गत मे २७ मा काठमाडौं आर्ट ग्यालरीमा हरेराम यादवको दोस्रो एकल कला प्रदर्शनी भयो । उनको पहिलो एकल कला प्रदर्शनी कलर्स अफ कल्चर सन् २०२३ मा भइसकेको रहेछ । उनी हिमालयन लाइट आर्टका अवार्डप्राप्त कलाकार पनि हुन् । यो अवार्डप्राप्त कलाकारले वर्षको अन्त्यमा एकल कला शो गर्नै पर्ने प्रावधानअनुसार पनि उनको यो एकल कला प्रदर्शनी हुन पुगेको देखिन्छ । सिद्धार्थ कला दीर्घाले प्रदान गर्दै आएको यो अवार्ड सन् २०१९ मा सुरु भएको थियो । उनले चाहिँ यो अवार्ड सन् २०२४ मा प्राप्त गरेका थिए । यसरी उनी यो आर्ट अवार्डका आठौँ रिसिपियन्ट हुन पुगेका देखिन्छन् ।
यो अवार्डको पनि रमाइलो व्यवस्था छ । कलाकारलाई एकमुष्ट दुई लाख प्रदान गरिन्छ । उनले वर्षभरि कम्तीमा पनि १५ वटा काम गर्नुपर्छ । अनि यसलाई प्रदर्शन पनि गर्नुपर्छ । प्रदर्शनको व्यवस्था सिद्धार्थ कला दीर्घाले गरिदिन्छ । दुईवटा चित्र चाहिँ आयोजकलाई नै बुझाउनुपर्छ । आयोजकले सम्भवतः यही चित्र बेचेर अर्को रिसिपियन्टका लागि पैसाको जगेडा गर्ने गर्दछ ।

हरेरामको यो कला प्रदर्शनीको नाम चाहिँ फ्रम सिराहा टु काठमाडौं राखिएको छ । उनी मूलतः उतैकै तराईवासी (उनी सिराहा जिल्लाको लाहानमा जन्मेका हुन् ।) हुन् । उनी निक्कै पहिलेदेखि मिथिला लोककला रहर र सोखका लागि बनाउँथे । अलि पछि चाहिँ काठमाडौंमै उनले कलाको विधिवत् अध्ययन गरेका हुन् । अनि अहिले काठमाडौंमै बसोवास गर्दै आएका छन् । पश्चिमी कलामा अध्ययन गरेका हरेरामले यता पूर्वीय कला अङ्कन–पद्धतिलाई मिसमास गरी अलि नौलो स्वाद पस्केका हुन् । मूलतः यो कलाको थिमले पनि यसैको प्रतिनिधित्व गरेको देखिन्छ । अर्को सन्दर्भ भनेको चाहिँ उनको कला तराई–मधेस अनि पहाडसँगको मिलनको एउटा विम्ब पनि हो । अझ अर्को सन्दर्भ भनेको चाहिँ लोककला (मैथिली कला) अनि आधुनिक कलाको सङ्गमको द्योतक पनि हो ।
आजका युवा कलाकारहरू यस्तै–यस्तै परम्परागत लोक–गाथा, संस्कार अनि लोककलाको सुगन्धलाई आधुनिक संरचनामा प्रस्तुत हुन–गराउन थालेको देखिन्छ । पश्चिमी युरोपमा बीसौँ शताब्दीको सुरुतिर यही लोककला आधुनिक कलाको स्रोत बन्न पुगेको थियो । पिकासो यसका ज्वलन्त उदाहरण हुन् । पिकासोले सन् १९०७ मा क्युबिज्मको नयाँ प्रयोग गर्नुअघि उनी झण्डै एक वर्ष एकान्त गाउँमा बसी यस्तै–यस्तै लोककलाहरूको अध्ययन गरेका थिए, भन्ने गरिन्छ । यसैगरी उन्नाइसौँ शताब्दीको अन्त्यतिर उनीभन्दा अझ अघि पेरिसमै बस्दै आएका उत्तर–प्रभाववादी कलाकार गोगाँ लोककलाको अध्ययन गर्न टाहिटी भन्ने गाउँमा पसेका थिए । यसै बेलाका अर्का उत्तर–प्रभाववादी कलाकार भ्यान गग पनि गाउँतिरै हानिएका थिए । मूलतः यसै बेलादेखि कलामा आधुनिकता आएको एउटा अलग्ग इतिहास पनि छ ।
