गाउँले जनजीवनमा जन्मेकाहरु घर र आँगनमा लडिबुडी खेलेर हुर्के । तगारोका खामा समातेर घरमा अड्के । गुन्द्रुक, ढिडो, आटो, रोटो, पिठो, मोही, मकै खाएर हुर्के । जो कति प्रिय र कति बाध्यताका भोजन थिए । जो दैनिक खपत हुन्थे । आज पनि अवस्था त त्यस्तै छ फरक धेरथोर मात्राको भएको छ । पछिल्लो समय बजारिया भातमाराहरुले भात मार्दै कौसीको माथिल्लो खिड्कीमा बसेर पिच्च थुक्दाथुक्दै भातले उनीहरुको पेटमा लात मारेपछि ती गाउँले खाद्यान्नप्रतिको लोकप्रियता बजारमा बढाएका छन् । त्यसैको आँकलन गरेर अनेक उपमा दिँदा पनि कम हुने दूरदर्शी चेतका स्रष्टा विनोद गौचनले अल्लारे उमेरमै आफूलाई काव्य साधनामा लगाएर गाउँ चिनाए अनि गाउँलेलाई चिनाए । तगारोमा रुमाल राखेर माया साट्ने संस्कार सम्झाए । अँगेनामा गुन्द्रुक र मकै दिएका कुरा लेखे । मकैमा दिल राखेको देखे । ग्रामीण जीवनका यस्ता भावगम्य सन्दर्भ लिएर गुणात्मक गीत र कविता लेख्ने गौचनलाई भलै हामीले नसम्झे पनि उनका सिर्जनालाई सार्थक पार्ने कर्म हरेक नेपाली गरे र धेरथोर आज पनि गरिरहेका छन् ।
२०१२ जेष्ठ १३ गते पोखराको बगरमा जन्मिएका विनोद गौचन अर्थशास्त्रका स्नातकोत्तर थिए । तर जिन्दगीको अर्थशास्त्र कहिल्यै मिलाएनन् । भौतिक रूपमा जहिलेसम्म संसारमा रहे आफूलाई साहित्य, समाज र सङ्गठकका रूपमा क्रियाशील राखेर वाङ्मयिक शास्त्र मात्र मिलाए । मिलाउँदा–मिलाउँदै नमिलेको आफ्नै जिन्दगीको शास्त्र मिलाउन बिर्सेका उनलाई २०७० पौष २० गते हामीले यस लोकबाट बिदा गर्नुप¥यो । पोखरामा मगमग वासना छर्दै गरेको एक थुङ्गा फूल वाङ्मयिक बोटबाट चुडिन पुग्यो । गौचनका बहुआयाममा बादल मडारियो । आज उनै दूरदर्शी सोचका स्रष्टाको, पोखरामा जन्मेर आफूलाई कविता गाउँका प्रणेताका रुपमा परिचित गराउने प्रकृतिप्रेमी कविको, अग्र्यानिक गीतिकविको, कालजयी गीतकारको, पोखरामा फूल फुल्दैन भन्ने व्यङ्ग्य तथा बिम्ब कविको जन्मजयन्ती अर्थात् विनोद गौचनको जन्मदिन । आज तिनै गाउँ र गाउँले चिनाउने गौचनका आयामको चर्चाको प्रयास यहाँ गरिएको छ ।
कविता गाउँका प्रणेता
विनोद गौचन जति अध्ययनशील र सिर्जनशील थिए उत्तिकै चिन्तनशील पनि । सोही कारण उनी एक पटक पुगेको गाउँ ठाउँमा पटक–पटक पुगेर त्यहाँको सामथ्र्यको पहिचान गर्थे । उचित संरक्षण र प्रवद्र्धनका लागि नयाँ र नौला आयामको खोजीमा भौतारिन्थे । नेपालमा एउटा मात्रै यस्तो गाउँ छ । प्रकृतिको वरदान पाएको सुन्दर र रमणीय गाउँ । चिटिक्क मिलेका झण्डै चार सय घर धुरी । हिजो यातायाताको सुविधा नहुँदा त्यही बाटो भएर मुक्तिनाथ जाने तीर्थयात्रीको पैदल मार्ग । तीर्थालु हिँड्ने तीर्थको बाटो भएकाले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महङ्खव बोकेको गाउँ । यो मात्र होइन, पुनहिल, मर्दी हिमाल र अन्नपूर्ण आधार शिविर जाने पदमार्ग रहेका कारण पनि पर्यटकीय रूपमा समेत उत्तिकै महत्व रहेको लुम्ले गाउँ । गुरुङ, थकाली, बाहुन, क्षत्री, विश्वकर्मालगायतका जातजातिको साझा थलो लुम्ले । आसपासका पोथाना, चन्द्रकोट, अस्ट्रेलियन क्याम्प, लान्द्रुुकलगायतका स्थानबाट दृश्यावलोकन गर्दै मनोरम हिमाली र पहाडी दृश्यले जो कोहीको मन लोभ्याउँछ नै गाउँ लुम्ले । जसलाई विनोद गौचनले राम्ररी पहिचान गर्न जागिरे समयपछिको बाँकी ९५ प्रतिशत समय एउटा झोला भिरेर कहिले पुरानो मोटरसाइकल लिएर, कहिले पैदल हिँडेर कैयौं रात र प्रायः विदाका सबै दिन अध्ययन, सिर्जन र चिन्तनमा कास्की आसपासका गाउँमै बिताए । त्यस क्षेत्रमा उनी बस्ने होटल एउटै, कोठा एउटै हुन्थ्यो । शान्त र प्राकृतिक मनोरम दृश्य सहज देख्न सकिने । अन्नत उनै गौचनको परिकल्पनामा २०६५ चैत १५ गते लुम्ले कविता गाउँ घोषित भयो । आज आम वाङ्यमप्रेमीले विनोदको नाम सम्झेसँगै कहिल्यै नबिर्सने नाम हुन पुग्यो, लुम्ले । जुन कविताप्रेमीका लागि प्रिय साहित्यिक तीर्थ बनेर ।
