म फूल
मलाई न्याय देऊ प्रकृति !
यहाँ मेरो सुगन्ध लुटिएको छ
यहाँ मेरो रङ्गमाथि
गिद्धे नजर लगाउनेहरू नै
मालीको जिम्मेवारीमा छन्
मेरो सुवास बारुदको गन्धबिच
तिरस्कृत भएको छ
मेरो सौन्दर्य आणविक शस्त्रहरूको
सजावटबिच अस्वीकृत भएको छ
उनीहरूले प्लास्टिकको फूल
घरघरमा सजाउँदै गर्दा
मेरा पत्रदल घामको किरण खोजिरहेछन्
मेरा जरा पानीको एक थोपा सिँचाइ पर्खिरहेछन्
हिमालको अस्तित्व नै निलौँलाझैँ गरी
हाँसिरहेछन् मेरा घाउहरू
पहाडका छाती चिर्दै डोजरले
छाडेको हुङ्कार मेरो घाउको
अट्टाहास जस्तो लाग्छ
साँध, सिमाना, शक्ति र सत्ताको नाममा
पृथ्वीका कुनाकुना बज्रिरहेका
बारुदी क्षेप्यास्त्रका गोलाहरूले
मेरो घाउहरूको क्षेत्रफल विस्तार गरिरहेछन्
अतिक्रमित मेरा पत्रदलहरू
अस्तित्व सङ्कटको संहारमा छन् …
मेरो जरामा सलबलाइरहने गड्यौलाहरू
मेरो सौन्दर्यमा झुमिरहने पुतलीहरू
मेरा पत्रदलमा आफ्नो जीवन खोज्दै
घुमिरहने माहुरीहरू
सबैसँगको भेटघाट ओजोनतहझैँ
पातलिँदै गइरहेछ अचेल ….
मैले सधैँ पर्खिरहने प्रिय वसन्ती याम
अचेल आफूसँगै लिएर आउँछ
ग्रीष्मको उकुसमुकुस
मैले पर्खिरहने प्रिय वर्षा ऋतु
कहिले उजाड उद्यान मानौँ हेरी मात्र बस्छ
कहिले मेरो आँत पनि भिजाउन नसक्ने गरी वर्षन्छ
कहिले म फुल्ने उद्यान समेत बगाएर लैजाने गरी
मानौँ भेलबाढी पठाउँछ मविरुद्ध …
प्रकृति ..! तिम्रो यो अनियमित उच्छवास
मलाई पोलिरहेछ …
प्रिय मानव
तिम्रा करेसाबारीमा
आँगनका डिलमा
म हाँस्न छाडेँ भने
सम्झनु विजय मेरा घाउहरूको भएछ …!
नझर्दै मेरा पातहरू, नमुर्झाउँदै मेरा पत्रदल
रोक्यौ भने प्लास्टिकको प्रहार
छेक्यौ भने बारुदको वर्षा
रोक्यौ भने माटोमा विषादीको वमन
प्रकृति मारेर गर्ने विकास यदि रोक्यौ भने
अवश्य त्यसबखत
मेरो घाउ होइन म हाँस्नेछु
खिलखिलाउँदै नाच्नेछन् मेरा पत्रदल
तिम्रो भविष्य बनी
फैलिनेछन् परिवेशभरि मेरा अङ्कुरणहरू
मेरो सुवासले जब तिम्रा आँगन मग्मगाउनेछ
तिम्रो अस्तित्व जग्मगाउनेछ
त्यसबखत सम्झनु विजय आफ्नै भएछ …।
कथङ्कदाचित् यदि मेरो घाउ विजयी भएछ भने
सम्झनु हार म फूलको होइन
तिमी मानवकै भएछ
यो हार र जितको सङ्घर्ष पक्कै होइन
यो त विनाश र अस्तित्व रक्षाको
त्यो चरण हो
जहाँबाट मानवीय विवेकको
अन्तिम परीक्षण हुन्छ …।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 









