गत मेको एक तारिखका दिन ग्यालरी एम क्यूवमा प्रदिप वज्राचार्यको चौथो सोलो कला प्रदर्शनी भयो । फेस्टिभ स्पिरिट (Festive Spirit) नामको यो कला प्रदर्शनी आगामी १७ मेसम्म रहनेछ । ५५ वर्ष पुगिसकेका प्रदिपका चित्रहरूमा दुईवटा कुराहरू स्पष्ट देखिन्छन् । पहिलो कुरा भनेको यो प्रभाववादी दृश्यचित्रको आधुनिक रूप थियो । किनकि यस्ता चित्रहरूमा प्रकृतिको नक्कल उतार्ने काम मात्र हुने गर्दैन । मनका कुराहरू पनि हुने गर्दछन् । जस्तो कि प्रभाववादी दृश्यचित्रहरूमा एक प्रकारको कलाको आधारभूमि नै प्रकृति हुने गर्दछ । अनि मनका कुराहरूले त्यहाँ ठाउँ पाउँदैन ।

अर्को चित्रमा उनका मनका भावहरू पनि समाहित भएका थिए । यसो हुँदा पनि यो कलाले आधुनिक रूप बोकेको थियो । यी चित्रहरूमा अमूर्तता सहितको आधुनिकता अनि अभिव्यञ्जना पनि यथेष्ट मात्रामा थियो । किनकि मन्दिरभित्र पनि आफूलाई मज्जा लागेका कुराहरू उनका कलामा लुकेका हुन्थे । जब दृश्यचित्रहरू वास्तविकताबाट सर्जकका कल्पना र विचारहरू पनि बोकेर जान थाल्छन्, यसलाई हामी सजिलोका लागि आधुनिक कला भन्छौँ । यी कुराहरू उहिल्यै युरोपमा गउगिन अनि भ्यानगगले उन्नाइसौँ शताब्दीको अन्त्यतिर प्रयोग गरिसकेका थिए । यसै बेलादेखि कलामा आधुनिकता आएको हो भन्ने कुराहरू पनि गरिन्छ । यही कुराहरू अहिले नेपालभित्र सिकेको छ । प्रदिपको कलाको आधारबिन्दु पनि यही नै हो । नेपालको सन्दर्भमा यस्ता प्रवृत्ति भनेको सन् ९० को उत्तरार्धमा उदाएको प्रवृत्ति हो, जसलाई यस बखतका प्रदिप लगायत सबैजसो आधुनिक कलाकारले अनुसरण गर्ने गर्दथे ।

अर्थात् प्रभाववादी चित्रहरूमा अझ धुमिल पार्दै तुलिकाहरू द्रुतगतिमा दौडाउने मन हुँदा देखा परेको एक प्रकारको अमूर्तता नै यसको मुख्य विशेषता थियो । तुवालो–हुस्सुले ढाकेजस्तो पारामा मन्दिरका छानाहरू देखिन्छन् । यसले यथेष्ट रूपमा अमूर्ततालाई महसूस गराउँछन् । यसमा रङ र रेखाहरू यथार्थबाट टाढा भाग्छन् अनि रेखा र रङहरू के–के जाति भनी बस्छन् । यसलाई बुझी आत्मसात् गर्न आम भावकले अलि गहिरो गरी खोजी बस्नुपर्ने हुन्छ । अझ पहिला–पहिला देखा पर्ने उनकै चित्रहरूमा पनि यति विघ्न अमूर्तता थिएन । यसपल्ट मन्दिर, घर आदि मात्र रेखाले थोरै छाम्न सकिने बनेको देखिन्छ । अर्थात् आकारहरूलाई ल्याउने कोशिश गरेका छन् । नभए चारैतिर अमूर्तता नै देखिन्छ । यसर्थ यसपल्ट उनी यी रूपहरूलाई धुमिल पार्दै करिब अमूर्तता नै बन्ने चाह बोकेको महसूस हुन्छ । आकारहरू मिलून्–नमिलून्, यसपल्ट चाहिँ गति अनि भाव भने बग्नुपर्छ भन्ने पनि उनको आशय देखिन्छ ।

