जन्म र बाल्यकाल
सुब्बा हितमान शेरचन र पद्मकुमारी शेरचनको परिवार थाकखोलाका नामुद व्यापारी थिए । उनको व्यापार थाकखोला, पोखरा, बुटवल, भैरहवा हुँदै नौतनासम्म थियो । तिनै पद्मकुमारीका कोखबाट मुस्ताङको थाक टुकुचेमा १९९२ पुस १० गते बुधवारका दिन जन्मिएका थिए, भूपेन्द्रमान शेरचन । हितमान शेरचनका चार छोरापछि छोरीको अपेक्षा गर्दागर्दै पाँचौँ सन्तानका रूपमा भूपेन्द्रमानको जन्म । एकातर्फ छोरीको अपेक्षामा वज्र पर्नु, अर्कोतर्फ पुसे औँसीका दिन मूल परेर जन्मिनु । परिवारमा चिन्ता र निराशा फैलिएका कारण हितमानले छ महिनासम्म उनको मुख हेरेनन् । छ महिनापश्चात् चर्चित ज्योतिषीसँग जन्मकुण्डली हेराउँदा कसैलाई नपिर्ने, बरु आफैँलाई पिर्ने बताएपछि बल्ल पिताले उनको मुख हेरेको अध्ययनका क्रममा भेटिन्छन् ।

विधिको विडम्बना, पाँच वर्षको उमेरमा आमाको निधन हुनाले गाउँ समाजमा उनलाई आमा टोकुवा भनेर गालीगलौज गर्ने काम भयो । कलिलो मस्तिष्कमा लाग्थ्यो, आफ्ना कलिला दाँतले कसरी आमालाई टोके ? थाकटुकुचेको स्वच्छ हावापानीमा हुर्केका शेरचनलाई समाजमा प्रचलित यस्तै कुसंस्कारले पीडित बनायो । जसको सिकार उनी घरमै बनेका थिए त्यसैले विद्रोही बन्दै गए । छोरी जन्माउने आसमा मूल नक्षत्रमा परेर जन्मेकाले परिवारमै उपेक्षा हुँदा गाउँ समाजमा कस्तो रह्यो भन्ने अनुमान गर्न गाह्रो छैन । बाल्यकाल बित्दै जाँदा उनी १०–१२ वर्षको उमेरमै अध्ययनका लागि बनासर प्रवेश गरे । दाजु योगेन्द्रमान र भतिजी उर्मिलाका साथ बनासरको अस्सी पुगे, जहाँ स्याहारसुसारमा आवश्यक ठानी नेपालबाटै लगिएका भान्से र नोकरचाकरसमेत सिङ्गै घर भाडामा दाजुसँगै बसेर अध्ययन गर्न थाले भूपेन्द्रमान शेरचनले ।

पारिवारिक माया ममताबाट विरक्तिएका भूपेन्द्रमान विद्यार्थीकालदेखि नै अनौठो स्वभावका थिए । किशोरावस्थासँगै आमाको मायामा विरक्तिन पुगेका उनी त्यही पीडा अन्त्यका लागि खैनी, चुरोट र रक्सीको सहायता लिन थाले । अन्ततः उनमा त्यसको लत बस्दै गयो । जुन समय उनी बनारस विश्वविद्यालयमा पढ्दै थिए । विद्यार्थी जीवनमा साथीको राजनीतिप्रतिको शोखले उनमा पनि ठूलो प्रभाव पार्‍यो । समय बित्दै जाँदा उनी राजनीतिमा पनि तानिदै गए । बनासरका विद्यार्थी काङ्ग्रेस र कम्युनिस्टमा विभाजित थिए । उनीमा बिस्तारै राजनीतिक चेतना घुस्दै गयो, त्यसैको परिणाम जनवाद नाटक प्रकाशित गरे ।

जुन समय भूपेन्द्रले नाम पछाडि ‘सर्वहारा’ फुर्को जोडे । उक्त नाटक बनारस विश्वविद्यालयको सभाकक्षमा नेपाली छात्र सङ्घले मञ्चन गरेको थियो । जसमा रहेको झ्याउरे गीत ‘धन्यवाद तिम्रो, जनवाद हाम्रो’ आफैँले गाएका थिए । नाटक प्रदर्शनपछि नाम चलेका व्यापारी हितमानका छोरा, काङ्ग्रेसका कट्टर नेता योगेन्द्रमानका भाइ सर्वहारा लेखेर कसरी कम्युनिस्ट भयो ? सबै चकित भए । सोखको विषय नै बाधक बन्न पुगेको मात्रै होइन, स्वयं दाजु रुष्ट भएपछि दाजुभाइबिचको सैद्धान्तिक विवादका कारण भूपेन्द्रले डेरा नै सर्नुपर्ने अवस्था आयो । त्यो सँगसँगै उनले विद्यार्थीकालदेखि ‘सर्वहारा’ उपनाममा कविता लेख्न थाले । यसरी साधनामा लाग्दै गर्दा नेपालमा राणाहरूको जनता विरोधी शासन पद्धति सुरु भयो । उक्त पद्धतिप्रति परिचित उनी अध्ययन छोडेर भद्रअवज्ञा आन्दोलनमा सामेलमात्र के भएका थिए, जेल जीवनसमेत बिताउनुपऱ्यो यसरी उनको बाल्यकाल बित्दै आयो ।

शेरचनको काव्ययात्रा
भूपेन्द्रमान शेरचनले अरू शेरचन परिवारको जस्तो व्यवसाय र उद्योगधन्दा गरेनन् । परिवारसँगको विद्रोहपछि स्वेच्छाको उद्योग सञ्चालन गरे । हिजो घरपरिवार, गाउँ, टोल र समाजमा भूपेन्द्रले बाबुआमाको बिँडो नधान्ने भयो भन्ने पिर थियो । आज हेर्दा हिजो हितमानको उद्योग के थियो ? टुकुचेका आसेपासेलाई मात्र थाहा होला । पङ्क्तिकार जस्ता धेरैलाई थाहा छैन तर आज भूपेन्द्रले समालेको त्यो उद्योग कालजयी छ । राणाको जनता विरोधी शासन सुरु भएपछि भूपेन्द्रले कविताको उद्योग सञ्चालन गरेर जागरणोन्मुखी कविता लेख्न थाली आफ्नो लेखनमै अटल विश्वास राख्नु गर्वको कुरा हो । त्यसैले हिजोका भूपेन्द्रमान आजका भूपी बनेका छन् । उनले थालेको उद्योगले नेपाली वाङ्मयले गौरव गरेको छ ।

सबैले बुझेको कुरा हो, ‘नजिकको तीर्थ हेला’ । त्यसैले एक कविलाई जीवित छँदै र मृत्युपश्चात् हेर्नुमा फरक पर्दछ । नेपाली वाङ्मयका स्रष्टा आज उनलाई सम्झँदै हिँड्नु, उनले सञ्चालन गरेको उद्योगको प्रशंसा गर्नु चानेचुने कुरा होइन । आखिर लेख्नु, लेख्नु नै हो । धेरै र थोरै लेख्नुमा भिन्नता छैन । धेरै लेख्नुमात्र ठूलो कुरा होइन र थोरै लेखेर योगदान थोरै हुने पनि । आखिर हुनुपर्ने लेखनमा गुण हो । जब तरकारी पकाउछौँ त्यसमा आवश्यकतानुसार मसला, नुन, खुसार्नी जस्ता पदार्थको मात्रा नलागे त्यसको स्वाद कस्तो रहन्छ ? जिब्राले सहजै अनुमान गर्छ । लेखाइमा पनि त्यो स्वाद भएन भने समग्र देश, समाज र माटाको आत्मा भएन भने कुनै तुक रहँदैन । त्यसैले भूपीका रचना चाहे उनको ‘सर्वहारा’ फुर्को जोडेर लेखिएको नाटक होस् या त्यसपछिका कविता सबैमा अपेक्षा गरेको आत्मा भेटिन्छ । भूपीका कृतिको लेखाजोखा गरेर राम्रो नराम्रो भन्न खोज्नु डाक्टर र वैद्यलाई लडाउनुजस्तै हो । त्यसैले यहाँ उनको सम्मान र स्मृतिखातिर २०१० सालदेखि २०४६ सालसम्मको भूपी शेरचनका उतारचढाव, कृति समीक्षा र पछिल्लो समय २०५७ सालमा शिव रेग्मीको सम्पादनमा आएको ‘भूपी शेरचनका कविताहरू’सम्मका कृति चर्चाको प्रयत्न गरिएको छ ।

