अबेला उठ्ने मेरो बानीले सबै साथीहरू वाक्क-दिक्क थिए मसँग । साथीहरू, आमाबुबा एवं मेरी पत्नीसमेत बेला-बेलामा नरिसाउने होइनन् । तर मेरो बानीले भने सुध्रिने नामै लिन्नथ्यो । नढाँटी भन्नुपर्दा म आफै आफ्नो बानीसँग आजित थिएँ । कतिपय महत्त्वपूर्ण कार्यहरू मैले समयमा पूर्ण गर्न सक्दिनथें । न त महत्त्वपूर्ण बैठकमा समयमै पुग्न सक्थें । अड्डामा त केही पटक चेतावनी समेत पाएको थिएँ भने साथीहरूले अबेला आउनेमा मेरो नाम अग्रपंक्तिमा राखेका थिए ।

विदेश गएका साथीहरूले लगभग सबै छुट्टीमा कहिले समुद्रको किनारामा त कहिले जंगलमा गएर कट्टु लगाएर लोभलाग्दा फोटा फेसबुकमा हालेको देख्दा नेपाल बसेका हामी सबैलाई लोभ लाग्ने गर्थ्यो । अझ उनीहरूसँग केटी साथीहरू पनि कम लुगामा देख्दा त मनै लोभिन्थ्यो । क्या स्वतन्त्र भएर एकअर्कालाई अँगाल्थे । आफ्नो त स्वास्नीलाई हेर्न पनि सबैका आँखा-कान छलेर कोठाभित्र छिरेको बेला पार्नुपर्ने । उनीहरूसित तुलना गर्दा लाग्थ्यो, ‘क्या मस्ती जिन्दगी छ विदेशमा ! आफू त उही मेथी-चम्सुर, उही मुंगको दाल । नेपालमा यो पुरानो दिक्कलाग्दो चलन कहिल्यै फेरिने भएन ।’ एक्लो छोरो हुनुको पीडाले मन धरधरी रुने गर्थ्यो । यसबाट म मात्र नभएर अरू साथीहरू पनि पीडित थिए ।

एक दिन हामी चिया पिइरहेका बेला एउटा साथीले कुरा झिकिहाल्यो, “हाम्रा बिदेसिएका साथीहरू कति रमाउँछन् । कति हाँसीखुशी छन् । हामी भने सधैं उही अड्डा, उही काम है । अड्डामा दिक्क भएर घर फर्क्यो । शान्तिसित बसौंला भन्ने सोच्यो । तर घरमा झन् ठूलो दिक्दारी पर्खिएर बसेको हुन्छ । कहिलेकाहीं त कहाँ मर्न जाऊँ जस्तो लाग्छ ।”

उसको कुराले हामी सबैको मन छोयो । हाम्रो मन खिन्न पनि भयो । सबैको हालत समग्रमा यस्तै यस्तै थियो । सबै साथी आफ्नो दैनिकीबाट केही पर गएर रमाउने विचार गर्‍यौं । यसबारे छलफल गर्न लाग्यौं । कसैले वनभोज भने, कसैले तीर्थ त कसैले पहाड घुम्ने विचार राखे ।

मैले भनें, “हामी सधैं नेताहरूले विकास गरेनन् भन्छौं । हामीले पनि हाम्रातर्फबाट केही गरौं न ।”

सबैले ओठ लेप्र्याउँदै भने, “होइन के जादु गर्ने योजना छ रवि तिम्रो ? राज्यसत्ताले गर्न नसकेको कुन काम गर्ने विचार छ ? हामी पनि थाहा पाऊँ न हाम्रो नेता साथीको योजना ।”

मैले भनें, “हामी हाम्रो बाँकेको आकर्षण बढाऊँ । यहाँको राष्ट्रिय निकुञ्जमा पनि त अनेक बाघ एवं जनावर छन् । बाघ र जंगली जनावर हेर्न अन्य जिल्लामा टाढा-टाढा जानुभन्दा आफ्नो घर नजिकैको जंगलमा सफारी गर्ने शुरुवात हामी आफैबाट गरौँ । के थाहा, हाम्रो यो पाइला सबैका लागि अनुकरणीय पो हुन्छ कि ?”

