विद्यालयबाट फर्किएको छोराको अनुहार निकै अँध्यारो देखेपछि दीनबन्धु भित्रबाट थरर काँपे । पत्नी सुलेखाको पनि होसले ठाउँ छोड्यो । निकै भयभित हुँदै बिछ्यौनामा बसेर छोराको कपाल सुम्सुम्याउन लागे । मनमा अनेक आशंका उत्पन्न भए – कुनै केटीसित छुट्टापाट्टा भयो कि ? ग्याङ्गफाइट पो भयो कि अथवा शिक्षकले सबैसामु पिटे —। आफ्नो झोँकमा केही अन्यथा नहोस भनेर उमेशको ध्यान हटाउन सोधे, ” सुलु, मेरो छोरो भोकायो कि क्या हो कुनै मीठो खाजा पकाइदे न ।” बाबुले यत्ति भनेको के थियो, उमेशले कराउँदै भन्यो,”खान्न खाजासाजा ।”
उनीहरू झनै सशंकित हुँदै सोधे, “के भयो बाबु, सन्चो भएन कि ?”
उमेशले भन्यो, “कस्तो धर्म मान्दा रहेछौँ हामीले । केवल पाखण्ड र अन्धविश्वासले भरिएको ।”
सुलेखा रिसाउँदै भनिन्, ” होइन के भन्छ यसले ? कसरी पाखण्ड भयो ?”
“अनि त्यो ढुङ्गा पूजा ठीक हो त ?”
दीनबन्धुले पुत्रको आशय केही भिन्न भएको बुझे अनि शान्तिको श्वास फेर्दै भने, “छोरा , ब्रह्माण्डको उत्पत्ति ऊर्जा अर्थात् शक्ति, एनर्जी र म्याटर मिलेर बनेको हो ?”
“यो पो हो सही कुरो ।” उमेशले खुशी हुँदै भन्यो ।
“सांख्यले यसैलाई संस्कृत शब्दमा प्रकृति र पुरुष भन्छ । अनि कुनै महान् वैज्ञानिकले ऊर्जा र म्याटर अन्त्यमा एकै हुन् पनि भनेका छन होइन छोरा ?”
“हजुर । तर प्रमाणित भने भएको छैन ।”
भगवान कृष्णले गीतामा म नै प्रकृति हुँ अर्थात् परम तत्त्व हुँ र म नै ब्रह्म हुँ, भन्नुभएको छ । म्याटर र एनर्जी एउटै हो वा स्वयम् परमसत्ता हो, भन्नुभएको छ । जब सबै एउटै हो भने मूर्ति अर्थात् ढुङ्गा पूजा गर्नु परम सत्ताको पूजा गर्नु भएन र ? व्यक्ति ज्ञानीले निराकार स्वरुपको चिन्तन गर्छ भने साधारण व्यक्ति जसले ज्ञानविज्ञान बुझ्न सक्दैन, उसले सद्गुण साकाररूपको भन्नाले मूर्तिको पूजा गर्छ । तर तैँले आज किन यस्तो भनिस्, बाबु ?”
” क्षमा पाऊँ बुबा । मैले यति स्पष्टसँग बुझेको थिइनँ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










