डेरा त सजिलो पाएको हो सुदर्शनले । पेइङगेस्टको रूपमा बस्ने घरका मान्छेहरू पनि रुचिअनुकूलका रहेछन् । तर पनि आफ्नो घर छोडेर एक रात पनि कतै नबसेको मान्छे, एकाएक विरानो ठाउँमा, बिरानो घरमा, नचिनिएका मान्छेहरूसँग हेलमेल गरेर त्यसै घरको एउटा सदस्यजस्तै बनेर देखाउन कताकता असजिलो भएको छ । उसलाई घरका मान्छेहरूसँग बस्नु, खानु, बोल्नु हरेक काम अप्ठेरा लाग्छन् । ऊ बिहानबेलुका कोठाबाट कतै निस्कँदैन । दिनभरि कार्यालयमा पनि आफ्नो ठाउँ छोडेर कतै जाँदैन ।

यो ठाउँमा आएपछि ऊ अन्योलमा परेको थियो । कहाँ बस्ने, डेरा कसरी खोज्ने भन्ने समस्याले । दुई-चार दिन गेस्टहाउसमा बसिसकेपछि एक दिन सँगै काम गर्ने धनराजले ऊसँग डेराको प्रस्ताव राखेका थिए- “तपाईं भलादमी र सो मान्छे हुनुहुँदो रहेछ । मेरो घरमा एउटा कोठा खाली छ, भाडामा दिने गरेको त थिएन, तपाईंलाई डेराको समस्या छ, बस्नुहुन्छ भने बस्नुहोस् । तपाईं एक्लो मान्छे, मेरो परिवार पनि सानो छ, हुन्छ भने खाने प्रबन्ध पनि हाम्रै भान्छामा गरौंला ।”

डेरा समस्या बनेको अवस्थामा आफूलाई केही दिनदेखि चिन्ने एउटा पाको मान्छेले राखेको प्रस्ताव सुखद लाग्यो सुदर्शनलाई । केकस्तो होला भन्ने प्रश्न मनमा उठे पनि तत्काल ठीक छ भन्ने सोचेर ऊ यो घरमा आएको थियो ।

अलि बेग्लै छ उसको स्वभाव अर्थात् युवकजस्तो छैन ऊ । सोझो छ, भीरु छ, गफ गर्न, ठट्टा गर्न जान्दैन । कसैले सोधेको कुराको जबाफ दिनु र कसैसँग आवश्यक कुरा सोध्नुबाहेक अरू कुरा बोल्नै जान्दैन भने पनि हुन्छ । आफूले गर्नुपर्ने कामबाहेक अरू कुराको ख्यालै रहन्न उसलाई । ऊ गाउँले परिवेशमा हुर्केको मान्छे, सहरी वातावरणलाई उसले बुझन र पचाउन नसकेको हुन सक्छ । क्याम्पसमा पढ्दाखेरिका दिनहरूमा सहपाठीहरूले कसैकसैलाई जिस्क्याए, हुटिङ गरे, र्यागिङ गरे भने वा कुनै उपद्रो गरे भने ऊ एक्लै डराउँथ्यो । कुनै बेमनासिब घटना वा कुरा देखेसुने पनि डराउँथ्यो । कुनै दिन कक्षा छुट्यो, फुर्सदमा बिनाकाम कतै रल्लियो वा मनोरञ्जन गर्यो भने बाटो बिराएको वा कुनै अनियमित काम भएको सम्झन्थ्यो । त्यसैले कुनै होहल्लामा वा कसैको लहैलहैमा लागेर घुम्न, डुल्न जाने काम कहिल्यै गरेन । कसैसँग हेलमेल र सम्पर्क नगर्ने भएपछि उसका साथी कसरी बनुन् ? कोही साथी बनेनन् उसका ।

यता घरको स्थिति बेग्लै थियो, दाजुभाउजूका साथीहरू बराबर घरमा आइरहन्थे, खानपिन होहल्ला चलिरहन्थ्यो । सुदर्शन उनीहरूका अगाडि पर्न पनि डराउँथ्यो। बाबुआमा पहाडको घरमै बितेपछि पाँच-छ वर्षअगाडि काठमाडौं आएर दाजुसँग बसेको थियो । पहाडको सिरीखुरी बिक्री गर्दा काठमाडौंमा आठ आना जग्गा किन्न सकिएको थियो । त्यति नै हो दाजुभाइको सगोलको सम्पत्ति । बसेको घर दाजुले आफ्नो कमाइले बनाएका थिए, भाउजूको पेवा छ रे त्यसमा । उसलाई पो थाहा छैन ।

केही महिनायता दाजुले त्यस्तो केही नभने पनि भाउजूको हेराइ र व्यवहारमा तिरस्कार र अपमान बढ्न थालेको उसले चाल पायो । दाजुका कान भर्थिन् भाउजू, साथीहरूसँग कुरा काट्थिन् । अगाडि राखेर सोझै नभने पनि उसका कानमा पटकपटक परेका भाउजूका तीता वचनहरू उसको छातीमा अझै पनि बिझेका छन् ।

