बालाखामा
जब मैले बिराम गरेर घर फर्किन्थेँ,
आमा मलाई बेस्सरी गाली गर्नुहुन्थ्यो,
गालिसङ्गै कुटाई खाने डरले, म आमाबाट धेरै पर भाग्थेँ
आमा मलाई फकाउँदै आफ्ना हातले पकाएको मीठो कुनिमाम खुवाउँदै सोध्नुहुन्थ्यो,
‘सधैँ यसरी उपद्रो मच्च्याएर किन हिड्छस बाबु एक्दिन तँलाई केही भैहाल्यो भने मेरो के हुन्छ ?’
म फिस्स हास्थेँ,
अनि आमाको आँखाको डिलमा
टिल्पिल टिल्पिल गरिरहेका आँसु पुछ्दै भन्थेँ
‘म हुँदा हुँदै, तिमीलाइ केही हुन दिन्न।’
आमा रुँदा, नाकमा बगेको सिगानका धारा आफ्नो धोतीको सप्काले पुछ्दै
बुढेसकालको सहारा तैँ त होस् भन्नुहुन्थ्यो।
आज ठूलो भएँ,
सोच्छु,
कुनैदिन आमाले गाउँबाट फोन गरेर
‘बाबू म सारै गलेकी छु, एकपटक घर आउछस् कि ?’ भनेर पुनः प्रश्न गर्नुभयो भने,
‘भन्नेबित्तिकै बिदा नपाएर तिम्रो अन्तिम श्वासमा म तिम्रो सहारा हुन पाइनँ आमा’ भनेर कसरी उत्तर दिउँला ?
सानोमा
जब म आफ्नो स-साना खाली खुट्टाले,
भर्खर भर्खर भुइमा टेकेर
आमाले माया गरेर बनाइदिनुभएको जुटको बोराको झोलामा
पल्लाघरे काकाको छोराको पुरानो
मुसाले खएर झुत्रो परेको किताब भिरेर स्कुल जान्थेँ,
मलाई गुरु’आमा’ले प्रश्न सोध्नुहुन्थ्यो,
‘बाबू, तिमी ठूलो भएसी के बन्छौ ?’
म फिस्स हास्थेँ,
अनि बडो गर्वका साथ भन्थेँ,
‘डाक्टर बन्छु गुरु’मा ‘
गुरु’मा’ ढाडमा थपथप थपथपाउँदै
स्याबासी दिनुहुन्थ्यो।
आज ठूलो भएँ,
सोच्छु,
कुनैदिन गुरु’आमा’ कतै भेट भएर
‘बाबू डाक्टर बनिस् त ?’ भनेर पुनः प्रश्न गर्नुभयो भने
‘म जुट्को झोलामा झुत्रो किताब बोकेर देखेको सपना’
पूरा गर्न सकिन गुरु’मा’ भनेर कसरी उत्तर दिउँला ?
किशोरमा
गाउँका टोले केटाहरूसँग,
हातमा बाँसको लौरी लिएर
चौरमा डियाँ चराउन जाँदा,
‘तिमीहरूको दाइ एकदिन लन्डन जान्छ’
पैसा कमाउँछ, अनि सहुराँ एउटा घर किन्छ
भनेर फुइँ लाउँदा, हामीलाई के ल्याइदिन्छस् नि ? भनेर प्रश्न गर्थे,
म फिस्स हाँस्थेँ
अनि जुरुक्क उठेर
खुट्टाको चप्पल, थुतुनाअगाडि लगेर भन्थेँ
‘यस्तै गरेर सेल्फी खिच्न मिल्ने फोन ल्याइदिन्छु ।’
साथीहरू गुजुप्प परेर
मलाई अँगालो मार्दै
जसरी नि ल्याइदे है भन्थे।
आज ठूलो भए,
सोच्छु,
कुनैदिन साथीहरू कतै भेट भएर
‘खै त हामीलाई फोन पठाइदेको ?’ भनेर पुनः प्रश्न गरे भने
‘म खाँडीमा डढेको आफ्नै कालो अनुहार हेर्न ,
एउटा ऐना किन्न सकिनँ साथीहरू’ भनेर कसरी उत्तर दिउँला ?
जवानीमा
आफूलाई भन्दा धेरै माया गरेकी प्रेमिकाको बुबासँग,
बा’ले किनिदिएको थोत्रो मोटरबाइक लिएर
उनको हात माग्न जाँदा,
‘मेरी छोरीलाई बिहे गरेर सुखसँग पाल्न सक्छौ त ?’ भनेर प्रश्न गर्नुहुन्थ्यो,
म फिस्स हास्थेँ,
अनि उहाँका आशा भरिएका आँखा हेरेर
चाउरिएका हात थाम्दै भन्थेँ,
‘हजुरकी छोरीलाई संसारको सबै खुसी दिनेछु । हजुर ढुक्क हुनू।’
बुबा आफ्नी छोरीको हात,
मेरो हातमा थमाउँदै
आफ्नो जिम्मेवारी राम्रोसँग निभाउनुहोला ज्वाइँसाब भन्नुहुन्थ्यो।
आज ठूलो भएँ,
सोच्छु,
कुनैदिन चुहिएको छानामुनि चिसिएको बिस्तरामा आफ्नो नातिनी सुताएकी छोरीले,
ख्वाक ख्वाक खोक्दै आफ्ना ख्याउटेको पेट भर्न सिन्कीको रस पकाइरहँदा
बुबा टुप्लुक्क आइपुगेर
‘मेरी छोरीलाई पेटभरि मीठो खान दिएको खै त ज्वाइँसाब ? ‘ भनेर पुन प्रश्न गर्नुभयो भने,
‘यो मरुभूमिको घाममा आफ्नो पसिना बेचेर पनि, उनलाई राम्रो लाउन र खान दिन सकिनँ बुबा’ भनेर कसरी उत्तर दिउँला ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।