मनिराम कडेल

मनिराम कडेल

 

प्रिय फूल
आऊ मलाई पनि फुल्न सिकाइदेऊ
म पनि तिमीजस्तै फुल्न चाहन्छु
मलाई पनि चुमुन् पुतली र मौरीहरूले
मलाई पनि टिपुन् कसैले
र प्रेमको उपहार मानेर दिऊन्
जसरी दिन्छन् प्रिय फूल प्रिय मान्छेलाई

म पनि छर्न चाहन्छु
तिमीले जस्तै सुगन्ध
प्रिय फूल आऊ मलाई बास्ना छर्न सिकाइदेऊ
म पनि बन्न सकुँ कसैको मुस्कानको कारण
कसैको मिलनको प्रतीक
कसैको मायाको चिनो
कसैको सम्झना…
कसैको जीवन जत्तिकै प्रिय
प्रिय मन र प्रिय सबथोक

प्रिय फूल मलाई पनि पाउन मन छ
तिम्रो जस्तै चान्चल्य
तिम्रो जस्तै सौन्दर्य
आऊ मलाई जिन्दगीको त्यो पाठ सिकाइदेऊ
कसरी सकिन्छ
निस्फिक्री फक्रन र फैलन
कसरी सकिन्छ त्यो सौन्दर्य फुलाउन

प्रिय फूल
कत्ति फरक छ तिमी र ममा
तिमी चुँडिन्छ्यौ र सजिन्छ्यौ
म चुँडिन्छु र सकिन्छु
मलाई पनि सजिन मन छ

प्रिय फूल आऊ मलाई पनि
काँडाहरूमाझ हाँस्न सिकाइदेऊ
मलाई पनि तिमीजस्तै
बाँच्न सिकाइदेऊ।