सबै साथीहरू एकाएक उफ्रिएर खुशी भए । एउटाले भन्यो, “भोलि शनिवार छ । भोलि नै जाऊँ । शुभ कार्यमा किन ढिलो गर्ने ? डुलौं, घुमौं अनि हेरौं, यसको प्रभाव कस्तो हुन्छ !”

अर्को साथीले भन्यो, “विदेशको आनन्द यहीं प्राप्त हुन्छ ।”

सबैले भोलि नै जाने निर्णय गर्‍यौं।

भोलिपल्ट सबै मेरो बानीले थर्कमान थिए । आज पनि मेरै कारण अबेला हुने निश्चित थियो । बिहान ६ बजे वीरेन्द्रचोकमा भेट्ने सल्लाहअनुसार सबैजना त्यहाँ गए । उनीहरू मलाई खोज्न यताउता हेर्दै थिए । तर त्यहाँ सबैभन्दा पहिले मलाई नै उपस्थित देखे ।

मलाई देख्नेबित्तिकै साथीहरू फेरि खुशीले उफ्रिएर भने, “आजको साइत राम्रो हुने भयो ।” हामी सबै निकै उत्साहित भयौं ।

कोहलपुरसम्म आफ्नो गाडीमा गयौं । अघिल्लो दिन नै हाम्रो साथीमध्येको एकको साथी सेनाको हाकिम भएर त्यहाँ सरुवा भएको रहेछ । उनले हाम्रो योजनामा निकै खुशी भएर सहमति जनाए र हामीलाई सहयोग गर्न प्रतिबद्ध भए । करिब साढे ६ बजेतिर हामी सेनाको क्याम्पमा पुग्यौं । त्यहाँ गएर देख्यौं – हाकिमसाहेबले सफारी गर्ने गाडी तयार पारिदिएका रहेछन् । तीनवटा गाडी थिए । हाम्रा साथीहरूमध्ये कतिपयले त जंगल नजिकबाट देखेका पनि रहेनछन् । बाघ देख्ने त कुरै छाडौं ।

त्यसो त हामी सबैले चिडियाघर फोटो र टेलिभिजनमा त देखेका थियौं । यसरी प्राकृतिक रूपमा बाघकै बसोबासमा देख्ने कुरा त हुँदै भएन । गाडी चढ्नुअघि सेनाका हाकिमले हामीलाई आफ्नो क्याम्पमा टन्न नास्ता खुवाए । मासुका अनेक परिकार थिए । हरिण र बनेलको मासु पनि थियो । सबैले पहिलो पटक चाख्यौं । जंगली जनावरको मासु यसरी कहिल्यै खाएका रहेनछौँ हामीले ? खाइन्छ भन्ने सोच पनि थिएन ।  कति स्वादिष्ट कति ! सबैले अघाउन्जेल खायौं किनभने जंगलमा खान पाउने कुरो भएन । त्यसपछि हाम्रो प्रतीक्षाको क्षण समाप्त भयो । बडो उत्साहका साथ सबैजना गाडीमा चढ्यौं ।

हाम्रो सुरक्षाका लागि अगाडि सेनाको गाडी, बीचमा हाम्रा तीनवटा गाडी र त्यसपछि अन्त्यमा फेरि सेनाको गाडी थियो । गाडी पनि विशेष थियो । बसको जस्तो सिट तर पछाडिका सिट नढाकिएका ता कि वनको वातावरण राम्ररी अवलोकन गर्न सकियोस्। वन प्रवेश गर्ने बित्तिकै शीतल बतासले हामीलाई स्वागत गर्न लाग्यो । गर्मीले आजित हामी तराईवासीका निम्ति जंगलबाट एकाएक आएको शीतल बतास साँच्चिकै अद्भुत आनन्ददायी थियो ।

गाडीको गति पनि खासै तीव्र थिएन । कतिपय साथीले आआफ्ना सर्टको टाँक समेत खोलेर हावाको आनन्द लिए । यदाकदा हरिणहरूका झुण्ड देखा पर्थे त कतै बाह्रसिंगे । कसैका भर्खरै टुसाउन सिङ लागेका । हामी आआफ्ना मोबाइल फोन झिकेर फोटो खिचाउन लाग्यौं । हरिण नजिक गए भाग्ने हुनाले सेल्फी खिच्यौं । यसरी आफ्नो क्षेत्रमा मानव प्रवेश भएको देखेर उनीहरू पनि अचम्ममा परे होलान् । भागाभाग गरे ।

