शान्त र सन्तुलित जीवनयापनका लागि, प्रत्येक पल आफ्नो पनि समीक्षा आफैँले गर्नुपर्छ भन्छन् ज्ञानीजनहरू तर हामी आफ्नो समीक्षा गर्न भुल्छौँ । आफ्ना आनीबानीमा सुधार गर्न बिर्सिन्छौँ । लाग्छ, राम्रो ‘म’को इतिहास अमर छ । ‘राम्रो म’लाई मन्थन गर्न जरुरी सम्झिँदैनौँ । त्यसैले अमिलो आँपको टिकुलामा थाहै नपाई गुलियो पसे झैँ, अभिमानको मधुले हामीलाई बग्न दिँदैन । हामी तरल हुन हिचकिचाउँछौँ, बग्न बिर्सिँदै जान्छौँ । बग्नु भनेको सफा हुनु पनि त हो भन्ने ज्ञान भुल्छौँ । अभिमानको महले जब हामीलाई जमाउन थाल्छ तब हामी चिन्तनशील बन्न पनि छोड्छौँ । जब जडता हाबी हुन्छ, तब अज्ञानले डेरा जमाउँदै हामीलाई अहङ्कारको गर्ततिर थाहै नपाई लिएर जान्छ र शनैःशनै: हामी अधीर, अशान्त र अव्यवस्थित हुन्छौँ । अर्को दुर्भाग्य हामीलाई आफू नै सबैभन्दा ज्ञानी लाग्छ । ठीक लाग्छ । अनि अरूलाई पढ्न, सुन्न असमर्थ हुन्छौँ । आज मूल कुरोको चुरो खोल्न भूमिका कस्दै छु । अब भूमिकालाई छोट्याउँदै, कुराको मेला अगाडि बढाउँछु ।
कहिलेकाहीँ बोल्छु भनेको कुरा समयमा बोल्न नसक्दा त्यही विषयले पीडा दिने रहेछ । मनमा तिनै प्रश्न र उत्तरहरूको घम्साघम्सी चल्दो रहेछ र अगाडिको नवीन बाटो छेक्दो रहेछ । म छोड्न चाहन्छु बितेका कुरा तर मस्तिष्क छोड्न मान्दैन बिर्सनुपर्ने कुरा । मातृभूमि साहित्य उत्सव हेटौँडाबाट आएदेखि मलाई अहिले त्यस्तै भएको छ ।
अहो ! त्यो प्रश्नको उत्तर त यसरी दिएको भए हुन्थ्यो नि ! अनि त्यो प्रश्नको उत्तर त्यसरी दिएको भए ! कति राम्रो हुन्थ्यो नि ! तर मञ्चमा प्रश्न सोधेको बेलामा मस्तिष्क किन डरायो ? किन प्रश्नको गहिराई समात्न सकेन ? किन मेरा उत्तरहरू हिउँ झैँ मस्तिष्कमै जमे ? किन म खाली भएँ ? रिस पनि उठेको छ आफैँसँग, किन गडगडाएर उत्तर दिन सकिनँ जसरी दिन सक्थेँ । यही कुरा मस्तिष्कमा घुमेकोले तीन दिनदेखि केही नयाँ विषय लेख्न सकेकी छैन, पढ्न थालेको नयाँ पुस्तक पढ्न पनि सकेकी छैन । र, पहिलोचोटि वक्ता भएर उभिएको समयको आफैँले आफ्नो समीक्षा गर्न थालेकी छु । आफूले दिएका उत्तरहरूलाई आफैँले नियाल्न थालेकी छु । आफैँले दिएको कुनै उत्तरले सन्तुष्टि मिल्यो त कुनैले असन्तुष्टि । यी प्रश्नहरूको उत्तर नदिएसम्म म अशान्त हुन्छु भन्ने पनि लाग्यो र म लेख्न थालेँ मनको गन्थन । शायद मैले छोड्नु पर्ने बाटो छिचोलेर अगाडि जानु छ । नयाँ विषय लेख्नु छ । नयाँ यात्रा गर्नु छ ।
