सन्दर्भ
आज फागुन १५ अर्थात अली मियाँ जन्मजयन्ती । पोखरा उपत्यकाको पूर्वमा आर्वा, पश्चिममा अमरसिंह चोक, उत्तरमा भद्रकाली मन्दिर र दक्षिणमा भारतीय पेन्सन क्याम्पको बीचको मुसलमान बस्ती । त्यहीँ बस्ती बीचको गाउँ मियाँपाटन त्यही पाँटनमा विक्रम सम्वत् १९७५ फागुन १५ गतेका दिन बाबु दीन मोहम्मद र आमा आमा जहुरन मियाँका कोखबाट तेह्रौं सन्तानमध्ये कान्छो सन्तानका रूपमा अली मियाँको जन्म हुन पुग्यो । धार्मिक सहिष्णुता, जातीय एकता र नेपाली लोकसाहित्यका एउटा चुली बनेर विराजमान मियाँबारेको जीवनी, व्यक्तित्व र कृतित्व विराट छ । २०६३ साउन १८ गतेका दिन ८८ वर्षको उमेरमा भौतिक रुपमा विधा हुनुभएका मियाँको स्मृतिमा जति लेखे पनि कमै हुन्छ । प्रस्तुत आलेख उहाँको योगदानको स्मृतिमा कोरिएका स्नेहका भावना अभिव्यक्त भएको एउटा लेखोट मात्रै हो ।
विषयप्रवेश

असफल गौतम
मोहम्मद र जहुरन मियाँका कोखबाट जन्मेका अली मियाँ १८ महिनाको उमेरमै मातृस्नेहबाट वञ्चित हुनुपर्यो । यो मात्र होइन, तीन वर्षकै उमेरमा बाबाको मृत्युपछि आमाको माया र पिताको स्नेह उहाँले कहिल्यै पाउनु भएन । आमाबाबुविहीन बालकको जीवनयात्रा कस्तो हुन्छ ? अनुमान गरौं त ! उहाँ दाजु भाउजुको संरक्षणमा हुर्कनु भयो । सानै उमेरमा दुःख कष्टका ठूला पहाड पार गर्नुपर्यो । बढ्दो उमेर, चढ्दो जवानीसँगै सुन्दर भविष्यका भारी सपना बोकेर घर, स्कुल गरेकाहरू देख्दा कहाँ मन नलागेको हो र स्कुल जान ? १५ वर्षको उमेर हुँदा विन्ध्यवासिनी मन्दिर नजिकै संस्कृत पाठशाला भएर पनि मुसलमान भएकै कारण उहाँलाई अध्ययनको वातावरण सृजना हुन सकेन । कुलामुनीको गिरिधारी भाटको खेत भानुभक्तले बाँझै बनाइदिए झैँ भएको थियो, त्यो पाठशालाको शिक्षा अली मियाँका लागि ।
जहाँ इच्छा त्यहाँ उपाय, भोको पेटमा पनि फुर्सद पाउना साथ अली मियाँ धनीमानीका सन्तानले पढ्ने खरीपाटीमा लेखेका अक्षरहरू ध्यान दिएरै हेर्ने गर्नुहुन्थ्यो । त्यस्तै दैनिकी शुरू हुँदै जाँदा उहाँलाई मनका भावना लेख्ने भाव आयो । के गर्ने कलम चल्दैन । खरिपाटीका अक्षर चिने पनि मनका अक्षर कसले पारिदिने ? समस्याले सताउन थाल्यो । तँ आट म पु¥याउँछु भन्छन् त्यस्तै भयो अली मियाँको जीवनमा पनि । उहाँको नजरमा एक वृद्धा पर्नुभयो । फलस्वरूप जिन्दगीको पहिलो मनको बह एक वृद्धालाई लेख्न लगाएको गीत यस्तो थियो । जुन गीत अली मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँबाट संकलन गरिएको होः
ऐलेको दशै सरियो बसैँ धनीको गोठमा,
हिमालमा बादल बसेको जस्तै कलेंटी ओठमा,
आँखामा आँसु के को खाऊँ मासु यो वृन्दाबनैमा,
उडेर जाऊँ कि चुँडेर पठाऊँ भैरैछ मनमा
यसरी अलीले अरूलाई लेख्न लगाउदै आफ्नो सृजनाको पाठशाला उहाँले फराकिलो बनाउँदै जानुभयो । अक्षर चिन्ने अवसर नपाएको टुहुरो बालकको मनको चित्कार सुन्दा साच्चै मुटु फाटेर आँसुका धारा आफै बग्न थाल्छन् । मनका वेदनासँग खोल्दै, वन–पाखामा विरह पोख्दै जाँदा बालापन बितेको पनि पत्तो भएन । भन्ने गरिन्छ समाजमा टुहुराका दिन आउँछन् त्यस्तै उहाँको बीस वर्षको उमेर बितेको पनि पत्तो भएन । त्यो बेलासम्म उहाँ अक्षर पढ्न र लेख्न सक्ने हुनुभएको थियो । काहूँखोला र आर्वा गाउँ बीचमा रहेको जंगलमा दाउरा खोज्न जाने दैनिकीको कार्य व्यस्तता नै पाठशाला बन्यो । लोकगीत गायनको मञ्च, कविताका लागि स्टेज । त्यति मात्र कहाँ ? उहाँ पछि–पछि त दोहोरी गाउने ठिटो बनेर विभिन्न जिल्ला पुग्न थाल्नुभयो । कोरला बनेको उमेर अनि मान्छे राम्रो बेला र वैंशले भने जस्तो बेलाको तन्नेरी मन र उमेर थुप्रै मुर्गा तरूनीलाई लठ्ठै पार्यो उहाँको गीत सङ्गीत अनि जवानीले ।
१९९७ सालमा स्याङ्जा भिर्कोट गाउँकी कुलुसँग दोहोरी गाएरै उहाँको जिन्दगीमा जोडी बनेर मनको बह खोल्ने, रमाउने र रम्ने परिपारीले पहिलो विवाह सम्पन्न भयो । अभागी खान बस्यो एक हातको काठ पस्यो सुखद् दाम्पत्य जिन्दगीको मैदानमा रमाउँदै गर्दा दुर्भाग्य उहाँको साथबाट कुलु छुट्नु भयो । भरोसाको एउटा पाटो खसेपछि उहाँको घर समाली नसक्नु भयो, दोस्रो विवाहतर्फ लाग्नुभयो । दोस्रो विवाह कुँडहरकी नूरनिशासँग भयो । उहाँबाट यस्ता साहसिक सन्तान जन्मे जसले बाबाको योगदानलाई जीवन्त राख्न आफ्ना तवरबाट सक्दो प्रचारप्रसारका लागि भोको पेटमा पटुकी कसेर उही बाबाले मेचीको पनि माया छ महाकालीको पनि भने जस्तै माया गर्ने छोरा हनिफ मियाँ । अरू फजल, छोरीहरू बसिरा, फसिरालगायत जम्मा सात सन्तान । समयको कालक्रममा अलीलाई साथीभाइको लहैलहैमा लागेर लाहुरे बन्ने मनसाय नबनेको होइन । सेनामा भर्ती भएर जागिर खाने चाहना तीव्र