कथास्था – इन्द्रबहादुर राई

लेखक इन्द्रबहादुर राईको कथा सङ्ग्रह हो ‘कथास्था’ । पुस्तकमा कथा खण्डमा इन्द्रबहादुरको नौँ ओटा कथा समाबेश छन भने आस्था खण्डमा तेस्रो आयाम बारे लेखिएको छ ।

”विपना कतिपयदेखि कथास्थासम्म कथाकार श्री इन्द्रबहादुर राईमा एउटा विशिष्ट विकासक्रम विलक्षित छ ।”  पुस्तकमा राजनारायण प्रधान लेख्नुहुन्छ, ”अघि उनी टर्नर, कन्स्टबल जस्ता नेचरलिस्ट पेन्टर थिए, अहिले उनी आधुनिक चित्रकलाका समयोगी छन् । रातभरि हुरी चल्यो मलाई लागेको सर्वोत्तम कथा थियो, त्यो कथा अझ पढ्दा गस्ताफ कुर्बेको वा एन्ड्रय बाइथको पेन्टिङ हेरेको जस्तो छातीभरि बल र हर्ष उक्सेर आउँछ, विस्तृत विपना र बेहोराहरूले त्यसरी लट्ठ पारेको हुन्छ हामीलाई । उनको कहानी-कला विकास-पथमा एकोहोरो लम्केको देख्छौं, विकासपथ स्वतन्त्र र प्रशस्त छ । यहाँ सङ्कलित कथाहरू अर्कै कित्ताका हुन्, विषयवस्तु र शिल्पका दृष्टिले उच्चतर सोपानमा अवस्थित छन् । अघिल्ला कथाहरू आयामिक लेखनका प्राथमिक अवस्थाका हुन्, जहाँ जीवनको विशुद्धतामा विशेष आग्रह छ । जीवनको निक्खर अनुभूति असाधारणतामा होइन, साधारणतामा छ । एउटा दिनको सामान्यतामा जीवनानुभूतिको खोज छ । एउटा घटना साधारणतापूर्वक बितेको छ, एउटा सामान्य दिनको आन्तरिकता छ । सानोभन्दा सानो अनुभूतिस साधारणभन्दा साधारण स्थिति, जीवनको लघुतम क्षणलाई यस कथाले रचनात्मक सन्दर्भमा प्रस्तुत गरेर सार्थकता प्रदान गरेको छ । यो कथा जीवन जस्तै सहज र अकृत्रिम र यसैले सपाट र घटनाहीन छ । आयामिकहरू जीवनवादी हुन्छन्, जीवनको अनुभूतिवादी भनौ । आदर्शहरूले ओढेको जीवन निक्खर होइन । प्रकृति जीवन प्रकृत टिस्टा जस्तै हुन्छ, हामीलाई लाग्छ (कथाको पृष्ठभूमि पनि टिस्टा छ यहाँ खीर-मा) । यसलाई तुच्छ देखाउने आदर्शहरू हुन् जुन जीवनलाई (जीवनको अनुभूतिलाई) नकरण गर्ने हुन् । उनीहरूले पकाएको ‘चिनी हालेको गुलियो दूधभात मात्र’ भएको खीर हाम्रो जीवन जस्तो रहेछ । जीवनलाई यसरी पो बाँच्नुपर्ने, जीवनलाई उसरी पो काममा लगाउनुपर्ने, प्रयोग गर्नुपर्ने भन्ने थुप्रै थुप्रै आदर्शहरू हाम्रा मनभरि छन् तर साँच्चैमा बाँच्दाका भूल, अपुग र भत्कोसहरूले नछोड्ने हाम्रो यो यथार्थ जीवन तिनीहरूकै खीर जस्तो भइरहन्छ जुन तिनीहरूले कुरा गरेको आदर्श खीरको व्यङ्ग्य जस्तो मात्र थियो। सबै आदर्शहरू नष्ट भएपछि पनि मानिसको मानिसता सि‌ङ्गो नै रहनेछ। आदर्शहरू एक एक गर्दै सबै ढल्दै जान्छन्, राष्ट्रियतास सङ्घरित्रता, साहित्यिकता सबै ढल्दै जान्छन् तरै पनि जीवन फाटेको टालो हुँदैन ।”

पुस्तकलाई इम्प्रिन्ट पब्लिशर्स प्रा.लि.ले बजारमा ल्याएको हो । एक सय आठ पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय ९९ रुपियाँ रहेको छ ।