‘वनमान्छे’, ‘सिल्ली’, ‘भूत’, ‘गधा’ जस्ता विशेषणहरूले विभूषित गराउँदै “क्यै चिन्ता छैन गधालाई, हजुरको थाप्लोमा खेलेर खान पाइहाल्या छ । अनुहार हेर्न पनि मन नलाग्नेको सेवा गरेर बस्नुपऱ्या छ । बी.ए. सम्म पढाइहालियो, निकाल्दिनुपर्छ अब त … । तर हेर्नोस् है, यो घर त त्यसको अंश लाग्दैन नि, मेरो पेवा परेको छ यसमा । त्यसको अंश त्यही चार आना घडेरी हो, त्यही दिएर पन्छाउनुपर्छ” भनेर दाजुको कान भरिन थालेपछि उसलाई त्यो घर बिरानो लाग्न थालेको थियो । उसले आफूलाई एक्लो महसुस गर्न थालेको थियो । कुनै काम गरेर कमाइ गर्ने, आफैँ पालिने र एउटा घर बनाउने ईर्ष्याले सपना पालेर ऊ कामको खोजीमा लागेको थियो । सन्जोगले क्याम्पसको पढाइ सकिएको चार-पाँच महिनामा नै उसले सहायक स्तरको जागिर पायो र आफ्नो खुट्टामा उभिन यहाँ आएको थियो ।

डेरामा बस्न थालेपछि घरका सामान्य कुराहरू देखे सुनेर बुझ्यो । घरमा धनराज, उनकी श्रीमती र एउटी छोरी महामाया मात्र रहेछन् । महामाया त्यस्तै उनन्तीस-तीस वर्षकी होली । बिहे भइसकेको छ र उसको । लोग्ने घरमा छैन रे, काठमाडौँमा अर्को विवाह गरेर बसेको छ रे । लोग्नेसँगको सम्बन्ध चिसिइसकेको जस्तो बुझिन्छ, पाँच-छ वर्षयता त आउनुजानु नै छैन रे । एउटा साधारण किराना पसल छ, आमाछोरीले चलाएको । बजारबाट अलि पर एउटा अर्को घर, जग्गाजमिन रहेछ । यो घर बनाएको चार-पाँच वर्ष भयो रे र योचाहिं महामायाको पेवा रे । आमाचाहिँ सुकुटी बनाएर कोदोको रक्सी पारेर भट्टीहरूमा पुर्याउँदी रहिछन् । धनराज घरमा निष्क्रिय देखिन्छन्, हालीमुहाली आमाछोरीको चल्दो रहेछ ।

महामाया निकै भद्र देखिन्छे । साधारण पहिरन, गम्भीर अनुहार, शिष्ट, स्वभाव, अनेक आरोहअवरोह बेहोरेर पाकी बनेकी वृद्धाजस्ती । मुखले कमै बोल्छे तर उसका आँखाहरू यति सजग देखिन्छन् वरिपरिका कुनै कुरा उसबाट लुकेका होउन्, हरेक कुरालाई नियालेर जाँचिरहेको होओस् । सुदर्शन यो घरमा बसेकी दुई महिना बितिसकेको छ । तर महामाया आजसम्म ऊसँग सोझै बोलेकी छैन । यदाकदा महामाया उसलाई एकोहोरिएर हेर्ने गर्छ । त्यतिखेर ऊ किञ्चित् डराउँछ । सजग हुन्छ। एकछिन हेरेर ऊ आफ्नो काममा लाग्ने गर्छ अनि सुदर्शन घोत्लिने गर्छ । किन त्यस्तो डरलाग्दो गरी हेर्छ ? किन बोल्दिन ? के छ त्यसको मनमा ? अरुचि, रिस, तिरस्कार… वा यसले पनि क्याम्पसका सहपाठीहरूले जस्तै ‘सोम’ भनेर हेप्न खोजिरहेकी छ ? आमाचाहिँ अचेल सुदर्शनलाई माया गर्न थालेकी छिन् ।

उसको स्वभावलाई सह्राउँदै भन्ने गर्छिन्- “बाबू त कति जाती, स्वभाव पनि कति असल छ । आफ्नो काम छ भने गर्यो हैन भने आफ्नै घरमा बसिरह्यो । समय नै खराब छ, कहाँ गइसक्नु छ र ? के सुनिसक्नु छ र ? केही गर्यो भने दस थरी कुरा काट्छन्, केही भन्यो भने दस थरी अर्थ निकाल्छन् । बचेर हिँड्ने बेला छ । मलाई त बाबूजस्तै मान्छे मन पर्छ । हाम्रो महामायाको स्वभाव पनि बाबूकै जस्तो छ । कस्तो मिलेको स्वभाव हो !”