नेपालको चेरापुञ्जी भनेर चिनिने कास्कीको लुम्ले संघीय संरचनानुसार अन्नपूर्ण गाउँपालिका–६ कास्कीमा पर्छ । कविता गाउँ घोषणापूर्व ओझेलको गाउँ । वाङ्मयसेवीको बढ्दो चहलपहल र विभिन्न संस्थागत औपचारिक कार्यक्रम हुन थालेपछि कविताप्रेमीको प्रिय गाउँ भएकै कारण उनको सिर्जनशीलतालाई पुञ्जीकृत गर्न अन्नपूर्ण गाउँपालिकामा लुम्ले कविता गाउँ नामको समिति पनि गठन भयो । विविध कार्य गर्दै आयो । गौचनको परिवारले समितिको स्तरोन्नतिका अक्षयकोष स्थापना गरिदियो । स्मृति दिवस, जन्मजयन्ती र कविता गाउँ घोषणा दिवस सन्दर्भमा साहित्यिक कार्यक्रम हुन थालेपछि नेपालका आसपासका जिल्लाबाट कवि कलाकार बस रिजर्भ गरेर लुम्ले पुगे । लुम्ले कविता गाउँका संस्थापक भक्तिराम देवकोटा भन्छन्– ‘कविता गाउँ घोषणासँगै देश विदेशका साहित्यानुरागी आउने, विभिन्न कार्यक्रम गर्ने गर्दा कविता गाउँमा हुने विभिन्न कार्यक्रमले गाउँलेमा सचेतना र जागरण बढायो । कविता गाउँ घोषणाले यहाँको महिमा र गरिमालाई देश विदेशमा पु¥याएसँगै गाउँको चासो र चर्चा हुन थालेको छ ।’ बिर्सन नहुने कुरा के भने, लुम्लेका गायक प्रवीण गुरुङको स्मरणको ढोका विनोद गौचनले नै खोलिदिएँ । गौचनको स्मृतिमा बोल्ने वक्ताले बारबार प्रवीण गुरुङको स्मरण गर्थेे किनकि, विनोद गौचनले कविता गाउँका रूपमा चिनाएको लुम्ले प्रवीण गुरुङको जन्मस्थान हो । फेवातालमा माछापुच्छे«को छाया हेरेर हुर्केका पोखरेलीको मन फेवाताल जस्तै थियो । त्यसैले पटक–पटक प्रवीण गुरुङको योगदानको स्मरण गरे । गायनका माध्यमबाट राम्रो पहिचान बनाएका गायक गुरुङका ‘यो दाजुको मिरमिरे आँखा’, ‘सालैजो हितैको माया’, ‘फूल मायामा नभुल’, ‘माथिबाट को आयो सालको पात बजाउँदै’ लगायतका गीत चर्चित छन् । उनको २०५१ साउन २२ गते काठमाडौँमा सवारी दुर्घटनामा निधन भएको थियो । यसरी गौचनले चिनेको लुम्ले र स्थानीय सरकार बल्ल बोल्न थाल्यो । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर गुरुङ बताएका थिएँ– ‘प्रविण गुरुङ र विनोद गौचनको अर्ध कदको शालिक स्थापना गरेर लुम्लेलाई साहित्यिक पर्यटनको गन्तव्यसँगै आर्थिक समृद्धिमा अगाडि बढाउने दीर्घकालीन योजना छ ।’
आज गुरुङको योगदानलाई जीवन्त राख्न अन्नपूर्ण गाउँपालिकाको ५ लाख रुपैयाँ सहयोगमा प्रवीण गुरुङ स्मृतिपार्क निर्माण गरिएको छ । गुरुङका परिवारजनले पार्कमा सालिक स्थापना गरेका छन् । कला साहित्य र संगीतको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेर राष्ट्रियस्तरका एकसहित गाउँपालिकामा जन्मेर वाङ्मयका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई प्रत्येक वर्ष सम्मान गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष युवराज कुँवर बताउँछन् । तर गौचनको परिकल्पनामा घोषित कविता गाउँ उठ्दै, जाग्दै र तङ्ग्रदै अघि बढिरहेको वेला जसले कविता गाउँ घोषणा गरेर प्रवीण गुरुङको जन्मगाउँ लुम्ले भनेर चिनायो । लुम्लेलाई कविता गाउँ भनेर गीत, सङ्गीत र साहित्यानुरागीको पुग्नैपर्ने गन्तव्यका रूपमा विकास गरायो । उसको योगदानमा स्थानीय सरकारले तुस पालेको अनुभूति हुनु वाङमयसेवीका लागि चिन्ता र चासोको विषय हो ।
