ललितपुर । कोन्ज्योसोम गाउँपालिकाको सभा हलमा साहित्य, कला र संस्कृतिको उत्सवस्थल मनाइएकाे छ । कार्यक्रममा साहित्यिक विमर्श, कविता वाचन, पुस्तक लोकार्पण तथा कार्यशालाका कार्यक्रम सम्पन्न भएका हुन् ।
कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा साहित्यिक विमर्शसँगै ‘कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठान’को वार्षिक मुखपत्रको तेस्रो अङ्क तथा ‘कोन्ज्योसोम गाउँपालिकाको सांस्कृतिक दर्पण’ पुस्तक सार्वजनिक गरिएको थियो ।
स्थानीय संस्कृति, इतिहास र पहिचानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले प्रकाशित ‘सांस्कृतिक दर्पण’ शिक्षकद्वय राजेश घिमिरे र बेलबहादुर लामा घिसिङले लेख्नुभएको हो भने रमेशप्रसाद तिमल्सिना र रोशन दाहालले सम्पादन गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. देवी नेपालले भौतिक विकाससँगै बौद्धिक विकासलाई पनि समान महत्व दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भाषा, साहित्य, शिक्षा र सिर्जनशीलताको विकासलाई दीर्घकालीन समृद्धिको आधार मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले साहित्यिक सिर्जनाले समाजको संस्कृति र पहिचानलाई जीवन्त राख्ने बताउँदै कोन्ज्योसोम प्रज्ञा प्रतिष्ठानले भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले आगामी वर्ष प्रतिष्ठानसँग सहकार्य गरेर साहित्यिक पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । साहित्य, संस्कृति र पर्यटनलाई एकसाथ जोडेर स्थानीय विकासका नयाँ सम्भावना खोज्न सकिने उहाँको भनाइ थियो ।
प्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले इतिहास र संस्कृतिको अभिलेखीकरणका लागि पुस्तक प्रकाशनको महत्व औँल्याउँदै आगामी वर्ष अझ रचनात्मक र परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमअन्तर्गत स्थानीय पाठ्यक्रम, नेपाली भाषा शिक्षण र सिर्जनात्मक लेखनसम्बन्धी दुईदिने कार्यशालासमेत सञ्चालन गरिएको थियो । कार्यशालामा २८ जना नेपाली विषयका शिक्षकहरूको सहभागिता रहेको थियो ।
साहित्यिक रचनावाचनले कार्यक्रममा विशेष आकर्षण थपेको थियो । महाङ्काल प्रज्ञा प्रतिष्ठानका सदस्य कवि रत्न विरही, कवि कमलप्रसाद तिमल्सिना, मधुसूदन उपाध्याय, विना न्यासुर, हिरामाया घिसिङलगायतले कविता वाचन गर्नुभएको थियो । तामाङ भाषामा प्रस्तुत गरिएका सिर्जनाहरूले स्थानीय भाषिक पहिचान र सांस्कृतिक गौरवलाई थप उजागर गरेका थिए ।
आयोजकका अनुसार कार्यक्रमले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनमार्फत समुदायको आत्मा जोगाउने सन्देश प्रवाह गरेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 