अलि ओइलाएकी देखिन्छे महामाया । बैँसको पहिलो प्रहरको आनन्ददायी राप यति छिट्टै चिसो सिरेटोमा परिणत हुन्छ भन्ने कल्पनासम्म पनि थिएन ।

टाढाको मान्छे थिएन देवराज आफ्नै मामाको सालो, ऊ उहाँ आउनुअघि नै पारिवारिक रूपमा आउनेजाने क्रम पर्याप्त मात्रामा चलेको थियो । ऊ यहीँको क्याम्पसमा भर्ना भएपछि नाता पर्ने मान्छे डेरामा बस्नुभन्दा यहीँ पढ्छ र पढाइमा महामायालाई पनि सहयोग गर्छ भनेर धनराज, उनका ससुराली र देवराजका परिवारको साझा सहमतिमा ऊ यहाँ बसेको थियो । मेधावी थियो देवराज, आफू पढ्दै माध्यमिक तहकी महामायालाई राम्रो सहयोग पुयाउँथ्यो । दुई वर्ष त्यसरी नै बिते । देवराजले बी.ए. को पढाइ सुरु गर्यो, महामायाले आइ.ए. सुरु गरी । स्कुल छोडेर क्याम्पसको सँघार टेकेकी महामाया आफूमा बैँसको मादकता भरिन थालेको अनुभवले झन् उत्साही भएकी थिई ।

देवराज एउटा सजिलो नाताको मान्छे, सँगै बसेको पढाइको निर्देशक, महामाया उसलाई आफ्नो बैँसको अनुभूति दिन्थी । क्रमशः उनीहरूका बैँसालु चाहनाहरू एकाकार हुँदै गए । महामायालाई कुनै डर लाग्दैनथ्यो । देवराजबाहेक अर्को लोग्नेमान्छेको कल्पनै गर्दिनथी । डराउनु, सोच्नु, कल्पनु पनि किन ? दुवैतिरको पारिवारिक सम्बन्ध सुमधुर थियो । पारिवारिक नाता बाधक थिएन । ठूलो कुरा त सुशील र भद्र देवराज थियो, उसको मादक सान्निध्य थियो । घुइरोघुइरो हुँदैहुँदै पारिवारिक वृत्तमा सबैले थाहा पाए । महामायाले सोचेजस्तो भयो, कुनै पनि विवाद भएन । यत्ति सजिलै कुरा मिल्यो कि देवराजको बी.ए. को अन्तिम परीक्षा सकिनेबित्तिकै तीन परिवारको उपस्थितिमा एउटा मन्दिरको प्राङ्गणमा उनीहरू एकसूत्रमा बाँधिएका थिए ।

केही दिनपछि देवराज काठमाडौँ गयो । पढाइ सकेपछि काठमाडौँमै काम गर्ने र कमाउन थालेपछि मात्र बच्चा जन्माउने कुरामा दुवै जना सहमत थिए । महामाया अधीर भएर प्रतीक्षा गर्थी, देवराज बेलाबेलामा आएर जान्थ्यो । पढाइ सकेर काम समातिसकेपछि पनि व्यवस्था मिलाउँदै छ भनेर देवराजले महामायालाई लिएर गएको थिएन र ऊ आउने समयको अन्तराल पनि बढ्दै गएको थियो । आखिर एक दिन महामायाले त्यो कुरा सुनी जुन उसले सुन्नुको पराकाष्ठामा थियो । उसले सुन्दा देवराजले अर्की केटीसँग बिहे गरेर सन्तान जन्मने बेला भइसकेको थियो । महामायाको पक्षमा पारिवारिक प्रयास धेरै भयो । आवेशमा जे सोचे पनि सहनुको विकल्प देखिन महामायाले । ससुराले त जङ्गिएर महामायाको चित्त नबुझाएसम्म घर फर्कन नपाउने आदेश पनि दिए छोरालाई र बुहारीको निम्ति केही व्यवस्था गरिदिए, जसको सहयोगले यो घर बनाएको थियो ।

देवराजलाई आस्थाको मन्दिरमा राखेकी महामाया उसलाई पन्छाएर अर्को विकल्प सोच्न सक्दिनथी, आशा सँगाल्थी- ‘मैले नचाहिँदो केही गरी भनेको छैन । ऊ आफैँ तर्केर गएको हो । आउनुपर्छ कसो नआउला ? सौताको भाग छुट्टयाउनुपरे पनि उप्रति मेरो हक कायम छ ।’ तर पटकपटक गरिएका प्रयासहरूमा देवराजले टेरपुच्छर नलगाएपछि त्यो आस्था राखेर पर्खिएका पाँच वर्ष निरर्थक भएर महामायाको विश्वास धरमराउँदै जान लागेको थियो । यता आमा बेलाबखतमा चिन्ता व्यक्त गर्थिन्- “चिन्ता मात्र गरेर हुँदैन छोरी । देवराजले तँलाई छोड्न सक्छ भने तँ उसलाई बिर्सन किन सक्दिनस् ? अर्को बाटो खोज्नुपर्छ अब त ।”

तर महामाया आमाको कुरा सुन्दिनथी, झर्किदिन्थी वा एक कानले सुनेर अर्को कानबाट उडाइदिन्थी । अचेल भने स्थिति केही बदलिएको छ । महामायाले आमाका कुरा सुन्न थालेकी छ, सोच्न थालेकी छ ।

