काठमाडौँ । गायक तथा स्रष्टा शम्भुकुमार मिलनका नाममा स्थापित शम्भु–निर्मला कला–साहित्य समाज, काठमाडौँले प्रदान गर्दै आएको ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८२’ यस वर्ष साहित्यतर्फ समालोचक, कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी र गीतसङ्गीततर्फ गायिका मीरा राणालाई प्रदान गरेको छ ।
कीर्तिशेष शम्भुकुमार मिलनको पाँचौँ स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित सम्मान समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा साहित्यकार गङ्गाप्रसाद उप्रेतीले जनही नगद २१ हजार एक सय २१ रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान अर्पण गर्नुभएको हो । कार्यक्रममा प्रा.डा. त्रिपाठी सम्मान ग्रहण गर्दा उहाँकी धर्मपत्नी गीता त्रिपाठी पनि सहभागी हुनुहुन्थ्यो ।
समारोहमा प्रमुख अतिथि उप्रेतीले सम्मानित दुवै प्रतिभा नेपाली साहित्य र गीतसङ्गीतका उच्च शिखर भएको उल्लेख गर्नुभयो । विशिष्ट अतिथि डा. विष्णुविभु घिमिरेले प्रा.डा. त्रिपाठीले नेपाली भाषा–साहित्यको मानकीकरणमा र मीरा राणाले नेपाली गीतसङ्गीतको उन्नयनमा पुर्याएको योगदानको स्मरण गर्नुभयो ।
प्रा.डा. त्रिपाठीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य–सचिव प्रा. जगत्प्रसाद उपाध्यायले उहाँ सिर्जना, समालोचना, भाषा, व्याकरण, शब्दकोश, पाठ्यक्रम, दर्शन र साहित्येतिहासलगायत बहुआयामिक क्षेत्रका विशिष्ट विद्वान् भएको धारणा राख्नुभयो । त्यसैगरी, मीरा राणाको परिचय प्रस्तुत गर्दै गायक तथा सङ्गीतकार डा. टीका भण्डारीले उहाँको गायनकला, सङ्गीत चेतना, बहुभाषिक क्षमता र प्रशासनिक दक्षताको प्रशंसा गर्नुभयो ।
सम्मान ग्रहणपछि प्रा.डा. त्रिपाठीले समयले साथ दिएसम्म अधुरा बौद्धिक कर्म पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो भने मीरा राणाले गायक शम्भुकुमार मिलनसँगको साङ्गीतिक सहकार्य स्मरण गर्दै आजीवन नेपाली मौलिक गीतसङ्गीतको उन्नयनमा समर्पित रहने प्रण गर्नुभयो ।
संस्थाकी संरक्षक निर्मला रेग्मीले सम्मानलाई निरन्तरता दिँदै राष्ट्रका गौरवपूर्ण स्रष्टाहरूलाई उजागर गर्ने लक्ष्य संस्थाले लिएको बताउनुभयो । सभाध्यक्ष तथा संस्थाका अध्यक्ष प्रा.डा. देवी नेपालले २०८० सालमा भैरव रिसाल, २०८१ सालमा वैरागी काइँला र ईश्वर अमात्य तथा यस वर्ष प्रा.डा. त्रिपाठी र मीरा राणालाई सम्मान गरिएको उल्लेख गर्दै, पाँच वर्ष पूरा भएपछि सम्मानित सबै प्रतिभाको जीवनी र कृतित्व समेटिएको बृहत् ग्रन्थ प्रकाशन गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा गायिका डा. सीता थापाले मीरा राणाको चर्चित गीत ‘तिमीलाई रुवाउने मेरो धोको हैन’ प्रस्तुत गर्नुभयो भने कवि प्रविज्ञा नेपालले प्रा.डा. त्रिपाठीद्वारा रचित ‘वीरपुर्खा’ कविता वाचन गर्नुभयो । साथै गायक शम्भुकुमार मिलनका अमर गीतहरू पनि प्रस्तुत गरिएका थिए ।
सूचना विभागको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा साहित्य, सङ्गीत र संस्कृतिका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 