परिवर्तन’ र ‘नयाँ झ्याउरे’ (२०१०)
भूपी शेरचनले तत्कालीन परिस्थितिका कारण नामको पछाडि सर्वहारा राखे होलान् ! प्रारम्भिक कविताको चरण २००७–२०१७ सालसम्म चलेको राज्य परिपाटीको कुप्रवृत्तिबाट शेरचनको मस्तिष्कमा अनेकन प्रभाव पर्ने क्रम सुरु भयो । ‘परिवर्तन’ (२०१०) नाटकका माध्यमबाट साहित्य आकाशमा उदाएका उनले समयको कालक्रममा विद्रोह र व्यङ्ग्यात्मक कविता लेख्दै गए । २२ दृश्यमा विभाजित उनको परिवर्तन नाटकमा गरीबहरूले पाउनुपर्ने अधिकार र सम्मानका कुरालाई जोड दिइएको छ । समाजमा मानव भएर जन्मेपछि समान रूपले बाँच्न पाउनु जन्मसिद्ध अधिकार हो भन्ने कुरालाई नाटकमा उठाइएको छ । गरीबमाथि गरिएको शोषण विरुद्धको भाव भूपीले आफ्नो युवावस्थाको चुलबुलेपन र तातो रगतको जोसिलो अभिव्यक्तिलाई चन्दा नामकी नायिकाको चरित्रबाट उद्घाटन गरेका छन् । सम्पूर्ण युवालाई उचाल्ने जोस नाटकमा पाइन्छ । समाजमा आफूलाई हुनेखाने सम्झनेहरूले दीनदुःखी, मजदुर, भरिया र गरीब माथि गरेको शोषणका विरुद्ध लागेर परिवर्तनको सपना सजाउनुपर्छ । समान हक, अधिकार र अवसरका लागि जाग्न सकिएन भने सधैँ कुवाको भ्यागुतो बन्नुबाहेक अर्को विकल्प छैन त्यसैले जागौँ युवा भन्ने आह्वान परिवर्तन नाटकमा पाइन्छ ।

भूपी शेरचनले आफू सम्पन्न परिवारमा जन्मेर पनि कहिल्यै त्यसको रबाफ देखाएनन् । सोही कारण नाटक सँगसँगै कविता लेखनमा लागेका उनले विपन्नकै चीत्कारलाई सङ्गृहीत गरे । उनको ‘नयाँ झ्याउरे’ (२०१०) पहिलो गीति कवितासङ्ग्रह हो । जहाँ रहेका १० गीतिकवितामा उनले गरीब र दीनदुःखीको मुक्तिको आवाज उरालेका छन् । भोलिको सुनौलो भविष्यको खाका कोर्न नसक्नेलाई कविताका माध्यमबाट जाग्न आशावादी स्वर उठाएका छन् साथै उनले नेपाली दाजुभाइलाई वीर गोर्खालीका पगरी गुथाएर नेपाल आमाका सोझा, सिधा सन्तानलाई भाडाका सिपाहीका रूपमा अपमानित गरेको कुरालाई नयाँ झ्याउरेमा उजागर गरेका छन् । त्यो मात्र होइन, नेपाली स्वाभिमानलाई विदेशीको गुलाम बनेर माटोमा मिलाउनेप्रति सचेत हुनुपर्छ भन्ने सन्देश पनि कृतिमा पाइन्छ । तत्कालीन समयमा फैलिएको भ्रामक र आडम्बरको वास्तविकतालाई परिवर्तनदेखि नयाँ झ्याउरेसम्म आइपुग्दा उनले विद्रोह गर्नुपर्छ भन्ने धारणालाई प्रस्टसँग उद्घाटन गरेका छन् । विदेशीले नेपाल आमाका सन्तानलाई भाडामा लगेर नेपालको स्वाभिमानमा आँच आएको कुरा मात्र होइन, नेपालमै रहेका नेपालीलाई ठग द्रोणाचार्यहरूले गुरुका नाममा ठगिरहेको सन्दर्भलाई पनि चोटिलो रूपमा व्यक्त गरेका छन् । उनले परिवर्तनका लागि केही गर्नुपर्छ । सधैँ अर्काको नोकरचाकर र उनीहरूको शासनपद्धतिमा निरीह बनेर जिउनुको सार्थकता रहँदैन भनेका छन् । स्वाभिमानी नेपाली आफ्नो स्वाभिमानमा गौरवका साथ बाँच्नुपर्छ । सानातिना कुरामा अल्झने होइन, आवश्यक परे सङ्घर्षको मैदानमा उत्रन सक्नुपर्छ भन्ने उद्घोषसमेत गरेका छन् । मुस्ताङ्को टुकुचेबाट बग्ने झरना र छाँगाका आवेगझैँ उनका कविताका आवेग बगेका छन् । सस्तो लोकप्रियता र आर्दशभन्दा पनि यर्थाथताको नूतन प्रगतिवाद र रातो झण्डाको प्रसङ्गलाई उनले नयाँ झ्याउरेमा पोखेका छन् ।

निर्झर’ (२०१५)
स्वाभिमानका साथ बाँच्नुपर्छ भन्दै क्रान्तिको हुङ्कार गरेका भूपी शेरचन साहित्यगसँगै २०१२ सालमा नेपाल कम्युनिस्ट पार्टीको जिल्ला सचिव बनेर राजनीतिमा लागे । नयाँ झ्याउरे प्रकाशनसँगै जस्तो उनी २०१३ सालमा युवा फेस्टिबलमा भाग लिन तत्कालीन रुस पुगे । रुसी क्रान्ति, चालचलन र रहनसहनबाट प्रभावित अवश्य भए । निबन्ध शिरोमणि शङ्कर लामिछानेले नेपालीलाई पाठ पढाएका छन् । स्वाभिमानी नेपाल आमाका सन्तान देश विदेश घुम्न जान्छन् भने, त्यहाँको संस्कृति र संस्कारको सिको गर्ने नेपालीको मौलिकता हो भन्ने कुरा उनले भित्र्याएको हाइकु विधाले प्रमाणित गरेको छ । भूपी शेरचन रुसबाट आएपछि रुसी संस्कार, चालचलन र संस्कृति सँगसँगै कुनै नयाँ कुरा भित्र्याए होलान् । तिनै कुरालाई अभिव्यक्त गर्न अर्को गीति कवितासङ्ग्रह ‘निर्झर’ (२०१५) प्रकाशन गरे । उक्त कृतिका कवितामा नारी असमानता, शोषण र दमनका लागि जाग्नुपर्ने भाव व्यक्त गरिएको छ । समाजमा व्याप्त महिला–पुरुष बिचको भेदभाव अन्त्य गर्नुपर्छ भन्ने कुरालाई निर्झरमा उजागर गरिएको छ । शेरचनले संस्कृतिका नाममा भएको अन्याय, अत्याचार र शोषण मुक्तिका लागि तमाम बुद्धिजीवि एक हुनुपर्ने कुरा व्यक्त गरेका छन् । सङ्ग्रहमा कवि शेरचन नारी स्वतन्त्रताको पक्षमा उभिएका छन् । मुखले कठ्ठै भनेर शोषण गर्ने प्रवृत्तिको विरोध मात्र गर्दै उनले आम जनसमुदायलाई निर्झरको उपमा दिएका छन् ।

कवि शेरचनले आफ्नो सिर्जनाको उद्योगमा सधैँ आफ्नै मनलाई पहिरो बनाएर त्यहीँबाट ढुङ्गा, माटो र अनेकौँ पतझर बगाए । मनको पहिरोबाट बगाएका भाव तरङ्गलाई झरनाका रूपमा देखाए । गाउँ बस्तीमा रहेका निर्झर जनता सधैँ त्यसै बसेर हुँदैन भनेर विम्बात्मक रूपमा सम्पूर्ण निर्झरलाई खोला बनेर शोषकका विरोधमा सुसाउन भने । त्योमात्र होइन, आफूले भोगेको शोषित, पीडित र तिरस्कृत समाजकै जगमा शेरचनले आशावादी भविष्यतिर सङ्केत गर्ने रचना गर्न थाले । प्रकृति र भावपरक सिर्जनाका माध्यमबाट गरीब दीनदुःखीलाई जागृतिको सन्देश छर्नु नै शेरचनका कविताको मूख्य भाव थियो । हेरौँ उनको निर्झर भित्रको एक कविता-

