
‘दिल दाइ, मेरो रूम अलिक मैलो भएको थियो । आज शनिवारै भए पनि एक छिन अफिस खोलेर यसो सरसफाइ गरिदिनु न है ! मेरो रूमको चाबी कहाँ हुन्छ भनेर त तपाईंलाई थाहै छ ।’
दिलबहादुरको मोबाइलमा शब्दसन्देश आयो । सन्देश थियो अफिसको बोसको । दिलबहादुरको अनुहार थोरै खुम्चियो तर एकदमै निमेषभरको लागि ।
अफिसको सुरक्षा गार्ड, चिया व्यवस्थापक, स्टाफहरूको सहयोगी, सरसफाइ टीम जे भने पनि उनी एकै व्यक्ति थिए दिलबहादुर । त्यसैले बिजुली, पानी देखि पार्किङसम्म उनकै कुशल व्यवस्थापनमा निर्भर थियो । उसो त उनले त्यस अफिसमा काम गरेको बीसौं वर्ष बितिसकेको थियो । एक किसिमले भन्ने हो भने उनी नै बोस पछिका बोस थिए । सबै स्टाफहरूको देखभाल गर्थे । अफिसको सुरक्षा गर्थे । फोटोकपी सोटोकपीदेखि ग्राहकहरूलाई बसाउने जस्ता आइपरेको सबै काम सम्हाल्थे ।
बोसले केही दिनलाई पूर्वको भ्रमण गर्न भनेर काठमाडौं छाडेका थिए । दिलबहादुरले मनमनै सोचे, “आज कतै ननिस्की नातिनीसँग दिनभर खेल्दै बसौं भनेको त …!”
श्रीमतीलाई बोसले अह्राएको सबै कुरा बेलिबिस्तार लगाई दिलबहादुर अफिस जान भनेर निस्किए । भक्तपुरको नीलो आकाशबाट झन्डै उनी जतिकै उमेर खाइसकेको उनको पुरानो मोटरसाइकल फराकिलो अरनिको हाइवेमा काठमाडौंतर्फ हुइँकिंदै गरेको देखियो, भुटुटुटु….!
अफिस पुगेर दिलबहादुरले गेट खोले । ढोकाका ताल्चाहरू खोले । मुख्यमुख्य कोठाका पर्दाहरू खोलेर हावालाई खेल्ने ठाउँ बनाइदिए । त्यसपछि स्टोर रूम खोलेर झाडु, पोछा, धूले साबुन, कपडाको टालो आदि तयार गरेर बोसको भव्य कोठातर्फ लागे ।
कोठा शानदार थियो । मगमग अत्तरको बास्ना हावामा मिसिएको, बोसको मातापिताको फोटो भित्ताको दायाँबायाँ पारेर सजाइएका, क्यापिटल एल आकारमा स्थिर गरिएका दुई महँगा प्रतीत हुने सोफा, एक डेस्कटप कम्प्युटर र एक ल्यापटप, छ ओटा गमला र फूलहरू, चिटिक्कको एउटा दराज यस्तै यस्तै । उनले सफाइको शुरूवात पुछपाछबाट गर्ने सोच बनाए र हातमा सफा टालो लिएर भित्तामा सजाई राखिएको बोसको इलेक्ट्रिक गितारबाट पुछ्न शुरू गरे ।
इन्टरनेटको राउटर, कम्प्युटरका स्क्रीन, सोफा, झ्यालका सीसा, टेबुल इत्यादि सबै पुछिसकेपछि उनले बोस विराजमान हुने कुर्सीछेउ पुगे । उनी लगायत
अफिसका सबै स्टाफहरूलाई थाहा थियो त्यो बोसको विशेष कुर्सी थियो । लरतरो कुर्सी थिएन । एक हल्लालाई साँचो मान्ने हो भने लाखौं खर्च गरेर त्यसलाई इटालीबाट बोसले आयात गरेका थिए । अर्को हल्लाअनुसार त्यो बोसको पिताश्रीले उपहारमा प्रदान गरेको खानदानी कुर्सी थियो । त्यो भन्दा नि अर्को हल्ला अनुसार त बोसलाई त्यो कुनै प्रसिद्ध भारतीय गुरुले राम्रो भाग्य भित्र्याउने वस्तुको रूपमा आशीर्वाद स्वरूप दिएका थिए ।
हेर्दा सामान्य भन्दा लगभग डेढ गुणा फराकिलो त्यो कुर्सीको तल्लो भाग चारैतिरबाट मखमलको विशेष पर्दाले ढाकिएको थियो जसले गर्दा त्यसका खुट्टाहरू देखिन्नथे । झट्ट हेर्दा सोफा र कुर्सीको कुनै मिश्रित स्वरूप जस्तो । अथवा कुर्सीले फ्रक लगाएको जस्तो । जब बोस वल्लो कुना र पल्लो कुना गर्दथे तब मात्र त्यो कुर्सी सुलुलु बगे झैँ ज्यादै हलुकासाथ एक ठाउँबाट अर्को ठाउँ यात्रा गरेको देखिन्थ्यो । तब मात्रै थाहा लाग्थ्यो कि त्यसको फ्रक भित्र चक्काहरू पनि छन् भनेर ।
