“चारखोलाको आँगनीमा” यात्रा गर्दा कवि सँगसँगै म पनि इलाम पुगेँ। कवि भवानी खतिवडाले कविता मार्फत् इलाम यात्राको वर्णन बढो रोचक तरिकाले गरेकी छन्।
११२ पृष्ठको सूत्रमय कृति पठनीय लाग्यो।
यो पुस्तकको आवरण पनि नै आकर्षक छ। कोकगोष्ठी प्रकाशक रहेको यो पद्यनियात्रामा विविधता पनि उत्तिकै छ।
प्रकृतिलाई प्रश्न तेर्स्याएर कविले कतै हाँस्यरस मिसाएकी छन् । कतै किसानका समस्या र पीडाहरूलाई हृदयङ्गम गरेर भक्कानो परेकी छन्। यात्राकै क्रममा कतै कवि बाल्यकालमा गोता लगाउँदै हराएकी छन्।
पद्य साहित्य नबुझ्ने म गोज्याङ्ग्रीले पनि पुरै पुस्तक लय हालेर पढेँ। अनुष्टुप छन्द वाचनको नियम साथीलाई सोधेर भए पनि छन्दको स्वाद पहिलो पटक चाखेँ। पुस्तक लय हालेर पढ्दा त अझ हार्मोनिय पो सम्झिएँ तर ढंग माले !
कविता त साहित्यको मूल विधा पो रहेछ। सूत्र जान्न सके अफ्ठ्यारा हिसाबहरू त सजिलै समाधान गर्न सकिने रहेछ।
किन, केका लागि यो यात्रा हुँदैछ ? साथमा कोको छन्, कुन समय हो, मौसम कस्तो छ भन्ने कुरालाई छन्दको सौरभ खन्याएर मगमग पारेकी छन्।
कविको समूहमा यात्रा गर्न तयार हुनुभएको अर्की कवि स्वास्थ्यको कारण काठमाडौँ नै बस्नु परेपछि भवानी लेख्छिन् –
” सधैं सरल रेखामा, कहाँ चल्छ र जीवन ?
कहिले जूनझैं खुल्छ, बाफिन्छ कहिले मन ।”
कविताको शक्ति बेजोडको रहेछ । यति थोरै अक्षरमा कति गहिराइ छ।
साँच्चै जीवन एउटै रेखामा कहाँ चल्छ र ? जीवन सिधा रेखामा चले त जीवनको अन्त्य नै हुन्छ। अस्पतालमा मनिटरबाट हृदयको गति हेर्दा बाँङ्गोटिङ्गो भए मात्र जीवन शेष हुन्छ । यदि मोनिटरले सिधा रेखा देखाउन थाल्यो भने त गड्बड हुन्छ। भवानीको भावनालाई मज्जाले बुझेर अक्षर अक्षरलाई हृदयका आँखाले पढ्दै, आनन्दको महसुस गरेर दङ्गदास पर्दै गएँ।
“दु:ख – पीडा- चुनौतीले, खोल्छन् सम्भावना पनि
छिनाको चोट खप्नाले, बन्छन् मूर्ति शिला पनि ।”१६
यो सर्ग उस्तै उम्दा लाग्यो । वास्तवमा जसले जीवनका सबै रङ्ग झेलेको हुन्छ ऊ नै परिपक्व हुन्छ। साँच्चै भन्ने हो भने दु:खमा सृजना प्रस्फुटित हुन्छ। चुनौतीले पक्कै सम्भावनाको द्वार खोल्छ । छिनोको चोट सहन सक्ने पत्थर मात्र मन्दिरमा पुजिन्छ, चोट खान नसक्ने पत्थर पक्कै जमिनमा कुल्चिन्छ ।
सहयात्रीहरूको नाम, यात्रा योजना, गन्तव्य , उद्देश्य , प्रकृति, हिमालको वर्णन गर्न भवानीले शब्दको सुन्दर मोतीहरू टिपेर सुन्दर काव्यमाला बुनेकी छन् । जति जति कवि प्रकृतिको सामीप्यमा पुग्छिन् उतिउति कविभित्रको कोमलता, संवेदनशीलता, सुन्दरता र कर्तव्यनिष्ठता विशाल बन्दै जान्छ । जति चारखोलाको आँगनीमा हेलिन्छु पौडन नजाने पनि मस्तले तैरिन्छु र कविप्रति नतमस्तक हुन्छु।
“उमार्छ्न् फाँटले स्वर्ण, शैल मोती फुलाउँछन्
कर्णाली – गण्डकी – कोशी देशभक्ति सुसाउँछन्।”
“हो बुद्धको तपोभूमि, सीताको माइतीघर
हो यो संसारको छानो, सर्वोच्च शिर सुन्दर।” २०
कवि कहिले माटोमा सुन फलेको देख्छिन् त कहिले हिमालमा मोती फुलेको देख्छिन्। नदीनालाहरूको आवाजमा कहिले देश प्रेम सुन्छिन त कहिले ओमकारको निनाद सुन्छिन् । बुद्ध र सीतालाई हृदयमा राख्दै सगरमाथालाई चुम्न पुग्छिन्।
जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छ्न् कवि भन्ने भावलाई पुष्टि गर्न सक्षम छिन् कवि । रक्सीको दुर्गन्ध फैलिएर उकुसमुकुस भएको बेला जड्याँहालाई देख्दा कविलाई आक्रोश होइन कविता फुर्छ ।
” यी मेरै छेउका यात्री, सुराले झुम्म झुम्म छन्
हेर्दामा सुरझैँ रूप, बानी असुरतुल्य छन् । २१
” नपिऊन् जाँडको घुट्को, नगनाऊन् कुनै मुख।
अरूलाई दिई बाधा भोगेको सुख के सुख।”
कविको मस्तिष्कमा काव्यको जरुवा कति मज्जाले उम्रिन्छ । प्रकृतिको जादूमयी सृष्टिमा कवि केहीबेर रमाइलो गर्छिन् ।
” पसिना नुनिलो मिल्दा उखुमा गुलियो किन ?
