अनिता कोइराला
जीवित मूर्तिहरूसँग के खोज्छौ सत्यका कुरा ?
कान भएका यी बहिराहरूसँग कति गर्छौ न्यायका कुरा ?
कति गर्छौ अपमानका कुरा, कति गर्छौ भावनाका कुरा ?
ग्यास च्याम्बरका यी उदण्ड नाइकेहरूसँग, कति गर्छौ मानवताका कुरा ?
कति गर्छौ शान्तिका सुमधुर कुरा, कति बाँड्छौ चेतनशील कुरा
मानवको खोल भिरेर हिँडेको यी राक्षसहरूसँग कति गर्छौ सत्मार्गका सारगर्भित कुरा ?
आमा बेच्ने दलालहरूसँग कति गर्छौ अस्मिता र अस्तित्वको कुरा ?
छोरीको करणी गरेर लाज छोप्नेहरूसँग कति गर्छौ गरिमा र स्वाभिमानका कुरा ?
कति झार्छौ यी निर्दोष आँसुहरू संवेदना हराएको उजाड बस्तीमा?
कति खोज्छौ धर्मलाई तिमी दु:शासनको गस्तीमा,
बिर्सियौ तिमीले ? विदुरको नीति पनि लाचार थियो दुर्योधनको मस्तीमा।
बरु आऊ, तालिम लिएर बस- गोला र बारुदको !
सशक्त बन तिमी प्रतिकार गर्न
उठाऊ भाला र तरबार अनि गरिदेऊ प्रहार
बिर्सिदेऊ संगीत र त्यो दिव्यज्ञान
आऊ ! सवार गर बाघको, विगुल फुक युद्धको।
फोडिदेऊ न्यायालय, भत्काइदेऊ विद्यालय
गिद्दहरूको बस्तीमा, किन चाहियो ज्ञान ?
मासुका यी भोका ब्वाँसाहरूलाई किन चाहियो विवेक, किन चाहियो न्याय ?
पुछिदेऊ सोह्रशृङ्गार, भिर नरमुन्डको माला, देखाइदेऊ क्रोधको ज्वाला !
छ्प्काइदेऊ ! तिम्रो अस्मितासँग खेलबाड गर्न खोज्ने यी किच्चकहरूको भीडलाई
लगाऊ तिलक रगतको, उठाऊ खुँडा, गरिदेऊ वध महिषासुरहरूको
देखाइदेऊ नारी शक्ति र सामर्थ्य
गरिदेऊ शंखनाद विद्रोहको !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।