अचेल आमा सुदर्शनको निकै वास्ता गर्न थालेकी छन् । फुर्सद पाउनासाथ ऊसँग अनेक तरहका गफ गर्छिन् । आफ्नो वास्ता गर्ने र रुचि लिएर यसरी आफूसँग कुराकानी गर्ने मान्छे आजसम्म कोही पाएको थिएन सुदर्शनले, त्यसैले ऊ पनि बूढीका गफमा रमाइलो मान्न थालेको छ । विश्वास गर्दै जान थालेको छ । “अनुपात मिलाएर राम्रो रक्सी खायो भने स्वास्थ्य राम्रो हुन्छ । मन पनि दरो हुन्छ र डर, धक, सङ्कोच हट्दै जान्छ” भन्ने बूढीका कुरामा लागेर यदाकदा बूढीले पारेको रक्सी चाख्न पनि थालेको छ सुदर्शनले ।

बिदाको एक दिन दिउँसो महामाया सुदर्शनको कोठाको ढोकामा उभिन आइपुगी । त्यत्तिकै खाटमा पल्टिरहेको सुदर्शन, ठिङ्ग उभिएर एकोहोरो हेरिरहेकी महामायालाई देखेर कताकता डरायो र सजग भएर उठेर बस्यो । यदाकदा महामाया उसलाई यसै गरी हेर्थी र आफ्नो बाटो लाग्थी । तर आज ऊ बाटो लागिन, कोठाभित्र अलिकति पसी र भनी- “क्या अचम्मको मान्छे हुनुहुँदो रहेछ तपाईं त, कोठामा एक्लै बसिरहन कसरी सक्या होला ? यसो घुमफिर गर्न, गफसफ गर्न मन लाग्दैन ?”

“त्यस्तो बानी नै छैन मेरो।” झन्डैझन्डै डराएर बोल्यो सुदर्शन ।

“कसैसँग कुरा गर्न, साथीहरूसँग घुम्न, बाहिरफेर बजारतिर रमाइलो हेर्न मन लाग्दैन जस्तो छ तपाईंलाई हो ?” उसको स्वभाव जान्न खोजी महामायाले । “कोसँग के कुरा गर्नु ? कहाँ घुम्नु ? तालबेतालका कुरा सुनिन्छ, देखिन्छ । अचेल बेलै खराब छ ।” उसले आफ्नो मनको कुरा अकमकिँदै बोल्यो ।

“के मन पर्छ त तपाईंलाई ?” महामायाको यो स्वाभाविक प्रश्नमा सुदर्शन निरुत्तर रह्यो । महामायाले आफूतिर हेर्न पनि सङ्कोच मानिरहेको सुदर्शनलाई एकछिन हेरिरहेर भनी- “हिँड्नुस् मेरो कोठामा टिभी हेर्न ।”

महामाया “आउनुहोस्” भन्दै अघि लागी । ऊ अप्ठ्यारो मान्दै पछि लाग्यो । कोठामा गएर महामायाले टिभी खोली र उसलाई बस्ने आग्रह गरी । ऊ सङ्कोच मान्दै बस्यो । टिभी हेर्ने काम पनि करकापमा परेको झैँ देखिने ऊसँग महामायाले घरपरिवार र व्यक्तिगत कुराहरू उसको मनस्थिति विचार गर्दै सोध्दै रही। सुदर्शन लजाउँदै, सङ्कोच मान्दै उत्तर दिँदै रह्यो । सुदर्शनको सङ्कोची मनस्थिति र सरल- उत्तरहरू अलिना लागे महामायालाई र उसको मन जाँच्न एउटा प्रश्न गरी- “केटी साथीहरू थिएनन् तपाईंका ?” उसले ‘थिएनन्’ मा टाउको हल्लायो । महामायाले चित्त बुझाइन र सोधी- “त्यत्रो महानगरमा क्याम्पस वा अन्त कतै कुनै केटीसँग कुराकानी, सम्पर्क, हाँसखेल वा त्यस्तै केही भएको थिएन त ?”

“म कसैको नजिक नै पर्दिनथें, डर लाग्थ्यो ।” उसले सोझै भन्यो ।

“डर लाग्थ्यो रे, किन ?” छक्क परी महामाया । उसले उत्तर दिएन । एकैछिन पर्खेर ताकिता गरी महामायाले – “किन डर लाग्यो भन्नोस् न ।”

“अचेलका केटीहरू अनेक फेसन गर्छन्, चकचक गर्छन्, त्यसै पनि जिस्क्याउन खोज्छन् । नचाहिँदा काम र कुराहरू गर्छन्, भए नभएको कुरा गरेर दोष लगाउन खोज्छन् ।” कारण बतायो उसले । महामाया सुदर्शनको स्वभावको आधारमा उसलाई क्याम्पसमा केटीहरूले जिस्क्याएको हुन सक्ने अनेक अवस्थाहरू अनुमान गर्दै उसलाई हेरिरहन थाली र निष्कर्ष निकाली- बीसबाइसे उमेर र वातावरणले नै बाठो र चञ्चल हुनुपर्ने यो ठिटो चाहिनेभन्दा बढी सोझो, एकोहोरो र भीरु रहेछ ।
महामायाको कोठाबाट निस्केर आफ्नो कोठामा गएर धेरैबेर घोत्लियो सुदर्शन । कस्तोकस्तो अनुभूति सँगालिरहेको थियो । आजसम्म कुनै केटीको कोठामा गएको थिएन, यति लामो समयसम्म बसेको थिएन । कुनै जागिरको अन्तर्वार्ताजस्तै आफ्नो व्यक्तिगत कुराहरू सोधिएर उत्तर दिनुपरेको थिएन ।

