजुरआमा र पल्ला घर ज्यामैले कुरा गरेको आफ्नै कानले सुनेको थिएँ- हाम्रा मुखिया काइँला बाले, धान किन्न आउने दलित महिलालाई त फस्लाङ्फुस्लुङ पारेर ढुकुटी कोठामै काम सिध्याउँथे रे ! त्यो डाँडा गाउँकी साहिँली दमिनीको छोरा ‘नेप्टे’ त ट्याक्कै काइँला मुखिया जस्तो छ भनेर गाउँभरि हल्ला थियो । तर आम्नेसाम्ने कोही पर्नै नसक्ने । काइँला मुखियाको रबाफमा साहिँली दमिनी भइछे ओछ्यान ।”

० ० ० ०

ओछ्यानमा पल्टेपछि मनमा अनेक कुरा खेलाउँदाखेलाउँदै कप्तान्नी कतिबेला भुसुक्क निदाइछन् । हिजोआज  कप्तान्नीलाई चयन कहाँ छ र ? चिन्ताले आधा मासु भैसक्यो ।

उता धर्म पण्डितको स्वभाव बदलिएको छ । उनी कप्तान्नीलाई प्रेमिकाको नजरले हेर्न थालेका छन् । उनी पनि मनोमान आन्दोलित छन् – “यस्ती रूपावली, राम्री, स्मार्ट, सुनका  अण्डा दिने कुखुरी, म यिनलाई छोडेर कहाँ बिहे गर्न जाओ ! कप्तानको धर्म पुत्र भनेर मात्रै मलाई चिन्छन् । भो ! यस्ता कुरा …,कुनै दिन पक्कै म यिनलाई मेरी बनाउँछु । यिनले त छोरा भन्न पनि सुहाउँदैन । लरक्क जवान छन् ।” पण्डितले मुख मिठ्याए ।

झन्डै महिना दिनपछि कप्तान्नी उहीँ बरन्डामा बसेर बत्ती कात्न लागिन् । बत्ती कात्दै जाँदा मनमा अनेकौं कुरा आए । यो जन्ममा मेरा कुनै सन्तान भएनन् । अर्को जन्मको लागि त केही गर्नैपर्छ । उनले घरमा पुराण लगाउने बिचार गरिन् । उनले कप्तानको बिचार पनि सम्झिन्- “हेर कान्छी ! यो हाम्रो धर्म छोरो साह्रै विद्वान छ । यसले वाचेको पुराण सुन्ने रहर लागेको छ मलाई । भाग्यले साथ दिएमा, बाँचिबर्ती  रहे कुनै दिन घरमा पुराण लगाएर यसलाई वाचन गर्न लगाउँछु । केही वर्षमा त यो वाचक बनेर निस्कन्छ ।”

आजका दिनमा धर्म छोरा पण्डित बनिसकेको छ । उनले बुढाको सम्मान स्वरूप  घरको पुराणमा धर्म छोरालाई पण्डितकै रूपमा ब्यासासनमा  र गणेशमा आफ्नै बैनीको छोरा राधेश्यामलाई राख्ने बिचार गरिन् । त्यो सुनखानी राधेश्यामलाई दान दिए उसको पनि बन्दोबस्त राम्रै हुन्छ । अब यसलाई पनि नपुग्दो के नै छ र ? खर खजना, घर गहना, अरू सबै खेत यसैका हुन् । आफ्नो योजनामा उनी एक्लै मसक्क मस्किन् ।

त्यहीँ साँझ खाना खाँदै गर्दा उनले धर्म पण्डितलाई आफ्नो योजना सुनाउने मनसाय राखिन्, “बाबू ! तिमी थाकेर आयौ होला, एउटा कुराको छलफल गरौं भन्ने लाग्दैछ ।”

“के कुरा  माता जी ! भनिबक्सियोस् ।”

“बाबू ! मेरो ठूलो इच्छा यज्ञ होमादी गर्ने छ । दानधर्म नगरी पितृ पनि तर्दैनन् भन्ने भनाइ पनि छ । त्यसैले म पुराण लगाउने पक्षमा गएँ ।”

कप्तान्नीले आफूले बनाएको योजना सुनाइन् । पण्डितले कप्तान्नीको योजना घोसे मुन्टो लगाएर सुने अनि “हुन्छ” भनी जबाफ दिए । अरू कुनै शब्द नबोली पण्डित आफ्नो कोठातर्फ लागे ।

पण्डित भित्रभित्र कुण्ठित थिए । एकापट्टि कप्तान्नीको त्यो पट्ठो शरीर, अर्कोतिर आकर्षक बेसी खेत । उता धर्म छोराको स्वीकृतिले फुरुङ्ग परेकी कप्तान्नीली भने भोलिपल्टै गाउँभरि आफ्नो योजना सुनाउँदै आशीर्वाद लिइन् । धेरै वर्षसँगै बसेकी चमेलीलाई पनि सुनाएर आफैभित्र दङ्ग परिन् ।

