काठमाडौं । उपन्यासकार अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’ माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कलमका साथी साहित्यिक समूहले उपन्यास प्रकाशनको एक वर्ष पूरा भएको अवसरमा काठमाडौंमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा समीक्षक सुधा शर्माले कोइरालाको उपन्यासमा स्वैरकल्पना र यथार्थको सुन्दर संयोजन पाइने बताउँदै उपन्यास जीवनका विविध पक्षको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयाे । “उपन्यासमा प्रयुक्त स्वैरकल्पनाले पाठकलाई बेग्लै संसारमा पुर्याउँछ,” उहाँले भन्नुभयाे ।
समीक्षक उत्तम ढुंगेलले उपन्यासलाई यथार्थ र कल्पनाको फ्युजनका रूपमा व्याख्या गर्दै कृति सशक्त रहेको धारणा राख्नुभयाे । कोइरालाको उपन्यासमा शोध गर्दै आउनुभएकी तारा आचार्यले उज्यालो औँसी ले आफूलाई भित्रैसम्म छोएको बताउँदै उपन्यासमा आफ्नै कथा भेटेको अनुभव सुनाउनुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले उपन्यासमा नवीनता रहेको र यसमा म्याजिक रियालिज्मको स्वाद पाइने बताउनुभयाे । “कृतिमा समाजको जीवनचरित्र सजीव रूपमा अभिव्यक्त भएको छ,” उहाँले भन्नुभयाे ।
त्यस्तै, प्रा.डा. कुमार कोइरालाले उपन्यासका विभिन्न पक्षमाथि समीक्षात्मक चर्चा गर्नुभयाे । कार्यक्रममा साहित्यकार गीता रेग्मी, शरद प्रधान, श्रीओम रोदन, भवानी खतिवडा, धीरेन्द्र प्रेमर्षि, भारती न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कृतिकार अनिता कोइरालाले उपन्यास लेखनको आफ्नै अनुभव र उद्देश्यबारे धारणा व्यक्त गर्दै पाठक र समीक्षकप्रति आभार प्रकट गर्नुभयाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