अर्को दिन महामायाकी आमाले सुदर्शनसँग भनिन्- “बाबू धेरै भलादमी हुनुहुन्छ । डराउनु पनि हुन्छ जस्तो छ । हो, डराउनु पनि पर्छ तर जोसँग पनि डराउनु हुँदैन, त्यसरी त व्यवहारै चल्दैन । भलादमी भएर मात्र पुग्दैन । यो युवा अवस्थामा त उत्साही हुनुपर्छ, फुर्तिलो हुनुपर्छ ।

हाँसखेल गफगाफ गर्ने हुनुपर्छ, एउटै घरमा बसेपछि त हामी एकाघरका मान्छे, हामी बाबूको भलो चिताउँछौं। हामीसँग केही हिचकिचाउनु पर्दैन । बरु फुर्सदको बेलामा महामायासँग गफ गरेर बसे हुन्छ, उनले धेरै कुरा सिकाइदिन्छे तपाईंलाई । एउटै घरमा बसेपछि ऊसँग बोल्न उसका कोठामा जान कुनै सङ्कोच मान्नु पर्दैन ।”

महामायामा आएको सामान्य परिवर्तन र आफ्नो कुरा मन लगाएर सुन्नुले उत्साही भएकै छिन् आमा । र छोरीलाई आफ्नो मान्यतामा राजी गराउन अनेक कुराहरू गर्छिन् । आमाका कुराहरू मथेर नौनी निकाल्न खोज्छे महामाया- “यो अवस्थामा अब त्यस्तै त कहाँ सम्भव होला र ? यथार्थ आमाको सोचाइभन्दा फरक हुन्छ । अब त एउटा सम्झौता हुन सक्छ, केही कुरा पाउनलाई धेरै कुरा गुमाएर गरिने सम्झौता ।” देवराजसँगको आशा मार्नु अघिको अन्तिम प्रयासमा उसले स्वास्नी हुनुले सामान्य माग राखेकी थिई, गरिखाने समस्या छैन । लोग्ने हुनुपर्छ, बेलाबखत धेरथोर माया पाउनुपर्छ, आमा बन्न पाउनुपर्छ । म अहिले पनि उसको सोचाइ त्यही मागको हाराहारीमा डुल्छु ।”

बिस्तारै बदलिन थाल्यो सुदर्शन । महामाया टिभी हेर्न कोठामा बोलाउँथी, ऊ जान्थ्यो । अब त समय विचार गरेर आफैं पनि जान थालेको छ । सङ्कोच मान्न छोडेर सामान्य कुराहरू बोल्न थालेको छ । दिनहरू बित्दै गए । आमा सुदर्शनसँग गफ गर्दा कतै न कतैबाट महामायाको प्रसङ्ग जोड्न थालेकी छिन् । उत्साही भएर छोरीको तारिफ गर्न थालेकी छन् । सुदर्शन उनका कुरा सुनेर एकोहोरोजस्तो हुन थालेको छ । महामायाकहाँ जान्छ, उज्यालो अनुहारले हेर्छ, औपचारिक कुराकानीबाहेक अरू केही बोल्न भने सक्दैन । महामायालाई आमाले धेरै कुराहरू सुनाएकी छन् ।

आमाको आफ्नै प्रकारको सोचाइ र एकतर्फी कुराहरू उसले बुझेकी छ, तर आमाका कुरामा पूर्ण सहमत हुन सकेकी छैन- “घरजग्गा र सम्पत्तिको लोभमा जानाजान विवाहिता नारीलाई पुनर्विवाह गरेर सुखी जिन्दगी बाँच्ने सपना सायदै कुनै सचेत युवकले देख्ला !” उसले सुदर्शनको मनस्थिति पनि धेरै पढिसकेकी छ, त्यो पढाइले उसलाई बुझाएको छ, सुदर्शनले केटाकेटीपनको वृत्त नाघ्न सकेको छैन । आफ्नो सोचाइ राखेर आफ्नै मनले कुनै निर्णय गर्न सक्दैन । यो मान्छे यहाँ बसुन्जेलसम्मका लागि मात्र हुन सक्छ, जसले बहकाउँदा पनि बहकिन सक्छ ।

सुदर्शन बराबर उनको कोठामा आउँछ, कहिले बोलाइएर, कहिले आफैँ । यदाकदा महामाया उसलाई तिरस्कार गर्ने मनस्थिति बनाउँछे आफ्नै सोचाइको वृत्तभित्र उसको स्थान अरुचिकर र अस्थिर महसुस गरेर । तर ऊ त्यसो गरिहाल्न सक्दिन आमाको बारबारको घचघच्याइले सावधान भएर ।