दिलबहादुरले निकै उत्सुकतासाथ पहिलो पटक त्यस कुर्सीलाई छोएर हेरे । अनि एक चक्कर घुमाई पनि हेरे । कुर्सी फनन घुम्यो । त्यसरी घुम्दैगर्दा दिलबहादुरले कुर्सीको पछिल्लो भागमा एक गोप्य गोजी देखे । गोप्य किनभने कुर्सीको कपडा र त्यस गोजीको ढाँचा र रङ यस्तरी मिलाइएको थियो कि ती एक अर्कामा क्यामोफ्लाज भएर नदेखिने गरी जडिएका थिए । एकदमै नजीकबाट नियालेर हेर्दा मात्रै पत्ता लाग्ने त्यस गोजीमा दिलबहादुरले घुमिरहेको कुर्सीलाई रोकेर विनाकारण नै हात घुसाइहेरे । त्यसपछि नै हो दिलबहादुरको सातोपुत्लो उडेको । त्यसपछि नै हो उनको होस ठेगानमा नरहेको । उनको शान्तिको हरण भएको ।
दिलबहादुरले भर्खरै जे देखे आफ्नो आँखालाई विश्वासै गर्न सकिरहेको थिएनन् । मन एक तमासले केके केके सोच्न थाल्यो । शरीरभरि कुनै अपरिचित तरङ्ग पैदा भयो । उनले जतिसक्दो चाँडो सरसफाइ सकेर त्यहाँबाट निस्किहाल्नुमै आफ्नो भलाइ देखे । त्यसैले यन्त्रमानव जस्तो फटाफट काममा लागे । सुद्धी हराएको मान्छे जस्तै एकोहोरो काम गरिरहे र काम सबै सिध्याइवरि अफिस थुनथान पारेर हंस बिनाको पुत्ला जस्तो छिटोछिटो त्यहाँबाट निस्की पनि हाले ।
कोटेश्वर आइपुगेपछि दिलबहादुरलाई चियाको तलतल लाग्यो । आफूले सधैं चिया खाँदै आइरहेको पसल अगाडि मोटरसाइकल रोकेर एक कप चिया मागे । टेबुलमा भएको पत्रिका तानेर दिलबहादुरले पढ्दै चिया पर्खिए । दिल बहादुरको ध्यान बोसको विशेष कुर्सीभित्र पाइएको वस्तुमै अल्झिरहेको थियो । यी त केवल आँखाहरू मात्र थिए जो पत्रिकामा छरिएका अक्षरहरूमा त्यसै अलमलिरहेका थिए ।
चिया आयो । दिलबहादुरले पहिलो चुस्की सुरुप्प पारे । चियाबाट आएको सुकुमेल र मरीचको हरर बास्नाले दिलबहादुरको चेतनालाई खुलाइदियो । तब उनले पत्रिकामा छापिएको तेत्तिस किलो सुन तस्करी प्रकरणको सम्पूर्ण कथा ध्यानपूर्वक पढे । तब उनलाई उनको बोसको गलामा सधैं झुन्डिरहने सुनको अस्वाभाविक रूपले ठूलो सिक्रीको याद आयो । बोसको हातमा औंलैपिच्छे सुनका औंठी भएको कुरा याद आयो । अनि घुमिफिरी फेरि बोसको कुर्सी र त्यस कुर्सीमा रहेको अद्भुत जिनिसको याद आयो ।
ठिमीमा राँगाको फ्रेस मासु पाउने पसल दिलबहादुरलाई थाहा थियो- हाकुको मासु पसल । उनको मोटरसाइकल त्यहाँ पुगेर रोकियो । डेडलक कपाल भएको मासु काट्ने केटोलाई उनले डेढ किलो मासु मसिनो गरी काटेर राखिदिन भने । फुर्तीसाथ केटोले तुरुन्तै मासु छिल्यो, जोख्यो र ससाना टुक्रा पार्न थाल्यो । पसलमा आजभोलि निकै चल्तीका गायकको भाइरल गीत बजिरहेको थियो -‘आऊ प्रिय झट्टै आऊ, घरमा छैनन् हाम्रा बाउ ।’
मासुको झोला ठिक्क पारेर दिलबहादुरतिर बढाउँदै गर्दा केटोले दिलबहादुर राँगाको साँप्रोलाई एकनास हेरेर टोलाइरहेको पायो । ‘ओ अंकल मासु समाउनु क्या !’ उसले हलुका उँचो आवाजमा भन्यो । दिलबहादुर झस्के झैं गरे र पैसा तिरेर सर्लक्कै निस्किए । केटोले मसिनो स्वरमा दिग्दारी व्यक्त गर्यो ‘अरे बा ! मासुको मुखै नडेख्या जस्टो पो गोर्छ भोन्या !’
