डा. सुदीप अधिकारी विगत लामो समयदेखि जापानस्थित विभिन्न नेपाली संघ संस्थाहरूमा क्रियाशील हुनुहुन्छ । चितवन रत्ननगर निवासी अधिकारीले इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङमा जापानबाटै विद्यावारिधि गर्नुभएको छ । डा. अधिकारी जापानकै च्युबु विश्वविद्यालयमा प्राध्यापकको रूपमा पनि संलग्न हुनुहुन्छ । उहाँकै सक्रियता र अध्यक्षतामा जापानमा सञ्चालनमा आएको नेपाली विद्यालयको सन्दर्भमा हामीले वहाँसँग केही कुराकानी गरेका छौँ ।

डा. सुदीप अधिकारी

विद्यालयको परिचयबाटै कुराकानीको शुरूवात गरौँ है त ।

– धन्यवाद शरदजी ! तोकाइ बाटिका इन्टरनेश्नल स्कुल जापानको नागोया शहर अन्तर्गत चिकिसा वार्डमा छ । हामीले यो आजभन्दा ४ वर्ष अगाडि स्थापना गरेका थियौँ । करीब १ दर्जन विद्यार्थीबाट अगाडि बढेका हामी आजको दिनसम्म आइपुग्दा हामी १०० भन्दा बढी विद्यार्थीहरूसँग छौं । नर्सरीदेखि ९ कक्षासम्म पठनपाठन भैरहेको छ भने कक्षा १२ सम्मको पढाइका लागि नेपालको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त भैसकेको छ । विद्यालयसम्मको सहजताका लागि दुई वटा गाडीको व्यवस्था गरेका छौँ ।

जापानी शिक्षा प्रणाली विश्वकै उदाहरणीय मानिन्छ तर जापान आइपुगेका हाम्रा नानीबाबुलाई जापानी शिक्षा प्रणालीबाट अलग गरी फेरि नेपाली पाठ्यक्रम प्रणाली नै किन आवश्यक भयो ?

– जापानी शिक्षा विश्वकै उदाहरणीय भए पनि, जापानमा बसोबास गर्ने नेपाली नानीबाबुलाई आफ्नै भाषा, संस्कृति र जीवनशैलीबारे जानकारी गराउन आवश्यक थियो । साथै, यदि उनीहरू कुनै कारणले नेपाल फर्कनु परेमा नेपाली पाठ्यक्रम वा समाजमा सहजै घुलमिल हुन सकून् भन्ने उद्देश्यले नेपाली पाठ्यक्रम आवश्यक ठहरियो ।

जापान जस्तो देशमा नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गराउनु कतिको चुनौतीपूर्ण रहेछ ?

–  जापान जस्तो देशमा नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गराउनु चुनौतीपूर्ण छ । आफ्ना नानीबाबुहरूलाई नेपाली विद्यालय पढाउनुपर्छ भन्ने भावनाको विकास अभिभावकहरूमा भएको पाइँदैन । खास गरी आमाबुबाहरूले आवश्यक मात्रामा समय दिन नसकिने अवस्था छ ।

त्यसै गरी नेपालको सामाजिक परिवेशलाई आधार मानेर तयार पारेको पाठ्यक्रम जापानको परिवेशमा लागू गर्नु अलि चुनौतीपूर्ण रहेको छ ।

जापानमा बसेर नेपाली भाषा, कला संस्कृति, रहनसहन र नेपाली प्रकृतिको पठनपाठन अलि बनावटी वा भनौं न केही न केही अधुरो अपुरो त हुन्छ नै, कि हुँदैन ? त्यस रिक्ततालाई यहाँका विद्यार्थीले कसरी पूरा गर्लान् त ?

