बाँच्नु छँदै छ । अलिकति हल्ला गर्दै अरूलाई पनि बाँचेको छु है भन्दै बाँच्नुमा छुट्टै स्वाद हुनसक्छ । हिँड्नु छ त पाइला चाल्न केको डर ? नाँच्नु छ त कम्मर मर्काउन केको सङ्कोच ? उफ्रनु नै छ भने आकाश छुनेगरी उफ्रूँ । भन्नेले जे भनिरहून्, जे सोचिरहून्; परिचित यसै परिचित छन्, अपरिचितहरूसँग वास्तै भएनन् । जिन्दगी बगिजाने खोला हो ।  खोला कहिल्यै सुसाएन भने, वर्षामा बाढीले गड्गडाएन भने के अस्तित्त्व बग्नुको ? झर्ना हुनुछ भने ठोक्किनुपर्छ पहाडमा । साँच्चै भन्नुपर्दा बाँच्नका लागि चल्नुपर्छ; चल्नु नै  छ त समथर मैदानमा चल्नुभन्दा खोजौँ न अनकन्टार भूभागहरू । झर्नाले पहरा रोजेझैँ, नदीले सबैभन्दा असजिलो खोच रोजेझैँ । आँखाले हेर्नेहरू भन्छन्- पहाडमा के छ ? हिमालमा के छ ?, जन्मिएँ पहाडमा, दौडिए भिराला पाखाहरूमा, यसै सुन्दर लाग्छन् पहाड । हिमालसँग खासै सङ्गत छैन, र पनि हिमाल शब्द नै कोमल कविता जस्तै, श्रुतिमधूर गीत जस्तै सुललित लाग्छ मलाई ।

पहाडमा हिँड्नेहरू के खोज्दै हिँड्छन् होला ? प्रश्न आफ्नै हो र उत्तर आफैँले खोज्नुपर्छ भन्ने थाहा छ । त्यसैले नियालिरहन्छु यायावरका फेसबुक र इन्स्टा । कहिलेकाहीँ  संस्मरण र नियात्राका पाना पल्टाउन मन लाग्छ । अलि वर्ष पहिले रमेश विकलको निलगिरिको छाँयामा पढेको थिएँ । मेरा अबोध मस्तिष्कमा त्यसैले केही प्रभाव छाडेर होला, निलगिरिको काखैकाख कालीगण्डकीको अँगालोमा मुक्तिनाथ पुग्ने रहर जागेको थियो । संयोगले कालीगण्डकी पदयात्री भएर देवघाटदेखि मुक्तिनाथ कटेर दामोदर कुण्डसम्म पुग्ने सौभाग्य पाएँ । कालीगण्डकीको चुहानदेखि मुहानसम्म पुऱ्याउने गुरुहरू र आयोजक महेश संन्यास आश्रमप्रति सदा आभारी छु ।

मैले त्यस यात्रामा मुस्ताङको सेरोफेरो बुझ्न पाएँ आफैँले । किञ्चित् नै किन नहोस्, हिमाली जनजीवन र संस्कृतिसँग नजिकिने अवसर पाएँ । हिमालपारिको सौन्दर्य खै कुन शब्दद्वारा वर्णन गर्न सक्छु ! त्यो त म जान्दिनँ, तैपनि यति भन्न सक्छु – रहस्यको खोजी गर्नुछ भने हिमाल अवश्य पुग्नुपर्छ । त्यहाँका प्रकृति, संस्कृति र सभ्यतासँग साक्षात्कार हुनुपर्छ । त्यसैले मलाई सिर्जना सिज्जुहरू नचिनेरै नभेटेरै पनि प्रिय लाग्छन् । राजु झल्लुप्रसादका चित्तचोर पाटनहरूमा रल्लिँदै गर्दा बडिमालिकाको हार्दिकतामा हराउँछु । भवानी खतिवडाले घामभन्दा पहिले कर्णाली टेक्नुपूर्व नै चङ्खेलीको छायामा राराको नृत्य हेरेर पुलकित भएको छु । प्रतीक ढकालको त्यो उज्यालो कर्णाली नपढे पनि देखेको छु कर्णालीको भोगाइ, सिञ्जाको मुस्कान, कालिकोटको उक्स्याहट… । महेन्द्रले अप्सरा देखेको रारा मलाई त्योभन्दा सुन्दर लाग्छ । सल्लेरीका वनमा गुराँससँग गफिँदै त्यसैमा समाहित हुनुको मजा धेरथोर थाहा छ । मेरा खुट्टाहरू रिसाए पनि चढेको हुँ नीलकण्ठ पर्वत । मन नलाग्दा नलाग्दै गोसाईँकुण्डबाट फर्किनुको खिन्नता आज पनि ताजै छ मसँग ।