दिन ढल्कने सुरसार कस्दै थियो । सडकमा कल्याङ मल्याङ बढ्दै थियो ।
० ० ० ०
दिलबहादुरको पूरै दिन एक किसिमको छटपटी मै बित्यो । शान्त मनको पोखरी हल्लिसकेको थियो । मनमा जे जे जाग्नु थियो जागिसकेको थियो । झम्के साँझ पर्न थालिसकेको थियो । दिलबहादुरको मनमा भने लगाम लाग्न सकेको थिएन ।
बेलुकीको खाना खाईवरि सबैजना टेलिभिजन हेर्दै थिए । छटपटाइरहेका दिलबहादुर सोफाबाट जुरुक्क उठे । श्रीमतीतिर फर्केर भने ‘म एउटा सानो काम आइपर्यो । एक छिन बाहिर गएर आउँछु । तिमी सुत्दै गरे पनि हुन्छ ।’
दिलबहादुरले हेलमेट र चाबी टिपेर निस्कँदा श्रीमतीको ‘हन त्यस्तो के काम हो रातिराति ? अचम्मै !’ भनाइ कानमा ठोक्कियो । तर उनले सुने नसुने झैं गरे । गेट खोलेको ढ्वाङ्ग आवाजसँगै मोटरसाइकलको भुटुटु सुनियो र शनैशनै पातलिंदै गयो ।
झमक्कै रात परे पनि कौशलटार चोकको पान पसलमा पान, खैनी, गुट्खा, सुर्ती र चुरोट किन्नेहरूको भीड थियो । एक जना ट्राफिक प्रहरी हात लम्काएर पानवालासँग पान मागिरहेको थियो । बालकोट बिरुवातिर जाने डल्ले सेतो रंगको एउटा बस काठमाडौंबाट आफ्नो अन्तिम ट्रिप बोकिआएको थियो । त्यस बसको सहचालक भाइ पनि त्यही भीडमा सयको नोट लिएर गुट्खा किन्न तन्कँदै थियो । सूर्यविनायकबाट अफिसतिर कुद्दै गरेको दिलबहादुरको मोटरसाइकल पनि त्यही पान दोकान अगाडि आएर टक्क रोकियो । त्यही भीडमा उनले पनि हात लम्काउँदै एउटा शिखर आइस चुरोट मागे । जसै चुरोट चरर सल्कियो उसै उनको दिमागमा दिउँसोको घटना पनि सरर ताजा भयो । बुङ्ग उडेको चुरोटको बाक्लो धुवाँसँगै दिलबहादुर दिउँसोको फ्ल्यास ब्याकमा गए ।
उनले सम्झिए । दिउँसो बोसको कुर्सीको पकेटमा हात हाल्दा पोलिथिनको झोलाभित्र गिलोगिलो केही चीज स्पर्श गर्न पुगेका थिए । उनले के रैछ त भनेर पोलिथिनको झोला खोलेर हेरे । तब त्यसमा एउटा यौन खेलौना देखे । उनी नराम्ररी तर्सिए । आङ सिरिङ्ग भो । उनले यौन खेलौनाको बारेमा सुनेका पढेका त थिए तर जिन्दगीमा यसरी आँखाकै सामु भने कहिले देखेका थिएनन् । छोएका थिएनन् । उनलाई के गरौं के गरौं भयो । हत्तपत्त त्यसलाई जस्तो थियो त्यस्तै अवस्थामा पुनः राखिदिएर छिटोछिटो सरसफाइमा ध्यान दिए ।
दिलबहादुरले सरसफाइमा ध्यान त दिइरहेका थिए तर उनी भित्रको ध्यान भने अब पूर्णतः भङ्ग भैसकेको थियो । एउटा यस्तो असजिलो र अपरिचित तरङ्ग सहितको चाहना उनीभित्र उम्रेर बढ्न थालेको थियो । त्यसले उनको चित्तचित्त कुत्कुत्याइसकेको थियो । शरीरका रौंरौंमा काउकुती लगाइसकेको थियो ।