साउथ एसियाका अधिकांश राष्ट्रहरूले उहिल्यै आफ्नै यही लोककलाको जगमा आधुनिक कला विकास गरेका हुन् । भारतका समसामयिक कलाका आधारभूमि कलाकार जामिनी रायले यही अजन्ता अनि मुगल कलालाई (परम्परागत लोककला) आधार बनाएर आधुनिक कला बनाउँदा, शुद्ध भारतीय आधुनिक कला मात्र बनाएनन्, आफ्नै माटोको सुगन्धलाई पनि आफ्नो कला मार्फत उजागर गरेका थिए । यस्तै–यस्तै आधुनिक कलाको आधारशिला बनेका, बनाइएको हुँदा पनि उनी भारतीय कला इतिहासमा अति शीर्ष स्थानमा छन् । तर नेपालमा चाहिँ यसको परिकल्पना अलि पछि आएको देखिन्छ । अर्थात् अहिले यतिखेर चाहिँ लोककलाको महत्त्व विस्तारै बुझ्न थालेको देखिन्छ । यसकारण पनि यो आधुनिक कलामा आफ्नै मौलिकता खोज्ने जमर्को हिजोआजका युवा कलाकारले जमेरै लागेको देखिन्छ । यो कला प्रदर्शनी पनि यसैको थप पाइलाका रूपमा हेर्न सकिन्छ । यो कला प्रदर्शनी आगामी जुन ९ सम्म रहनेछ ।
यसैले उनी भन्छन् – “हिजोआज आध्यात्मिक चेतना, सांस्कृतिक परम्परा कता कता कमजोर हुँदै गइरहेको मलाई महसूस हुन्छ । त्यसकारण पनि म मेरा यी आफ्नै मिथिला संस्कृति, संस्कार अनि यसको अनन्तकालदेखि हामीबीच रहँदै आएको गौरवमयी परम्परालाई सौन्दर्यताका साथ मेरा कला मार्फत पुनः ल्याउन चाहन्छु ।”
यसकारण पनि मूलतः उनको यो समसामयिक चित्रको आधारभूमि नै मिथिला लोककला देखिन्छ । उनका पात्रहरू मैथिली कलाका विम्बहरू, मोटिफहरूका रूपमा परिमार्जित भई प्रस्तुत भएका देखिन्छन् । अझ कति ठाउँमा त नितान्त पश्चिमी यथार्थवादी शैलीहरू लोककलाका मोटिफहरूसँग गाँसिएर देखा पर्दछन् । अलिकता अटपट जस्तो लागे पनि उनका कलाको नयाँ स्वरूप देखिन्छ । यही नै उनको आफ्नो पहिचान पनि हो ।

सदियौँदेखि माटाको भित्तामा टाँसिँदै आएको मिथिला कला कागज वा क्यानभासमा ओर्लन थालेपछि, यो परम्परागत लोकसंस्कृति आफैँ पनि आज आधुनिक रूपमा प्रतिबिम्बित हुँदै आएको छ । यसैको प्रतिबिम्बका रूपमा पनि हरेरामका कलाहरू देखिन पुगेका छन् । लोक–देव अनि लोकगाथा आदिलाई एउटा थप भाष्य जोडेर क्यानभासमा अर्थसहित ओराल्नु उनको कलाको मूल विशेषता पनि हो । मिथिला लोककलाका बाङ्गाटिङ्गा तर जीवन्त रेखाहरू, यसको द्वितीय आयामिक संयोजनहरू र स्थानीय रङको सुगन्धलाई आजको आधुनिक कलासँग घुलमिलमा प्रस्तुत गर्नु उनको अर्को विशेषता पनि देखिन्छ ।
उनको अक्स फार्मर वन्ड नामक एउटा चित्र छ । जहाँ रातो–पहेँलो ताता रङको बाहुल्यमा समग्र चित्रपट नै गोरुको बढेमाको टाउकोले ढाकेको देखिन्छ । यसैभित्र खेतबारी छ । किसानले खेत जोत्दै गरेको, बीउ छर्दै गरेका गाउँवासीहरू पनि देखिन्छन् । अनि धान रोप्दै गरेका महिलाहरू पनि देखिन्छन् । किन कसरी हो थाहा छैन । उनले गोरुलाई किसानसँग जोड्दै, उहिले–पहिला कसरी यहाँका गाउँवासीहरू स्वतन्त्रपूर्वक, स्वावलम्बी भई जीविकोपार्जन गर्दथे भन्ने कुराले उनलाई भित्रैबाट समाएको देखिन्छ । अनि यसैलाई उनले चित्रपटमा थोरै आधुनिक पारामा उतार्ने कोसिस गर्दछन् ।
