साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई  कगत पाँच दशकदेखि निरन्तर नेपाली, हिन्दी, मारवाडी भाषाका कवि, कथाकार तथा व्यङ्ग्यकार लक्ष्मण नेवटियाको कवितासङ्ग्रह “व्यङ्ग्यधाम” प्राप्त भएको छ ।

२ सय ५९ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘आफ्नो आङको भैँसी नहेर’, ‘वाह कवाली ! क्या कवाली !’, ‘जगाउने प्राण त दिनुस्’, ‘दूधमा पानी कि पानीमा दूध’, ‘घोषणापत्र’, ‘घडी र चोर’, ‘बिजुली उवाच’, ‘मानिसबाट सावधान’, ‘ढुकढुकी कविता’, ‘बल्ल समय भेटाएँ’, ‘उडाउने नै उडाउने’, ‘रनभुल्ल’, ‘नरिसाउनु भानु’, ‘अक्षरको डर’, ‘जँड्याहा… सच्चा राष्ट्रवादी’लगायत १ सय ८५ थान हास्यव्यङ्ग्य कविता समावेश छन् ।

व्यङ्ग्यधाम

व्यङ्ग्यधाम

बालकृष्ण पोखरेल  लेख्छन्, “श्री लक्ष्मण नेवटिया छोटा कवितामा चित्रात्मक गेयता निकै पाइन्छ । आफ्ना कवितालाई जीवन्तता प्रदान गर्न उनले प्रयोग गरेको हास्यव्यङ्ग्य ज्यादै उपयुक्त हुन पुगेको छ ।”

रामकुमार पाँडे लेख्छन्, “नेवटियाका कविता सुनका जस्ता मूल्यवान् मात्र हैन गहनाका सुन्दर डिजाइन जस्ता कल्पनाशील पनि छन् । भनाइमा टुक्काको हनाइ जस्तै छ भने पात्र र परिवेश पनि ट्वाक्कटुक्क पारेर पाक्कपुक्क हानेके हुन्छन् । प्रत्येक कविताको सन्दर्भ र कथावस्तु आफ्नै र सटीक छन् । उनको कविता एकनासे नभएर केही प्रयोग पनि देखिन्छ ।”

चट्याङ मास्टर लेख्छन्, “४० वर्ष लामो लगातारको अभ्यास पछि पानीले त ढुङ्गामा प्वाल पर्छ भने लक्ष्मण नेवटियाको हास्यव्यङ्ग्यले कतिको मुटु प्वाल पार्यो र कतिको मुटुमा मलम दल्यो होला ? हाम्रो समाजमा भइरहेका गतिविधिको सूक्ष्म अध्ययन गरी समाजलाई सुझाव दिनु हास्यव्यङ्ग्य रचनाकारको धर्म हो जो उहाँले व्यङ्ग्यधाममा राम्रोसँग निर्वाह गर्नु भएको छ । त्यसैले म यो व्यङ्ग्यधामलाई हातमा उचाल्दै ‘जिन्दावाद’को नारा लगाउँछु । व्यङ्ग्यधामको – जय जय जय ।”

मञ्जरी पब्लिकेशन प्रा.लि. बाट प्रकाशित पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।