हुँदै जाँदा तँ आँट म पुर्याउँछु भने झैँ १९९९ सालमा भर्ती पनि हुनुभयो । फौज जापानसँग युद्ध गर्न बर्मासम्म पुग्यो । ब्रिटिस सेनामा भर्ती भएर आफ्नो दैनिकीको गज्रो टार्न त्यही विदेशीको बन्दुकको नालमा ज्यानको बाजी राखेर दाल चामलको बन्दोबस्तो मिलाउन अली मियाँको मनले मानेन । लामो समय विदेशीको चामल पचाउन नसकेपछि राष्ट्रप्रेमको भाव प्रवल भएर आयो । देश र जनताका गीत गाएर के सामान्त, सभ्रान्त, गरीब, धनी, सन्त, महन्त, राजा, रैती सबै तह र तप्काका व्यक्तिको मनमुटुको ढुकढुकी बनेर तिनै विषयवस्तुलाई आफ्नै आँगनको दाल चामल सम्झेर लोककविको रूपमा सुप्रसिद्ध अली मियाँको मन कसैसँग झुक्न जानेन । अन्जानमा भएका कमी कमजोरीमा लुक्न जानेन । कुनै कुरामा कसैसँग चुक्न जानेन । बरू भोको पेटमा पटुकी कसेर आफ्नै रचनामार्फत हर्ष, उमङ्गको कामना गरेर । मुटु फुटेर बगेका आँसुका धारामा अक्षर पारेर जनमानसका मन मुटु छुने खालका सन्तुष्टिको भोजन गराउने र गर्ने मन, वचन, कर्मले हुटहुटी जगायो । सदा सर्वदा लोकसाहित्यको श्रीवृद्धि र उन्नतिमा लाग्ने इच्छा प्रवन भएर आयो । अन्ततः अली करिब तीन वर्षको अवधिमा छुट्टीमा घर आउनु भयो । उक्त समय घर आउँँदा पुष्पलाल, गोकुल जोशीलगायतका साहित्यकारसँग भेट भयो । उहाँको मन एकोहोरो भयो । अर्काको गुलामी बन्नुभन्दा नेपालमा सङ्घर्ष गर्ने निधो गरेर गीतमै पल्टनलाई पठाउनु भयोः
देश छोडी विदेशको ढोका कुरौं भने
मरे पनि मलको थुप्रो नरकबासी हुने ।
चाहिएन दाइ तिम्रो छाता ।
भैगो मलाई चोयाको स्याखु देऊ ।
सजिलै अनुमान गर्न सकिन्छ उहाँको देशप्रेमको भाव कस्तो थियो भन्ने कुरा । सरकारी जागिर छोडेर रामबजारमा बसी चुरा धागो जस्ता समान बेचेर दैनिकी चलाउनु भएका अली मियाँको राष्ट्रप्रेमको भाव राष्ट्रले कति देख्यो त ? प्रश्न सोध्न मन लाग्छ । उहाँका बनपाखा मात्र गीत–सङ्गीत सुन्ने हितैषी बनेनन् । किनकि उहाँको साथ पूँजीले रित्तो भए पनि आफ्नै रचना सुनाउने श्रोताको कमी भएन । दोहोरी गाउन विभिन्न जिल्लामा जाने आउने क्रम फेरि दोहोरिदै जान थाल्यो । दोहोरी गाएपछि युवतीलाई हराएर श्रीमती बनाई ल्याउने परम्पराबाट पनि उहाँ प्रभावित भएको मान्न सकिन्छ । फलस्वरूप २००७ सालमा तनहूँको दोहोरी गीतमा आफूले जितेपछि एउटी सुन्दरी पछि लागेर आएकी र ११ दिन घरमा बसेपछि आफ्नो बाटो लागेकी थिइन् । जुन समय घरमा जहान नूरनिशा हुनुहुन्थ्यो छोरा हनिफ भन्नु हुन्छ । हुने हार दैव नटार भने झैँ जितेर ल्याएकी मैया ११ दिन बसेर फर्कनु, उता कुलुसँगको विछोडपछि ल्याएकी नूरनिशाले एक वर्षको सन्तान छोडेर साथ छुट्नु कस्तो विडम्बना ! जहाँ पातलो त्यही छेड पर्ने भनेजस्तो त्यही वर्ष दुई छोरीको पनि मृत्यु हुँदा टुहुरा केटाकेटी हुर्काउने कष्ट कस्तो भयो होला एकल पुरूषलाई ? सबैले अनुमान गर्न सक्छन् । साँच्चै पुरूष भनेको बार बारेको काठ हो । जहाँ छ त्यही रहन्छ । उसलाई पारिवारिक वातावरण, घर परिवारको बन्दोबस्तीको चाँजोपाजो धेरै थाहा हँुदैन भन्ने सत्य मूल्याङ्कन पुरूष भएकै कारण गर्नमा केही अप्ठ्यारो परेको छैन । हो त्यो विजोगको अवस्था दुई–दुई श्रीमतीको साथ छुट्नु । एकै वर्ष तीन मुर्दा देख्नपर्नु मनको मझेरी छिया–छिया भयो ।
मनभरिको पीडा र कर्मभरिको लेखाइ भन्दै बस्नुबाहेक विकल्प रहेन । घरमा विजोगको अवस्था, स–साना लालाबालाको विचल्ली देखेर नूरनिशाका बाबाले कान्छी छोरी उम्धनिशाको विवाह उहाँसँगै गराइदिनु भयो । केही भए पनि दुखेको घाउमा मलम त लाग्यो तर पारिवारिक संख्याको वृद्धि उस्तै रह्यो । बालबच्चा र आमाबाबु सुखी, खुसी रहे । रोटो, पिठो, आँटो, ढिडो भए पनि चारैतिर रमाइलो रंगिलो वातावरण थियो । विडम्बना उहाँको पनि २०२९ सालमा निधन भयो । छोराछोरीले घर ततेरी सक्नु भएन । जिन्दगीका समाउने लौराहरू एका–एक भाँच्चिदै जाँदा अली मियाँ त्यसै मन बिग्रेको जस्तो अवस्थामा पुग्नुभयो । तापनि मनले हरेस खाएन । जे, जस्तो छ आफ्नो भाग्यको लेखाइ सम्झेर सबै कुराहरू मनमै रहे किनकि उहाँलाई व्यक्त गर्ने मौकासमेत भएन । बालबच्चा केही ठूला हँुदै गए पनि एक्लो महसुस भयो । अर्को विवाहको सन्दर्भले मनमा कुलकुली मच्चायो । अन्ततः उहाँले २०३५ सालमा बागलुङकी नानीसँग अर्को विवाह गर्नुभयो । दिलमा लागेको घाउमा टाल्न हालेको टालो पनि तीन वर्षमा असफलताको कोटामा देखिन पुग्यो । पाँच पटक विवाह बन्धनमा बाँधिएका मियाँ अन्तत एक्लाको एक्लै रहन पर्यो । लामो समय पारिवारिक बोझले उहाँका मनका भावना मनमै रहे । जीवनका सहारामाथि बज्र परेपछि यसरी मनको विरह पोख्नुभयोः
करिमै विचारें मैले, चारकुने चौतारी चिनेर,