आज त्यहीँ गाउँको अवस्था पनि यस्तो छैन । विकासको नाममा मान्छेहरू परजीवी भएका छन् । यसैले पनि उनको सम्झनामा रहेका गोरुहरू घरीघरी उनको चित्रपटमा ओर्लिरहन्छन् । उहिले–पहिलाको संस्कृति र जीविकोपार्जनको एउटा प्रतीकात्मक विम्ब गोरु घरीघरी क्यानभासमा ओरालो बस्नु पनि मिथिला परम्परालाई जोड्न खोज्नु पनि हो । गोरु र किसानको सम्बन्धलाई केन्द्रमा राखेर बनाइएको यो चित्रमा अनगिन्ती गोरुहरू सल्बलाउनु पनि गजबको परिदृश्य देखिन्छ । यो उनको अनौठो संयोजनमा कला देखिँदा भावकहरू यसलाई रमाइलो मानी अवलोकन गरिरहेका देखिन्छन् ।
लोक–लयमा यथार्थ चित्रण भएको यो चित्रमा गाउँघरका थुप्रै कथाहरूलाई समेटिएका देखिन्छन् । एउटै चित्रपटमा थुप्रै कथाहरू समायोजन गर्नु पनि हाम्रै परम्परागत लोककलाको विशेषता पनि हो । उनका थुप्रै चित्रहरू यही एप्रोचमा संयोजन गरिएको देखिन्छ । अर्कोतर्फ भने ज्यामितीय गोलाकार उनलाई मन पर्ने मोटिफ मात्र होइन । यसलाई उनले सपनामा कल्पना बुन्न परे प्रतीकात्मक विम्बका रूपमा प्रयोग गरेको पनि देखिन्छ । अर्को कुरा, जनावर अनि मानवको मेल अनि एकअर्काबीचको मायामोह आदि पनि उनका कलामा स्पष्ट महसूस गर्न सकिन्छ । यसले सन्तुलित पर्यावरणको आभास पनि हुन्छ । यस्तै–यस्तै भावना, आजको यथार्थ, परम्परा आदि सबैको घुलमिल नै उनको कलाको पहिचान हो जस्तो भान पनि हुन्छ ।
गाउँघरमा आज यस्तो परम्परा केही देखिन्न । उनकै अनुसार पनि गोरुले खेत जोतेको देखिँदैन । गाउँ आफैँ आधुनिकतामा प्रवेश पाइसक्दा डेकोरेटेड मोडर्निज्म देखिन्छ । (उनको मोडर्न एरा भन्ने चित्रले यसैको प्रतिबिम्ब बोकेको छ ।) आधुनिकता गाउँमा पस्दा परम्परालाई घचेटिदिएर पर कतै हुत्याइदिए जस्तो उनलाई भान हुन्छ । यो अनौठो परिदृश्यले उसलाई घोचिबस्दा उनी चाहिँ पुरानो कुरालाई सम्झन पुग्छन् । फलस्वरूप किसान अनि गोरुको सम्बन्धलाई आफ्नो क्यानभासमा ओराल्ने गर्दा रहेछन् । यसर्थ यी पुराना कुराहरू क्यानभासमा देखिँदा उनको कलागत संरचनाले गजबको मिठास छरेको देखिन्छ ।
उहिले–उहिले हुने गरेको मिथिला गाउँको दैनिकी, अर्थात् डेली लाइफलाई विभिन्न कोणबाट चित्रमा उतार्ने पनि उनको कोसिस रहेको रहेछ । उनका चित्रहरू जस्तै दैनिकी जीवन, ढिकी, चुलो, जर्नल अफ कल्चरल रिस्पेक्ट, अनि व्यङ्ग्यात्मक रूपमा देखा परेको मोडर्न एरा आदि चित्रहरूले यस्तै–यस्तै कथा भनिरहेको महसूस हुन्छ । यी र यस्तै–यस्तै कलागत संरचनाहरू नै उनको कलागत विशेषता पनि हो । यहाँ मैथिली समुदायको जीवन गाँसिएको छ । अलिकता धर्म अनि धर्मप्रतिको आस्था आदि इत्यादि गाँसिएर देखा पर्दा पनि यसले मौलिकता बोकेको यथेष्ट आभास पनि हुन्छ ।