बिदाको एक दिन बिहानको खाना खाएर आमा सुदर्शनसँग गफ गर्न थालिन् र गफमा छोरीको प्रसङ्ग जोडिन्- “कुनै केटो मन पर्यो भने बिहे गर्छु भनेकी छ। महामायाको यसपालि त पक्कै बिहे हुने भयो ‘पोहरपरार कुरै गर्न दिन्नथी, झर्किन्थी, झोक्राउँथी, अहिले त आकाश-जमिनको फरक भएको छ । उमेर बितेको छैन, लौ त भनूँ भने भर्खर बिहे गर्ने बेला भएको छ । त्यतिखेर त्यस्तै भयो, सँगै बसेका भएर एकअर्कालाई मन पराएछन् । हामीले पनि ठीकै छ, अरू व्यावहारिक कुराहरू बिस्तारै गर्दै गरौंला, दुवै पढ्दै पनि छन् भनेर सम्बन्धसम्म जोडिदिएको हो ।

बिहे भनेर बिहे नै भएको पनि होइन । मन्दिरमा गएर टीकोटालोसम्म गरिदिएको हो । के बिहे भन्नु र ? महामायाले त्यसको घरमा टेकेकै छैन, अब त महामायालाई केटो मन परेपछि कुरा गर्नुको मात्र बेर हो । मान्छेहरू एक-दुई वर्ष तलमाथि भए पनि मसक्क आँट्ने भैसके । नआँटुन् पनि किन ? घरजग्गा सम्पत्ति सबै उसैको हो, उसलाई जे मन पर्छ त्यही हुन्छ । राम्री छ, स्वभावकी छ, घरव्यवहार चलाउन जानेकी छ, त्यै एक पटक ख्यालख्याल गरेजस्तो भएको हो । त्यो पनि अचेलका केटीहरू बाहिर कुमारी देखिए पनि भित्र सबै कुमारी कहाँ हुन्छन् र ? बिहे गरेर दुई-चार महिनापछि यताको बिस्तारै छोडेर विराटनगर वा काठमाडौंतिर सर्नुपर्छ भन्न थालेकी छ । अब हामी त के भन्नु र ? उसको रोजाइको कुरा हो हेरौं, कसलाई मन पराउँछे, कसको भाग्यमा जुरेको छ !”

गफ सकेर बूढी पसलतिर लागिन् । सुदर्शन आँगनमा लुगा धोइरहेकी महामायालाई हेर्दै अनेक कुराहरू सोच्न थाल्यो । दिनभरजस्तो उसको मन अशान्त रह्यो । बेलुका खाना खाएपछि महामाया कोठामा थिई । उसले कोठाबाट चियायो, महामायाले बोलाई, ऊ भित्र गएर बस्यो । एकछिन दुवै चुपचाप रहे । महामायालाई के सुर चल्यो कुन्नि, सुदर्शनलाई जिस्क्याउने र खोतल्ने विचार गरेर भनी- कहिलेकाहीँ अलिअलि चाख्नुहुन्छ रे तपाईं । आज अलिअलि पिउनोस् है !”
ऊ अनकनायो तर अस्वीकार गरेन । महामायाले अलिकति सुकुटी, एउटा गिलास र बोतल अगाडि राखिदिएर गिलास भरिदिई र भनी- “राम्रो छ यो खराब गर्दैन ।”

उसले बिस्तारै पिउन थाल्यो । महामायाले सोधी- “तपाईंलाई केटीदेखि डर लाग्छ भन्नुभएको हैन ?”

सुदर्शन केही नभनी अलिअलि मुस्काउँदै मुन्टो झुकाएर बस्यो । “मदेखि चाहिँ डर लाग्दैन त ?” उज्यालो अनुहारमा मुस्कान खेलाई महामायाले ।

ऊ अझै बोलेन । महामायाले दपेटी- “भन्नोस् न किन नबोल्या ?” सुदर्शन किञ्चित् सङ्कोच मानेर बोल्यो- “एउटै घरमा बसेर स्वभाव जानेको पाको मान्छेसँग किन डराउने र !”

महामायाले मुस्काएरै आँखा ठूला पारेर भनी- “पाको रे ? के म बूढी देखिन्छु ?”

“मैले त्यसो भन्या हैन, स्वभाव पो पाको भन्या त”, सच्यायो सुदर्शनले । एकैछिन रोकिएर महामायाले फेरि भनी “म पनि त केटीजस्तै स्वभावकी बनिदिन सक्छु नि ।”

“बन्दिनु र साँच्चै हुनुमा त धेरै अन्तर हुन्छ।” आफ्नो विश्वास बोल्यो सुदर्शनले । महामाया एकछिन उसलाई हेर्दै रही र फेरि भनी- “आफ्नो घरगृहस्थी कस्तो होस् भन्ने कल्पना गर्नुभएको छ तपाईंले ?”