आवाजविहीनहरूको आवाजलाई आज साँच्चै अनुभूत गरेकी छु । आवाज भएर पनि बोल्न नसक्नु कति पीडादायी हुने रहेछ भन्ने कुरा आफैँले अनुभव गरेकी छु । लामो समय आवाज बन्द हुँदा हुँदा बोल्ने अवसर मिल्दा पनि किन मान्छे बोल्न सक्दैन, बुझेकी छु । बोल्नु पर्ने स्थानमा आवाज हराउनुको सकस महसूस गरेकी छु । लेख्न जति सजिलो हुन्छ बोल्न उति नै कठीन हुने रहेछ भन्ने बोध गरेकी छु ।
लाग्थ्यो लेख्नभन्दा बोल्न निकै सजिलो हुन्छ तर म गलत रहेछु । आशा गर्छु, बोल्ने मञ्चहरू मिल्दै जाओस् । मेरा उत्तरहरू अब यसरी नजमुन् । आगामी दिनमा मञ्चमा सोधिएका प्रश्नका उत्तरहरूमा सलल बग्न सकूँ । अभ्यास नै त रहेछ अदम्य साहसको जननी । विश्वास गर्छु आफूलाई । विश्वास गर्छु अभ्यासमाथि । भनिन्छ, साहित्यिक महोत्सव फेसन मात्र हो । पहुँचवालाहरूको जमघट हो । पावरवालाको तामझाम हो तर म कसरी मानौँ यो कुरा । म जस्तो शिकारुलाई पनि अगाडि लगेर बोल्ने अवसर दिइएको छ । जिरी महोत्सव होस् या मातृभूमि साहित्य उत्सव, मैले धेरै कुरा सिक्ने अवसर पाएकी छु । म केही सिक्न जान्न हिँडेकी यात्री हुँ ।
सगरमाथाको यात्रा पहिलो पाइला बिना सम्भव छैन भन्ने ज्ञान बिर्सिँदै गएको आजको समयमा मलाई दुई महोत्सवले ठूलो अवसर दियो । मञ्चमा प्रश्न सुन्ने कलासम्म थाहा नभएको मान्छेलाई वक्ता बनाएर लैजाने आँट गर्यो । मैले पनि बोल्ने साहस गरेँ । मलाई लाग्थ्यो, हामीले बहसमा सुन्दै आएका अनुभवी मान्छेहरू पनि किन सोधिएको प्रश्नलाई छोडेर विषयभन्दा अन्तै अन्तै हराउँछ ? किन सोधिएको विषयमा केन्द्रित भएर उत्तर दिन सक्दैनन् ? आज लाग्दै छ, कोठामा बसेर लेख्नु र सभामा गएर बोल्नु फरक कुरा रहेछ । सक्छु जस्तो लागेको कुरा पनि बडो बोझिलो हुँदो रहेछ । कतिपय बहसमा सुनेकी छु प्रश्नको किनार छोडेर हराएको । धन्यवाद छ आयोजनहरूलाई जसले नयाँ व्यक्तिलाई महोत्सवमा सहभागी हुने अवसर दियो ।
पहिलोचोटि पुस्तक पढेर समीक्षा गर्दा कति त्रास थियो यो मनमा त्यो कुरा भुलेकी छैन । अवसर नै अनुभवको जननी रहेछ थाहा पाएकी छु । नमन गर्छु अग्रजहरूलाई जसले मलाई विश्वासको आँखाले हेर्नुभयो । पहिलोचोटि साहित्यिक जमघटमा राधिका कल्पित दिदीले औँला समातेर बाहिर ल्याउनु भएको पल स्मरण गर्दै छु । ठूला ठूला कुरा त सबैले गर्छन् तर सानो कुराले कसैको जीवनमा कति ठूलो परिवर्तन आउँछ भन्ने कुरालाई मैले बुझेकी छु । सिद्धान्तमा मात्र होइन सतहमै गएर अभ्यास गराउनु सानो कुरा होइन । ज्ञानु अधिकारी म्यामले पहिलोचोटि आफ्नो पुस्तकमा बोल्ने अवसर दिनुभयो, अनि पो आँट आयो र बोल्न सिक्दै गएँ । सिद्धान्त लेखेर मात्र हुँदैन रहेछ, ती सिद्धान्त त व्यवहारमा अभ्यास गराउन सुक्नुपर्ने रहेछ । स्मरण गर्छु सावित्री कक्षपति म्यामलाई, मलाई भन्नुहुन्छ, “बच्चाको तोते बोली कति मीठो हुन्छ । बच्चाले ‘म लोती खान्छु भन्छ’ तर हामीले बुझ्छौँ उसले रोटीको कुरा गर्दै छ । त्यसैले मौका दिनुपर्छ नयाँलाई ।”