चन्द्र र राहु
कसले बन्छ केवल धर्तीमा
ईर्ष्या गर्ने धन्दा छ
नयन उठाऊ हेर गगनमा
त्यहाँ पनि समाज गन्दा छ
ती असङ्ख्य ताराको माझमा
केवल एक चन्द्र छ
तर उसैको गलामा नै
राहु केतुको फन्दा छ ।

कविता भाव र कलाको समन्वयात्मक सौन्दर्य हो भन्ने भूपीको स्वीकारोक्ति थियो । फलतः उनका कवितामा प्रश्न खडा गर्ने ठाउँ थिएन र छैन । इतिहासले बताएको कुरा हो, २००७ सालदेखि २०३६ सालसम्मको नेपालको अवस्था नाजुक थियो । चाहे त्यो राजनीतिक होस् या सामाजिक । डरलाग्दो र कल्पना गर्न नसक्ने खालको थियो । यसैले २००७ सालको राणाशासनको निरङ्कुशतन्त्रले भूपी शेरचनको काव्यप्रवृत्तिलाई झन् विद्रोहात्मक र व्यङ्ग्यात्मक बनायो । विभिन्न वर्ण, जातिका नाममा गरिने शोषणबाट उनलाई दिक्क लागेको थियो । त्यही समय आफूलाई समयानुकूल प्रस्तुत गर्न सक्ने भूपीको लेखन भने राजनीतिक नेताको भाषण गरे जस्तो थियो । निर्झरमा आफ्नै हृदयलाई टुहुरो बनाएर प्रस्तुत गरेजस्तै आफूलाई प्रस्तुत गर्थे । सम्पन्न परिवारमा जन्मेर विद्यार्थीकालदेखि विद्रोही बनेका शेरचनको विद्रोहात्मक लेखनमा कमी आएन । उनको स्वभाव नै थियो, समाजमा विद्यमान शोषण संस्कारको विरोध गर्नु यसरी उनी विद्रोहमा लागिरहे ।

घुम्नेमेचमाथि अन्धो मान्छे’ (२०२५)
समय आफ्नै रफ्तारमा दौडियो तर २०१५ सालमा निर्झर प्रकाशनपछि भूपीको लेखनले निरन्तरता पाउन सकेन । एकातर्फ परिवारमा पैतृक पेशा नअपनाएकोमा चिन्ता, अर्कोतर्फ काङ्ग्रेसको भाइ सर्वहारा भएकाले के गर्ने भन्ने परिवारमा चिन्ता हुनु । उता उनको मनमा विद्रोह र व्यङ्ग्यको भकारी भरिनु । घरमा भूपीलाई परिवारसँगै राख्न सक्ने अवस्था नदेखेपछि तत्कालीन समय २०१८ सालमा चितवनको एउटा कम्पनी हेर्न पठाइयो । घर परिवारमा छोरा सुध्रिन्छ भन्ने सोच थियो तर सफलता हात लागेन । उनी जति समय चितवन बसे, घुमेरै बिताए । घुम्ने ठाउँ सकिएपछि भैरहवा हुँदै पोखरा आए कवितामार्फत व्यङ्ग्य र विद्रोहको स्वर उरालिरहे । परिवारको सफल व्यापारी बनाउने प्रयास फेरि असफल भयो । परिवारले कम्पनी हेर्न पठाउनु, पारिवारिक समस्याले गर्दा लेखनलाई निरन्तरता दिन नसक्नु, विभिन्न राजनीतिक, साहित्यिक र सामाजिक विवादमा अल्झिन परेकाले एक दशकको समय खेर गएको जस्तो देखिए तापनि उनले सिर्जना कर्म भने गरिरहे । संवेदनशील भूपी भने त्यही दशकको अवधिमा वैवाहिक जीवनमा बाँधिन पुगे । प्रजातान्त्रिक परिवारमा जन्मेर वामपन्थी विचारबाट प्रभावित उनी वैवाहिक जीवनमा बाँधिएपछि प्रजातान्त्रिक सिद्धान्तकै समर्थक भएर सिर्जना कर्ममा क्रियाशील रहे ।

२०१७ सालपछिको निरङ्कुशकालका कारण भूपी चर्को व्यङ्ग्य र विद्रोही कविका रूपमा उभिनु पर्छ भन्ने सन्देश दिएर बाहिर निस्के । घरमा बाबुले व्यवसाय गर्नुपर्छ भन्ने, देशमा गरीबदुःखी शोषण, अन्याय र अत्याचारले धुरुधुरु रुवाएको अवस्था थियो । उनी तत्कालीन समयको राजनीतिक, प्रशासनिक, सामाजिक एवं विविध पक्षको दर्पण बन्न पुग्ने ‘घुम्नेमेचमाथी अन्धो मान्छे’ (२०२५) कवितासङ्ग्रहका साथ बाहिर निस्के । शेरचनको कवितासङ्ग्रह आँफू बाँचेको समय, जिन्दगी बिताएको टोलछिमेक, देखे भोगेका तमाम विकृति, विसङ्गति, अन्याय, शोषण, कुण्ठा र विवशतालाई कविताका माध्यमबाट व्यङ्ग्यात्मक प्रस्तुती गर्ने इदाराका साथ बाहिर आएको कृति हो । हिजोका भूपेन्द्रमान जब साहित्यमा लाग्दै गए तब, उनका नाम फेरिदै गए । उनलाई त्यही उद्योगको मालिक मात्र होइन भूपेन्द्रमानलाई ‘भूपी’ बनाएको घुम्ने मेचमाथी अन्धो मान्छे कविता कृतिले नै हो । फलतः आज सबैको ढुकढुकी बन्न पुगे हिजोका भूपेन्द्रमान ।

भूपीले आफ्नो दायित्व बिर्सेर सत्तालोलुप्ताको उन्मादमा शक्तिको दुरुपयोग गर्नेहरूका छातीमा कविताबाटै वज्र प्रहार गरेर आफूलाई कालजयी कविका रूपमा परिचित गराउन सफल भए । उनले कुन विषयवस्तुलाई लिएर कसरी कविता लेख्ने गर्दथे ? र कति विद्रोही थिए ? भन्ने एक प्रसङ्ग यहाँ जोड्दा उपयुक्त हुने देखिन्छ । गुल्मीका साहित्यकार दुर्गाप्रसाद अर्याल उनका दुःखका साथी थिए । बिरामी परेर बिस्तारामा पल्टिदा भूपीले भनेका थिएः–गुल्मीको हावापानीमा हुर्केको तपाईँमा मेरो गाउँको वास आयो । काठमाडौँमा म एक्लो रहेछु । म बनारसमा हुने विद्यार्थी आन्दोलनमा पुलिसका अगाडि छाती फर्काएर लौ गोली हान् भन्दै सबैभन्दा उत्तेजित हुन्थेँ । धर्ती नै पल्टाइदिनसक्छु जस्तो जोस उर्लन्थ्यो । यस्तो उत्तेजना मेरो बालाई पनि देखाएँ । मेरो बा प्रतिष्ठित र सम्पन्न व्यक्ति हुनुहुन्थ्यो । मेरो घर सामन्तीको अवशिष्ट धरोहर हो । म यसमा बस्दिनँ भनेर विद्रोह गरेँ । बाबाले घर छोडेर गए पनि पैसा लगेर जा, खानुपर्छ र पैसाको काम परिरहन्छ भनेर हातमा राखिदिएका सौ–सौका तीनवटा नोट पिताजीकै अगाडि धर्र च्यातेर फाली दिएँ । बाबाले मन खिन्न पार्नुभयो । म बाटो तताएँ । पछि नघलमा छिँढीका कोठामा निर्मल लामा र म बस्यौँ । रात परेपछि मैनबत्ती बाल्यौँ । बलिरहेको मैनबत्तीमा म ज्यादै आकर्षित भएँ, भुइँमा तप्प–तप्प खसेका मैनबत्तीका थोपा र बलेको ज्वालाको चाला देखेर मेरो हृदयमा वेदनाको पक्ष लुकेको भान हुन्थ्यो, यही प्रत्यक्ष अनुभूतिमा मैले मैनबत्तीको शिखा कविता लेखेको हुँ ।’ यसरी देखेका कुरालाई कवितामा ढाल्ने भूपीको घुम्ने मेचमाथि अन्धो मान्छे कवितासङ्ग्रह सामाजिक युगबोध, समाज र देशको व्यापक सेरोफेरोमा भएको तुच्छ र निकृष्ट चरित्रमाथिको प्रहार हो भन्ने मैनबत्तीको शिखा सन्दर्भबाट थाहा हुन्छ । भूपीलाई रोग, भोक र शोकमा डुबेको जीवनको बेथितिले नै विद्रोहात्मक कवि बनाएको थियो । उनको सोही कवितासङ्ग्रहका सन्दर्भमा समालोचक खगेन्द्र सङ्ग्रौला ‘क्लिष्ट कविताको महानताबाट अतिशय प्रभावित भएर होला मदन पुरस्कार गुठीको दृष्टिमा भूपीको अन्धो मान्छेले मदन पुरस्कार पाउन लाएक ठहरिएन ।’