उही श्रमिकको यत्न कागती अमिलो किन।”
“बन्दा छन् वस्त्रमा बन्दी काउली नाङ्गिए किन?
छन् चना खेसरी चुच्चे चिचिन्डा बाङ्गिए किन ?”
आकाशमा चराहरू एक लहरले उडेको देख्दा कविको भावना फेरि अर्कै बन्न पुग्छ।
“चराका लहरे ताँती हेर्दाहेर्दै त्यही क्षण
झझल्को घरको आई घरैतर्फ कुद्यो मन ।
बनी लस्करको माला उड्छन् पक्षी सँगैसँगै
एकै प्रवाहमा उड्दा ठोक्किँदैनन् कतै कुनै।४४
एक लहरमा यसरी उडेका अबुझ चराहरूको एकता देखेर मान्छेहरूले हार्दिकता भुलेको सम्झन पुग्छिन् कवि। जातजातिमा आज मानव टुक्रिएको छ। सोचमा विभाजन भएर अहङ्कारको गरुङ्गो पखेटा हालेर मान्छे शिखर चुम्न खोजेको छ। चरा र मान्छेलाई तुलना गर्दा कविको मन फाटेको दूधझैं बन्न पुग्छ। अनि कवि अझ गम्भीर हुँदै अगाडि भन्छिन् –
“छैन संसारमा मान्छे मान्छेबाट सुरक्षित
मान्छेबाटै भएको छ मान्छे आज प्रताडित ।४४
हुँदा उन्नति यौटाको अर्को जल्ने भयो भने
के मान्छे रहला मान्छे माया प्रेम मर्यो भने।।४४
संवेदनाहीन मान्छे र मानवताविहीन मान्छेहरूको कल्पना गर्दा गर्दै मानवविहीन संसारको कल्पना गर्न पुग्छिन् कवि। मान्छे जस्तो उच्च स्तरीय प्राणी अरूको उन्नति प्रगतिमा डाडे भएको देखेर चिन्तित छिन् कवि। साँच्चै मान्छे भावनाविहीन भयो भने यो संसार कस्तो होला ? आज मान्छेदेखि मान्छे डराउनु पर्ने समय आएको छ। वास्तवमा संसार मान्छेहरूबाट कुरूप हुँदैछ। अशान्ति मान्छेकै कारणले व्याप्त छ। यस्तो अमानुषहरूको भीडलाई हटाएर एक्कैछिन कवि मानवविहीन संसारको कल्पना गर्न पुग्छिन् तर फेरि अत्यासले कविलाई चिथोर्न थाल्छ र कल्पनाको गाडीलाई घ्याच्च ब्रेक लगाउन पुग्छिन्।
कन्याम पुग्दा कन्यामको सुन्दरतामा कवि यति लठ्ठ परेर कविता कोर्छिन् । अनि पाठकहरूलाई पनि हुरुक्क पारेर कति खेर कन्याम पुगिहालौँ भन्ने भावना उत्पन्न गराएर छट्पटीमा पार्न सफल छिन् कवि । कन्याममा जताततै सम्भावना देखेर विदेश जानेहरूलाई स्वदेशको गरिमा बुझाउँछिन्।
“छ धन्य देश यो हाम्रो जहाँ ऎश्वर्य फुल्दछन्
जहाँका मुत्तिकामाथि देवता पनि भुल्दछन्।
“यहीँको पोसिलो हावा- पानीले हृष्टपुष्ट छु
यिनै पाखा पखेराको मायाले पूर्ण तृप्त छु।”
इलामको हरियाली, सम्भावना र सौन्दर्यमा कवि यति मन्त्रमुग्ध हुन्छिन् कि देशैभरि इलाम रोप्न आतुर हुन्छिन् ।
“लेखे यो धरणीलाई भूपीले काव्य सूत्रमा
देशैभर मिले रोप्न रोपौँ इलाम देशमा ।”
माईपोखरीको वर्णन त झन अलौकिक छ ।
पोखरी हेर्दाहेर्दै नीलो देखरे कविलाई आकाश र पोखरी एकै लाग्छ। सूर्यको किरण पनि नीलै लाग्छ। फेरि आकानै धर्तीमा पछारिएको हो कि भन्ने भान पर्छ। फेरि एकैछिनमा पोखरी हरियो बन्छ कहिले कविलाई पोखरी नायिका जस्तै चुल्बुले लाग्छ।
अन्तमा त्यो रमणीय यात्रामा अचानक छोरी आस्थाको दुर्घटनाको प्रसङ्गले कवि आमाको व्याकुल मनको पीडा, छट्पटी र उकुसमुकुस पढ्दा मेरा आँखाबाट माईपोखरी कालै भएर झर्न थालिन । एउटा पिर सेलाएको छैन कविलाई अर्को पीर अझ थपिन्छ । ईश्वरसँगको गुनासो र प्रार्थनालाई छन्दमा डुबेर पढ्दा हुरुक्क भएँ म पनि। चारखोलाको आँगनीलाई सकुशल पार गरें।
कवि भवानी खतिवडालाई हार्दिक बधाई तथा शुभकामना छ । कृतिले इतिहास चुमोस् यही मनोकामना छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।