गोविन्दराज भट्टराई सर हिम्मतको मल हाल्न भुल्नुहुन्न कुपोषित बिरुवालाई । अशेष मल्ल आशिषको हात उचाल्नुहुन्छ नवबोलीलाई । प्रतीक ढकाल हिम्मतको गोडा उचालेर बोल्न प्रेरित गर्नुहुन्छ । साथीहरू, आदरणीय गुरुहरू हिम्मत बनेर ममा आँट भरेको स्मरण गरेकी छु । यतिखेर सकारात्मक ऊर्जाको शक्ति कस्तो हुन्छ मलाई राम्रोसँग थाहा छ ।
हेटौँडामा पहिलोचोटि वक्ताको रूपमा मञ्चमा बसेकी छु । मन केही अशान्त छ । कस्तो प्रश्न आउला र त्यो प्रश्नलाई कसरी समाधान गरौँला भन्ने एक किसिमको छटपटी छ । प्रश्न आउट भएको छैन । विषय छ ‘नारी स्रष्टाका सिर्जनामा पुरुष अभिव्यक्ति’ । सोचेकी छु नारीहरूले लेख्ने सिर्जनामा पुरुषहरूलाई कसरी, कुन रूपमा र कस्तो कस्तो पात्रको रूपमा चित्रण गर्दै आएका छन् । मनले एउटा विशाल चित्र बनाएको छ । करीब ५० वटा नारी स्रष्टाले लेखेका कृतिहरू त पढिसकेकी छु । नारी स्रष्टाका कृतिहरूमा विविध विषय समेटिएका छन् थाहा छ । धेरै कुरा लेखिएका छन् अनेक पुस्तकमा । अझ कयौँ कुरा लेखिन बाँकी छन्, त्यो पनि थाहा छ । समयको माग अनुसार साहित्य सिर्जना हुँदै जान्छ, थाहा छ ।
‘शिरीषको फूल’को सुयोगवीरदेखि ‘अग्निगर्भा’का पुरुष पात्रसम्म आइपुग्दा अनेक वाद र धार भएर नारी स्रष्टाका कलम अगाडि बढेका छन् । आदर्शवादी धारदेखि उत्तराअधुनिक धारसम्म पढेकी छु । नारी स्रष्टाले लेखेका अनेक कृतिहरूमा समग्रताको सुगन्ध पाएकी छु । विविधताको महक भेटेकी छु । बानिरा गिरीका कलमले लेखेका संरचनागत पुरुष पात्रहरूको मानसिक दरिद्रता देखेकी छु । शोषक, दमनकारी, नियन्त्रणकारी, प्रभुत्वशाली, हिंसात्मक पुरुष पात्रहरूलाई आफ्नो सिर्जनामा ल्याएको पाएकी छु ।
माया ठकुरी, भागीरथी श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, ईल्या भट्टराई, सुलोचना मानन्धर र पद्मावती सिंह लगायतका कथाकारहरूले पुरुष अभिव्यक्तिलाई न्याय गरेका छन् । पुरुष अभिव्यक्ति पृथक् पृथक् रूपमा आएका छन् । कहिले पुरुष अभिव्यक्ति सहयोगी, संवेदनशील, सहयात्रीका रूपमा प्रकट भएका छन् त कहिलेकाहीँ आक्रामक, दमनकारी, नियन्त्रणकारी, अपराधी, बलात्कारी र हिंसात्मक रूपमा आएका छन् । सामाजिक संरचनाको स्वरूपका आधारमा आफ्नो प्रभुत्व देखाएका छन् । मनोवैज्ञानिक स्वरूपका अनेक पक्षबाट पुरुष अभिव्यक्ति नारी स्रष्टाका सिर्जनामा आएका छन् । नारी स्रष्टाहरू समयको धारमा बग्दै लेखन क्षेत्रलाई व्यापक बनाउँदै आएका छन् । समय, भोगाइ र चेतना स्तर अनुसार नारी स्रष्टाले आफ्नो आवाज पनि फेर्दै आएको छ ।