गाउँले गीतिकवि
विनोद गौचन गाउँले स्वाद अहिलेको फेरिएको भाषामा भन्दा अग्र्यानिक स्वादका साधक हुन् । कविता र गीतका पारखी गौचन धेरै समय र सोच गरेर थोरै रचना गर्थे । पछिल्लो समय पुस्तकको खोल व्यापार गर्नेहरुको बिगबिगी छ । उनी भने आफ्ना सिर्जनालाई कहिल्यै पर्दशन गरेनन् । बजारमा उनका कृति फेला पार्नै मुस्किल छ । गौचनले आफ्नो जीवनकालमा ‘ढु·ेसाँघुको मेलामा’ (२०५५) र ‘पोखरामा फूल फुल्दैन’ (२०६३) दुई कविता कृति उपहार दिए । पहिलो कृतिमा ४७ दोस्रोमा ५० कवितासङ्गृहीत छन् ।
गौचन कस्ता कविता लेख्छन् भन्ने कुरा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०३९ र २०४४ मा तृतीय पुरस्कारबाट विभूषित भएबाटै प्रष्ट हुन्छ । अङ्ग्रेजी साहित्यका स्वच्छन्दतावादी कवि विलियम वर्डस्वर्थ कविता रचना पूर्व प्रकृतिमा रमाउने गर्थे भनेर कविताको इतिहास पढियो । जुन सन्दर्भ कवि विनोद गौचनको जीवनमा शतप्रतिशत मेल खाएको देखिन्छ । उनले प्रकृतिसँग मितेरी साइनो जोड्दाका सन्दर्भलाई टिपोर्ट गर्थे । घरमा आएर यात्रामा भेटिएका तिनै सन्दर्भलाई सिर्जनामा खिप्थे र पाठकलाई उपहार सुम्पन्थे । यसरी हिँड्ने क्रममा उनी कहिले घम्पुस, लुम्ले, भदौरेतमागी, पञ्चासेको प्राकृतिक छटा, घान्द्रुक, लान्द्रुकको गुरूङ बस्ती, त्यहाँको रहनरहन, मौलिकता र प्रकृतिसँग हाँस्दै, खेल्दै, थकाई मार्र्दै गुरूङ गाउँका आमा दिदीबहिनीसँग गफगाफमा भुल्थे र कविता लेख्थे:
ओ ङोलो…
सवन मु ?
यतिखेर म
यो विरानो देशमा
गाउँघरको दशैं सम्झेर
मन दुःखाएर बाँचेको छु (ढुङ्गेसाँघुको मेलामा–६५)
गौचनले घरदेशमा बसेर कुनाकाप्चा नियाले तापनि परदेशी बनेका दाजुभाइ दिदीबहिनीका विरह र वेदनालाई हृदयले छामेर कविता लेख्थे । एक छोरा र श्रीमतीसहितको छोटो परिवारमा रहेका गौचन त्यो भन्दा पनि एकान्त ठाउँको खोजीमा रहन्थे । साधनामा रहेका वेला भित्ताको भित्ते घडीको टिक्री–टिक्री सेकेन्ड सुइको आवाजले पनि उनलाई डिस्टब गथ्र्यो घडीको व्याट्री निकालेर राखिदिन्थे । एक्लै र एक ध्यान भएर साधनामा लाग्थे । यसैले उनी एकान्तप्रेमी थिए । बजारमा सबैले चहलपहल हुने ठाउँमा घर बनाउँछन् र व्यापार गर्छन् उनी त्यसबाट भाग्दैभाग्दै शान्त र कोलाहलरहित ठाउँमा सर्छन् । त्यसैले उनी बागबजार, रामबजार हुँदै शिवचोकमा आफ्नो बसोबासको थलो सार्दैसार्दै हिँडे । शिवचोकमै रहेका वेला उनको भौतिक शरीर हामीले गुमाउन पर्यो ।
गौचन घुम्न गएका गाउँठाउँको सन्दर्भ मात्रै होइन । आफू हिँडे डुलेको नालामुख । हुर्के, बढे र पढेको बगर हुँदै फुर्सद निकालेर टहलिएको टुँडिखेल । बतासे चौतारो, याम्दी, काली, सेती खोला, भीमकालीपाटन, भीमढु·ाको छेलो । बयरघारी, पृथ्वीनारायण क्याम्पस, बल्छी र फुर्लुङ बोकेर फुर्सेखोलामा हिँड्ने गरेका बाटुलेचौरका गन्धर्वसँग मितेरी साइलाले लगाउँदै हिँड्दै ‘हे वरै’ कविता लेख्थेः
‘उहिल्यै उहिल्यै…
पोखराको बाटुलेचौरमा
गाइनेहरूको बस्ती थियो
गाइनेहरू
माछा मार्थे, बेच्थे
सारङ्गी रेटेर गीत गाउँथे
दुई चार पैसा जोहो गर्थे
जहान परिवार पाल्थे (ढुङ्गेसाँघुको मेलामा–५९)