प्रभाववादी चित्रहरूको कुरा गर्दा त्यस बखत (असी, नब्बेको दशकताका) सम्भवतः नेपालभरि (उपत्यकाबाहिर पनि) यस्ता प्रभाववादी दृश्यचित्रहरू बनाउने सयौँ कलाकार थिए । कलाका स्कूल अनि क्याम्पसमा पनि यस्ता चित्रहरू अध्ययन गर्नु नै पर्दथ्यो । यस अर्थले पनि कलाकार भएपछि यस्ता खाले चित्र बनाउनु नै पर्दथ्यो । स्वअध्ययनमा कला बनाउन सिकेका कलाकारहरू पनि घुम्न जाने अनि घुम्दै गर्दा चित्र बनाउने चलन पनि चल्दा यस विधामा अनगिन्ती कलाकारहरू थिए । अनि सबैले एकैजसो कला शैलीमा काम गर्दथे । प्रदिप स्वयं पनि यस्ता चित्रहरू बनाउँथे । प्रभाववादी चित्र बनाउन सम्भवतः अघाएपछि उनी यसैलाई वा यसैको आधारमा आधुनिकतातर्फ उन्मुख भएका हुन् । यसैलाई उनले अलि फरक ढङ्गबाट संयोजन गरेका हुन् । फरक यति हो— उनले विषयको रूपमा चाहिँ चाडपर्व अनि जात्रा छाने । मन्दिरको परिसरमा, बाटा अनि गोरेटोभरि उल्लासको भीड जताततै देखिन्छ । यसर्थ पनि उनका चित्रमा जात्राको परिदृश्यलाई राम्ररी छाम्न सकिन्छ । अझ भनौँ, जात्राको सुगन्धलाई टिप्न खोज्दा जात्रा हो भन्ने आभास यथेष्ट रूपमा हुन्छ । अझ भन्नै पर्दा मान्छेको भीड जात्राको प्रतीकात्मक विम्ब बनेको पनि देखिन्छ ।

स्वाभाविक दृश्यचित्र धुमिल पार्दै संयोजन गर्दा उनका अमूर्त कलामा लालित्य यथेष्ट मात्रामा महसूस गर्न सकिन्छ । तापनि आनन्द मात्र हुनु–गराउनु उनलाई मन नभएको देखिन्छ । अनि नेवा समुदाय आफ्नो जीवनलाई जात्रासँग गाँसेर कसरी आनन्दित हुने गर्दछ, त्यो पनि देखाउन उनको रहर हुन्छ । यो उनको आफ्नै समुदायप्रतिको माया पनि हो । यसर्थ उनी मन्दिर मात्र होइन, देवीदेवता अनि संस्कृति–संस्कारका कैयौँ अवयवहरूलाई सङ्गालेर संयोजन गर्न पुग्दछन् । यी आदि–इत्यादि भनेको आफ्नो संस्कृति–सम्पदामाथिको गौरव पनि हो । अनि आफ्नै एक अलग्ग पहिचानको द्योतक पनि हो । यी सबलाई एकै ठाउँमा उनेर चित्रको संयोजन गर्दा पनि उनका चित्रहरू एक तमासका देखिन्छन् ।

यसो हुँदा उनका कलालाई अलि घोरिएर हेर्ने बित्तिकै जात्रा मनाइरहेका अनेकानेक मान्छेहरूलाई अवलोकन गर्न सकिन्छ । महसूस गर्न सकिन्छ । कल्पनाबाट यथार्थमा अर्थात् यथार्थवादी चित्र हुँदै बाहिरै गई चित्र बनाउने अर्थात् प्रभाववादी आदि–इत्यादिमा क्रमशः अभ्यास गर्दै उनी अमूर्ततामा पुगेकाले पनि उनका चित्रहरू अब्बल हुन पुगेका देखिन्छन् । विस्तारै तह–तहबाट उक्लेर अमूर्ततातर्फ उन्मुख हुनुले पनि उनका कलाहरू उम्दा देखिएका हुन् । यसैले त उनी भन्छन्— म प्रकृतिको गति, यसमा निहित शक्ति अनि मेरो आफ्नै भावलाई मिसाएर मेरै संस्कृतिको उत्सव मनाउन चाहन्छु । खट अनि रथका तत्त्वहरू, मन्दिर वा मन्दिरको वरिपरिका गुञ्जायमान भएका भक्तिभावका प्रार्थनाहरू, उत्सव मनाइरहेका मान्छेका भीड आदि–इत्यादि नै समुदायको स्पिरिट हो भन्ने मेरो ठम्याइ हो । यी सबै मोटिफहरू कुनै देखिने गरी, कुनै नदेखिने गरी मेरा कलामा घुसेका हुन्छन् । यसैले म मात्र चित्र बनाउँदिन, यसभित्र मेरो समुदायको मर्मलाई, आस्था र भक्तिभावलाई पनि चित्रित गर्न चाहन्छु ।