कवित्वमा विद्रोहको स्वर सुसेल्नु, क्रान्तिमा आशा राख्नु मात्रै सफलताको पाटो होइन । उनले गाउँ समाजमा हेपिएका, चेपिएका, थिचिएका, मिचिएका, पीडा र वेदनामा पिल्सिएकालाई उठन आग्रह गर्नु तत्कालीन समयको माग थियो । जुन मागलाई पूरा गरेरै भूपी बने । घुम्ने मेचमाथि अन्धो मान्छे कविता २०२५ सालमा साझा प्रकाशनबाट प्रकाशन भएपछि २०२६ सालको साझा पुरस्कार प्राप्त गर्ने पहिलो कृति बन्न सफल भयो । त्यसको केही समयपछि २०३६ सालदेखि २०४५ सालसम्म उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य, प्रतिष्ठानबाट प्रकाशन हुने ‘कविता’ त्रैमासिक पत्रिकाको प्रधानसम्पादक र ‘प्रज्ञा’ त्रैमासिकको सम्पादक बनेर गोरखा दक्षिण बाहु (२०४२) समेत प्राप्त गरे ।

घुम्ने मेचमाथि अन्धो मान्छे कवितासङ्ग्रहमा सरल, सरस भाषाशैली, अनुप्रासयुक्त एवं लयात्मक भावाभिव्यक्तिले सिङ्गारिएका ४२ कविता छन् । भूपीका सम्बन्धमा उनीसँग बिताएका दिन सम्झदै डा. रामदयाल राकेश भन्छन्– ‘तत्कालीन इन्दिरा रेस्टुराँमा सधैँ चिया खानका लागि जानुहुन्थ्यो । म त्यसबखत पद्मकन्या कलेजमा पढाउथेँ र प्राध्यापनको कार्य सकेपछि बेलुकातिर त्यहाँ जाने गर्दथेँ । उहाँसँग भेट हुन्थ्यो । त्यसबखत इन्दिरा रेस्टुराँमा चिया खानु महङ्गो थियो, त्यो स्तरीयमा गनिन्थ्यो । उहाँ आफ्नो उपनाम सर्वहारा राख्नुभएको थियो तर सम्पन्न कविको रूपमा सुपरिचित हुनुहुन्थ्यो । साथीहरूले खाएको चियाको बिल पनि धेरै जसो उहाँ नै तिर्नुहुन्थ्यो । अन्त्यमा उहाँलाई आत्मज्ञान भयो क्यारे साथीहरू मलाई नै शोषण गर्न थाले । त्यसपछि उहाँ त्यहाँ जान कम भयो ।’ लक्ष्मीप्रसाद देवकोटाले ‘जमिनदारका पुत्र छन् साम्यवादी’ भनेर लेखेको कुरा भूपीमा पनि लागु हुँदै कहिले भूपेन्द्रमान, सर्वहारा र भूपी हुँदै नेपाली वाङ्मयको क्षेत्रमा चम्किलो नक्षेत्र बनेर चिनिए ।

२०३५ सालमा भूपी दोस्रो पटक कान्तिसँग घरबारे जीवनमा जोडिए । त्यहाँ पनि आफूलाई विद्रोही रूपमा चिनाए । उनको कान्तिसँगको विवाह अन्तर्जातीय थियो । दुई श्रीमती, दुई छोरा र छ छोरीका बाबु बनेका उनलाई बिस्तारै रोगले च्याप्दै गयो । लेखनीले निरन्तरता पाउन सकेन । त्यस्ता विद्रोह, व्यङ्ग्य र सहजानुभूतिका कवि भूपीलाई साथीहरू निकै उत्साहित गराउँथे । फलस्वरूप २०३६ सालको दीपावलीमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको घरमा रमाइलो र व्यङ्ग्यात्मक द्यौसी पनि खेलेका थिए ।

भूपी शेरचनका कविताहरू’ (२०५७)
१५ वर्षे साहित्य साधनामा क्रियाशील जिन्दगी बिताएका भूपीका छिरलिएका रचनालाई एकीकृत गरेर साझा प्रकाशनले शिव रेग्मीको सम्पादकत्वमा प्रकाशन गरेको पछिल्लो कवितासङ्ग्रह ‘भूपी शेरचनका कविताहरू’ (२०५७) हो । जसमा २०२३ सालमा रूपरेखामा प्रकाशित ‘मेरो मृत्युपछि’ कवितादेखि लिएर २०५२ सालमा प्रकाशित ‘कालको हातमा राखेर आफ्नो आँसुलाई बन्धकी, जन्मिन यहाँ पाइन्छ तर यो कस्तो जिन्दगी’ गीतसमेत ५२ वटा कविता, गीत र गजल समावेश गरिएको कवितासङ्ग्रह प्रकाशन भएको छ । एकै कवितामा रतिरागात्मक, करुणा, हर्ष र विष्मात व्यक्त गर्ने भूपीका कविता, गीत र गजलको सङ्ग्रह दमदार छ । हेरौँ कृति भित्रको एक मुक्तक
यो देशमा जति अरू कहाँ छ र व्यक्तिगत स्वतन्त्रता
फिका पर्छन् यसको दाँजोमा अमेरिका र स्विडेन,
यहाँ त त्यो व्यक्ति पनि बन्न सक्छ प्रधानमन्त्री
जसले एक रातको जुवामा गर्छ लाखौँको लेनदेन,
कति सार्थक भएको छ यो अङ्ग्रेजभक्त देशमा आएर

अङ्ग्रेजीको उखान नो रिक्स, नो गेन एक नाटक, दुई चार कथा, केही गीत र कविता लेखेर मात्र होइन, आफ्नो बहुमुखी प्रतिभा देखाएका भूपेन्द्रमानलाई भूपी बनाएर छोडेको घुम्ने मेचमाथी अन्धो मान्छे कविताकृतिले नै हो । उनका कवितामा अन्तर्निहित वेदना र सौन्दर्यले कति प्रभाव पार्छ भन्ने कुरा व्यक्त मात्र होइन । राजनीतिमा लागेर गण्डकी र धवलागिरिको केन्द्रबिन्दु पोखरालाई बनाएर दिन बिताएका कुरा व्यक्त गरिएका कविता पनि समावेश छन् । टुकुचेको सम्झनादेखि काठमाडौँमा पैसा नै सबै थोक भएको कुरा, छोराले १३ सयका जुत्ता किनिरहेको कुरा, काठमाडौँको घुइँचोमा आफू एक्लो, थकित, चकित, असहाय, व्यथा र पीडामा बाँच्नुपरेको यथार्थलाई पनि व्यक्त गरिएको छ । वास्तवमा भन्ने हो भने मान्छेको मूल्य सरल, सही र शान्त मानिसलाई मात्र थाहा हुन्छ भने जस्तै भूपीले देखे भोगेको गाउँ समाजका मानिसको मूल्य थाहा पाएर कविता लेखेरै कालजयी बने । सम्भवतः जिन्दगीभर कसैलाई धोका नदिएका भूपीले साहित्यलाई पनि धोका दिएनन् । त्यसैका खातिर घुम्ने मेचमाथी अन्धो मान्छेपछि कृतिजस्ता नेपाली गद्य कविता आउनै सकेनन् ।