– नेपालभन्दा धेरै परको देश जापानमा बस्दा पनि नेपाली भाषा कला, संस्कृति, रहनसहन र नेपाली प्रकृतिको बारेमा पठनपाठन गर्न पाउनु नेपाली विद्यार्थीको लागि भाग्यको कुरा हो । प्रत्यक्ष रूपमा नेपालमै नरहे पनि नेपालमै रहेको आभास दिलाउँदै शिक्षण कार्य गराउन तोकाई वाटिका इन्टरनेशन स्कुल सफल भएको छ । हामी नेपालकै प्रकृतिलाई प्रत्यक्ष अवलोकन गर्न नपाए पनि यहाँका प्राकृतिक सम्पदाहरूलाई देखाएर नेपालका प्रकृतिको श्रव्यदृश्य सामग्रीको माध्यमबाट शिक्षण गराउँदै आएका छौं । नेपालका चाडपर्वहरू पनि सबै मिलेर मनाउँदै आएका छौं भने बेलाबेलामा सांस्कृतिक पहिरनमा, सांस्कृतिक प्रदर्शन गराउने गर्छौं ।

विद्यार्थीहरूले नेपालबाट प्राप्त गर्ने पठनपाठन र यहाँबाट प्राप्त गर्ने शिक्षामा कुनै फरक नरहने गरी शिक्षा प्राप्त गर्ने सुविधा हामीले मिलाएका छौं ।

विद्यार्थीहरूमा हाम्रो देश, हाम्रो संस्कृति, हाम्रो भाषा र साहित्यप्रतिको प्रेम या लगाव के कस्तो पाउनुहुन्छ ?

– विद्यार्थीहरूमा हाम्रो देश, संस्कृति, भाषा र साहित्यप्रति एकदमै प्रेम रहेको छ । नेपाली भाषामा शिक्षण गराउन अभिभावकहरूमा पनि अति रुचि रहेको देखिन्छ । दिन प्रतिदिन आफ्ना नानीबाबुहरूलाई पढाउन नेपाली भाषाका विद्यालय खोज्दै आइरहनु भएको छ । यसबाट पनि हाम्रो देशको भाषा, संस्कृतिप्रति प्रेम रहेको पाउन सकिन्छ ।

विद्यार्थीहरूका अतिरिक्त क्रियाकलापलाई के कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

– विद्यार्थीहरूलाई नेपाली पाठ्यक्रम अनुसार सिकाइ सहजीकरण गर्नुका साथै विद्यार्थीको चाहना अनुसारको हप्तामा १/२ दिन अतिरिक्त क्रियाकलापलाई समय तालिका बनाई व्यवस्थापन गरिरहेका छौँ । नियमित रूपमा नृत्य र फुटबलका कक्षा र अभ्यास हुने गरेको छ । साथै अन्य समयमा पनि आवश्यकता अनुसार थप अतिरिक्त क्रियाकलाप सञ्चालन गरी विद्यार्थीको चौतर्फी विकास गराउने कार्यको व्यवस्था मिलाइरहेका छौँ ।

विद्यार्थीले जापानी समुदायबाट पनि केही सिक्न सक्छन् होला नि, विद्यालयले यो कुराको कसरी सहजीकरण गरिरहेको छ ?

– विद्यार्थीले जापानी समुदायबाट प्रत्यक्ष सिक्ने अभिप्रायले समय समयमा सामुदायिक शैक्षिक भ्रमण, समय समयमा जापानी विद्यालयमा लगेर सामूहिक अतिरिक्त क्रियाकलाप गरिरहेका छौँ, जसबाट हाम्रा विद्यार्थीले जापानको संस्कार र अनुशासन जस्तै: आफ्नो पालो कुर्ने, फोहोर व्यवस्थापन, अनुशासनमा बस्नु पर्ने, भेट हुँदा अभिवादन गर्नु पर्ने, अरूलाई असर गर्ने गरी ठूलो स्वरमा बोल्न नहुने, विनम्रताका साथ अभिवादन गर्नुपर्ने जस्ता असल संस्कारहरू सिकिरहेका छन् ।

विद्यालयले बालमनोविज्ञानलाई कसरी सम्बोधन गरिरहेको छ ? यस विषयमा शिक्षकहरूको सचेतनाको स्तरबारे पनि केही बताइदिनुहोस् न ।