भोलिपल्ट पनि साँझको  खाना खाँदै गर्दा कप्तान्नीले भनिन्, “बाबू ! हरेक काम समयमा नै गर्नुपर्छ भनेर उहिलेका मान्छेले त्यसै भनेका होइनन् रहेछन् । अब वृद्धा अवस्थामा सोचे जस्तो गर्न सकिन्न क्यारे ! त्यसैले यो यज्ञ सकेर चारधाम तीर्थ यात्रामा जाने बिचार गरेकी छु ।”

कप्तान्नीका कुराले पण्डितको होस उड्यो । “आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो” भन्ने भनाइ सम्झो पण्डितले । उनले कप्तान्नीतिर हेरेर भन्यो, “यी सबै कुराको बिस्तारै समय आइहाल्छ, हतार नगरिबक्सेको भए हुने थियो ।”

कप्तान्नीलाई सम्झाए । पुन:चमेलीतिर हेरे । भात खाँदै गरेकी चमेली बेमज्जा हाँसी । पण्डित हात चुठेर सरासर आफ्नो कोठामा गए । खाटमा पल्टे । दायाँबायाँ कोल्टे फिरेर हैरान भए । निद्रा पटक्कै लागेन । उनका मनको पाप पहाड जस्तै माथि उठेर आयो । उनले मनमनै गुने, “आखिरमा मलाई सबैले विद्वान पण्डित भन्छन् । हुन पनि यो ठाउँमा मभन्दा विद्वान पाउन गाह्रै छ । दोस्रो कुरा दुनियाँका नजरमा म कप्तान्नीको धर्म छोरा । म प्रति कसैका नजर दोषी हुन सक्तैन ।”

पण्डित झुरुक्क उठे । छेउको टेबुलमा राखेको करुवाको पानी घुटुक्क निले । अनि सरासर कप्तान्नी भएको कोठामा छिरे । भाते निद्रामा परेकी कप्तान्नीलाई केही पत्तो भएन । बिस्तारै बिस्तारै कप्तान्नीका संवेदनशील अङ्गतर्फ हात बढाए । कप्तान्नी झस्किएर उठिन् । उनी कराउन लागिन् । मुख थुनेर उनलाई शान्त गराए । कप्तान्नी रुँदै, “पापी ! विद्वान पण्डित भनेर धर्म छोरा बनाएँ । आज ममाथि यस्तो अत्याचार गरिस् ? थुक्क पापी ! भोलि नै प्रहरी चौकी गएर तेरो पोल खोल्छु । तँलाई यो घरबाट ननिकाले त…!”

कप्तान्नी बर्बर गर्दै थिइन् । पछाडिबाट पण्डितले कप्तान्नीको मुख खोलिदिए । अनि केही नबोल्न अनुरोध गर्दै भने, “हजुरले मुख खोलेको खण्डमा दोषी मलाई हैन, हजुरलाई भन्छन् ।”

कप्तान्नीलाई ठूलो धर्मसंकट आइलाग्यो, के गर्ने के नगर्ने ? मनमा दुबिधाले सतायो । उनी नबोली उता फर्केर बसिन् ।

यता पण्डित लाजले कप्तान्नीसामु मुख देखाउन नसकी जुरुक्क उठेर बाहिरिए । उनी बेचयन हुँदै यताउता भौँतारिए । थर्थर काम्दै गग्रेटामा राखेको दाप सहितको खुकुरी झिके । बिस्तारै दापबाट खुकुरी फुत्त निकाले । चमेलीले देखी भन्ने लागेर हो या किन उनले चारैतिर  चमेलीलाई खोजे । चमेली कतै भेटिइन ।

पण्डितले आफू सुरक्षित हुन र मनको कुण्ठा दबाउन बाख्राको खोरमा गएर धमाधम तीनवटा बाख्रा काटे । बाख्राको रगत घरभरि छरेर आफ्ना रगत लत्पतिएका कपडा खाल्डोमा गाडी उज्यालो हुँदा पल्लो जिल्लाको पुराणमा सामेल हुन पुगे ।

कप्तान्नी रातभरि निदाउन सकेकी थिइनन् । उनलाई एकापट्टि पण्डितबाट असुरक्षित महसुस हुँदै थियो भने अर्कोतिर पण्डितको मुलायम स्पर्शले अलौकिक आनन्द प्रदान गरेको थियो । त्यसैले उज्यालो हुने बित्तिकै उनी पण्डितलाई क्षमा दिने पक्षमा उभिइन् ।