यसरी हेर्दा पूर्ववर्ती र उत्तरवर्ती चरणमा नारी स्रष्टाले लेखेका सिर्जनाहरू शक्तिशाली छन् । मैले पढेका कृतिहरूकै धरातलमा उभिएर बोल्दा पनि गर्वले छाती फुल्छ मेरो । के लेखेका छैनन् र नारीहरूले ? सिङ्गो इतिहास लेखेका छन् यति छोटो समयमा । आदर्शोन्मुख सामाजिक यथार्थवादी धारमा उभिएदेखि शक्तिशाली साहित्य सिर्जना गरेका छन् । सामाजिक यथार्थवादी धार, अस्तित्ववादी, विसङ्गतिवादी, प्रगतिवादी, मनोवैज्ञानिक, प्रयोगवादी धार हुँदै आजको यो बहुलवादी धारमा आइपुगेका छन् ।
नारी स्रष्टाका सिर्जनामा ‘प्रशान्तको तीरै तीर’देखि ‘प्रणाम सगरमाथा’सम्म उक्लिएको छ । शारदा शर्माको ‘ताप’देखि, ‘त्यो दिन’सम्म समेटिएको छ । राधा पौडेलको ‘खलङ्गामा हमला’ले बेग्लै छाप छोडेको छ । किरण आचार्यका मिथकीय पात्रहरूदेखि ‘महायुग’सम्म हाँसेको छ । पूर्वको ‘आतोओडा’देखि तराईको ‘सनेस’सम्म बाँडिएको छ । जापान बसाइका जीवन भोगाइ, रोजगारीको अवस्था, सम्बन्ध, समय र विदेशी भूमिमा नेपालीहरूको सङ्घर्षलाई ‘फिलिङ्गो’देखि ‘आत्महत्याको जङ्गल’सम्म ल्याएर समेटेकी छन् प्रभाले । उमा सुवेदी ‘तोदा’, ‘इति’, ‘सयौँ पुतली’देखि ‘परिधि’सम्मको फराकिलो आकाशमा छुटै पहिचान छर्दै छिन् ।
‘डोहोडोहो डोल्पो’देखि प्रियसँगको सम्बन्ध गाँसेकी छन् रञ्जुले भने अर्कातिर भवानीको ‘घामभन्दा पहिले’ कुदेकी छन् ‘चारखोलाको आँगनी’ हुँदै, डोल्पातिर । डोल्पोलाई आकाशको भोटो ओढाउन सफल भएकी छन् । नीलमले युद्धदेखि महायुद्धका विषय समेट्दै ‘योगमाया’, ‘द्रौपदी अवशेष’, ‘चीरहरण’देखि ‘राजमाता’सम्मका इतिहास ल्याएर सोच्न बाध्य पारिदिएको छन् नारी लेखनको शक्ति कतिसम्म छ भनेर ।
मलाई त यस्तो लाग्दै छ, नारीका लेखन साँच्चै जीवन्त छन् । संवेदनशील छन् । आँशु कमजोरी हैन तर यान्त्रिकतालाई ईश्वर ठान्दै हिँडेका समूहहरू आँशुको उपहास गर्छन् । नारीका लेखनीमा आँशुको महासागर छ भन्दै हेयको तराजु समाउनेहरू पनि आँशु नै लुकाएर खम्बीर हौँ भन्दै छाती फुकाए पनि अँध्यारोमा त आँशु नै पोख्छन् । आँशु कमजोरी होइन आँशु त शक्ति हो जसले सिर्जनाको मूल फुटाउँछ । जीवन बोध गराउँछु । मान्छेबाट आँशु र हाँसो खोसेर त हेर संसार कस्तो हुन्छ ? रोबटहरू मात्र आँशु र हाँसोको मर्म बुझ्दैनन् । के संवेदनाविहीन साहित्यको के अर्थ ! म गर्व गर्छु म आँशु, पीडा र मुस्कान मन पराउँछु ।