अलि पर पुगेपछि बाँदर देखिए । चालकले आफूसित प्रशस्त केरा लिएर गएका थिए । उनले जंगलमा फ्याँके । ती बाँदरहरूले आएर खोसाखोस गरेर खान लागे । यो दृश्य देखेर हामी खुब रमायौं । केही लज्जित पनि भयौं । जानकारी भएको भए हामीले पनि केही फलफूल ल्याइदिने थियौं । केरा खाइसकेपछि बाँदरहरू रुख-रुखमा यो डालीदेखि उ डाली गर्दै हामीलाई आफ्नो कला प्रदर्शन गर्न लागे । त्यसपछि हाम्रो गाडी अगाडि बढ्यो ।

चालकले हामीलाई झाडीमा केही भएको इशारा गरे । हाम्रो आवाजले जंगली जनावर डराएर भाग्ने हुँदा सबैले बिस्तारै कुरा गर्थ्यौं, त्यसमा पनि जनावर देखिए त खस्याकखुसुक कुरा गर्थ्यौं । हामीले यसो नुहेर हेर्‍यौं । त्यहाँ त मयूरका ताँती पो रहेछन् । एउटा मयूर त आफ्नो प्वाँख फैलाएर नाचिरहेको । यो दृश्यले हामी झनै रोमान्चित भयौं । अनेक प्रकारका साना-ठूला वृक्षले र नौलो प्रकारको मोहक दृश्यले झन् झन् आनन्दित तुल्याइरह्यो ।

हाम्रो गाडी आफ्नै गतिमा अगाडि बढ्दै गयो । अहिलेको दृश्यले भने हामीलाई केही चिन्तित बनायो । घना जंगलको बीचमा खाली खाली थियो । त्यो देखेर शिशिरले भन्यो, “हेर, तस्करहरूले सारा राष्ट्रिय निकुन्ज मासे भन्थे । साँच्चै रहेछ ।”

अर्को साथीले भन्यो, “यही वन र बाघ संरक्षण गरेबापत विश्व वन्यजन्तु संरक्षण संस्थाले हाम्रो देशलाई वर्षेनी अर्बौं रुपियाँ दिन्छ । तस्करहरूको यस्तो गतिविधि थाहा पाए के हुन्छ ?”

अर्को साथीले थप्यो, “पुराना रुख काटे पनि नयाँ बिरुवा रोप्नु नि । कति अपराधी हुन्, आफूले कमाए, पुग्यो। राष्ट्रको के वास्ता !”

मैले भनें, “यी खाली ठाउँमा सालको रुख रोपेको भए पछि आखिर सबैलाई काम लाग्थ्यो ।”

अर्कोले भन्यो, “चन्दन काठको मूल्य त सुनजस्तो महँगो हुन्छ भन्छन् । त्यही चन्दन रोपे त हाम्रो देश कति धनी हुन्थ्यो होला !”

अर्को साथीले भन्यो, “जडीबुटी लगाए पनि त त्यत्तिकै मूल्य पाइन्थ्यो नि ।” सरकार, तस्कर र कर्मचारीको आलोचना गर्दागर्दै हामी कतिखेर वनको मध्यभागमा पुग्यौं, थाहै भएन ।

एकाएक हाम्रो गाडीको पाङ्ग्रा पन्चर भयो । फुसुसु हावा निस्किएर गयो । हामी सबैले सोच्यौं कि अतिरिक्त पाङ्ग्रा जोडे त भैगयो । चालकतिर हेर्‍यौं । उनी स्थिर थिए । सोध्यौं ।

उनले भने, “मेरो गाडीमा मर्मत गर्ने औजार छैन । बिहान बिग्रिएको छ कि छैन भनेर जाँच गर्दा पछाडिको गाडीमा नै छोडिएछ । उनीहरू आउँदैछन्, त्यसपछि फेरौंला हजुर ।”