हिमाली यात्राको वर्णन ‘प्रणाम सगरमाथा’ भर्खरै पढ्ने मेसो मिल्यो । हिउँ नै नटेकी हिमाल पारि पुगेर फर्किएको म, खै कुन हिमशक्तिले तानिएँ ? सम्पूर्ण किताब नारायणगढको शुरुवाती चाङमा नै मुस्कुराइरहेको नीलो पुस्तक, जहाँ सगरमाथाको मृदुमुस्कान टल्किरहेको थियो ।  केही बादलका थुङ्गासँगै टाँगिएका बौद्ध पताका हल्लिरहेझैँ लाग्ने थियो । सिरानमा लेखिएको थियो ‘प्रणाम सगरमाथा’ । मनमनै सगरमाथालाई प्रणाम गरेँ । त्यसमुन्तिर लेखकको नाम भवानी खतिवडा मेरा लागि अपरिचित भने होइन तर पनि दिदीको काव्य चमत्कृति हरेकपटक पृथकता भित्र्याउने कौशलसँग परिचित छु पनि कसरी भनूँ । उही हँसिली उज्ज्याली भवानी दिदीको अनुहार सम्झिएँ र खुशी भएँ । छन्दमा रस भर्न सिपालु दिदीको प्रणाम सगरमाथामा कति होलान् छन्दोबद्ध श्लोक  र लयात्मक अभिव्यक्तिहरू ? सम्झदैँ खुशी भएर चढ्न थालेँ आफ्नै कल्पनाको सगरमाथा । पक्कै पनि यो खुशी पुस्तकका हरेक अक्षरमा भेटिनेछन् ।

पढ्दै जाँदा म के पढिरहेको छु थाहै नहुने रहेछ, कतै कविता जस्तो कतै निबन्ध जस्तो, स्वच्छन्द उड्दै गरेको सिमलको भुवाजस्तै हलुङ्गा शब्दहरू । केही सोचिरहनुपर्ने जरुरत नै छैनन्; सचित्र प्रस्तुत छन् हरेक शब्दहरू । स्वतः भावसम्प्रेसित छन् प्रत्येक पल फेरिएको स्वासजस्तो । पढ्दा पढ्दै कल्पनामा हराएको छु भवानी खतिवडा बनेर । म हिँडिरहेको भए त्यो बाटोभन्दा माथिको कान्लो उक्लिन्थेँ हुँला या त बाटो छोट्याउने निउँमा हामफाल्दिन्थेँ हुँला तर भवानी दिदी कहाँ मैजस्ती अल्लारे यात्री हुन् र ! उनलाई हिँड्ने कसरी ? थाहा छ । खोज्ने के ? थाहा छ । बोल्ने के, कसरी ? थाहा छ । कतिधेरै समझदार !

सगरमाथा पढ्दा म पाठकभन्दा पनि भावक भएँ, र भवानीका भावसँगै दौडिएँ । सुन्दर सिनेमा हेरेजस्तो या त अझै रङ्गमञ्चमा अभिनित पात्राभिव्यक्तिमा पग्लिरहेझैँ हराइरहेँ । कतै सपना बनेर भवानीको चमत्कृतिको साक्षी बसेको छु त कहिले स्वयं भवानी बनेर त्यसैमा समाहित भएको छु प्रत्येक पाइलामा । आधा फोक्सो सासमा सँगै अतालिएको छु पसिना आउनेगरी । लेकलाग्दा अलेक्जेन्डरलाई डर लागेको छ मलाई पनि । हिमनदीको ताण्डवमा आश्चर्यचकित भएको छु, र कल्पना गरिरहेको छु यथार्थमा यस्तो देख्दा कसरी हाँस्छु होला ? मेरा पाइला अघि बढ्लान् कि नबढ्लान् ? प्रत्येक कठिनाइमा मेरा खुट्टा थर्थराएका छन्, र हरेक सफलतामा मुस्कान भरिएका छन् । मानबहादुर बनेको छु कतै र भनेको छु, ‘ए बहादुर दिदी, तिमीले अनुभव गरेका केही भावहरू मलाई पनि देऊ न, म पनि उडूँ यही चिसो बताससँगै ।’

सविनलाई भेट्दा भावविह्वल भएँ । उमेरले मेरै पनि भाइ रहेछ, जसले सर्वोच्चतालाई चुमेर फर्किएको छ । म आफ्नै सपनाहरूमा हराउन लागिरहेको छु । हिमाललाई देख्दा हाँस्नै सक्दिनँ कि भन्ने पीर लाग्छ कहिलेकाँहीँ । खैर जे होस्, सविनप्रति सम्मान छ । तिमी सर्वोच्चताको मार्गबाट विचलित नहुनू, तिम्रा हरेक सफलतामा सगरमाथा अवश्य साक्षी बस्नेछ ।

ए प्रिय यात्री ! धन्य छन् हिमालहरू, जसलाई अनुभूत गर्न जान्ने तिम्रा भावनाहरू झनै धन्य छन् । तिम्रो सहास धन्य छ जसलाई गन्तव्य प्रिय छ, आइपर्ने खतरालाई स्वागत छ, सफलतामा समाहित आनन्द व्यापक छ र त्यसको सन्तुष्टि वर्णनातीत छ । तिमी हिँडिरहनू, तिम्रा शब्दमा हिँड्नेछु म पनि सहयात्री भएर ।

ॐ अस्तु ।