वनको सिठो घट्टको पीठो मागेको खुर्सानी,
बाटो छ वनको चल्दछ रन्को कसरी बिर्सनी,
दाजु र भाइ छिमेकी मित्र सब देख्छु अँध्यारा,
सुख र दुःख कोसित पोखूँ बोल्दैनन् सँधेरा
–नकरा बनका न्याउली तँ भन्दा मछुनि उराठ
हो साँच्चै अली मियाँको जीवनमा दुःखैदुःखको पहाडले थिचेको अनुभूत हुन्छ । जीवनका पीडा र व्यथा कविता, गीतका हरफ भएर वनपाखा र खहरेमा गुञ्जिए । जीवनका हरेक मोडमा रूँदै र हाँस्दै भोक र शोक मेटाउने माध्यम लोकलयका गीत बन्न पुगे । एकान्तको न्याउली बनेर आँखा छोपी–छोपी बन्द कोठामा रूनु सिवाय अर्को विकल्प रहँदैन । के गर्ने आफ्नो मन आँफै बलियो नबनाए कसले बनाइदिने ? बनको न्याउली भन्दा त म झन् बैरागी थिएँ भन्दै वेदनाको बलेसीमा निथ्रुक्क रूझेर जीवनयात्रा चल्दै गयो । साच्चै पीडालाई पैतालामा दबाएर हाँस्ने बानीको पाठ हामीले उहाँबाट सिक्नुपर्छ । पीरको छाता ओडेर जीवनका अविष्मरणीय क्षण सम्झँदै सुनौलो भविष्यको कामना गर्दै चाहनालाई आँसुसँगै जनताका गीत र कविताका रूप दिएर क्रमशः दिन बित्न थाले ।
अली मियाँको कृतित्व
खोक्रो र आडम्बरको मकुण्डो भिरेको राणाहरूको शोषण र दमनको पनि विरोध गर्ने कार्यमा उहाँका शब्द पछि परेनन् । कसैको नजरमा विरोधी बनेर मनको शान्ति र मनोरञ्जनलाई बन्द फ्रेमभित्र नचाहेरै फिक्का हाँसो हाँस्न बाध्य भयो मन । यसैले अली मियाँ मनको क्यानभासमा सधैँ सुन्दर भविष्यको सपना बुनेर समाजमा आफ्नो पहिचान देखाउन मनभरिका पीडा व्यथासँग खेले । प्रकृतिको चित्रणसँग लुकामारी गर्दै कोइलीले विरहका गीत को गाउने भन्दा मै गाउँछु भन्दै, मयुर मसँग को नाँच्ने भन्दा मै नाच्छु भन्दै पाखापखेराका न्याउली, डाँफे मयूर सम्झनु बाहेक विकल्प थिएन । अक्षर चिन्ने सौभाग्य नमिल्दै प्रकृतिले जिस्काउँदा समयको सूचक बनेर नयाँ–नयाँ जनताका गीत र कविताका वान्की निस्कन थाल्थे यसरीः
घरमा बसौं सबैले धर्काउने
बनमा बसौँ न्याउलीले धर्काउने
सुखलाई भएन रति
दुःख पर्यो भनेर रूम कति
मनमा लहरी चलेका यस्ता शब्दलाई लेखेर मिल्काउदै जाने क्रम धेरै समय गुज्रे । समयको कालक्रममा कृति प्रकाशन हुन थाले । पढेको भन्दा परेको शिक्षाबाट जीवनको ज्योति चम्काउँदै आउनु भएका उहाँका २००६ सालदेखि कृति प्रकाशन हुन थाले । उहाँको पहिलो कृतिका रूपमा विरक्त लहरी (२००६) देखा पर्यो । त्यसपछि नेपाली झ्याउरे गीतसङ्ग्रह (२०११), न्याउलीको पुकार (२०१२), पहाडको उद्गार (२०१५), सेतीको उद्गार (२०२९), उज्यालो भैसक्यो (२३२९), सम्झनाको दियो (२०५१), अली मियाँको आवाज (२०५८), अली मियाँ शीर्षकमा जीवनी देखा परे । यी बाहेकका अली मियाँ अभिनन्दन ग्रन्थ (२०६१), लोककवि अली मियाँप्रतिका श्रद्धाञ्जलीहरू (२०६४), अली मियाँका लोकगीतको अध्ययन (२०६६) प्रकाशन भए । आजको अवस्थासम्म आइपुग्दा उहाँको पहिलो कृति हाल दुर्लभ अवस्थामा छ । कृति २५ पृष्ठको जानकारी प्राप्त भए पनि हाल दुर्लभ विषय बनेको छ । जसको खोजीका लागि छोरा हनिफले पुरस्कारको घोषणासमेत गरेका छन् ।
२०११ सालमा प्रकाशित अली मियाँको दोस्रो कृति नेपाली झ्याउरे गीतसङ्ग्रहमा १९ वटा “महेन्द्रलहरी, कुन्छासम्म जाने हजुर, मोटर सलल, श्री ५ त्रिभुवन, महेन्द्र, गरीबका आँखामा आँसु, यो चरी दाइ बेसारे रैछ, त्रिभुवन जिन्दावाद, बिहानी पखको रात, त्रिभुवनप्रति, सम्झीसम्झी म सधैँ रून्छु, बिलौना, हे साथी, छक्कै पार्यो, जनतालाई झल्को सदा वरिलै, हाम्रो दुःखी पुकारा, हेर चाँडै भँमरा, रमझम पारेर नरोऊ, धर्मराजजीको स्वागतपत्र जस्ता गीत समावेश छन् ।
अली मियाँको तेस्रो कृति न्याउलीको पुकार हो । २०१२ सालमा प्रकाशित तेस्रो कृतिमा दोस्रो कृतिका आठ गीत र आठवटा थप गरेर १६ वटा गीतको सँगालो बनाइएको छ । जसमा नेपाली झ्याउरे गीतसङ्ग्रहको अठारौं गीत रमझम पारेर नरोऊलाई शीर्षक बदलेर पहिलो गीत बनाउँदै कृतिको नाम त्यही राखिएको छ । दोस्रो कृतिका न्याउलीको पुकार, गरीबका आँखामा आँसु, बिहानी पखको रात, त्रिभुवनप्रति, सम्झीसम्झी म सधैँ रून्छु, यो चिठी मूल ढोका दिनु, छक्कै पार्यो, हाम्रो दुःखी पुकारालगायत छन् । नयाँ गीतहरूका रूपमा यो दुःखी रोएको किन, स्वतन्त्र नेपाल, छ मन पुगेन धन, नेपाल तिम्रै हो राजा, झलमल मायाँ स्वदेशी, धरधर धर्केर नरोऊ, हेर साथी हृदय जाँची, झलमल जस्ता गीतहरू सङ्गृहीत छन् ।
२०१५ सालतिर चौथो कृतिका रूपमा पहाडको उद्गार प्रकाशन भएको पाइन्छ । जुन कृति बनारसका बाबू ठाकुरप्रसाद गुप्ताको बम्बई प्रेस राजादरबाटबाट मुद्रण भएको देखिन्छ । जसमा श्री भगवान्को प्रार्थना, श्री ५ को भ्रमण, आर्थिक दाताको स्वागतगान, स्वल्जर्स बोर्ड स्कूलको उद्घाटन, सरकारमा दुःखको पुकार, मातृभूमि आमालाई पुकार, भर नेपालीले विचार गर्नुछ, वसन्त, उठ गरीब, नरोऊ तिमी रूँदैछौ किन, रोएको मन, शान्तिको बाटो खोजेर, शान्तिको ढोका उघार, काठे साउँको विलौना जस्ता गीत समावेश छन् ।