अब पछाडि आइरहेको सेनाको अर्को गाडीलाई कुर्नेबाहेक अरू केही उपाय भएन । हामी अघिका दुइटा गाडी अगाडि नै कुदिसकेका रहेछन् । पछाडि रहेको सेनाको गाडी खोइ के कामले अलि पछाडि पर्‍यो । ‘के गर्ने के गर्ने’ भनेर हामी सोचिरहेका थियौं, एकजना साथीले भन्यो, “यहाँ यत्तिकै बस्नुभन्दा त तल ओर्लिएर नाचौं बरु । आखिर रमाउने आएका हौं यहाँ ।”

त्यसमा सबैको सहमति भयो । हामी गाडीबाट ओर्लिन लाग्यौं । तत्काल चालकले भन्यो, “सर हिजो मात्र चितवनमा भएको एउटा बाघले मान्छे खाने भएपछि यहाँ ल्याएर छोडेको छ । यो ठाउँ अलि खतरनाक छ । गाडीमै सुरक्षित बसौं ।”

उसका कुराले हामी सबै डरायौं । ओहो ! कहीं त्यो बाघ आउने त होइन ? हामी सबै त्रसितप्रायः भयौं । तर आफूलाई निर्भीक देखाउन पनि पछि परेनौं । केही बेर कुर्यौं । तर पछाडिको गाडी आएन । हामीले रमाइलो गर्न भनेर रक्सी र बियरका बोतलहरू लगेका थियौं ।

साथीले भन्यो, “साथी, जिन्दगीको भरोसा छैन । हामी मर्यौं भने यो रक्सी खेर जान्छ । त्यसैले अहिले नै खाइहालौं ।”

हामी सबै एकैपटक हाँस्यौं । सबैको चित्त बुझ्यो । हाम्रो साथी शिशिरले आँखा झिम्काउँदै भन्यो, “विदेशमा भएको भए सबैको एकएकवटी केटी साथी हुन्थे । यहाँ त के गर्नु र ! स्वदेश पर्‍यो ।”

सबैजना मरीमरी हाँस्यौं । धेरै बेरदेखि चुप लागेर बसेको सुधीरले भन्यो, “हाम्रो सभ्यताको विशेषता नै सन्तुलन हो ।”
हामी सबै एकैपटक हाँस्यौं र भन्यौं, “ए दार्शनिक साथी ! यहाँ हामी रमाइलो गर्न आएका हौं क्या, दर्शन पढ्न होइन ।”

सुधीर पनि हाँस्न लाग्यो । ओपनरले बोतल खोलेर सबैले खायौं । बडो आनन्द आयो । आज त घर परिवारदेखि पर कोही रोक्ने र टोक्ने पनि थिएन । सबै स्वतन्त्र । आनन्द नै आनन्द । यत्तिकैमा पर हात्तीको झुन्ड देखा पर्‍यो । म खुशी हुँदै कराएँ, “आहा ! हात्तीको झुन्ड ।”

हामी सबैले भन्यौं – आज हात्ती नजिकैबाट देख्न पाइने भयो । सबैले फोटो खिच्न मोबाइल झिके तर सेनाको चालक डराउन लाग्यो । उसले चेतावनी दिंदै भन्यो, “यी जंगली हात्ती हुन् हजुर । यिनीहरूले त हाम्रो गाडीलाई सहजै ढालिदिन्छन् अनि मान्छेलाई कुल्चेर मार्छन् । बरु सकेजति चाँडो त्यहाँ रहेको त्रिपालले आफू नजिकको कुनामा राम्ररी बाँध्नुहोस् । यसो गर्दा हात्तीले हामीलाई क्षति पुर्‍याउन केही बेर हुन सक्छ । त्यतिबेरमा हाम्रो अर्को गाडी आउन सक्छ ।”

हामी सबै डराउन लाग्यौं । डरले थरथरी काँप्दै चालकले भनेजस्तै गर्‍यौं । चोक्टा खान गएका हामी झोलमा डुब्यौं । अब के गर्ने ? गाडीबाट भागेर जाऔँ बाघले मार्ला भन्ने डर ! गाडीमा बसौं भने पनि हात्तीले मार्ने निश्चित । सबैको होसहवास उड्यो । लगलगी काँप्न लाग्यौं । सबै जना माता बागेश्वरीलाई पुकार्न लाग्यौं । कसैले आफ्ना कुलदेवता त कसैले पशुपतिनाथ । कोही रुन कराउन लागे।