– विद्यालयले बालबालिकाको मनोभावनालाई बुझेर विद्यार्थीको क्षमता अनुसार शिक्षण सहजीकरण गर्नुभएको छ । बालबालिकाको चाहना अनुसार श्रव्य, दृश्य, श्रव्यदृश्य सामग्रीको प्रयोग गरेर विभिन्न तरिकाले सिकाइ सहजीकरण गर्नुका साथै अतिरिक्त क्रियाकलापमा जोड दिनुभएकोले शिक्षकहरूमा राम्रो बाल मनोविज्ञानको ज्ञान रहेको छ ।

विद्यालयप्रति अभिभावकहरूको धारणा कस्तो पाउनुभएको छ ?

– अभिभावकहरू विद्यालयप्रति सकारात्मक र अत्यन्तै सन्तुष्ट हुनुहुन्छ । विदेशमा रहेर पनि आफ्नै देशको नेपाली पाठ्यक्रम अनुसार छोराछोरीलाई पढाउन पाउँदा धेरै खुशी लाग्छ’ भन्ने भावना उहाँहरूले बारम्बार व्यक्त गर्नुभएको छ । भविष्यमा नेपाल फर्कनुपरेमा आफ्ना नानीबाबुहरू नेपालमा रहेका बालबालिकासँग सहजै प्रतिस्पर्धा गर्न सकून् भन्ने अपेक्षा अभिभावकको अनुहारमै झल्किन्छ ।

समग्रमा, अभिभावकहरू अत्यन्तै खुशी र आशावादी हुनुहुन्छ भन्ने अनुभव हामीले पाएका छौँ ।

यहाँ आउने अधिकांश विद्यार्थीका अभिभावक अत्यन्त व्यस्त जीवन शैलीका हुनुहुन्छ । यसले विद्यालय र विद्यार्थीमा के कस्तो प्रभाव परिरहेको छ ?

– यहाँ आउनुभएका अधिकांश विद्यार्थीका अभिभावकहरू अत्यन्त व्यस्त जीवन शैलीका हुनुहुन्छ । उहाँहरूले आफ्ना नानीबाबुका लागि पूर्ण समय दिन सक्नुभएको छैन, जसको कारण शिक्षण प्रक्रिया प्रभावकारी हुन सकेको छैन । विद्यालय र अभिभावक बीच सहजीकरणको लागि विद्यालयले गृहकार्य डायरी र विद्यालय एप्लिकेसनको व्यवस्था गरेको छ । जसले गर्दा अभिभावक व्यस्त हुँदा पनि विद्यार्थीले घरमा गर्नुपर्ने काम सजिलै डायरी हेरेर गर्न वा आफ्ना नानीबाबुको प्रगति विवरण सजिलै विद्यालयको एप्लिकेसनमा हेर्न सक्नु हुनेछ ।

अब अन्तिम प्रश्न ! विद्यालयको नाममा `अन्तर्राष्ट्रिय ´ शब्द पनि छ । यो नाम मात्रै हो कि ? यसका केही अन्तर्राष्ट्रिय मापदण्डहरू पनि पूरा गर्नुभएको छ ? कुनै अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आबद्ध छ ?

– तोकाई वाटिका इन्टरनेसनल स्कूल नेपाली पाठ्यक्रममा आधारित, जापानी विषयलाई स्थानीय भाषा वा पाठ्यक्रमको रूपमा समावेश गरी अंग्रेजी माध्यमबाट शिक्षण गर्दै आएको शैक्षिक संस्था हो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार विद्यालयको भौतिक संरचना, खेलमैदान, कर्मचारी तथा स्थानीय जापानको शिक्षा विभागको परीक्षण पूरा गरी यो विद्यालयले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।

हाल विद्यालयले स्थानीय जापानी विद्यालयसँग सहकार्य गर्दै विभिन्न क्रियाकलापहरू सञ्चालन गरिरहेको छ भने, भविष्यमा अन्य अन्तर्राष्ट्रिय शैक्षिक संस्था वा विद्यालयसँग सहकार्य गरी आफ्नो कार्यक्रमलाई अझ विस्तार गर्ने योजना रहेको छ ।