२०२९ सालमा पाचौँ रूपमा प्रकाशित कृति सेतीका सुस्केरामा बीस वटा रचना सङ्कलित छन् । जसमा बुलन्द पोखरा, हेर कति रमाइलो, दाइ पनि म पनि, हे मेरी आमा, जत्तिको माया मेचीको त्यतिको महाकालीको, पञ्चको जिम्मा तेस्रो अभियान, कर्के टोपी लाएको नेपाली, भेट होला, वन पनि रमाइलो, नजाऊ विदेश, हाम्रो देश, मेरो फौजी जीवन, हाम्रो नयाँ युग, नधरबराउ नेपाली, मेरो इच्छा, न पानी दर्केर आउँछ न…, मेरो जीवनी, तिनको सम्झना, लालिगुराँस जस्ता हृदयस्पशी गीत सङ्गृहीत छन् ।
संक्षिप्त रुपमा अली मियाँको जीवनी प्रकाशनमा आएको छ भने उज्यालो भैसक्यो (२०३९) सालमा साहित्यकार तारा पाखेको सम्पादनमा प्रकाशित अली मियाँको अर्को कृति हो । उक्त कृतिमा लामाछोटा ४३ वटा लोकगीत र लोककविता सङ्कलित छन् । जसमा झलमल उज्यालो भैसक्यो, घर पनि छैन दाइ, दर काटी, भर्ती हुन, राम्रो बिनी बजार, बाग्लुङ्ग बजार, देविथान, कुस्मा, कार्कीनेटा, मेरो देश नेपाल, यो चरी, यो वनको चरी, दिक्क लाग्छ, म निरङ्सी, पञ्चको छनोट, आउँदैन यो चरीको दुध, लाउँला फूल, माछापुच्छ्रे, रानी चरी, सालीभिना जस्ता रचनाहरू सङ्गृहीत छन् ।
२०५१ सालमा अली मियाँ ७६ वर्षको उमेरमा टेके, यही समय उनको सम्झनाको दियो कृति देखा पर्यो । यसमा पहिलाका कृतिहरू नेपाली झ्याउरे गीतसङ्ग्रह, उज्यालो भैसक्यो, सेतीका सुस्केरा, न्याउलीको पुकार कृतिका रचना समावेश गरी थप १४४ वटा कविता, लोकगीत र मुक्तकहरू, अली मियाँले २०४७ सालमा दिएको अन्तर्वाता र अली मियाँको जीवनी समावेश गरिएका कारण कृति बृहत् आकारमा रहेको पाइन्छ । सम्झनाको दियो कृतिका गीत, रचनामा पनि त्यस्तै भाव रहेको छन् । ८४ औँ वर्ष पुगेको अवसरमा २०५८ सालमा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित अभिनन्दन समारोहमा विमोचित कृति अली मियाँको आवाज (२०५८) मा ८४ वटा गीत, कविता तथा २५ वटा टुक्राटाक्री अनि हरिदेवी कोइराला, प्रेमराजा महत, दुर्गा रायमाझी, ठाकुर सिग्देल, पदमराज ढकाल, ओम विक्रम विष्ट र पुरूषोत्तम न्यौपानेले स्वर दिएर रेकर्ड गराइएका ११ वटा गीतका पंक्ति पनि समावेश छन् ।
सुखीलाई गुदरी काम्लो म दुःखीलाई जहाँ बस्यो त्यही राम्रो उहाँको पहिलो रेकर्ड गरिएको गीत हो भने घर पनि छैन दाइ मेरो डर पनि लाग्दैन कसैको दोस्रो रेकर्ड गरिएको गीत हो । अली मियाँको आवाज कृतिमा लामो तथा पहिलो रचनाको रूपमा मेरो बाल्यकालमा आफ्नै बाल्य दिनलाई सम्झेको पाइन्छ । यस्तै गरेर अन्य केही गरी मर्नुछ, पसिनाको महत्त्व, सुखीलाई…, पोखराको माया सबैलाई, यो मायाले जाँऊ…, यहाँ यस्तै छ, जस्ता गीतलाई केही फेरबदल गरेको देख्न पाइन्छ ।
२०६१ सालमा आएर उहाँको नाममा गठन भएको अली मियाँ लोक वाङ्मय प्रतिष्ठानबाट अली मियाँ अभिनन्दन ग्रन्थ (२०६१) देखा प¥यो । डा. रविलाल अधिकारी संयोजक रहेको समितिमा रहेर तारा बराल, ठाकुरप्रसाद सिग्देल, भूपनिधि पन्त, अमृत भादगाउँलेले सम्पादन गरेको ग्रन्थमा शुभकामना, जीवनी, कृतिसमीक्षा, संस्मरण र परिशिष्ट खण्ड गरेर पाँच खण्डमा संरचित छ । जम्माजम्मी ७१ जना शुभेच्छुक शुभचिन्तकका उल्लेखित विषय भित्र रहेर लेखिएका रचना कृतिमा पाइन्छन् । परिशिष्ट खण्डमा कृतिहरू भनेर पहाडको उदगार र अली मियाँको जीवनीलगायत अध्यक्षको मन्तव्य राखिएको छ । यस्तै, २०६४ श्रावण १८ गतेका दिन माधव वियोगीले सम्पादन गरेको अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको प्रकाशनमा लोककवि अली मियाँ प्रतिका श्रद्धाञ्जलीहरू (२०६४) शोकपुस्तिका अली मियाँको निधनपश्चात् प्रकाशित भएको देख्न पाइन्छ । पूर्व राजा ज्ञानेन्द्र शाहलगायत अग्रज, समकालीन, अनुज गरी जम्मा ३२४ वटा विभिन्न संघसंस्था र व्यक्तिहरूका श्रद्धाञ्जलीका शब्दगुच्छा, विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित समाचार र त्यससँगै जोडिएर आएका अन्य व्यक्तिको नामको उल्लेख गर्न सक्ने अवस्था नै नभएको संख्यामा श्रद्धाञ्जली अपर्ण गरेको देख्न पाइन्छ । यो हेर्दा लाग्छ अली मियाँलाई कत्रो सम्मान दिएका छन् जनताले । लोकका कवि अली मियाँ नेपाली साहित्य आकाशमा एक उज्ज्वल नक्षेत्रका रूपमा रहेको भन्ने कुरामा कसैको दुई मत नरहला ।