त्यो अदब नूतन चाहनालाई दिलबहादुरले भित्रैदेखि महसूस गर्यो । त्यस वस्तुलाई फेरि खोलेर आँखा अघाउन्जेल हेर्ने चाहना । त्यो सूनसान अफिसमा त्यो वस्तुलाई मजाले छोइहेर्ने चाहना । खेलाइहेर्ने चाहना र अन्ततः त्यसलाई एक खेप उपभोग गरिहेर्ने चाहना । दिलबहादुरभित्रको उत्सुकता र रोमाञ्चकता अनियन्त्रित हुँदै थियो ।
चूपचाप दिलबहादुर हतार गर्दै अफिसबाट सरसफाइ सकेर निस्किए । निस्कन त निस्किए तर उनलाई बैंसालु कीरोले नराम्ररी टोकिसकेको थियो । एउटा यस्तो कीरो जसको टोकाइले ज्वरो सल्केको थियो र उनी बिस्तारै बिस्तारै आफ्नो मनमाथि नियन्त्रण गुमाउँदै गइरहेका थिए । दिलबहादुर एकोहोरिंदै थिए मानौँ कुनै शक्तिशाली भूतप्रेतले उनको मन मस्तिष्क र शरीर तीनै विभाग कब्जा गरेको थियो ।
० ० ० ०
कौशलटारमा त्यसरी चुरोट तानिसकेर दिलबहादुरको मोटरसाइकल लोकन्थलीको पुल तरीकन झिलिमिली काठमाडौंतर्फ हान्नियो । कोटेश्वर, तीनकुने, मिनभवन, नयाँ वानेश्वर हुँदै अब दिलबहादुरको मोटरसाइकल पुतलीसडकतर्फ कुदिरहेको थियो । त्यतिबेलासम्म उनी आफ्नो लक्ष्यमा दृढ र आत्मविश्वासी देखिए । कुनै दुबिधा या असमञ्जसता बाँकी थिएन । सबै प्रष्ट र खुल्ला थियो । सबै मीठो र प्रीतिकर थियो ।
अफिस पुगेर ताल्चा खोलिसकेपछि दिलबहादुर सिधै बोसको रूमतर्फ मोडिए । लाइट अन गरे र बोसको कुर्सी भित्रबाट व्यग्रताका साथ कालो पोलिथिनको पोको निकाले । उक्त पोकोबाट उनले त्यस खेलौनालाई बाहिर झिकेर बडो जतनसाथ आफ्नो हातमा लिए र हेरे ।
सिलिकनले बनेको त्यो वस्तु अत्यन्तै मुलायम थियो । सफा र चिटिक्क परेको, गुलाबी रंगको, कुनै दाग धब्बा नलागेको, आकृति दुरुस्तै कुनै स्त्रीको यौनाङ्ग । स्पर्शको अनुभूति हुबहु कुनै स्त्रीको शरीरकै मांसपेशी छोए जस्तो । तौल त्यस्तै दुई-तीन सय ग्राम जति हुँदो हो, उनले अड्कल काटे ।
नशानशामा विद्युत् सञ्चार भैरहेका औंलाहरूले उनले बिस्तारै त्यस खेलौनालाई सबैतिरबाट सुमसुम्याए, मुसारे । अहो ! कस्तो नरम ! कस्तो सुकोमल ! कस्तो प्यारो संवेदन ! के यो उनको बोसले नियमित प्रयोग गर्दै आइरहेको चीज थियो ? के यो प्रयोग गर्नाले कुनै रोगसोग त सर्ने होइन ? के यो सब गर्नको निमित्त उनले आफ्नो उमेरको ख्याल राख्नु पर्दैन र ? के यो अनैतिक होइन र ? के यो बैमानी होइन र ? उनले केही वास्ता गरेनन् । चेतना शून्य प्रायः र अन्धो भैसकेको थियो । अब उनीभित्र लाज, डर, त्रास, घिन, नैतिकताको प्रश्न केही पनि बाँकी रहेन । बाँकी रह्यो त केवल त्यसलाई भोग्ने उत्कट अभिलाषा ।