सुदर्शन एकछिन अलमलियो र भन्यो- “खै के कल्पना गर्नु र ?” “केही न केही त सोचिएको हुन्छ नि, घर यसरी बनाउँछु, यस्ती केटी यसरी बिहे गर्छु, घर यसरी चलाउँछु आदिआदि ।” महामायाले उसलाई डोऱ्याउन खोजी ।

“खै यो जागिरकै भरमा त के घर बनाइएला र ?” घर बनाउने योजना बनेको थिएन उसको । “अनि बिहे… ?” खोतली महामायाले । उसले कताकता असजिलो मान्यो र नभनी धर नपाइने देखेर भन्यो- “केही, केही सोचेको छैन । जतिखेर जस्तो पर्छ त्यस्तै गर्नुपर्ला ।”

“त्यसो भए एउटा सम्पत्तिवाला केटी बिहे गर्नोस् । उसैले घर पनि बनाउँछे।” महामायाले ठट्टा गरेरै भनी र मुस्काउन थाली । महामायाको आजको उज्यालो मुस्कानयुक्त अनुहार औधी मन परेर सुदर्शनको मनमा छापियो र ऊ पनि मुस्काइदियो ।

“लौ अहिलेसम्म एक गिलास पनि सकिएको छैन ?” महामायाले आफैले गिलास उठाएर उसलाई दिई, गिलासमा बाँकी रहेको अलिकति रक्सी उसले एकै सासमा पियो । महामायाले फेरि गिलास भरिदिँदै भनी- “साँच्चै भनेकी भनेको मैले, एउटी त्यस्तै केटी खोज्नोस् ।”

सुदर्शन एकछिन मनमा कुरा खेलाइरहेझैं देखियो । महामायालाई पुलुक्कपुलुक्क हेर्दै चुस्की पनि लगाउँदै थियो । आमाचाहिँको कुरामा चाख्ने गरे पनि पिउने बानी थिएन उसको । उसलाई रक्सी लाग्न सुरु भएको थियो । आज महामाया हारिनसक्नुकी भएकी थिई । चढ्दै गएको नशामा महामायाप्रतिको सोचाइ दृढ भएर आफ्नो मन उसको सामु खुलस्त पार्ने आवेगले डोरिँदै थियो सुदर्शन । कदाचित् महामायाले प्रसङ्ग बदली भने…?

उसले मौका खेर फाल्न चाहेन र भनिहाल्यो- “मेरो मात्र के कुरा, तपाईं पनि एउटा केटो खोज्दै हुनुहुन्छ होइन र ?” महामायाले सुदर्शनलाई एकोहोरो हेरिरही । उसलाई आमाले परी लाएको सीमाको हाराहारीमा पुगेजस्तो लाग्यो तैपनि स्पष्ट गर्न चाही- “तपाईं खोजिदिनुहुन्छ त ?” सुदर्शनले एक पटक फेरि महामायालाई हेय र अनुहार निहुराउँदै भन्यो- “म पनि तपाईंले खोजेजस्तै बन्न सक्छु नि ।”

त्यो सुन्न अप्रत्याशित नभए पनि केही अनौठो लाग्यो महामायालाई । उसको मनमा अनेक प्रश्नहरू उठे अगुल्टोले हानिएको कुकुर बिजुलीदेखि तर्सेझैँ । तर सबै प्रश्नका उत्तरहरू गर्भमा थिए । गम्भीर भई महामाया । आमाका परिपन्चका कुराहरू सम्झेर सोची- “यस्तो हुन पनि सक्छ, नहुन पनि सक्छ । यसको स्वभाव हेर्दा आमाका कुराहरू सम्भावनाका नजिक देखिन्छन् ।

कदाचित् बहकिने अवस्था पनि आउन सक्छ, त्यतिखेरको निम्ति साङ्लाहरू बनाउने काम पनि अहिलेदेखि नै सुरु गर्नुपर्छ ।”

तत्काल महामायाको प्रतिक्रिया नपाएको सुदर्शन अलिकति छटपटियो, चुस्कीको आवृत्ति बढेर दोस्रो गिलास पनि रित्त्यायो । उसको टाउको भारी भएर झोलिंदै उठ्दै गरेको थियो ।

आफ्नो यथार्थले गम्भीर बनायो महामायालाई- ‘बैँसको पहिलो प्रहर बितिसकेको छ र कटुता पिउँदै दोस्रो प्रहरमा धकेलिएको छ । सम्झौता गर्ने प्रयासमा देवराजसँग थोरै कुरा मागिएको थियो र त्यो पनि सम्भव भएन । भोलिको निम्ति केही जगेर्ना गरिसक्नुपर्ने हो अवस्थामा अहिलेसम्म केवल शून्य हात लागेको छ । अब कुनै रूपको सम्झौता त हुनुपर्छ ।’
धेरैबेर महामायाले केही नभनेपछि आफ्नो कुरामा उसले विश्वास नगरेको अन्दाज गर्यो सुदर्शनले । अनि त नशाको सुऱ्याइ भीरुतामा रूपान्तर भयो र भन्यो- “मलाई विश्वास गर्नोस्, म अरूजस्तो होइन । तपाईंले जे भने पनि मान्छु । तपाईं नभए म केही गर्न सक्दिनँ, मेरो कोही हुँदैन, म जस्ताको तस्तै रहन्छु।”

सुदर्शनको बोली लरबरिएको थियो, टाउको झोलिएको थियो । ऊ आराम गर्न खोजिरहेको थियो । महामायाले “तपाईंलाई लागेको छ यता आराम गर्नोस्” भनेर उसलाई उठाउन टेवा दिई र ओछ्यानमा पुऱ्याएर सुताइदिई । अनि ओछ्यानमा बसेर सुदर्शनको टाउको सुमसुम्याइदिन थाली । केहीबेरपछि शरीरभरि मन्द राग सञ्चार भयो र बिस्तारै झुक्दै सुदर्शनसँग टाँसिई ।