गौचनले आफू जन्मेको माटो र हुर्के बढेर हिँडेको बाटोको सुगन्धले भरिएका सिर्जना लेख्थे । उनका कविता मात्र होइन, गीतमा पनि उस्तै अग्र्यानिकपन पाइन्छ । उनका सिर्जनाका सन्दर्भमा सङ्गीतकार सुनील थापाले गौचनको कला क्षेत्रको ट्युनिग नै पृथक रहेको बताउँछन् । वर्तमानमा उज्यालो र अँध्यारो दुवै सन्दर्भमा बत्ति बालेरै खोज्दा पनि उनको जस्तो मिठास पाइँदैन भन्दै भन्छन्– ‘एकान्तप्रेमी, प्रकृतिको काखमा रमाउने, सरलता र मिठासपनका स्रष्टाको अभावमा मौलिकताको खडेरी परेको छ’ । त्यसैले उनी सबैका प्रिय र अग्र्यानिक गीति कवि थिए ।
पोखरामा फूल नदेख्ने साधक
‘पोखरामा फूल फुल्दैन’ विनोदको दोस्रो र अन्तिम कविता कृति हो । मानिसलाई प्रकृतिले दिएको सबैभन्दा सुन्दर र बहुमूल्य उपहार फूल हो । यसैले फूलको आफ्नै महङ्खव र महिमा छ । फूल वाङ्मयसेवीको मात्र होइन, आम मानव जातिको आवश्यकताको चिज हो । महान् पर्व तिहारको सन्दर्भ–सौन्दर्य त झन् फूलसँगै जोडिएकाले फूलमध्येको आकर्षक मानिने सयपत्री र अजम्बरी भनिने मखमलीको मालाले घर सजाउनु, भगवान्का अनुष्ठानमा समर्पण गर्नु, दाजुभाइ–दिदीबहिनीका गलामा सजाइनुको महिमा कम छैन । यस्तो सौन्दर्य र माधुर्य सम्बन्ध रहेको फूललाई जन्मेदेखि मृत्युसम्मका हरेक क्षणमा उपभोग गरिन्छ । त्यही फूलको थुङ्गा हो जो दाम्पत्य जीवनको सुरुआतीका लागि सिउँदोमा सिन्दूर पर्नु अगाडि नव वरवधुका गलामा थुङ्गा–थुङ्गा जोडिएर माला बनेर सजिने । त्यही फूलको थुङ्गा हो अन्तिम संस्कार अघि श्रद्धाञ्जलीका लागि चढाइने । यद्यपि फूलले कहिल्यै ती संस्कारलाई हर्ष र विस्मातका रुपमा लिँदैन । सौभाग्य र दुर्भाग्य ठान्दैन् किनकि श्रद्धाञ्जलीका लागि फूल समर्पण गर्नेहरुको समर्पण भाव जुन श्रद्धाका साथ अभिव्यक्त हुन्छ त्यसमा कुनै कञ्जुस्याइ हुँदैन, दुर्भावना हुँदैन । उता शृङ्गार बनेर गलामा सजिएको फूलको समर्पण र सौभाग्य प्राप्तिको भाव पनि उत्तिकै हुन्छ । यसैले फूल सौभाग्य–सौभाग्यको प्रतिक हो । यस्तो सौभाग्यको प्रतिक फूल पोखरामा फुल्दैन भनेर कवि मनले २०६३ सालमै बिम्बात्मक कविता सिर्जना गरी कृतिको नामाकरण गरे ‘पोखरामा फूल फुल्दैन’ ।
पोखरा सबै हिसाबले सुन्दर भूमि हो । तर यस्तो भूमिमा फूल फुल्दैन भनेर ६० को दशकमै किन लेखे त ? यो गम्भिर प्रश्न होइन किनकि त्यो दशकमै पोखरामा फूल जस्तो मन भएका मान्छे गौचनले भेटेनन् । आज त झन् हुने कुरै भएन । प्रकृतिको अनुपम उपहार प्राप्त पोखरा यतिखेर पोखरी जस्तो छ । पोखरी आफै दुर्गन्धित हुने भएकाले पोखरीमा रमाउनेहरुको चरित्रबारे यहाँ व्याख्या गरिरहन आवश्यक छैन । पोखरामा फूल फुल्दैन कवितामा भनेका छन् । एउटा यस्तो शहर जहाँ मान्छेहरु साँझ–बिहान सपनाको क्रय–विक्रय गर्छन् । जहाँ सपनाको बैंकखाता खोलिन्छ सपनाको ढिकुडी खेलिन्छ र महेन्द्रगुफामा सपनाको वनभोज खाइन्छ । मान्छेहरु रातभर सुत्दैनन् एकाबिहानै अनिँदो आँखासँगै सपनाको सटर खोल्छन् र धूपबत्ती गर्छन् । जहाँ घरछेउका करेसाबारी र आगँनहरु धुरुधुरु रुन्छन् आफ्नो निरीहतामा आफ्नो विवशतामा । जहाँ तोल्का र लान्द्रुकमा जस्तो दशैंताका लाहुरे फूल फुल्दैन, कालोपानी र लेतेमाजस्तो तिहारताका सयपत्री फुल्दैन विश्वास गर या नगर ऐ मेरा गामबेसी हो ! यो शहरमा फूल फुल्दैन पोखरामा फूल फुल्दैन । साच्चै पोखरेलीहरुमा फूल हुने संस्कार हराएको छ । यसैले फूलको सन्दर्भबारे पुनः भनिरहन आवश्यक छैन ।
व्यङ्ग्यचेतका स्रष्टा