बाहिर प्रकृतिमा गई बनेका दृश्यचित्रभित्र रहेका चाक्ला तुलिकाघातहरू उनका कुराहरू लैजान गतिलो पात्र बनेका देखिन्छन् । यसैले उनका कुनै पनि चित्रहरू हेरी बस्दा यही चोटिला, चाक्ला, मोटा अनि जीवन्त तुलिकाघातहरूलाई चित्रपटमा उछलकुद गरिरहेका देखिन्छन् । वार्म कलरमा (गरम रङहरू) लिपपोत भएका उनका चित्रहरू त्यसै पनि उत्साह र उमङ्गका प्रतिबिम्ब देखिन्छन् । यसैमाथि फेरि सेता चाक्ला तुलिकाघातहरू त्यसै पनि कुदीबस्दा अनौठो स्वादलाई भावकले अनुभव गर्ने गर्दछन् । यी सेता चाक्ला डोबहरूले केकति अर्थ राख्छन् थाहा छैन । अर्थात् यसले खासै अर्थ बोकेको चाहिँ देखिन्न । तथापि आयामिक प्रभावलाई स्थिर बनाइराख्न भने यो एउटा बलियो खम्बा बनेर उभिएको देखिन्छ । चित्रमा तेस्रो आयामिक सन्तुलन अनि हार्मोनीले नै बाह्य दृष्टिलाई आनन्द दिने हुँदा पनि उनी यस मामलामा बढो सचेत देखिन पुगेका छन् ।

मन्दिरको सानो अंश, मान्छेको हूल, धकमधक्का अनि होहल्ला, उल्लास आदि–इत्यादिलाई उनको कलामा सहजै महसूस गर्न सकिन्छ । त्यसो त सबैजसो चित्रमा मन्दिर त छँदैछ, अझ बाजागाजाहरू बजीबस्दा यसले सिर्जना गर्ने माहोल त्यसै पनि रमाइलो घन्कन्छ भन्ने लागिहाल्छ । तापनि यो जात्रा मात्र पनि होइन । हेर्दै जाँदा काठमाडौंमा बसोवास गर्दै गरेका नेवा समुदायको संस्कृतिलाई नै हेर्न सकिन्छ । उनी यही जन्मे–हुर्के । अनि केटाकेटीदेखि नै नेवा संस्कृतिलाई देख्दै आए । यति मात्र होइन, आफैँ पनि यही समुदायको भएकाले गर्दा उनी पनि यस्ता जात्रा–पर्वहरूमा संलग्न हुँदै गए । यसैले गर्दा पनि उनी जबजब यस्ता चित्रहरू बनाउँछन्, उनलाई भित्र हाम्रै संस्कृतिको आत्मा देखिन हौसला मिल्छ । अर्थात् उनी यस्ता चित्रहरू बनाउँदै गर्दा आफैँलाई पनि आनन्दको अनुभूति हुन्छ । उनी आफैँ भन्छन्— म जहिले पनि यी नेवारी संस्कार जस्तै जात्रा, चाडपर्व आदिको स्पिरिटलाई चित्रमा उतार्न चाहन्छु । किनकि मलाई लाग्छ, यही जात्रा–चाडपर्वभित्र नै हाम्रो मौलिक विरासत अर्थात् परम्परा अनि सम्पदासँग समाहित भएर कतै न कतै जोडिएको हुन्छ । यसैले म जीवन्त रङहरू, टेक्स्चरका तहहरू अनि अभिव्यञ्जनापूर्ण तुलिकाघातहरू प्रयोग गर्न रुचाउँछु ।

शायद यसैले पनि यही जात्राहरू उनको मुख्य विषय हुनुको उद्देश्य पनि हो । प्रदिपले लामो समयदेखि यही विषय अनि यही कलागत शैलीलाई पछ्याउँदै आएका छन् ।