भित्रभित्र रमाए पनि दुई-चार दिन त आमा, महामाया, सुदर्शन तीन जना गुपचुप थिए । धनराजलाई केही थाहा थिएन । दुई-चार दिनपछि उनलाई पनि थाहा दिइयो । अनि बाबुआमा र छोरीको सल्लाहले केही दिन त्यो सम्बन्ध गोप्य रहने भयो । सुदर्शन त महामायाले जे भने पनि मान्दथ्यो । घरभित्रको व्यवहार पनि पूर्ववत् नै रह्यो, केवल महामाया र सुदर्शनका कोठाहरूमा दुई जना भएपछि औपचारिक अनौपचारिक कामहरू हुन्थे । अन्तर्मन सबैको खुसी थियो । यसरी नै दिनहरू बित्दै गए।

दसैँ आयो । केही दिनयता बेलाबेलामा टेलिफोनबाट हालखबर सोध्ने गरेको दाजुले ‘सुदर्शनलाई दसैँमा घर आउन बिर्सलास् नि’ पनि भन्ने गरेको थिएन । सुदर्शनले घर जाने कुरा गरेपछि महामाया एक पटक झस्किई । पठाउँदा वा नपठाउँदा केकस्तो होला भनेर आमाछोरीको कुरा भयो । निष्कर्षमा थोरै दिनको निम्ति पठाउनु राम्रो हुने कुरा तय भयो । महामायाले कुनै विघ्न नपरोस् भनेर धेरै कुरामा सावधान रहन सिकाएर सुदर्शनलाई बिदा गरी । बिदा त गरी तर सुदर्शन गएपछि बेलाबेलामा उसको मन अनेक आशङ्काको बादलले ढाकिन्थ्यो । दसैं बित्यो र सुदर्शन पनि निश्चित समयमा फर्केर आयो । ऊ आउनेबित्तिकै धेरै दिनदेखि

बेपत्ता भएको मान्छे बल्लबल्ल फेला परेजस्तो गरेर महामाया उसको नजिक बसी र “घरमा कोकोसँग केके कुरा भए ? दाजुभाउजूले केके भने ? कस्तो व्यवहार गरे ? तपाईंले केके भन्नुभयो ?” भनेर इतिवृत्त जानकारी मागी । सुदर्शनले कुनै खास कुरा नभएको, सबै कुराहरू पहिलेको जस्तै भएको भनेर उत्तर दियो । अलिअलि मलिन देखिएको सुदर्शनको मलिनताको कारण यात्राको थकान मानेर थकान मेटाउने उपायहरू हँसिली र फुर्तिली भएर गर्न थाली । तय गर्नुपर्ने बाटोमा एउटा ठूलो जँघार पार गरेजस्तो मानेर खुसी भई र भर्खरकी तरुनीको जस्तै चञ्चल बनेर छुनुमुनु गर्दै लाडिन थाली । यसरी आजसम्म लाडिएकी थिइन सुदर्शनसँग । घरबाट भर्खरै फर्केको सुदर्शनको मन अलिअलि बेचैन नै थियो । तर महामायाको नखरा र लाडिनुले सहज बनाउन अप्ठेरो परेन, सोच्यो- ‘आSSS, पछिको कुरा पछि नै हुन्छ ।’

रात परेर छिप्पिँदै पनि गयो । सबै सुतिसकेका थिए । महामाया सुदर्शनलाई अँगालोमा बाँधेर निदाएकी थिई । सुदर्शन घरीघरी निदाउन खोज्दा दाजु र भाउजूका कुराहरू प्रतिध्वनित भएर झल्याँस्सझल्याँस्स ब्युँझिरहेको थियो । पहिलेपहिले बोल्दा पनि रिसाएजस्तो गरेर बोल्ने भाउजूले यसपालि सामान्य व्यवहार र उज्यालो अनुहार पारेर भनेकी थिइन्- “जागिर खाएपछि त बाबू तेजिलो र फुर्तिलो पनि हुनुभएछ । अब त्यो पहाडमा बसेर पार लाग्दैन, यतै सरुवा हुनुपर्छ ।”

अनि एउटा अभिभावकको दायित्व बोकेका दाजुले भनेका थिए- “अब तेरो निम्ति घर पनि त बनाउनुपर्छ । अहिले घर बनाएर भाडामा दिइराख्यो भने केही वर्षमा घर बनाएको खर्च उठ्छ । पछिपछि जे पर्छ त्यै गरौंला । अर्को साल तेरो बिहे पनि गर्नुपर्छ । घर बनाउनका निमित्त म यता व्यवस्था मिलाउँदै गर्छु, तँ मङ्सिर लागेपछि अलि लामो बिदा लिएर आइज ।”

यी कुराहरू उसले महामायासँग गरेको छैन, नगर्ने अठोट गरेको छ । बेचैन हुन्छ र सोच्न थाल्छ । सोचाइले पार नलागेपछि जे त पर्ला भनेर मन सहज बनाउन खोज्छ । रात धेरै बितेपछि महामायाको अँगालो अलिकति फुकाएर निदाउने प्रयासमा कोल्टे फर्केर सुत्यो सुदर्शन ।