भूपीका रमाइला किस्सा
भूपीका सिर्जना जस्ता बेजोड छन् त्यस्तै उनीसँग जोडिएका रमाइला किस्सा पनि बेजोड छन् । कहिले रत्नशमशेर थापा, कहिले चेतन कार्की त कहिले प्रकाश सायमीले भूपी सन्दर्भमा जोडिएर विभिन्न समारोहमा अभिव्यक्त गरेका रमाइला किस्सा सङ्गृहीत गरिएको छ ।

जी अगाडि मु- स्याङ्जा बहाँटारीका चेतन कार्की विभिन्न कार्यव्यस्तताले पोखरा आउने जाने क्रम निरन्तर चलिरहेको थियो । सोही सन्दर्भमा भूपी शेरचनसँग भेट भयो । जब कार्की र शेरचनको चिनाजानी भयो दुवै अभिन्न मित्र बने । सम्पन्न परिवारलाई आदरसत्कार गर्ने परम्परालाई कार्कीले पनि शिरोधार्य गरे । शेरचन–कार्कीको पोखरामा भेट बाक्लिँदै जाँदा थुप्रै रातसँगै बिते । बेलुकाको समयमा कहिलेकाहीँ समय काट्ने माध्यम कोदाको झोल पनि बन्न थाल्यो । कार्कीले भूपीप्रति सम्मान भाव व्यक्त गर्दै जाँदा चिनजानको छोटो समयमा कार्की भूपीको सबैभन्दा नजिकको साथी बन्न पुगे । कार्की भन्छन्– ‘निरन्तरको भेटमा भूपीजी भनेर आदरसत्कार गर्ने गरेको एकदिन भूपीले भने हामी अब साथी बनिसकेका छौँ । त्यसैले बोलाइमा साथीको भाव व्यक्त गर्नू यदि मलाई भूपीजी, भूपीजी भनेर सम्बोधन गर्ने क्रम बन्द भएन भने मैले जीको अगाडि मु जोड्नेछु ।’ भनेपछि उनले जी भन्न छोडेका थिए ।

मै अग्लो- बनारस बस्दा भूपीले अस्सी भन्ने ठाउँको हीराबाबुको होटलमा खान खाने गर्थे । सोबेलाका भूपीका साथी काठमाडौँका श्यामप्रसाद अधिकारी, महेशकुमार उपाध्याय, द्रोणराज शर्मा र माधव गौतम थिए । ती मध्ये मिल्ने साथी श्यामप्रसाद नै थिए । डेराबाट पाँच मिनेटको दूरीमा खाना खाने होटल पर्थ्यो । खानापछि उनीहरू पान खान्थे । सधैँ पान पसलेको ऐना सामुन्ने उभिएर को भन्दा को अग्लो भनी लड्ने गर्थे । त्योबेला अन्तिम निर्णय पसलेले दिन्थ्यो । ऊ निकै चलाख, पालैपालो भन्थ्यो र पहिला भूपी अग्लो भन्दा खुसी हुँदै उफ्रिन्थे तर पसलेले भने अर्कोपटक श्यामप्रसाद अग्लो भनेर दुवैलाई खुसी तुल्याई राख्थ्यो ।

क्याप्टेन चुरोट र केला- भूपी पैसा हुँदा फुर्मास र नहुँदा मन बाध्ने व्यक्ति थिए । आफूलाई पैसा खाँचो परेपछि साथी श्यामप्रसादसँग म नौतवना गई आढ्तको मुन्सीको टाउको फोर्छु, २५ रुपैयाँ पैँचो देऊ भनेर मागेछन् । जसको उद्देश्य उनले मुन्सीलाई पैसा पैँचो दिएकाले माग्नुथियो । श्यामप्रसादले पैसा दिए दुवै सँगै गएँ । गान्धी क्लास डम्बामा नौतवना पुगे । मुन्सीसँग एक हजार भारु लिए । त्यसपछि फर्किदा रेलको फस्ट क्लास टिकट काटे । क्याप्स्टेनकै चुरोटको डब्बा किने र बुकस्टलबाट एक डङ्गुर महङ्गा पत्रिका किने । खाना पनि क्याटरिङ्ग सर्भिसकेनलरलाई अडर गरेर झिकाएर बसिरहेका बेला स्टेशनमा मङ्गोल कदका नेपालीले फलफूल बेच्न ए बहादुर वा ए साथी भन्ने गर्थे । केरा व्यापारीले शेरचन बसेको डब्बाको झ्यालमा पटक–पटक ‘ए साथी, केला खाओ भकाभक’, बारबार भनेको भूपीलाई मन नपरेपछि डब्बाबाट ओर्लेर केरावालाको कठालो समातेर मुडकी चिउरा खुवाएपछि पसलेले भूपीलाई कुट्नै लागेका बेला उनै श्यामप्रसादले पुलिस बोलाएर जोगाए । जुन सन्दर्भ श्यामप्रसादले क्याप्स्टेन चुरोट र केला भनेर सम्झिरहने गरेका थिए ।

चारैतिर पानी- नेपाली छात्र सङ्घको समारोहमा भूपीले लेखेको नाटक मञ्चनको समयमा निर्देशक र हिरोको रोलमा भूपी आफैँ र हिरोइनमा स्कुले कन्याको निधो थियो । अन्तिम अवस्थामा कन्या नखेल्ने भएपछि केटीलाई च्यालेन्ज गर्न साथी श्यामप्रसादले केटीको भूमिका निर्वाह गरे । उनलाई तुला राणाले साडी र शृङ्गार गरिदिइन् । नाटक समापनको अन्त्यमा निर्देशक भूपीले एउटा अग्रज कविको प्यारोडी ‘पानी–पानी चारैतिर पानी, नाटक खेल्न तयार भएनन् कोही पनि हिरोइन नानी’ भनेर समापन गरे । जुन अभिव्यक्ति केटीलाई व्यङ्ग्य र दर्शकलाई मनोरञ्जन भयो ।

वान्समोर रङ्गीला स्टुडेन्टः भूपीलाई वनारस विश्वविद्यालयमा आयोजित भारतीय विद्यार्थीको हिन्दी कविता गोष्ठीमा आमन्त्रण गरिएको थियो । हिन्दी कवि गोष्ठीमा नेपाली कविता कसले बुझ्छ र भाग लिन जाँदैछौ भनेर साथीले सोध्दा हिन्दूस्थानी सुनाइदिन्छु भन्दै गए । जहाँ कविहरू निराला बेढव बनारसी, बेधडक बनारसीले कविता सुनाएपछि भूपीको पालो आयो । छोटो परिचय दिँदै कविता आजका स्टुडेन्टबारे लेखिएकाले उनैलाई समर्पित गर्छु भन्दै सुनाए-

वह देखो आरहा है रङ्गीला स्टुडेन्ट
पहर कर जर्किन और फुटपैन्ट
झाड चला है बदनपर सेन्ट
करता सायकल सडकपर एक्सिडेन्ट
वह देखो आरहा है रङ्गीला स्टुडेन्ट
होटल जाता है, आमलेट उडाता है
और गर पडगया कभी गोल्डेन चान्स
मिनिस्टरका दामाद बताना और,
गभर्नरको बताता अपना साला,
वह देखो आरहा है रङ्गीला स्टुडेन्ट
खत लिखते बापत जानको
पढ्ने मे मसगुल हुँ,
इधर लिखते मासुके जानको
तेरो चरणोका धुन हुँ
वह देखो आरहा हैँ रङ्गीला स्टुडेन्ट …
पिकनिक जाते हैँ भाग और बियर उडाते हैँ
होस्टल पहुँचले बाह्र बजे रात
पार्टनर सुनाता दो चार बात
माडकर वाह अदा के साथ ले के आहेँ
वह कहता अमा यार मुहब्बत बढी बुरी चिज होती है
ससुरी रात रातभर मुझे जगाकर
खुद होस्टलमे सोती है
वह देखो आरहा है रङ्गीला स्टुडेन्ट …

वनारस विश्वविद्यालयको हल तालीको गडगडाहतले गुन्जियो । चारैतर्फ ओन्स मोरको आग्रह आएपछि भूपी विश्वविद्यालयका छात्रछात्रामाझ हिरो भए । त्यसपछि उनलाई वान्समोर रङ्गीला स्टुडेन्ट भन्न थाले ।