यसबाहेक अझ स्पष्ट रूपमा भन्नुपर्दा विशेष गरेर मैथिली संस्कृति, चाडपर्व, जात्रा आदिमा देखिएका विशेषतालाई उनले आधुनिक कलागत भाषामा रूपान्तरण गर्न पुगेका छन् । मैथिली संस्कृतिमा यी धर्म र संस्कारहरू जस्तै छठ, गोवर्धन पूजा, सामा–चकेवा, अनि जितिया नाच आदि पनि उनको कलामा अभिन्न रूपमा जोडिएको देखिन्छ । छठपर्वको बेला सूर्यदेवताको पूजा गरिन्छ । तर छठदेवी आफैँ भने नारी हुन् । उनको चित्र डिभाइन पावर मा यसर्थ पनि सूर्यदेवलाई नदेखाएर छठदेवीको रूपलाई देखाउन खोजेका छन् । वास्तवमा उनको भनाइअनुसार छठमा छठदेवीकै पूजा–उपासना गर्दै गर्दा सूर्यनारायणलाई पनि थप पूजा–आराधना गरेका हुन् । यसकारण पनि सातै घोडाहरूले तानिरहेको रथमा आरूढ छठदेवीलाई (नारीलाई) उभ्याउन कोसिस गरेको हुँ । उनको अन्नपूर्णा नामको चित्रमा पनि यसरी नै देवीलाई प्रस्तुत गरेका छन् । जहाँ मैथिली कलाकै कैयौँ विम्बहरूलाई समायोजन गरेको देखिन्छ ।
उनको अर्को चित्र गोवर्धन पूजा मा पनि मैथिली सुगन्धलाई स्पष्ट छाम्न सकिन्छ । जहाँ टाढा कतै गाउँ, अनि एउटा गोलाकारभित्र देवकृष्णले पर्वत उठाइरहेको आधुनिक संरचना देखिन्छ । अनि दुई आकृतिहरू सहयोगस्वरूप देखिन्छन् । गोलाकारबाहिर यो देव, अनि लोकगाथालाई आजका महिलाहरूले पूजा–अर्चना गरिरहेका अनौठो परिदृश्य देखिन्छ । गोलाकारभित्र अनि बाहिरको अलग–अलग अवस्थाको परिकल्पना हिजो र आजको मिलनको सन्दर्भ पनि हो । उहिले–पहिलेको अनि यसैलाई सम्झनामा ल्याउँदै आजको अवस्था जोड्दै संयोजन गर्नु पनि उनको विशेष कलागत विशेषता हो ।
अर्को चित्र लोकदेवता सल्हेस मा पनि यस्तै–यस्तै दृश्यहरू देखिन्छन् । राजा सल्हेस पछि भगवान् सल्हेस पनि बन्न पुगेको देखिन्छ । उनै राजालाई उनैका प्रेमिकाहरूले फूलमाला लिई पर्खी बसेको एउटा दृश्य देखिन्छ । धेरै रात–दिन पर्खी बसेको प्रतीकात्मक विम्बका रूपमा ती नारीहरू निदाएको, चिम्म गरेको अवस्थालाई पनि चित्रण गरिएको छ । तर राजाले वास्तै नगरी अगाडि बढेपछि पनि ती नारीहरू अहिले पनि यसरी नै पर्खेर बसिरहेका छन् रे भन्ने विश्वास गरिन्छ । अहिले पनि यसरी नै ती तीन जना महिलाहरू पर्खी बसेका छन् भन्ने कुरा वैशाख १ गतेका दिन सिराहामा अवस्थित सल्हेसको मन्दिर परिसरमा आज पनि सेतो सुनाखरी फूल फुल्ने गर्दछन् । यस बेला त्यहाँ धुमधामको मेला पनि लाग्ने गर्दछ ।
लोकदेवता सल्हेस वा दैनिकी जीवन, ढिकी आदि चित्रहरूलाई हेर्दा दुईवटा कुराको सन्दर्भ देखिन आउँछ । एउटा भनेको चाहिँ लोकगाथा, जुन सदियौँदेखि भन्दै–सुनाउँदै आइएको परम्परा छ । यसैलाई आफ्नो कल्पनामा बुन्दै अनेक पात्रहरूको निर्माण गर्दै यो कथालाई पुनः जीवन्त पार्न खोजेको देखिन्छ । अर्को चाहिँ बालकालदेखि जुन यथार्थ जीवन उनी आफैले भोगे, देखे आदि, त्यसलाई यथार्थ रूपमा चित्रण गरेको देखिन्छ । यही नै समष्टिमा उनको कलागत विशेषता पनि हो ।
कलाकार, कला समीक्षक



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