२०६६ सालमा अली मियाँ लोक वाङ्मय प्रतिष्ठानको प्रकाशनमा विष्णुप्रसाद शर्माको लेखनमा देवकोटा शतवार्षिकीका सन्दर्भमा अली मियाँका लोकगीतको अध्ययन (२०६६) शीर्षकमा समालोचनात्मक कृति देखा प¥यो । जसमा अली मियाँका लोकगीतको मात्र विश्लेषण गरिएको छ । समालोचना भनिसकेपछि सबैले अनुमान सहजै गर्न सकिन्छ । चार अध्यायमा विभाजन गरिएको कृतिको पहिलो अध्यायमा अली मियाँको परिचयात्मक झलक । दोस्रोमा लोकगीतको कालक्रमिक अध्ययन । तेस्रोमा लोकगीतको विश्लेषण र मूल्याङ्कन । चौथो अध्यायमा उपसंहार गरी समीक्षा गरिएको छ । अली मियाँको जन्म बाल्यकाल, शिक्षा–दीक्षा, गीतको प्रेरणा र प्रभाव, लेखन आरम्भ, कृति विवरण, जीवनका विविध अवस्था, घटनाक्रम, सम्मान तथा पुरस्कार गरेर जिन्दगीका भीमकाय पहाडहरूको नालीवेली देखाउँदै पहिलो अध्याय अन्त्य भएको छ । दोस्रो अध्यायमा अली मियाँका लोकगीतहरूको विकासक्रमलाई विभिन्न चरणमा विभाजन गरेको पाइन्छ । जसमा पहिलो चरण २००६ देखि २०१५ भन्दै अली मियाँका चार कृतिहरू विरक्तलहरी, नेपाली झ्याउरे गीतसङ्ग्रह, न्याउलीको पुकार, पहाडको उद्गार पहिलो चरणमा राखिएको पाइन्छ । २०१६ देखि २०३९ दोस्रो चरण देखाएर त्यो चरणमा सेतीको सुस्केरा, अली मियाँ, उज्यालो भैसक्यो, पहाडको उद्गार तीन कृतिहरू समावेश छन् । तेस्रो चरण २०४० देखि २०६३ विभाजन गरी तेस्रो चरणमा सम्झनाको दियो र अली मियाँको आवाजलाई राखेको देखिन्छ । विविध चरणमा वर्गीकरण गरेर हेरे पनि समावेश भएका सबै पक्षलाई एक –एक केलाइए पनि सार कुरा देशप्रेम, जनताको चित्कारको यथार्थ वर्णन, आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक हितका लागि आवाज वुलन्द पार्ने, कसैको चाकडीमा नलाग्ने, आफ्नो मात्र भलो नचाहने राष्ट्रप्रेमी लोकका कवि तथा गीतकारका रूपमा चित्रण गरेको देख्न सकिन्छ । तेस्रो अध्यायमा लोकगीतको विश्लेषण र मूल्याङ्कन भनेर मूल्याङ्कन गरेको देख्न पाइन्छ । चौथो अध्याय उपसंहार खण्डमा सार रूप लोकगीतका महारथीको रूपमा विश्लेषण गरेर अन्त्य गरेको देख्न पाईन्छ । शीर्षक, विषयवस्तु, विचार वा भावविधान, लयविधान, भाषाशैली गरेर मूल्याङ्कन गर्नु समालोचनात्मक कृतिको धर्म हो । धर्म भए पनि औपचारिक शिक्षा अक्षर चिन्ने अवसर नपाएको एक सामान्य परिवारमा जन्मेको व्यक्तिको यो योगदानलाई कसरी लिने भन्ने सवाल त्यो हो । सिङ्गो राष्ट्र अनि शोषक, सामन्त, देशद्रोहीका लागि सदा न्यायमा लाग्न आह्वान गर्ने यस्ता मूर्धन्य व्यक्तिका साना झिनामसिना कुरालाई विश्लेषण गरेर शिल्पसंरचनाका दृष्टिले सशक्त नभएको, परिष्कारको अभावले गाँठो मस्कन नसकेको भनेर हेर्ने बेला भन्दा अब हामी केही अक्षर चिन्नेहरूले कसरी ती कमजोरीलाई कम गरेर आफ्नै पाइला बढाउने, के गरेर देखाउने समाजका लागि भन्ने कुरा सिक्ने अवस्थामा ल्याइदिएको विश्लेषण गर्दा उपयुक्त होला ।
समयको दुरी बतास ठूलो रूख माथि
मरेको थला पर्ने वनको पनि हात्ती
बढेबढे मुढा पनि पोलेपछि माथी
भतेर लाउँदा मास्नुपर्ने टाडँको पनि खसी
२०६३ वैशाखमा अली मियाँको यो अन्तिम सिर्जना बनेर नेपाली साहित्य आकाशका लागि भनेर फेला प¥यो भन्ने स्रोत भेटिन्छ । तर आज विडम्बना जस्तो लाग्छ । आफ्नै बलबुता र रगतको बलिदान दिएर स्थापित भएको नेपाल सरकारले राष्ट्रका धरोहरका रूपमा स्थापित भएका होनाहार प्रतिभाहरूको संरक्षण, सम्वद्र्धन र सम्मानका लागि आफ्नो वास्तविक धरातलमा पुग्न सकेको छ कि छैन भन्ने कुरा त भर्खरै मात्र चर्चामा आएका विभूषणका प्रकरणहरूले गर्दा केही मात्रमा यो कलमले पनि मूल्याङ्कन गरेको छ । सम्बन्धित क्षेत्रमा रहेर होस् वा नरहेर समग्र राष्ट्रको पहिचान हुनेहरूको मूल्याङ्कनको सट्टा चाकडी, चुक्ली र चाप्लुसी गर्नेहरूले, उनैको आसेपासे रहेर आफ्नो व्यक्तिगत अभिलाषा पूरा गर्न लागि पर्नेहरू मोटाउने संस्कृति नै यहाँ बढेर गएको छ । यसको जवाफ कसले दिने र यो संस्कार कति दिन सम्म रहन दिने हो ? । साँच्चै ओखती जहिले पनि तीतो भए जस्तो यहाँ पनि यी वाक्य तीता भएका छन् । मान्छेको खेतमा जन्मेकाहरूले विचारको खेती गर्न जानेनन् । तसर्थ लक्ष्मीप्रसादलाई पागल देखेजस्तै लोककवि अली मियाँलाई सीमित घेरामा रहेकाहरूले केही मात्रमा देखे । जति देख्नु पर्ने त्यो देखे जस्तो लाग्दैन । साहित्य र सृजनाका लागि अहोरात्र खटिएका छौ भन्नेहरूले के गरेका छन् ? बुझ्न सकेको छैन आजसम्म यो कलमले । हुन त सुध्न नपाउनेका ठूला गास भनेजस्तो हिजोको यो फूल आजको बचिलो बन्न नपाउँदै चुनौती दिन खोज्ने ! उनीहरूले लगाएको साहित्यप्रतिको गुनको अवमूल्यन अवश्य पनि होइन । हिजो आज यो कलम यही भूमिमा रहेर साहित्यको उत्थानका लागि भनेर हिँडिरहेको छ त्यसैले हेर्दा लाग्छ न उचित रूपमा राज्यले देखेको छ । न अन्य पक्षले । न आफूलाई साहित्यको ज्ञाता