काठमाडौं । समालोचक, आख्यानकार तथा साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठलाई ‘सुसेली स्रष्टा सम्मान–२०८२’ प्रदान गरिएको छ ।
सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकालीद्वारा आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका सभापति रामराजा केसीको सभापतित्वमा प्रा. डा. श्रेष्ठलाई नगद ११ हजार १ सय ११ रुपैयाँ, सम्मानपत्र, दोसल्ला, टीका तथा मालासहित सम्मान गरिएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मोहन बस्नेतले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । प्रतिष्ठानकाे उपाध्यक्ष रजनी खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा केदारनाथ आचार्य र पुष्कर पराजुलीले स्वस्तिवाचन गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्वको परिचय चन्द्रलाल तामाङले गराउनुभएको थियो भने सम्मानपत्र बद्री कार्कीले वाचन गर्नुभएको थियो । साहित्यकार किशोर पहाडीले सम्मानित स्रष्टालाई टीका लगाइदिनुभएको थियो भने नगरप्रमुख बस्नेतले माला अर्पण गर्नुभएको थियो । प्रतिष्ठानका सभापति रामराजा केसीले नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानलाई निरन्तर सहयोग पुर्याउने शशि शर्मा अर्याल, केदारनाथ आचार्य, रामकुमार बस्नेत, बद्री कार्की, राजकुमार केसी तथा सरोज बलामीलाई कदरपत्र प्रदान गरिएको थियो । साथै दक्षिणकाली नगरपालिका क्षेत्रभित्र पुस्तक प्रकाशन गरी साहित्यिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न स्रष्टाहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
यस अवसरमा दक्षिणकाली नगरपालिका तथा वडा नम्बर ४ र ५ लाई साहित्यिक गतिविधिको प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा शशि शर्मा अर्याल, केदारनाथ आचार्य, साहित्यकार किशोर पहाडी, सम्मानित स्रष्टा प्रा. डा. दयाराम श्रेष्ठ तथा प्रमुख अतिथि मोहन बस्नेतले मन्तव्य व्यक्त गर्दै साहित्य, शिक्षा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।
कार्यक्रमको पहिलो चरण रीता बलामीले सञ्चालन गर्नुभएको थियो । सभापति रामराजा केसीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा साहित्यिक कार्यक्रमसँगै प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दोस्रो चरणमा सविता केसीको सञ्चालनमा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थी तथा साहित्यकारहरूले कविता, गजल, मुक्तक, सुसेली, खोरिया तथा अन्य सिर्जनात्मक रचनाहरू प्रस्तुत गर्नुभएकाे थियाे ।
रचना वाचनमा सहभागी विद्यार्थी तथा स्रष्टाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा दक्षिणकाली क्षेत्रका जनप्रतिनिधि, शिक्षक–शिक्षिका, साहित्यकार, विद्यार्थी तथा साहित्यप्रेमी गरी १२० भन्दा बढीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
३० जेष्ठ २०८३, शनिबार 