बोलाइको अङ्ग्रेजीवाद- आफूलाई सर्वहारा भनेर परिवर्तन नाटकबाट चिनाएकाले प्रगतिशील मान्नेहरू धेरै थिए । सोही धार समातेको अखिल वनारस छात्र सङ्घको कार्यक्रमको सम्पादनमण्डलमा प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्मा, बालकृष्ण पोखरेल, कोषराज रेग्मी, चूडामणि रेग्मी, शान्तनु पन्त, बल्लभमणि दाहाल र श्यामप्रसाद अधिकारी थिए । कार्यक्रमको विषय ‘के साम्यवाद सबै सामाजिक आर्थिक र राजनीतिक समस्याको रामवाण हो’ थियो । जसको सहमति–विमतिबारे अङ्ग्रेजीमा बोल्नुपर्ने । कार्यक्रमका वक्तामा चूडाबहादुर हमाल, पूर्व राजदूत यज्ञ आचार्य, दिवाकार राणा, महेशकुमार उपाध्याय, पूर्व उपकुलपति भूपी शेरचन, महाप्रसाद रिजाल, श्यामप्रसाद अधिकारी भए तापनि भूपी सबैका आक्रर्षणका केन्द्र थिए । उनलाई विद्रोह र व्यङ्ग्यले चिनाएकाले त्यो हुनु स्वभाविक थियो । भूपीले बोले, त्यसपछिका भेटमा विचारमा साम्यवाद बोलाइमा अङ्ग्रेजवाद भन्न थाले । यसरी शेरचन लेखनका विद्रोहका हिसाबले मात्र चर्चित थिएनन् कार्यशैलीका हिसाबले पनि चर्चित थिए ।

शिल्प र सामर्थ्य
समयसँग पैँठेजोरी खेल्दै अगाडि बढेका भूपीले कहिले प्रकृतिप्रेमी, कहिले विद्रोही, व्यङ्ग्यात्मक त कहिले सहजानुभूतिको शैली अपनाए । कविताको भाषाशैली सरल रहेकाले हेर्नेबित्तिकै अर्थ लगाउन सक्ने सहजानुभूति उनका सिर्जनामा पाइन्छ । ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ…’ जस्ता कैयौँ सिर्जनाबाट उनको सहजानुभूतिको मूल्याङ्कन गर्न सकिन्छ । उनले सहजतासँगै व्यङ्ग्य र विद्रोहलाई पनि टुटाएनन् । सबैलाई थाहा भएको कुरा हो, कुनै व्यक्ति विशेषले आलोचना पचाउँदैन । त्यसका लागि व्यङ्ग्यपूर्ण प्रहार आँप पनि झरोस् लठ्ठी पनि बचोस् भन्ने हो । त्यही व्यङ्ग्य नै नेपाली समाजले बिर्सन सक्दैन । फलस्वरूप भूपीले कहिल्यै बिर्सन नसक्ने शैली छोडेर गए । चारजात छत्तिस वर्णको साझा फूलबारी नेपालको थाक टुकुचेदेखि काठमाडौँसम्मको प्रकृति वर्णनलाई उनले बिर्सेनन् । प्रकृतिको सौन्दर्यसँगै मानवीय करुणालाई घोलेर रचना गरेका छन् । उनका सिर्जना विचार, कला, भाव र मीठो भाषा विन्यासका दृष्टिले ज्यादै सफल छन् । उनले व्यङ्ग्य प्रयोगका नाममा खुला नारा र पम्प्लेटको भाषा प्रयोग गरेर साहित्यको गुण नभएको लेखनलाई जवाफ दिएका छन् । वास्तवमा केही पनि होइन, यो हल्लै हल्लाको देश हो । जनता ठगिएको ठगियै छन् । काम केही भएको छैन भन्ने व्यङ्ग्यात्मक भाषाशैलीको चर्को प्रस्तुति उनका विशेषता हुन् ।

भूपीले धेरै लेखे, ‘आफ्नो मानो खानू, रोएर खानू’ समाजमा प्रचलनमा रहेको उखानलाई सम्झेर । राणाशासन व्यवस्थाको दबाब र तिरस्कारलाई सहन नसकेर । बेइमान र चाटुकारको बिगबिगी देखेर । भूपीले कवितामा इमान्दारिता देखाएका छन् । प्रारम्भिक चरणमा नारीवादी सिर्जनशीलतामा केन्द्रित उनले पछिल्लो समयक्रममा सर्वसाधारणमा क्रान्तिचेतना भरेर छोडे । मैनबत्तीको शिखाझैँ देखिन खोज्नु, व्यञ्जना शिल्पको बेजोड प्रस्तुति दिनु, युगबोधसँगै विविध मोडमा आफूलाई परिवर्तन गराउनु, चञ्चल शैली अपनाउनु, वामपन्थी विचारबाट प्रभावित हुँदै प्रजातान्त्रिक सिद्धान्तको समर्थक हुनु, कठोर मेहनत तथा साधनापश्चात् व्यङ्ग्य र विद्रोहीको रूपमा धपधप बल्नु, बिम्बप्रतिकको सफल प्रयोग गर्नु र असन्तुष्टिमा आलोचनात्मक प्रस्तुति दिनु उनका मुख्य प्रवृत्ति हुन् । बैरागी काइँला भन्छन्– ‘नेपाली कविताले एक युग भूपी नै भूपी भएर काठमाडौँका चोकहरू र नयाँ सडक हुँदै हिमाल नाघेर अन्ताराष्ट्रिय जगत्मा प्रवेश गर्‍यो ।’ उनले प्रस्तुत शब्द त्यसै खर्चेका छैनन् । सरल कविताको रचना त्यसमा पनि उस्तै लयात्मक रहनु, तिखो व्यङ्ग्यमा उत्कृष्ट कलात्मक पक्ष रहनु, विम्ब, प्रतीक विधान र अन्त्यानुप्राश मिलाउनु, प्रकृतिको मानकीकरण गर्दै स्वतन्त्र छन्दमा स्वतन्त्रताप्रेमी रहनु, सरलता र सङ्क्षिप्ततामा खाँदिएको भाव प्रस्तुत गर्नु, स्वदेश प्रेम दर्साउनु र सदासर्वदा राष्ट्रभक्त कविका रूपमा चिनाउन खोज्नु, गाउँ समाज र व्यक्ति विशेषको मनोविश्लेषण गर्न सक्नु, मूलतः अन्याय, अत्याचार, सामाजिक–आर्थिक विषमता, शोषण, दमन, उत्पीडन एवं राजनीतिक क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिप्रति चोटिलो व्यङ्ग्य प्रहार गर्नु, अखण्ड नेपाल रहोस्, नेपाली जनमानसमा नियतिको भार कतै नथोपरियोस्, मान्छेले अन्याय र अत्याचार नगरोस्, नेपाली संस्कृतिमा कुनै विचलन नआओस् भन्दै परिष्कृत र परिमार्जित भाषाशैलीका माध्यमबाट थेरैमा धेरै दिन सक्नु । नयाँ पुराना दुवै क्षेत्रबाट विविध विम्ब टिप्दै प्रतीक एवम् अलङ्कारको प्रयोग गर्नु र सरल, सरस र सङ्क्षिप्त गद्य कविता रचना गर्नु उनका मुख्य प्रवृत्ति हुन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो मुनामदन नजलाइदिनू भनेजस्तै भूपी शेरचनका पनि केही धोका थिए भन्ने पाउन सकिन्छ । उनले वि.सं. २०४४ जेठ १ गते नारायणचौर नक्साल काठमाडौँमा लेखेको मन्तव्यमा भनेका थिएः– मेरा प्रशंसक पाठकहरू तथा अन्य पाठकहरू र समीकक्षहरूमा एउटा भ्रम के परेको छ भने मेरो सिर्जनात्मक वृक्ष सुकिसकेको छ । यस्तो भ्रम पर्नु स्वभाविक पनि हो । घुम्ने मेचमाथि… को प्रकाशनपछि मेरा रचनाहरू प्रकाशित रूपमा देखा परेनन् । जसका कारण छन्– प्रथम कारण म लेख्नका लागि लेख्नमा विश्वास राख्दिनँ । त्यसो गरेको भए अहिलेसम्म मेरा कम्तीमा तीनचारओटा कविता सङ्ग्रहहरू प्रकाशित भइसक्थे तर घुम्ने मेचमाथि…बाट मैले जुन किसिमको प्रसिद्धि र लोकप्रियता प्राप्त गरेँ र उक्त कवितासङ्ग्रहका कविताहरूद्वारा मैले स्तरीयताको जुन शिखरलाई आरोहण गरेको थिएँ त्यसपछि सम्भव भएमा सोभन्दा अग्ला शिखरको आरोहण गर्न चाहन्थेँ । त्यसो गर्न नसके कम्तीमा पनि त्यही शिखरको हाराहारीमा कविताहरू सिर्जना गर्न चाहन्थेँ, जुन सम्भव भएन । त्यसैले म निकै लामो समयसम्म साहित्यमा निक्रिय हुन पुगेँ । मलाई लाग्दैछ म अब पुनः स्वस्थ हुँला र मेरो काव्य लेखन योजना सायद आमाको गर्भमा रहेको शिशुले आमा मर्दा ऊसँगै मरेजस्तो ती पनि ढिलो चाँडो ऊसँगै मर्नेछन् ।’ अस्वस्थताका कारण तीव्र चाहना हुँदाहुँदै पनि साहित्यिक क्षेत्रमा थप कृति दिन नसकेको कुरालाई सङ्केत गरेर लेखिएको उनको यो मन्तव्य पछिल्लो समय जयदेव भट्टराइको सङ्कलन तथा सम्पादनमा प्रकाशित साहित्यकार परिचय र अभिव्यक्ति (२०५४) कृतिमा सङ्गृहीत छ ।