विवोद गाउँप्रेमी, प्रकृतिप्रेमी, बिम्बप्रेमी मात्र होइनन् उनी व्यङ्ग्यचेतका स्रष्टा पनि हुन् । उनले कहिले ‘विज्ञापन’ कविता लेखे, कहिले ‘पेटीकोट’, कहिले ‘देश १,२’ ‘विवाह’ जस्ता व्यङ्ग्य कविता लेखे । उनले वर्तमानका विज्ञापन कवितामा भूकम्प पीडितहरुको सहयोगार्थ बाढी–पीडित परिवारले सामाजिक पूर्णाङ्की नाटक डढेलोले खाएको बस्ती जस्ता नाटक देखेर उदेक मान्छन् । क्यान्सर अस्पताल निर्माणमा आयोजित शिखर संगीत साँझमा सूर्य टोबाको कम्पनी प्रयोजक रहेर धुम्रपान स्वास्थ्यका लागि हानिकारण छ भनेको देख्दा मथिङ्गल बिग्रन्छ ।
गौचन पेटीकोटलाई बिम्ब बनाएर मीठो कविता लेख्छन् । उनी भन्छन् लगाउन त पेटीकोट दुवैले लगाउँछन् । फरक के हो भने तिमीले पेटीकोट मैले पेटी र कोट भन्छन् । देश हिजो मात्र होइन आज पनि दोहोरी गाउनमा मस्त छ । यसैले गौचनले लमजुङ भोटेओडारमा घुम्तीनेरै लेट भयो सानुमायालाई बाटैमा भेट भयो दोहोरी गाउनमा मस्त छ देश भन्छन् । पशुपति देवपत्तनमा देशले प्रभुसँग सोध्छ शान्ति कसरी मिल्छ भनेर अनि भजन गाउनमा व्यस्त हुन्छ देश भनेर व्यङ्ग्य गर्दछन् । यसबाट प्रष्ट हुन्छ गौचनको व्यङ्ग्यचेत । यसरी गौचनले हाम्रा जनजीवनका विशृङ्खल गतिविधिलाई लिएर चोटिला, पोटिला, रसिला व्यङ्ग्य कविता लेखेर आफूलाई व्यङ्ग्य कविका रुपमा परिचित गराएका छन् ।
चर्चित गीतकार
जति माया लाए पनि, जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा, आखा तरि गएपछि
मनमा पीर त पर्ने नै भयो,
यो मन त्यसै मर्ने नै भयो ।
गौचनले उमेरको २३ औं वसन्तमा यो गीत लेखेका थिए । जसबाट उनी कस्तो सिर्जना शक्तिका स्रष्टा, साधक र शिल्पी थिए आँकलन गर्न सक्छौं । २०३५ सालमा रचना गरेको गीतलाई २०३६ सालमा अरुण थापाले स्वर दिए । सोही गीतबाट थापा साङ्गीतिक क्षेत्रमा सफल र लोकप्रिय भए । जुन समय श्रोताकै आग्रहमा यो गीत रेडियो नेपालमा दैनिक ८–१० पटकसम्म बज्ने गर्दथ्यो भनिन्छ । यस्ता सिर्जनाले नेपाली वाङ्मयलाई हराभरा पार्नु गौचनको कला कौशलको कुशलता थियो । त्यसैले उनका हरेक सिर्जना पछिल्ला पुस्ताका मनमा बास बस्न सफल भएको पाइन्छ । सेतीको सुस्केरासँगै धवलागिरि, माछापुच्छ्रे र अन्नपूर्णको शिरशिर हावामा कावा खाँदै सुन्दर नगरी पोखरामा रमाउँदै छुटेका गौचनले पलपलमा विनोदप्रिय लाग्ने स्मृति गराएका छन् ।
माया लाएर कसम आएका कुरा मात्रै होइन, आजभन्दा १७ वर्षअघि रचना गरिएको अर्को गीत पनि उस्तै कालजयी छ । कास्की, स्याङ्जा र पर्वतको सङ्गमस्थल पञ्चासे घुम्दै गर्दा त्यहाँको जनजीवन, संस्कार, संस्कृति, प्राकृतिक सौन्दर्य, वातावरण र पर्यावरणबाट प्रभावित भएर रचना गरिएको गीतमा उनले भनेका छन्ः
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले
त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले ।
कन्दरा ब्याण्डका विवेक श्रेष्ठले उनको सिर्जनामा स्वर दिएपछि गीत र गायक दुवै चर्चित मात्रै होइन, लोकप्रिय बन्न पुगे । गुरुङ समुदायको बाहुल्यता रहेको पञ्चासे क्षेत्रमा युवायुवती बीच बाटो छेक्ने मौलिक संस्कारलाई गीतका माध्यमबाट उजागर गर्दै गर्दा उनले गुरुङ समुदायको संस्कृतिलाई मात्र प्रचार गरेनन् । जैविक विविधताले धनी पञ्चासेलाई थप चिनाएका कारण गीत पनि सफल भयो । २० वर्षको उमेरदेखि गीतसङ्गीतमा लागेका गौचनको पदयात्रा र अध्ययनमा विशेष रुचि थियो । त्यसैले कहिले चन्द्रकोट, कहिले लुम्ले, धम्पुस, पञ्चासे, लान्द्रुक, घान्द्रुक त कहिले घार्मी जस्ता गाउँमा पुग्थे । त्यसैले उनका कविता र गीतमा पनि त्यहीको प्रकृति बिम्ब र सरल भाषा भेटिन्छ ।