ठान्नेहरूले नै देखेका छन् । सवाल अली मियाँको मात्र होइन । समग्र राष्टप्रेमी, आफ्नैै पाखा रेखामा स्याखु र छत्री ओढेर गुन्द्रुक र ढिडो खाएकाहरूलाई देख्नुपर्ने थियो । इमान्दारिता, लगनशीलता, धैर्यता, कर्तव्यपरायणता, सद्भाव, सहयोग र हरप्रकारका आत्मपरक भावप्रतिको प्रेमलाई सबैमा बाँडेर अगाडि बढ्नेहरूको पाइलाले सिकाउनु पर्ने अवश्य पनि हो । उही चोरलाई चौतारो साधुलाई सुली भएपछि कसको के लाग्छ ? चौतारोलाई चोरको र साधुलाई साधुको ठाउँमा राख्नुपर्ने । त्यो खेती गर्न नजान्नेहरूलाई सिकाउनुपर्ने । मर्नुपर्नेहरू बाँचे, बाँच्नुपर्नेहरू अकालमा मरे । मान्छेको खेतमा उम्रेका महामानवहरू, न्याय र अन्यायको तराजु छुट्टयाउन बसेकाहरूले कस्तो काम गरेका छन् भन्ने कुरा त जनमानसमा प्रष्ट छ । साँच्चै कुकुरहरूले कलो, गधाहरूले भारी, गोरूहरूले हलो, चोरहरूले चौतारो बिर्से । हाम्रो सामु आज अली मियाँ नभए पनि उहाँका मुर्धन्य कृतिहरू कोशेढुङ्गा सावित भएर रहेको सबैका सामु छलङ्ग रहेको छ । आफ्नो स्वार्थका लागि तिम्रो ढडिया मलाई देऊ तिमीले खोचरी थाप भन्नेहरू अहिले प्रसस्त रहेको पाइन्छ । हिजोको त्यस्तो आफ्नो नाजुक दैनिकीका बेला पनि राष्ट्रिय एकताका अटुट सूत्र, राष्ट्रभरि एक अनुपम नमुना बन्नुपर्छ भन्ने भाव पाल्ने अली मियाँले आजका स्रष्टा भनौदाहरूलाई दह्रो झापड हान्नुभएको छ । किनकि हिजो आज सिर्जना गर्नेहरूका विचार कति भ्रष्ट भएका, कार्य गराइका हिसाब कहाँसम्म पुगेका छन् भने मैले दोसल्ला किन्छु तिमी ओढाउन आउनु भन्नेहरूको भीड लागेको बेला एउटा पाठ सिक्नुपर्छ सिक्नेकी नसिक्ने त्यो त उनकै सवालको कुरा हो । यो पाठ हो सबैले बुझ्नु पर्ने– २०१५ सालमा राजा महेन्द्रका सामु गाएको गीतको एक अंशः
के खाए के लाए होला यो वनको न्याउनी चरीले
नेपालीले नेपालीलाई गरे अत्याचार
काँधमाथि काँध दिउँला छाती माथी छाती
यी आमालाई लैजानुछ माछापुच्छ्रे माथि
जुन गीत गाएबापत राजा महेन्द्र प्रसन्न भएर उहाँलाई २० हजार नगद र तराईमा २५ रोपनी जग्दा दिँदा केही नगद लिए पनि उल्टो यसो भन्नु भयोः
ओगटेर राखिएको जुन चाहिँ बाँझो,
वे ओतनको गरीबको हुनुपर्छ साझो ।
जहान हेरी बाढिदिए उद्योग गरी खाउँला,
सबदिन प्रभूज्यूको जय मनाइरौँला
न्याय गरी हेरिदेऊ राजा,
देखिदेऊ दुखीको पीर बाँधा ।
कहत पारी स्वदेशभरि बलि रहेछ सिठो,
खोजिकन पाउने छैन मोहर मान पीठो ।
जमिन हेरी तिरो लागोस् गरीबैले पावस्
सरकारको कोष पनि फुल्दै फल्दै जाओस् ।
वर्ष दिनको एक फेरि मान्नु पर्दा दशै,
पीर मात्र कहाँ हो र सर्नु पर्छ बसैँ ।
दशै आयो तिहार आयो सबको घरमा मासु
गरीबको नजरमा मोति जस्तो आँसु ।
के खाए, के लाए होला यो बनको …
यस्ता मुर्घन्य व्यक्ति आज हाम्रा सामु हुनुहुन्न । तापनि उहाँले दिएको चिन्तन हामीसँग छ । साच्चै कलालाई मानवीय जीवनसँग जोड्ने काम अली मियाँका सिर्जनाले गरेको पाइन्छ । कला सिर्जनात्मक कल्पनाद्वारा सुन्दर सत्यको दुनियाँ जन्माउने थलो हो । प्रतिभाका लागि सन्तुष्टिको साधन हो । सिर्जना विना मानवीय जीवनलाई अलग राखेर हेर्ने हो भने नुन बिनाको तरकारी हुन जान्छ । त्यसैले वास्तविक सत्य भेटिन्छ, अली मियाँका सिर्जनामा । विचार, विवेक, खोज, समानता, राष्ट्रियता जस्ता ज्वलन्त सवाल प्रगाढ भएका छन् । त्यसैको उपज उहाँले आफ्नो पोल्टामा सबैको मन बुझ्ने खालका मान सम्मान नपाए जस्तो लागे पनि केही मात्रमा मात्र सरकारी पक्ष र अन्य पक्षले न्याय गरेको पाइन्छ ।
मूल्याङ्कन
नेपाली वाङ्मयका मुर्धन्य प्रतिभा अली मियाँको योगदानको जति कदर हुनुपर्ने थियो त्यो हुन सकिरहेको छैन । उहाँको साधनाले सम्मान प्राप्त गर्ने क्रम २०१२ सालमा शुरु भएको देखिन्छ । जुन समय नेपाल–भारत सांस्कृतिक केन्द्रको उद्घाटनमा प्रथम भएर शुरूवात भए पनि प्रजातन्त्रको प्राप्तिपछि मात्र सम्मानको ओइरो लागेको देखिन्छ । उहाँले २०१२ सालपछि एकैचोटि २०४२ सालमा पोखराको बौद्धिक परिचर्चा क्लव पोखराले अभिनन्दन ग¥यो । त्यस्तै गरी क्रमशः २०४७ सालमा कस्केली प्रजातान्त्रिक समाजको अभिनन्दन, राजा वीरेन्द्रबाट ५० हजार राशीको इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४८ सालमा नेपाली कांग्रेस जिल्ला समिति कास्कीको अभिनन्दन, इन्द्रराज्यलक्ष्मी पुरस्कार पाए बापत पोयुसांपको बधाईपत्र, २०५० सालमा पो.यु.सा.