एकछिनपछि दिलबहादुर बोसको कुर्सीमा थचक्क बसेको देखियो । उनको पाइन्ट कम्मरको पकड छाडेर घुँडा मुन्तिर सुर्किझरेको देखियो अनि केही बेरसम्म बोसको उक्त कुर्सीबाट एक-दुई एक-दुईको सांगीतिक तालमा कुर्सीको मचकमचक आवाज मात्र निस्किरह्यो ।
उक्त श्रृंखलाको केही मिनेटपछि शायद तुफान थामियो । हातमा उही खेलौना बोकेर शान्त र क्लान्त दिलबहादुर देब्रेतिरको बाथरूमतिर छिरेको देखियो र भित्रबाट खिटिक्क चुक्कुल लाग्यो ।
काम फत्ते गरिसकेपछि अपराध स्थलबाट अपराधी फरार भए जसरी दिलबहादुर द्रुत गतिमा घर फर्किए । लुसुक्क कोठामा छिरे । कोठामा आइपुग्दा घरका सबै सदस्यहरू गहिरो निद्रामा डुबिसकेका थिए । दिलबहादुर भित्रको तुफान पनि शान्त भएर बाँसघारीको सिर्सिरे बतास भैसकेको थियो ।
उमेरले साठी नाघेका दिलबहादुर बडो सन्तुष्ट साथ त्यो रात मस्त निदाए । श्रीमतीमा ढल्कँदो उमेरसँगै आएको यौन चाहनाको अनिच्छाले गर्दा जिन्दगी अचेलभरि कताकता केही नपुगेको जस्तो, खल्लोखल्लो जस्तो महसूस गर्दै आइरहेका थिए उनी । धेरै दिनपछि यति मीठो र गहिरो गरी निदाएका थिए ।
आइतबारको उज्यालो भयो । श्रीमतीको हातबाट बिहानीको चिया लिँदै गर्दा दिल बहादुर अंग्रेजीमा जिस्किए-
‘बुढिया ! यु नो आइ लव यु सो मच् !’
श्रीमतीले चिया ल्याएको प्लेट उनलाई हिर्काउँला झैं गरी हावामा उचाल्दै भनी, ‘यस्सैले टाउको साउको फोड्दिऊँ कि क्या हो ! अइले नातिनीले सुन्यो भने के हुन्छ ? बुढेसकालमा पात्तिन्छ !’
श्रीमतीको रीस उपर दिल बहादुर ह ह ह..गरेर बडो अट्टहाससँग मजा लिएर हाँसे ।
‘अर्को शनिवार पनि एक पटक फेरि यो कर्म दोहोर्याउन पाए त !’
दिलबहादुरमा लोभ र रहर दुवै एकैसाथ जागेर आयो । मनमा गुलियो लड्डु प्वाट्ट फुट्यो । उनले मनमनै हिसाबकिताब मिलाए, ‘आइतवारदेखि शुक्रवारसम्म त नाइट सिफ्ट काम गर्ने स्टाफहरू हुन्छन् अफिसमा । सम्भवै छैन । शनिवार राति बाहेक कुनै उपाय छैन ।’
केही बेर घोत्लिएपछि मनमनै पुलकित हुँदै उनले मोबाइलमा म्यासेज लेखे र सोधिपठाए, ‘बोस, के तपाईं अर्को हप्ताको मंगलवार मात्रै फिर्नुहुने होइन र ?’
टेबुलमाथि आधा मात्रै पिइएको चिया सेलाएर सतहमा दूधको तर बसिसकेको थियो । बोसको जवाफको प्रतीक्षामा अधैर्य दिलबहादुर गोडा हल्लाउँदै र घरीघरी मोबाइल चेक गर्दै पर्खिरहे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