कस्तो ठाउँमा फूल्यौं तिमी, टिप्नै गाह्रो भो
मन भित्र बस्यौ तिमी, भुल्नै गाह्रो भो ।
मायाप्रीतिका कुरालाई समावेश गर्दै पर्यटकीय दृष्टिले महङ्खवपूर्ण स्थानलाई साथ लिने गौचनको विशेषता हो । २०५५ सालमा पर्यटकीय गाउँँ धम्पुसमा पाइला टेक्दा सिर्जना गरिएको सो गीत आज पनि सदाबहार छ । जहाँ गौचनले त्यस क्षेत्रको प्रकृति र संस्कृतिलाई गीतिफ्रेममा ढालेर प्रेम दर्शाएका छन् । यस्तैगरी, गौचनको एउटा गीतमा बिरु जी.एम.ले स्वर दिएः
चोली फाटे पनि तिम्रो, जोवन फाट्या छैन,
लाग्छ तिम्रो उमेरले, सोह्र काट्या छैन
जुन गीत पनि कालजयी बनेर बसेको छ । चाहे चार दशक अगाडिका उनका गीत हुन् या पछाडि रेकर्ड भएका झण्डै तीन दर्जन गीत । आज पनि सबै सुनौँ–सुनौँ लाग्ने खालका छन् । बालबच्चा, युवायुवती र वृद्धा सबैले उनका गीतलाई मन पराउछन् र गौचनलाई दूरगामी स्रष्टाका रूपमा चिन्छन् । यस्ता कालजयी गीत मात्रै होइन, उनले सन्देशमूलक गीत पनि उस्तै सिर्जना गरेका छन् । एड्स रोग नियन्त्रण सङ्घ कास्कीले निर्माण गरेको लागूपदार्थसम्बन्धी जनचेतना गीत ‘पटक–पटक भर्नु भन्दा एकैपटक मर्नु जाती’ र एच.आइ.भी. एड्ससम्बन्धी जनचेतना गीत ‘आगो लगाई आफ्नै फूलबारीमा, आगो लगाई आफ्नै घरबारीमा ।’ दुवै रचना उनका हुन् ।
गौचनका सिर्जनालाई नियालेर हेर्ने हो भने, उनी सरल भाषामा तर, गम्भीर गीत र कविता सिर्जना गर्ने स्रष्टा हुन् । सोही कारण आजका दिनमा भौतिक रूपमा उनलाई भेट्न नसके तापनि उनका सिर्जनाले पटक–पटक भेटेको अनुभूत गराउछन् । किनकि, उनले जीवनवादी सिर्जना उपहार दिएर गएका छन् । यस्ता सिर्जनाका लागि गहन अध्ययन, चिन्तन र मनन सबैभन्दा ठूलो कुरा हो । अध्ययनशीलताका सन्दर्भमा विश्वमोहन गौचन बताउछन्– ‘घरमा हुँदा जहिले पनि उसका छेउमा पुस्तक हुन्थे । बाहिर हिँड्दा पनि झोलामा पुस्तकलगायतका सामग्री नै हुन्थे ।’ त्यही गहन अध्ययनले उनलाई सिर्जनशील बनायो । लेखन र शब्द चयनमा निकै सौखिन, शब्दको फारूपना रुचाउने गौचनले थोरै लेख्ने र लेखेका रचनालाई धेरै परिमार्जन गर्नुपर्छ भन्ने मान्यता राख्थे । यसरी थोरै, स्तरीय र बारबार संशोधन गरेर सिर्जना गर्ने गौचनका गीत मात्रै होइनन, कविता पनि उस्तै दमदार छन् । उमेरको २३ औं वसन्त चल्दै गर्दा एकाएक चर्चाको शिखरमा पुगेका गौचनका सिर्जनाले आम श्रोता र पाठकलाई जुन छाप छोड्न सफल भए । विडम्बना पंक्तिकारजस्तै धेरै स्रष्टा साधकलाई जुन गीतका रचनाकार विनोद गौचन हुन भन्ने धेरैपछि मात्रै थाहा भयो । यो संस्कारको अन्त्य आजसम्म हुन सकेको छैन । गीत हिट हुन्छ, गायकले मञ्च पाइरहन्छ ।स्रष्टा कुनामा बसेर आफ्ना सिर्जनाले जाज्वल्यमान बनाइदिएको प्रतिभाका लागि ताली बजाइरहेको हुन्छ । यो निकै दुःखको कुरा हो । अब यो संस्कारको अन्त्य हुन आवश्यक छ ।
नामजस्तै कामका स्रष्टा