योमात्रै होइन, हालसम्मको अध्ययन अनुसन्धानलाई हेर्दा उनले २०४६ वैशाख १६ गते सुरेन्द्रबहादुर गौचनलाई दिएको अन्तर्वार्ता नै जीवनकालको अन्तिम वार्ता हुन पुग्यो । उक्त वार्ता शेरचनको ८० औँ जन्म जयन्तिको अवसरमा थकाली सेवा समितिले पोखरामा आयोजना गरेको कार्यक्रममा प्रस्तुत गेरको थियो । यस्तै, उनले साझा प्रकाशनले आफ्नो कृतिमा नाम भूपी शेरचनको ‘पी’ ह्रस्व लेखेपछि उनले तत्कालीन सञ्चालक समितिलाई एउटा पत्र नै लेखेर मेरा लागि अरू केही गर्न पर्दैन, भूपीको ‘पी’ दीर्घ लेखिदिनुहोला सोही कारण पछिल्ला संस्करणमा उनको नाम दीर्घ नै भएर आयो । साझाले प्रकाशन गरेका पछिल्ला संस्करणमा दीर्घ लेखिए तापनि अझै उनको नाममा शुद्धिकरण आउन सकिरहेको छैन । हालसम्म प्रकाश सायमीको ‘काठमान्डू सेल्फी’ पुस्तक बाहेक धेरै वाङ्मयिक साधकले भूपीसँगका सन्दर्भ उल्लेख गरेर कृति प्रकाशन गरे तापनि भूपीको पी ह्रस्व नै लेखेको पाइन्छ । हरेक साधकले यो सन्दर्भ थाहा पाइराख्नु वर्तमानको आवश्यकता र भूपीप्रतिको सच्चा सम्मान हो ।

योगदानको कदर
एक कविलाई जीवित छँदै र मृत्युपश्चात् हेर्नुमा फरक पर्दछ । २०४६ जेष्ठ १ गते भूपी शेरचनले भौतिक संसार छोडेर गए पनि उनका सिर्जनाले छोडेका छैनन् । आज नेपाली वाङ्मयका मूर्धन्य साधक चेतन कार्की, रत्न शमशेर थापा, गङ्गाप्रसाद उप्रेती, श्रवण मुकारुङ, श्यामल, प्रा. डा. कृष्णहरि बराल, प्रा. डा.. सुकुम शर्मा, प्रकाश सायमी, प्रा. डा. सुधा त्रिपाठीलगायतका अग्रज, समकालीन र पङ्क्तिकारजस्ता कैयौँ अनुज समालोचक, लेखक र साहित्यकार उनलाई सम्झँदै हिँड्नु उनले सञ्चालन गरेको उद्योगको प्रशंसा गर्नु चानेचुने कुरा होइन । त्यसैले भूपी नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व हुन् । जसको सम्मानस्वरूप नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले २०५६ सालमा फोटो अङ्कित हुलाक टिकट सार्वजनिक गरेर उच्च सम्मान गरेको छ । पोखराको जिरो किलोमिटरबाट भूपी शेरचन राजमार्ग नामाकरण गरेको छ । वर्तमानमा पहुँच र भागवन्डाका आधारमा आफ्नो प्रभुत्व जमाउन खोज्नेका बिच विद्यालय तहदेखि विश्वविद्यालयमा उनका कविताको अध्ययन अध्यापन हुन थालेका छन् । उनको परिवारद्वारा झन्डै पाँच लाखको अक्षयकोष स्थापना गरेर थकाली सेवा समाज (थसेस) पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार वितरण शृङ्खला सुरु भएको छ । कोषको व्याजबाट रकमले दुई–दुई वर्षमा पुस १० गते भूपी स्मृति दिवसका दिन पुरस्कार वितरणसहित स्मृति दिवस मनाउन थालिएको छ । थसेसद्वारा सुरुमा ‘भूपी स्मृति पुरस्कार’बाट कवि सरस्वती प्रतीक्षा र मोमिला पुरस्कृत भए । पछि उक्त पुरस्कारलाई ‘भूपी काव्य राष्ट्रिय पुरस्कार’ बनाउँदै राशी बढाएर ५० हजार पुर्‍याइएको छ । राष्ट्रिय पुरस्कारको पहिलो संस्करण ८१ औँ जन्मजयन्ती समारोहबिच साहित्यकार रत्नशमशेर थापा र दोस्रो संस्करण भूपीको ८३ औँ स्मृति दिवस समारोहबिच कवि तीर्थ श्रेष्ठलाई अर्पण गरिएको छ ।
पोखरेली युवा सांस्कृतिक परिवारले २०४७ सालमै उनको स्मृतिमा ग्रन्थ प्रकाशन गऱ्यो भने ८० औँ भूपी जयन्ती विभिन्न कार्यक्रमका साथ मनायो । सङ्घर्षमा कलम साहित्य समाज पोखराले आफ्नो प्रकाशनको १० औँ अङ्क भूपी विशेषाङ्क प्रकाशन गर्‍यो । बागलुङमा काजी रोशनको पहलमा भूपीका शुभचिन्तक र शुभेच्छुकबाट स्वेच्छिक रकम सङ्कलन गरी भूपी पुरस्कार अक्षयकोष स्थापना गरियो र २०७५ सालदेखि वार्षिक सम्मान गर्न थालिएको छ । उक्त पुरस्कारबाट पहिलो पटक प्रा. डा. सुधा त्रिपाठी सम्मानित भइन् । यस्तै दोस्रो पटक २०७६ सालमा सर्जक र संस्थालाई सम्मान गरिएको छ । जसमा संस्थातर्फ थकाली सेवा समिति बुटवललाई २५ हजार राशीसहित सम्मान गरिएको छ भने सर्जकतर्फ मोहन चापागाइलाई सम्मान गरिएको छ । यसरी उनको योगदानको कदर स्थानीय स्तरमा भए तापनि राष्ट्रियस्तरमा उनको चर्चा सोचे जति हुन सकेको छैन । जसका पछाडि उनको हिजोको विद्रही स्वभावले गर्दा परिवारले उपेक्षा गरेको जस्तो अनुभूति हुन्छ तर यो बुझन् आवश्यक छ, भूपी शेरचन नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व हुन् । उनको योगदानलाई पन्छाएर राखियो भने भूपीको अभावमा नेपाली साहित्य जगत् अपाङ्ग हुन्छ । परिवर्तन नाटक, नयाँ झ्याउरे र निर्झर जस्ता सिर्जनाकै कारण भूपी नेपाली साहित्यको स्तरियताका धर्मले शिखर पुरूष हुन् । उनको घुम्ने मेचमाथी अन्धो मान्छे २०६४ सालको बाह्रौँ संस्करणसम्म आइपुग्दा ४० हजार हाराहारी बिक्री भएको पाइन्छ । नेपाली साहित्य आकाशमा आफ्ना रचना र व्यक्तित्वका कारण समानरूपले चर्चित प्रख्यात व्यक्तित्व महाकवि देवकोटापछि नयाँ पुस्ताका कवि भूपी शेरचन नै हुन् । नेपाली कविताको एक युग भूपी युग बनेको थियो । हिजो कुनै समय काठमाडौँकोदेखि थाक टुकुचेको चोकसम्म त्यो युग रहेकोमा बिस्तारै–बिस्तारै त्यसले दायरा फराकिलो बनाउँदै अन्ताराष्ट्रिय जगत्मै प्रवेश गऱ्यो । त्यसैले घुम्ने मेचमाथि अन्धो मान्छेका बारेमा समालोचक डा. तारानाथ शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनपछि सबैभन्दा धेरै रुचाइएको नेपाली काव्यग्रन्थ भन्ने सामर्थ्य गरे । विडम्बनाको कुरा के छ भने, पछिल्ला पुस्ता आफूलाई भूपी शेरचन भन्दा माथिको लेखक सम्झने केही ‘मिडिया माफिया’ नदेखिएका हैनन्, उनीहरू ‘सिन्डिकेट’ लगाएर पुस्तकको खोल व्यापार गरिरहेका छन् । त्यसैले अघिल्लो वर्ष निस्केका उनका किताब पछिल्ला वर्ष सडक व्यापार गर्नेले चनाचटपट पोको पार्ने व्यवसाय गरिरहेका छन् । आज ती सबैलाई भूपी शेरचनका सिर्जनाले गतिलो झापट हानेका छन् । किनकि भूपीले परिवारले सञ्चालन गरेको व्यवसाय र वर्तमानका माफियाको जस्तो प्रसिद्धिको बेइमानी उद्योगधन्दा गरेनन् । भूपीका कविता देशमा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आइपुग्दा पनि उत्तिकै दमदार छन् । यो सबै हुनुको कारण भूपीले आफ्नो लेखनमा अटल विश्वास राख्नु नै नेपाली वाङ्मयको लागि गर्वको कुरा हो । भूपीका कृतिमा नेपाली वाङ्मय आज गौरव गरेको छ ।