मैले सेनाका प्रमुखलाई फोन गर्ने प्रयास गरें । जंगलमा नेटवर्कले समाते पो ! चालकले पनि अनेक प्रयास गर्‍यो । तर खोइ किन उसकोबाट पनि लागेन । हामीले एकपटक अवस्था बुझ्न पाल थोरै उठाएर चिहाएर हेर्‍यौं- हात्तीहरू लमक-लमक गरेर हामीतिरै सोझिइरहेका थिए । अब भने सबै रुन लाग्यौं । गणेश भगवानको शिर हात्तीको जस्तो भएकाले कतिले भगवान् गणेशको प्रार्थना गर्‍यौं तर यी त जंगली जनावर थिए । हात्तीहरू हाम्रो नजिक थिए भने हामी कालको नजिक भइरहेका थियौं । हात्तीहरू प्रसन्न मुद्रामा थिए भने हामी आतङ्कित अवस्थामा । उनीहरू विजेता, हामी पराजित राज्यका नागरिक ।

मुटुका धड्कन बढे । अब के गर्ने ? कुनै उपाय छैन । डराएर हामी सबै एकअर्कासित टाँसिएर बस्यौं । सोच्यौं – मरे पनि सँगै मरौंला । त्यत्तिकैमा हात्तीहरू दौडादौड पो गर्न लागे । हामी झन् आत्तियौं काल दौडिएको जस्तो लागेर । यत्तिकैमा देख्यौं – हात्तीहरूको पछि त मान्छे खाने बाघ पो आएको रहेछ !

अब त झन् बर्बाद भयो । दुईजना साथी बेहोस भए । मेरो पनि हालत झन् बिग्रियो । होसमा भएकाले आँखा चिम्लिनेबाहेक कुनै उपाय भएन । यत्तिकैमा हाम्रो पालमा केही हलचल भएजस्तो लाग्यो । कसैले पाल एकाएक झ्वाट्ट तान्यो । बिस्तारै आँखा उठाएर हेरें – बाघले पो झम्टिन लागेको ! मेरो मुखबाट एकाएक आवाज आयो, “मार्‍यो !”

यत्तिकैमा मेरो हातमा रहेको रक्सीबोतलको तल्लो भाग फुटाएँ । जसै बाघ मतिर झम्टियो, उसले बाएको मुखमा  फुटेको बोतल कोचिदिएँ । डरले आँखा चिम्लिएँ । अनि आफ्नो मृत्यु कुरेर बसें । एकछिन बित्यो । बाघले केही गरेन । अलि बेर भयो, तैपनि झम्टिएन । खोइ किन बाघको आवाज केही पर भएजस्तो लाग्यो । निश्चित गर्नलाई बिस्तारै आँखा खोलेर हेरें – बाघ त्यहाँ थिएन । त्यो त कराउँदै दौडिरहेको थियो । एकाएक एउटा गोलीको आवाज आयो ।

गाडीमा मृत्यु कुह्रेर बसिरहेका हामीले कुनै मानवस्वर सुन्यौं, “सरहरू नआत्तिनुस् । हामीले बाघ मार्‍यौं ।”

हामीले शान्तिको श्वास फेर्‍यौं । गाडी बनाएर चालकले दौडायो । अलि पर सुरक्षित स्थानमा पुगेपछि मेरो मोबाइलको घण्टी बज्यो । उठाएँ । साथीको रहेछ ।

उसले गुनासो गर्दै थियो, “हेर, बेइमानहरू आफू आफू मात्र जंगल सफारीमा गएका । भनेको भए हामी पनि त जान्थ्यौं नि ।”
सुधीरको पनि फोनको घण्टी बज्यो । उसले पनि उठायो। उसको विदेशी साथी अंग्रेजीमा भन्दै थियो, “हामीलाई पनि जंगल सफारी गराऊ न है ।”

भृकुटीनगर, नेपालगंज