गौचन आफू लेखक मात्र थिएनन्, लेखनमा रुचि राख्ने स्रष्टा साधकलाई मार्गनिर्देश गर्ने मार्गदर्शक र प्रेरणाका स्रोत थिए । उनको प्रेरणाबाट आफ्नो कवित्व प्रष्फुटन भएको बताउछिन् उषा शेरचन । उनले २०७० पुस २६ गतेको आदर्श समाज राष्ट्रिय दैनिकमा ‘त्यो अन्तिम भेट होला भन्ने लागेको थिएन’ शीर्षकमा लेखेकी छन्– ‘२०३४÷३५ सालतिर मेरो जन्मथलो पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक तह पढ्ने गौचनले मेरो नोटबुकको ‘जिन्दगी’ कविता सारेर गोरखापत्रमा पठाएपछि गोरखापत्रमा कविता छापिएको साथीबाट सुन्दा त विश्वासै लागेन । पत्रिकामा देखेपछि छक्क परेँ भन्छिन् । यसरी आफैँभित्र सीमित कविता सार्वजनिक गरी दिनेदेखि, साहित्यप्रतिको रुझान देखेर शेरचनलाई भक्तराज श्रेष्ठ र अहिलेका ख्यातिप्राप्त सरुभक्त, तीर्थ र प्रकटलाईसमेत परिचय गराइ दिने सबै कुराको श्रेय गौचनलाई दिन्छु ।’ शेरचनको भनाइबाट प्रष्ट हुन्छ उनी सिर्जना कर्ममा लाग्न चाहनेलाई कसरी प्रेरणा र हौसला थपिरहन्थे । यस्ता धेरै सन्दर्भ छन्, धु्रव भट्टचनले पनि गौचनको उस्तै स्मरण गरेको पाइन्छ । उनले ‘कवि, गीतकार विनोद गौचनलाई २०४० सालमा थकाली युवा परिवारको सङ्गठन स्थापना गर्ने सन्दर्भमा नजिकबाट चिन्ने मौका पाएर चन्द्र भट्टचनलाई सचिव बनाई २०४० कार्तिक ७ गतेको मिरमिरे बिहानीले विनोद गौचनको अध्यक्षतामा संस्थाको नेतृत्व पाएको । थासाङ युवा परिवारको युवा सङ्गठनको झण्डोतोलन भएको । पोखरेली थकाली समुदायमा थकाली संस्कृति र वाङ्मयको पुनजागरणको अभियान सुरूआत हुँदै थकाली सेवा समितिको भातृ सङ्गठनका रूपमा रहेको स्मरण गर्दछन् ।
गौचन बहुमुखी प्रतिभाका व्यक्तित्व थिए । एउटै टोलमा, एउटै सालमा जन्मिएका गौचन र सरुभक्तले विभिन्नसंस्थामा सँगै काम गरे । पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य गौचन संरक्षण कविता आन्दोलनमा पनि सहभागी थिए । त्यसैले सरुभक्तले गौचनलाई एक बहुमुखी प्रतिभा सम्पन्न व्यक्तित्वका रूपमा स्मरण गर्दै भनेका छन्ः ‘उनी अरुणा थापाहरूसँगै गाउँथे पनि, मेरो एउटा नाटकमा अभिनय गरेका थिए । विनोदको निधनले नेपाली साहित्य र सङ्गीतमा अपूरणीय क्षति भएको छ ।’ एकान्त र शान्त जीवन बिताउन चाहने गौचन कसैलाई नपिराउने स्वभावका भएको सन्दर्भ गायक सरोजगोपाल बज्राचार्यले बताएका थिए । पछिल्लो समय सिर्जना यात्रामा लाग्दै गरेका कृष्ण अन्जान ज्ञवाली विनोद गौचनसँगका अन्तर· सन्दर्भलाई सम्झदै साहित्यमा रमाउन चाहने हरेक स्रष्टालाई अगाडि बढाउन हुरुक्कै हुने व्यक्तित्वका रूपमा लिन्छन् ।
गौचनले कवि कलाकार, साहित्यकारलाई जीवन रहँदा र भौतिक जीवन समाप्त भएपछि पनि स्मृति गर्नुपर्छ, उनीहरूको सिर्जनशीलताको सम्मान गर्नुपर्छ भनेर पहिलो पटक कवि भूपी शेरचनको स्मृतिमा भूपी जयन्ती मनाउने परिकल्पना गरेका थिए । उनकै पहलमा उक्त शृङ्खलाको सुरुआत भएको उनका दाजु विश्वमोहन गौचन बताउँछन् । यसबाट प्रष्ट हुन्छ गौचन एउटा सर्जक, सङ्गठक, पछिल्लो पुस्ताका प्रेरणाका स्रोत र दिवंगत स्रष्टाको सम्मान गर्नुपर्छ भन्ने आस्था र श्रद्धाका पूजारी थिए ।
गौचन जति अध्ययनशील, सिर्जनशील थिए उत्ति सरल । उनको व्यक्तित्व र सिर्जनाधर्मिता सरल भएकै कारण सिर्जना बाहिर निस्कने बित्तिकै पाठक, स्रोताको मन लोभ्याउँथे ।सङ्गीतकार सुनिल थापा गौचनको पछिल्लो एउटा गीतमा सङ्गीत गर्दै गरेको सन्दर्भ सम्झदै भन्छन्– ‘अन्नपूर्ण हिमालमुनि गंगापूर्ण ताल’ गीतलाई सङ्गीत गर्दै थिएँ । एउटा अन्तरा दिनुभएकै थिएन । त्यसलाई आफ्नै तरिकाले पूरा गरेर बजारमा ल्याइयो ।’ यस सन्दर्भले उनका सिर्जनाको सामथ्र्यलाई प्रमाणित गराउँछ । एउटा सङ्गीतकारले गीतमा सङ्गीत भर्न पूरा गीतको स्थायी र अन्तरालाई पटक–पटक अध्ययन र मनन गरेर बल्ल सङ्गीत भर्ने नभर्ने निक्र्यौल गर्दछन् । तर, गौचनका सिर्जना उनको मुखबाट बाहिर फुत्केपछि सङ्गीतकार सङ्गीत भर्न लालायित हुन्छन् । उनका धेरै योजना अपुरा रहेको थापा बताउछन् । आफूसँग एकदुई रचना रहेको बताउँदै उनले कन्दराको पाँचौं एल्बम भेडी गोठैमा रहेको ‘चन्द्रपुरकी नानी’ विनोदकै रचना रहेको बताउँछन् । यस्तै, वसन्ती लालचन दिदीसँगको ‘सपनाको गाउँ भाग दुई’मा काम गरिरहेको स्मरण गर्दै दुवैको निधनले सिर्जनाका प्रोजेक्ट अपूरा रहेकोमा उनी चिन्तामा देखिन्छन् । थापाका जस्ता अपूरा र अधुरा सपना सङ्गीतकार दिलु गुरुङसँग पनि छन् । चेतन गुरुङसँग चराको विषयमा लेखेको गीत ‘चरी’ शीतल थापाले गाउने तयारी थियो । विडम्बना चेतन र विनोद दुवैको निधन भएकाले त्यो गीत पनि अधुरो र अपूरो रहेको रह्यो । यो मात्र होइन, दिलुसँग गौचनका ‘के देखेर आयौ तिमी मेरो जीवनमा’ ‘धेरै वर्ष बित्यो तिम्रो चिठी नआएको’ लगायतका गीत बाँकी नै थिए । पछिल्लो समय पारिवारिक कारण साङ्गीतिक क्षेत्रमा समय दिन नपाएकाले गौचनका गीतलाई सङ्गीत दिन नपाएको बताउँछन् । उनी एकदुई रात धम्पुसमा गएर नयाँ गीतमा सङ्गीत गरौं भन्ने योजना पनि यत्तिकै रहेकोमा नमीठो अनुभूति गर्दछन् ।
धेरै समय गौचनसँग हासखेलमा बिताएका गीतकार, सङ्गीतकार एन. जे. सागर शाह उनलाई कोमल हृदयका स्रष्टाका रूपमा चिन्छन् । शाहको बसोबास नयाँबजारमा रहँदा कोठामै बसेर धेरै पटक गीतसङ्गीतका प्रेमील कुराकानी गरेको स्मरण मात्रै होइन, २०५९ सालतिर डाफे कला मन्दिरको आयोजनामा भदौरे तामागीमा भएको कार्यक्रममा जाँदा गौचनले भनेको ‘मन उतै छोडियो ज्यान पोखरा मोडियो’ वाक्यांश जीवनभर स्मरणमा रहेको बताउँछन् । थापाको जस्तै गौचन र शाहको पूरा हुन नपाएको धोको मनमा अमिल्याएर राखेका छन् । गौचनको शब्द र सङ्गीतको ‘के देखेर आयौ तिमी मेरो जीवनमा, कस्तो प्रित लायौ तिमीले पायौं चिहानमा ।’ गीत सागर तिमीले गाउनुपर्छ भनेर दिएका थिए तर रेकर्ड गर्न नपाएको धोको अझै रहेको सन्दर्भलाई उनले पटक–पटक सम्झदै आएको पाइन्छ । यस्ता सन्दर्भ सँगै गौचनले सुन्दर पोखरामा देखेको एक सुन्दर सपना थियो, गीतसङ्गीतको म्यूजियमसहितको क्याफे सञ्चालनको । जुन उनी सधैँ चिया खाजाका लागि जाने महेन्द्रपुलको माधव क्याफेका सञ्चालक माधवले बताउँथे । यसरी आफ्नै जीवनमा पूरा हुन नपाएका उनका अपूरा र अधुरा सपना केही पूरा हुँदै गएका छन् । उनका केही गीत सङ्गीत भएका छन्, स्वर भरिएका छन् तर सबै सपना पूरा गर्न पछिल्लो पुस्ता उनको यात्रालाई समद्ध पार्न अवश्य अगाडि लाग्ने छन् यो वर्तमानको आवश्यकता पनि हो ।
निथ्रेनी
२०३९ सालमै नेपाल प्रज्ञा प्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा पुरस्कृत गौचनको कवित्वका बारेमा आम पाठकले आफैँ मूल्याङ्कन गरिसकेका छन् । उनका कालजयी गीतले उनलाई अजर अमर बनाई सकेका छन् । ५८ वर्षको जीवनभित्र नेपाली साहित्यफाँटमा बहुउपयोगी काव्यकृति नेपाली वाङ्मय क्षेत्रलाई दिएर भौतिक रूपमा विदा भएका गौचनले गाउँ चिनाएर छोडेका छन् । गाउँले चिनाएर छोडेका छन् । यसैले ती गाउँ र गाउँलेले उनको योगदानको उपेक्षा गर्नु हुँदैन । नेपाली वाङ्मयको श्रीवृद्धिमा लाग्छु भन्नेहरुले पनि धवलागिरि, माछापुच्छे«, अन्नपूर्णको जस्तो गौरव, फेवाको जस्तो अटल आस्था र विश्वास राखेर उनको सिर्जनाको सौन्दर्यलाई सुवासित र सुशोभित गराउन जाग्नैपर्छ । त्यो नै उनीप्रतिको सच्चा श्रद्धा हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।