प्रभाववादी शैलीबाट उफ्रेर अमूर्त शैलीतिर लम्कँदै गर्दा यस्ता कलाहरूमा प्रभाववादीहरूले देखाउने गरेको घाम–छायाको प्रभाव कहीँ पनि देखिन्न । अनि नितान्त सौन्दर्यतालाई रसस्वादन गर्ने अमूर्त कलाको विशेषतालाई पनि यहाँ महसूस गर्न सकिन्न । अर्थात् यी कलाहरू न त प्रभाववादी, न त अमूर्त— दुवैका विशेषता नबोक्दा पनि यसले आफ्नै एक अलग्ग पहिचान बोकेको महसूस हुन्छ । यी दुवै विशेषताभन्दा नितान्त अलग्ग विशेषता यसले बोक्दै गर्दा भावकले यसलाई भावनात्मक, मौलिकता अनि संस्कृति, समुदायको आस्था आदि–इत्यादिलाई सगोलमा महसूस गर्दछन् । हुन त प्रदिपले एकताका सन् २००३ ताका अत्याधुनिक कलामा समेत प्रयोगात्मक काम गरेका थिए । शान्तिद्वार नामको उनको काममा सिङ्गो एउटा घरलाई आधार बनाएर बनाएका थिए । घरको झ्याललाई नै केन्द्रबिन्दु बनाउँदै त्यहीबाट सेता कपडा लतारेर यता भुइँसम्म ल्याएका थिए । अनि सातवटा पीपलका पात राख्दै बोधिसत्त्व अनि शान्तिको आह्वानको प्रतिबिम्ब बोकेको यो उनको काम थियो । यो उनको इन्स्टलेसन कला थियो । तर यसलाई उनले निरन्तरता भने दिएनन् । अनि उनी आफ्नो पुरानै शैलीमा फर्किए । यसैलाई आजको दिनसम्म निरन्तरता दिइरहेका छन् ।

प्रदिपका अहिलेका यस्ता चित्रहरूमा अलिकता वास्तविकता अनि अलिकता उनको कल्पनालाई महसूस गर्न सकिन्छ । वास्तविकता चाहिँ उहिलेदेखि अनवरत रूपमा जीवन्त बन्दै आएको संस्कृति नै हो । नेपाली समाज अर्थात् काठमाडौं उपत्यकामा लामो समयदेखि नेवा समुदायले आफ्नै जीवनको एउटा अङ्ग बनाएर यस्ता जात्राहरू गर्दै आएको इतिहास छ । समाजमा धेरै परिवर्तन हुँदै आए । सोच्ने ढङ्ग फरक हुँदै आए । राजनीतिक परिवर्तन भए । तापनि यो समुदायले यस्ता जात्रा–चाडपर्वलाई दिनचर्याको रूपमा अवलम्बन गरिरहने संस्कार चाहिँ कहिले पनि परिवर्तन भएन । अन्ततः यो एउटा नेपालकै आफ्नै कलागत, संस्कृतिगत परिचय पनि बन्न पुग्यो ।

विस्तारै–विस्तारै राज्यले पनि यसलाई प्रोत्साहन मात्र गरेन, यस परम्परालाई संरक्षण गर्ने अनि विदेशी पर्यटकका लागि यसबारे अझ विशेष रूपमा सूचना प्रवाह गर्न लागे । कलाकारलाई पनि यो एक प्रकारको आयआर्जनको गतिलो बाटो पनि भयो । हुँदा–हुँदा यो अलिकता व्यावसायिक अनि सिर्जनशील बन्दै यस्तै–यस्तै जात्राका अनेक प्रकारका चित्रहरू बन्न थाले । विदेशी पर्यटकहरू पनि आएर यस्तै–यस्तै चित्रहरू किनिदिने भएकाले गर्दा पनि यसको माग पनि बढेर आयो । अनि कलाकारहरू पनि यस्ता कला बनाउन उत्साहित भएर लाग्न थाले ।

कतिपय कला प्रदर्शनीहरू त यसैलाई मूल विषय बनाएर, यसैलाई थिम बनाएर पनि कला प्रदर्शनी गर्न थालेको देखिन्छ । आधुनिक कलाको विविध शैली र प्रवृत्तिमा काम गरिरहेका कलाकारहरू पनि विषय चाहिँ यही जात्रा र चाडलाई बनाएर कलाको सिर्जना गर्ने एक प्रकारको अहिले फेसनजस्तै बन्न गएको छ । ठमेलको बजारभरि यस्ता चित्रहरू अनगिन्ती रूपमा देखिन्छन् । यसकारण पनि यो एक प्रकारको व्यावसायिक कला जस्तो पनि बन्न गएको हो ।

अन्तमा

प्रदिप स्वयं चाहिँ सन् नब्बेको दशकको अन्त्यतिर उदाएका आधुनिक कलाकार हुन् । त्यसबखत दृश्यचित्र बनाइबस्ने कलाकारहरू यसलाई थोरै भजभुज गर्ने, बङ्ग्याउने अनि स्वैर काल्पनिक रूपमा भावनात्मक रूपमा प्रस्तुत गर्ने प्रचलन थियो । यसैबीच उनी केही वर्ष अमेरिका गई बसे । पाँच–सात वर्ष उतै बसे । तापनि जब उनी नेपाल फर्के, उनको कलामा नयाँ परिवर्तन देखा परेन । यही कला शैलीले नै उनलाई आकर्षण गरिरह्यो ।