जुन जस्तो तारा हुन्न, तारा जस्तो जुन हुन्न
आफ्ना दुःख आफैँ राख, कसैसँग रुन हुन्न।

यहाँ जति रोए पनि माछापुच्छ्रे अग्लिँदैन
बगाऊँ आँसु हिमनदीको, मर्दी हिमाल पग्लिँदैन ।
डाली बस्ने वनचरीको कहाँ हुन्छ र घर-ठेगाना
कहाँ खोज्न सकिन्छ र आजभोलि समवेदना ?

भोग्दै जाँदा जिन्दगानी यस्तो लाग्छ घरीघरी
कहाँ फुल्नु, कहाँ पलाउनु, मेरो लागि सुनाखरी ?
साइत छोपी जानेहरू अब कहिल्यै फर्किँदैनन्
आफ्नो-आफ्नो बाटो लाग्छन्, पर्खिँदा नि पर्खिँदैनन् ।