नारी स्रष्टाको कलम आँशुदेखि अनुवादसम्म फैलिएको छ । सिर्जनादेखि समालोचनासम्म समेटिएको छ । देशदेखि विदेशसम्म पुगेको छ । वैदेशिक रोजगारीले निम्त्याएका कथा र व्यथादेखि घरभित्रका अनेकौँ कथाहरू गर्वले पस्किएका छन् । वाददेखि वादी समुदायको जीवन चित्रभित्र पुरुष अभिव्यक्तिलाई बडो सन्तुलित तवरले सजाएका छन् । नाटकदेखि नथियाभित्रका पीडाहरू अनुगुञ्जित भएका छन् । बागी सारङ्गी गाउँदै हिँडेकी सरस्वती ‘स्व’मार्फत् सन्तुष्टि, शान्ति र स्वाभिमानसम्मका विषयमा अटाएकी छन् । जातीय, लैङ्गिक र सीमान्तकृत सौन्दर्यको कसीमा कति नारी स्रष्टा सफल भएका छन् ।
‘याम्बुनेर’देखि ‘दर्ज्यु संलाप’ले सजीव चित्र बोकेर इतिहास रचेको छ । ‘सम्मोहन’देखि ‘तुइन जिन्दगी’ले नयाँ कथा ल्याएको छ । ‘विप्लवी’देखि ‘एकादेश’ हुँदै ‘अर्को देश’का कथा समेटिएकी छिन् उता सानु शर्माले । ‘ह्वाइट केन’देखि ‘वल्कीको डायरी’ हुँदै गौचन ‘प्रतिवहन’मा सलल बगेकी छन् । युरोप यात्राका संस्मरणदेखि, जीवनको ‘अभिनन्दन’ गर्दै हातमा असार उमार्ने नारी स्रष्टा मुस्कुराएका छन् विश्वविद्यालयमा । समीक्षा, समालोचनादेखि अध्ययन, अनुसन्धान र अनुवादमा मात्र हैन विनिर्माणमा पनि कलम चलाउँदै छन् । भत्काउँदै छन् महाआख्यान ।
रुद्रघण्टी छाम्दै हिँडेका गायत्रीहरू ‘क्रमशः’लाई आधार बनाउँदै प्रश्न छोड्न सफल भएका छन् । ‘देह उत्सव’देखि ‘उज्यालो औँसी’ देख्ने नारी स्रष्टा ‘प्याउली’ झैँ बाँचेका छन् । ‘मिसर’देखि ‘दक्षिणायन’ हुँदै एक जोर आँखाबाट संवेदनाको समायोग रच्न सफल छन् । ‘पथरै पथरको देश’ डुलेर ‘बरफका कोइला’ समेट्दै अन्तर्मनका रङहरू केलाउन पछि पर्दैनन् नारी स्रष्टाहरू । ‘विगत र बाडुली’मा बसेर ‘अनायोजित’को आनन्द लिँदै बेग्लै फूल टिप्न पछि पर्दैनन् । ‘लेखककी स्वास्नी’ले अस्तित्वको लहरालाई ‘थाङ्ग्रा’ बनाएर पहिचानको दुन्दुभि बजाउँदै छिन् । ‘कठपुतली’मा उभिएर ‘अनन्त: यन्त्रणा’ झिक्दै झुमरमा बसेर उज्यालो अन्धकार पनि छिचोल्ने स्रष्टाहरूलाई अझ पनि शङ्काको दृष्टिमा राख्न पछि पर्दैन सत्ता र शक्ति । नारी स्रष्टाहरू आज पनि उच्च आवाजमा भन्दै छन् – प्रश्नहरू त अझ बाँकी नै छन् …
यसरी हेर्दा नारी स्रष्टाहरूका साहित्य सिर्जनामा म गागरमा सागर देख्छु तर समयको एकलौटी आँखाले सागरमा पनि गागर भेट्न सक्दैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