द्वारा शिरोमणि पुरस्कार, २०५१ सालमा भद्राकुमारी लोकगायन पुरस्कार, २०५३ सालमा कुमुदिनी साहित्य पुरस्कार, २०५६ सालमा हेमजा साहित्य प्रतिष्ठानको अभिनन्दन, २०५७ सालमा प्रवल गोरखा दक्षिणबाहु, अनेरास्ववियु पृथ्वीनारायणको अभिनन्दन, भद्रकाली मावि कुँडहरको अभिनन्दन, अरण्यज्योति पुस्तकालय कुँडहरको अभिनन्दन, लेखनाथ साहित्य प्रतिष्ठानको अभिनन्दन, २०५८ सालमा नारायण गोपाल सम्मान, पुम्दीभुम्दी सांस्कृतिक प्रतिष्ठानको अभिनन्दन, तन्नेरी द्वैमासिकद्वारा प्रतिभा सम्मान, मुस्लिम धार्मिक संरक्षण समितिद्वारा अभिनन्दन, कन्या क्याम्पसको अभिनन्दन, अली मियाँ लोकसङ्गीत संरक्षण कोषको अभिनन्दन, २०५८ फाल्गुण १५ गते पो.यु.सा.पले जन्मदिनको अवसरमा रथयात्रालगाएत २०५८ सालमा मात्र उहाँले संख्यात्मक हिसावले २२ वटा सम्मान तथा अभिनन्दन ग्रहण गर्नुभएको देखिन्छ । यस्तै २०६१ सालमा जगदम्बाश्री पुरस्कार गरी जम्माजम्मी ४४ वटा सम्मान र पुरस्कार पाउनु भएको विभिन्न स्रोतबाट देख्न पाइन्छ ।
यता साहित्यकार प्रकाश सायमीको सक्रियतामा अली मियाँ लोकसङ्गीत संरक्षण कोष स्थापना, अली मियाँ लोकवाङमय प्रतिष्ठान गठन, अली मियाँ अभिनन्दन स्मारिका २०५९ प्रकाशन, अली मियाँ अभिनन्दन ग्रन्थ २०६१ प्रकाशनको सम्मान पनि कम महत्त्वपूर्ण छैन भन्ने कुरा सबैलाई लागेको छ । यी झन् गणना गर्नै नमिल्ने अमूल्य सम्मान हुन् । नेपाली लोक वाङ्मयका क्षेत्रमा उल्लेख्य योगदान दिएका अली मियाँ लोकका कवि हुन् । सोही कारण उनलाई सिङ्गो लोकले लोककविका रूपमा लिएको छ । उनै लोकका कवि अली मियाँको योगदानको कदर गर्दै उनका शुभेच्छुक, शुभचिन्तकका साथ साथै कला वाङ्मयका सारथिले २०६१ सालमा उनको नाममा अली मियाँ लोकवाङ्मय प्रतिष्ठान गठन गरे । जुन संस्थाबाट उनको योगदानलाई चिरस्थायी बनाउनुका साथै, अली मियाँ अभिनन्दन ग्रन्थ (२०६१) प्रकाशन गर्यो । यी बाहेक लोककवि अली मियाँप्रतिका श्रद्धाञ्जलीहरू (२०६४), अली मियाँका लोकगीतको अध्ययन (२०६६) प्रकाशन भए ।
अली मियाँको स्मृतिमा हिजो अली मियाँ लोकतारा जस्ता कार्यक्रम पनि भए । हिजो उनको नाम लिन्नौं भन्नेहरू हामीले गर्दा उनको सिर्जना यात्रा मौलाएको हो भनेर श्रेय लिन थालेका छन् । अली मियाँ स्मृति फुटबल प्रतियोगिता जस्ता कार्यक्रम भएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा कवि गोष्ठी, चर्चा परिचर्चा, सम्मानलगायतका कार्य प्रतिष्ठानले गर्दै आएको छ । साथै, वर्तमानसम्म आइपुग्दा अली मियाँका रचनामा विद्यावारिधि भएका छन् । यो सुखद् सन्दर्भ हो ।
मेरो माया फिजाउँ भने संसारभरि पुग्छ
मेरो आँशु पोखौं भने सगरमाथा डुब्छ ।
छाती खोली देखाऊ भने माछापुच्छ्रे झुक्छ
मनको तिर्खा मेटौँ भने फेवाताल सुक्छ ।।
हाम्रा मात्र नभइकन हरेकका पैतालादेखि शिरसम्म अली मियाँका चित्कार गुन्जिएका छन् । तिनले कसैको मन दुख्दा मलम, बालबालिकाका कलम बनेका छन् । गाउँका पाखारेखा, लेकवेशीका ढुकढुकीमा विराजमान न्याउलीका भाका रन्किएका छन् । मुस्लिम समुदायमा हुर्के पनि नेपालीपनलाई उच्च बनाउन दत्तचित्त रह्दा सारा नेपालीका बस्ती घन्किएका छन् । एउटा सम्पन्नताले धच्काएको महलमा हराएको लुते कुकुरको महङ्खव जति रहन्छ त्यति महत्व दिएको छैन नेपाल सरकारले भन्ने कुरामा कसैको दुई मत रहँदैन ।सगरमाथाको चुचुरो झैँ अटल, अजर र अमर बनेर उहाँका कृतिहरू रहँदा पनि जति राज्यबाट हुनुपर्ने मूल्याङ्कन खोई ? इतिहास साक्षी छ । समयमा प्रतिभाको उचित कदर गरेर त्यो क्षेत्रमा लाग्न चाहनेका लागि हौसला बढाउनुको सट्टा गोहीको आँसु चुहाउने वास्तविकता जस्ताको तस्तै छ अहिले पनि । सर्वसाधारण गास र बासको गर्जो टार्न नसक्नेहरूले उहाँलाई माथि देखेर हुँदैन । हो अहिले उहाँको योगदानको चर्चा परिचर्चा सारा नेपालभरि रहोस् भनेर अली मियाँ सम्मानको नारा लिएर देश दौडानको क्रममा मेहेनत र पसिनाको खोलो, रगतका आँसु बनाएर बगाउनु भएको छ हनिफ मियाँ । यसरी एउटा संस्थाको एक व्यक्तिको चासोको विषय मान अली मियाँ बन्छ भने अवश्य पनि स्रष्टाको सही मूल्याङ्कन निरन्तर हुन सक्छ जस्तो लाग्दैन । यसरी योगदानको पहिचान हुन नसक्दा भोलि नेपाली वाङ्मयको श्रीवृद्धिका लागि भनेर जीवन उत्सर्ग गर्नेहरूको मन के होला ? जसरी भोको पेटमा मर्नुपर्नेहरूको ज्वलन्त कथा जस्ताको तस्तै रहँदा समस्या छैन भन्ने प्रवृति कायम छ त्यस्तै गरेर नेपाली साहित्य आकाशमा लाग्नेहरूका समस्या जस्ताको तस्तै छलङ्ग छ । देश र जनताका गीत गाएर हिँड्नेहरूको भोको पेट त छ नै तर उचित कदर पनि नहुँदा साहित्यको इतिहासमा बादल मडारिन सक्छ । वास्तविकतामा रमाउनु, आफ्नो कलाले जमाउनु, सरल शब्दले सबैको मनमुटु समाउनु कठ्ठै भनेर आँसु धारा बगाउदै छाती छमाउने विशेषताका धनी लोककविको प्रतिभाको कदर गरेर नयाँ पुस्ताको हौसला बढाउने काम नभएकै हो । जनताका गीत गाउने राष्ट्रवादी, राष्ट्रको एउटा खुल्ला सार्वजनिक पुस्तकालय, जनजीव्रोका शब्द, बिम्ब र प्रतीकका प्रयायवाची लोककवि अली मियाँ कुनै दिन एकादेशको कथा बन्न नपरोस् । जसरी साहु महाजनका छोराछोरीसँगको संगत नै पाठशाला बन्यो उहाँका लागि त्यस्तै बनोस् सबैका लागि । उहाँको योगदानको पहिचानका लागि खोलिएका संस्थाहरूको अनि आफूलाई सिर्जनाको उत्थानका लागि लाग्ने हौ भनेर उत्थानमा लाग्ने र स्रष्टा टोपलिनेहरूको काम, कतव्र्य र अधिकार हो ।
