साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई विविध लेखरचनासङ्ग्रह  “सिर्जनशील किशोर पहाडी” प्राप्त भएकाे छ ।

सुसेली साहित्यिक प्रतिष्ठानद्वारा प्रकाशित यस पुस्तकको सम्पादक डा. शेखरकुमार श्रेष्ठ हुनुहुन्छ ।

पुस्तकमा ‘किशोर पहाडी’, ‘संस्मरण’, ‘पत्रपत्रिकामा किशोर’, ‘कवितामा किशोर’, ‘कथा समालोचना’, ‘अनूदित कथा समालोचना’, ‘बालकथा समालोचना’, ‘कविता समालोचना’, ‘अन्तर्वार्ता’, ‘पुस्तक समीक्षा’, ‘भूमिका लेखन’, ‘विविध’ र ‘तस्बिरमा किशोर पहाडी’सहित १२ खण्ड समावेश छन् ।

“किशोर पहाडी पनि मान्छे हुन् । उनमा मानिसको गुण छ । मानवीय भावना छ । मानिस बुझ्ने क्षमता छ । मानिसले गर्न सक्ने र गर्नुपर्ने कामको ज्ञान छ । मानिसले गर्ने काम गरेका छन् । कर्मशील बनेका छन् । तर उनका काम धेरै मानिसले गर्ने जस्ता एक नभई अनेक छन् । अनेकमा रमाउने, भिज्ने दक्षता देखाउने खुबी छ । यसैका कारण पहाडी बालबालिकाका लागि बालकथाकार, रङ्गमञ्च र टेलिचलचित्रमा लाग्ने र हेर्नेका लागि कलाकार(अभिनेता), अनुवाद गर्नेका बिचमा अनुवादक, कार्यक्रम निर्माण गर्नेका साथमा निर्माता, सम्पादकहरूका बिचमा सम्पादक, निबन्धकारको समूहमा निबन्धकार, कवि, नाटककार, कथाकारका बिचमा कवि, नाटककार, कथाकार र भूमिका लेखक पनि हुन् ।” सम्पादकीयमा लेखिएको छ, “त्यति मात्र होइन उनी पत्रकारका बिचमा साहित्यिक पत्रकार, कुशल फोटोग्राफर, साहित्यका सामग्री सङ्कलन गर्नेका बिचमा सङ्कलक पनि हुन् । उनी अग्रजका लागि सम्मान दिने शिष्य र अनुजका लागि मा र्गदर्शक र उत्प्रेरक पनि हुन् । उनी साहित्यको विस्तार, साहित्यिक कार्यक्रमको आयोजक, समाजसेवी व्यक्तित्व हुन् । उनी साहित्यका समुद्र, नदी र पानीका थोपा हुन्  चाकरीचाप्लुसीलाई परिवार, समाज, देश र साहित्यकारको भिडबाट हटाउनुपर्ने सोच भएका व्यक्तित्व हुन् ।”

४ सय ९६ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य १ हजार रुपियाँ रहेको छ ।