१. कृतज्ञता
“कसैको सहयोगबिना नै उहाँले मुद्दा जित्नुभयो, भिनाजु !” यसो भन्दा बहिनीको स्वरमा पुरानै दम्भ र रन्को फर्किएको थियो । उनले पुनः थपिन्, “मेरो श्रीमान् त साह्रै शक्तिशाली हुनुहुँदो रहेछ !”
प्रोफेसर साहेब मुसुक्क हाँसे मात्र । केही महिनाअघि त्यही बैठक कोठामा आर्तनाद सुनिएको थियो । टेबुलमुनिबाट छिरेका दामले ठड्याएको काठमाडौँको आलिशान महल र रवाफ अख्तियारको एउटै छापाले गल्र्यामगुर्लुम ढलेको थियो । बैंक खाता रोक्का भएपछि त्यहाँ भोक र छटपटीको तुँवालो मडारिएको थियो ।
त्यसबेला प्रोफेसर साहेबले आफ्ना पुराना दुई विद्यार्थी, जो अहिले न्याय र प्रशासनका शीर्ष आसनमा थिए, तिनैलाई एकान्तमा भेटेका थिए । ती उच्चाधिकारीले आफ्ना गुरुको सादगी र निष्ठासामु शिर झुकाउँदै भनेका थिए, “सर, हजुरले हामीलाई अक्षर मात्र होइन, जीवन सिकाउनुभयो । यो न्यायको धर्म सङ्कटमा हामी हजुरको गुन तिर्नेछौँ, यसलाई ’गुरुदक्षिणा’ मानिदिनुहोला ।”
समयको चक्र फेरियो । अन्धकार हटेपछि बहिनीका आँखामा फेरि अहङ्कारको पट्टी बाँधियो । उनले आफ्नै दिदी–भिनाजुलाई सामान्य र असहाय देख्न थालिन् । उनलाई लाग्यो, यो त श्रीमानकै शक्तिको प्रताप हो ।
उनको तुच्छ टिप्पणी सुनेपछि प्रोफेसरले आफ्नी श्रीमती (दिदी) तिर हेरे, जसका आँखामा बहिनीको सङ्कीर्णताप्रति दया थियो ।
फोन राखिसकेपछि प्रोफेसरले शान्त भावमा भने, “संसारमा सबैभन्दा गरुङ्गो भारी ’कृतज्ञता’ नै रहेछ, जुन बोक्न सबैको काँधले सक्दैन !”
===
२. शून्य
“को हो त्यहाँ, फेरि हाँगा नै निमोठ्ने ?”
वृद्धको थकित स्वर गेटभित्रैबाट गुन्जियो । बाहिर सडकमा हातमा रातो थुँगा च्यापेकी एउटी महिला झसङ्ग भइन् । उनले केही बोलिनन्, पाइला मात्रै चालिन् ।
नेपालगन्जको त्यो प्रचण्ड रापमा सारा सहर तिर्खाले व्याकुल थियो । तर, यो महलको मूलद्वारमा लहराइरहेको त्यो पुष्प–पुञ्ज भने वैशाखको तातो लूमा पनि टहटह हाँसिरहेको हुन्थ्यो । बटुवाहरूलाई शीतलता दिने र देवालयलाई सुगन्ध दिने त्यो एउटै सहारा थियो ।
तर, सहरको श्रद्धामा स्वार्थ मिसियो । बिस्तारै पर्खाल बाहिर झुलेका फूलहरू हराए । त्यसपछि पातहरू लुछिए । मानौँ, मानिसहरू भगवानलाई प्रसन्न पार्न प्रकृतिको घाँटी रेट्न तयार थिए । वृद्ध दम्पतिले गेटमा एउटा विनम्र अनुनय टाँसे– ’फूल टिपे पनि हाँगा नभाँच्नुस्, भोलिलाई पनि फुल्न दिनुस् ।’
त्यो सूचना केवल कागजको टुक्रा बन्यो । सभ्यताको खडेरी परेको सहरमा मानिसले अक्षर पढ्न त जाने, तर अर्थ बुझ्न चाहेनन् । बिस्तारै हाँगा भाँचिए, लहरा लत्रिए । केही समयमै त्यो हरियो मुस्कान खैरो मरुभूमिमा परिणत भयो ।
आज मन्दिरका मूर्तिहरू ओइलाएका छन् । महलको आँगनमा मौनता मात्र फक्रिएको छ । त्यही उजाड ठुटोलाई सुम्सुम्याउँदै वृद्धले पत्नीतिर हेरेर लामो सुस्केरा हाले ।
“किन यस्तो भयो होला बुढा ?” पत्नीले आँसु पुछिन् ।
वृद्धले शून्यमा हेर्दै बोले, “आस्थामा लालच मिसिए, त्यहाँ भगवान् त के खुसी हुन्थे होला, तर मानवता र फूल दुवै सुक्दा रहेछन् ।”
===
३. अदृश्य तराजु
“श्रीमान्, फाइल त तयार छ, तर प्रमाणको जग अलि कमजोर देखिन्छ नि ?“ स्टेनोले मधुरो स्वरमा भन्यो ।
नवनियुक्त न्यायाधीशले चश्माको डाँडी मिलाउँदै मुस्कुराएर जवाफ दिए, “समय नै सबैभन्दा ठुलो प्रमाण हो । बिसौँ वर्ष अल्झिएका मुद्दालाई अब अक्षरको जालोमा थुनेर राख्नु हुँदैन । न्याय ढिलो हुनु भनेको न्याय नदिनु नै हो ।”
सपथ ग्रहणको त्यो दृढ स्वर अदालतका भित्ताहरूमा गुन्जिरहेको थियो । वर्षौँदेखि तारिखका पाना पल्टाउँदा–पल्टाउँदा चाउरिएका अनुहारहरूमा एकाएक चमक फर्कियो । न्यायाधीशको कार्यशैली बिजुलीको गतिमा थियो । हिजोसम्म कुहिने अवस्थामा पुगेका पुराना मिसिलहरू आज धमाधम ’फैसला’ को छाप खाँदै थिए । जनताले जयजयकार गरे– “लामो प्रतीक्षाको अन्त्य भयो, न्याय पलायो !”
एउटा कार्यशालामा उनले मातहतका सबैलाई कडा निर्देशन दिए, “हामी आधुनिक युगका सारथी हौँ, परिणाम तत्काल देखिनुपर्छ ।”
तर, यो उत्साहको आकाशमा तब काला बादल मडारिए, जब ’फास्ट ट्रयाक’ को नाममा शृङ्खलाबद्ध अनौठा फैसलाहरू बाहिरिन थाले । जिल्लाले थुनामा राखेका लागुऔषधका नाइकेहरू फूलमाला लगाएर बाहिर निस्किए । बस्ती नै शोकमग्न हुने गरी बलात्कार र हत्यामा संलग्न कुख्यात अपराधीले ’सफाइ’ पाएको समाचारले सहर स्तब्ध भयो ।
अदालतको बार्दलीमा उभिएका ती न्यायाधिशलाई स्टेनोले डराउँदै सोध्यो, “श्रीमान्, पीडितको आँसु भन्दा अपराधीको खुसी किन छिटो देखियो ?“
न्यायाधीशले बाहिर पार्किङमा रहेको महँगो गाडीतर्फ सङ्केत गर्दै सुस्तरी भने, “छिटो न्याय सम्पादनको इन्धन नै यस्तै ’उपहार’ त हुन् नि, बुझ्यौ ?”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










