
मानवलाई थुनेर राख्यो घरभित्रै जेलसरि
प्रकृतिमा गीत गाउँछन् खुलस्त भै चरी ।
दुनियाँलाई जित्छु भन्थे परमाणुको भरले
घरभित्रै लुकेर बसे किटाणुको डरले ।
शताब्दीमा फर्की आउने चेतावनी दिन
मानवजाति कति क्रूर यो बुझ्दैन किन ।
प्रकृतिको एउटै शत्रु मानवजाति होला
जीवजन्तु सबैको हेर उस्तै हो नि चोला ।
वनजङ्गल विनाश गरी विकास भन्ने मानव
विनाश गरी रम्न खोज्ने पृथ्वीको दानव ।
पृथ्वी हो सबको साझा प्राणी जगत्को
जनावरलाई काटी हेर नाता छ रगतको ।

मोहनसिंह साउद
दोहन गर्न कहिले छोड्छौ हराभरा ठाउँको
सहर पस्दा सभ्य ठानी हेला गर्छौ गाउँको ।
वातावरण जोगाउनलाई सबै कम्मर कस
अझै चेत आउँदैनन् भने लकडाउन मै बस ।
खाली ठाउँमा रूख रोपौँ भएका जोगाऔँ
स्वच्छ हावा अक्सिज लिइ कोरोना भगाऔँ ।
प्रकृति आफैँमा सुन्दर कुरूप पार्ने मान्छे
सुन्दरतालाई कुरूप बनाई आफू महान् ठान्छ ।
धनी बन्ने लोभ त्याग सबको भलो सोच
पापिष्ट भई जिउनु भन्दा पुण्य काम रोज ।
कोरोनाको सन्देश बुझी लौ बानी सुधार
विलासीपन स्वार्थ त्यागे अनि लाग्छौ पार ।
सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				





 
																	 
																	 
																	 
																	 
																	