अन्त्यमा
८८ वर्षको उमेरमा निधन हुनुभएका अली मियाँको सम्झना हाम्रो साथमा छ । सानै उमेरको टुहुरो, घर नजिकैको हेर्ने मात्रै बनेको पाठशाला, व्रिटिस सेनामा भर्ती भएर छोडेको जागिर । पुष्पलाल, गोकुल जोशीलगायतले भरिदिएको विचार । राणा विरोधी जनताका गीत लेखन र गायन जस्ता सबाल सम्झँदा आज पीर लाग्छ । किनकि नेपाली साहित्यलाई आधुनिक प्रविधिले समान बनाइदिएको छ । उपज त्यो कृत्रिमताले ढाकेर स्याउजस्ता गाला र बारूले कम्मरका मात्र कुरा आएका छन् । कता कति सिर्जना गर्ने युवापुस्ता प्रणयपरक र श्रृङ्गारिक धारमा रमाउने भनिरहँदा लोककवि अलिले पढाएको पाठ सबैले पढ्नुपर्छ । अब सिर्जना समावेशी हुनुपर्छ । समावेशी आवाजको मीठो गन्ध के अली मियाँका सिर्जनाले दिएको छैन ? उहाँका सिर्जनामा स्वदेशी माटोको माया, राजा र प्रजा, भाषाभाषी, जाति, धर्म र वर्णको माया छैन । उहाँका सिर्जनाले सामन्तलाई चस्काए छ । अवश्य अग्रजहरूले सिकाउनुपर्छ त्यो पाठ अनुज र समकालीनहरूलाई ।
विज्ञानले उन्नत प्रविधि भित्रिए जस्तै साहित्यमा उन्नत प्रविधि भित्र्याउने अवस्था ल्याउनु पर्ने वेलामा अब सम्पूर्ण पोखरेली पनि जाग्नु पर्ने बेला आएको छ । कारण वेमौसममा वृक्ष फुल्न, फल्न र पाक्न थाले झैँ प्रविधिले कृत्रिम सुई लगाइएर काँचो फलफूल पकाइए झैँ भएको छ अहिलेको साहित्य । सर्जकको वृद्धि हुनु राम्रो हो तर सिर्जनाले सबै पक्षको गुणगान गाउनुपर्छ । जसरी चामल पकाउन पकाउने भाडा, पानी र उचित तापक्रम चाहिन्छ । त्यस्तै हामीले पनि समयलाई बुझेर विश्व साहित्यको आकाशमा धावन मार्ग खोज्ने बेला भएको छ । यो मार्गको खोजी युवा जगत्ले गर्नुपर्ने दायित्व हाम्रो काँधमा आएको छ ।
जसरी एउटा ठूलो जंगलको फेदमा रहेको सानो विरूवा पनि आकाश ताकेर पालो लिइरहेका हुन्छन् । हाम्रो वरिपरिका यी नाला, खोल्सा र धारा पनि सेतीमा पुगेर सागर बन्ने अभिलाषा ताकेर बगिरहेका छन् । यी जीवन्तताका दृष्टान्त हुन । हामीलाई साहित्यको कलमी बिरूवा, एक मुठी बीउ र एउटा नमूना चाहिएको बेला त्यो नमूना अली मियाँलाई मान्ने कि नमान्ने प्रश्न साझा हो । नेपाली साहित्यको सिङ्गो आकाशमा यो कलम काँचो माटो हो । यदि सही मार्ग लिएको छ भने अवश्य राम्रो हो भनेर तालि बजाइदिनुपर्छ । लिन नसकेका दिनहरू छन् भने चिन्ताको विषय बन्नुपर्छ, तमाम सिर्जनाका कृषकका लागि । पोखराको साहित्य आकाशमा अत्यधिक वृद्धि भएको छ, राम्रो हो । साहित्यमा भएको संख्यात्मक र गुणात्मक विस्तार कस्तो छ, कतै अकल्पनीय त छैन ? यदि छ भने भेटिएका ती विषयवस्तुका विचार पक्ष, शैली पक्ष र सिर्जनाको शक्ति पक्षमा खारिएका छन् कि छैनन् ? हुन त म कुनै समीक्षक पनि होइन । केवल एउटा साहित्य अध्ययन गरेको र गर्ने विद्यार्थी । मेरो धर्म सिर्जनाका राम्रा पक्ष र नराम्रा पक्षको थोरै धेरै भए पनि विश्लेषण गर्न पाउने अधिकार ममा छ । त्यसैको उपज अब नवपुस्ता नेपाली साहित्यका लागि लगाएको बालीभित्र ती उन्नत जातका कृषि प्रविधि अपनाए जस्ता छोटो समयमा धेरै मुनाफा आउने खालका छन् कि छैनन् ? सबैका लागि प्रश्न हो । साहित्यका सबै विधा र उपविधासँग तुलना गर्न योग्य छैनन् जस्तो लाग्छ यी आँखाका लागि । हामी आज नवीन परिस्थितिका सामुन्ने छांै । हाम्रो क्षितिज फराकिलो भई जिम्मेवारी बढेको छ । पुरानो पुस्ताले आफ्नो दायित्व र कर्तव्य जति गर्नुपर्ने हो पूरा गरे । अब नयाँ पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको छ । यो परिवर्तित समय र नयाँ पिँढीले साहित्यको संरक्षण गर्नुपर्छ । जीवनको न शुरूको विन्दु भेटिन्छ, न अन्त्यको तसर्थ महत्त्वपूर्ण अधुरा र अपूरा सपनाहरू अँगाली निरन्तर खहरे बनेर बगिरहन्छ तसर्थ त्यो प्यास मेटाउनका लागि आजैका दिनबाट लोककवि अली मियाँलाई सम्झेर सिर्जनामा लाग्ने प्रण गरे कसो होला ? एकपटक फेरि मियाँको यो टुक्कालाई सम्झदै जन्मजयन्तीभा भावपूर्ण श्रद्धाञ्जली
घर पनि छैन दाइ मेरो, डर पनि लाग्दैन कसैको
यो दुखी रोएको किन, कहिल्यै पनि फर्केन … ।
रून्छ मन बलेसी धारा, नरोउ दुःखी रोएर … ।
२०७७ फागुन १५



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