अन्त्यमा
वर्तमानमा हेर्दा कवि शेरचन आफूमात्र लोकप्रिय भएनन् । आफ्ना कवितालाई पनि त्यस्तै लोकप्रिय बनाए । जुन उनको भाषाशैली र प्रवृत्तिको देन थियो । उनले नेपाली साहित्यमा कविताको उचाइलाई सदासर्वदा अग्रस्थानमा राखे । सरल भाषाशैली र गद्य भए पनि लयात्मक प्रस्तुती उनका विशेषता हुन् । उनका कवितामा मानव जीवनको अनुभूतिको गहिराइ र समकालीन युगबोधको भाषामा क्रान्ति चेतना पाइन्छ । हिजो देशको जर्जर अवस्थामा राणाहरूले आफ्नो मोजमस्तीका लागि सर्वसाधारण जनतामाथि अपनाउने अनेक कर्तुतको गहिराइमा चुर्लुम्म डुबेर उनका कविताले गहिराइको मापन गर्दै समाजको प्रतिनिधित्व गरेको पाइएकाले भूपी विद्रोह, व्यङ्ग्य र सहजानुभूतिका कालजयी कवि हुन् । यसरी उनको चर्चा परिचर्चा र गुनगान हुनुको कारण हाम्रो लेखनमा समग्र देश, समाज र माटोको आत्मा हुनुपर्दछ भन्ने नै हो । त्यो भएन भने लेखनको तुक रहँदैन त्यसैले भूपीका रचनामा चाहे उनको सर्वहारा फुर्को जोडेर पहिलोपटक लेखिएको नाटक होस् या त्यसपछिका कृति सबैमा अपेक्षा गरेका आत्मा भेटिन्छन् र जुग-जुग बाँचिरहेका छन् । नेपाली वाङ्मयका क्षेत्रमा आफूलाई वरिष्ठ सम्झनेले भूपीले देखाएको बाटो हिँड्न सकून् यही कामनासहित श्रद्धेय कवि भूपीप्रति श्रद्धासुमन !

सन्दर्भ सूची
कार्की, नवराज, (२०६२), गरिमा (पूर्णाङ्क २७७), ललितपुरः साझा प्रकाशन ।
गौतम असफल (२०६९), चर्चा भूपीको, म्याग्दी सञ्चार, (वर्ष १२, अङ्क ११, पृ.२), म्याग्दीः म्याग्दी साहित्य
सञ्चार ।
…………………….. (२०६९) चर्चा- विद्रोह, व्यङ्ग्य र सहजानुभूतिका कवि भूपीको, सङ्घर्षमा कलम, (पूर्णाङ्क १०,
पृ. १९–३४) पोखरा- सङ्घर्षमा कलम साहित्य समाज ।
……………….. (२०७०) सम्झनामा कवि भूपी, आदर्श समाज (वर्ष १८, अङ्क २४३, पृ २), पोखराः आदर्श समाज
बहुमुखी प्रकाशन ।
त्रिपाठी, सुधा (२०५८), भूपीका कवितामा व्यङ्ग्यालङ्कार चेतना, काठमाडौँ भुँडीपुराण प्रकाशन ।
थापा, रत्नशमशेर (२०५५) साथी भूपीसँग बिताएका पलहरू, समकालीन साहित्य (वर्ष ८, अङ्क २ पूर्णाङ्क
३०, पृ..५१–६४) । काठमाडौँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
दाहाल, दुर्गाप्रसाद (२०६५), साधारण नेपाली, काठमाडौँ एम.के पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्स ।
पराजुली, मोतीलाल र अन्य (२०६५), साधारण नेपाली, काठमाडौँ नवकला पब्लिकेसन ।
पराजुली, ठाकुर र अन्य (२०६७), सबैको नेपाली, ललितपुरः साझा प्रकाशन ।
प्रधानाङ्ग, विकासमान संयोजक (२०४७), भूपी स्मृति ग्रन्थ, पोखराः पोखरेली युवा सांस्कृतिक परिवार ।
बराल, कृष्णहरि (२०५७), कवि भूपी विश्लेषण र मूल्याङ्कन, काठमाडौँ विद्यार्थी पुस्तक भण्डार ।
भट्ट गोविन्द (?), कवि भूपी शेरचन र केही टिप्पणीहरू, यथार्थवादी नेपाली समालोचना (पृ.२२–४२), पोखरा-
गण्डकी सङ्गम ।
शर्मा, केदारप्रसाद र अन्य (२०६४) अनिवार्य नेपाली, काठमाडौँ अस्मिता पब्लिकेशन ।
शर्मा, तारानाथ (२०४६), हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, गरिमा, (वर्ष ७, अङ्क ६, पृ. १०८–११२),
काठमाडौँ- साझा प्रकाशन ।
शर्मा, सुकुम (२०७०) कवि भूपी शेरचनको जीवनीको छोटो झलक, सुनाखरी सन्देश (वर्ष १, अङ्क ३,
पृ.६–१०), पोखरा- फडिन्द्र अकिञ्चन ।
शेरचन, भूपी (२०१०), परिवर्तन, वनारस- लेखक स्वयम् ।
……………….. (२०११) नयाँ झ्याउरे, वनारस- जनयुग प्रकाशन ।
……………….. (२०१५), निर्झर, काठमाडौँ- लेखक स्वयम् ।
……………….. (२०२५), घुम्ने मेचमाथि अन्धो मान्छे, काठमाडौँ- साझा प्रकाशन ।
……………….. (२०५७), (शिव रेग्मी, सम्पा.) भूपी शेरचनका कविताहरू, काठमाडौँ- साझा प्रकाशन ।
शेरचन, वसन्त (२०५७), खाङलो, काठमाडौँ- थकाली सेवा केन्द्रीय समिति ।

 

(लेखक असफल लेखन, अध्ययन र अनुसन्धानमा क्रियाशील नेपाली साहित्यका विद्यार्थी हुनुहुन्छ ।)