
कवितामाथिको पहिलो रियालिटी सो “द पोइट आइडल” सम्पन्न भइसकेको छ । तर पोइट आइडलको मञ्चमा पुग्नु भएका कविहरूसँग कुराकानी गर्ने क्रम भने अझै केही समय चल्ने छ । कम्तीमा आइडलको उत्कृष्ट १४ (भोटिङ राउन्ड) सम्म पुग्न सफल सबै कविहरूसँग कुराकानी गर्ने हाम्रो योजना रहेको छ । तीमध्ये अब उपाधि विजेतासहित ५ जना कविहरूसँग कुराकानी गर्न बाँकी छ । सम्भव भएसम्म बाँकी रहनु भएका कविहरुको पनि अन्तरवार्ता हामी प्रस्तुत गर्दै जाने नै छौँ । पोइट आइडलको उपाधि भारत सिक्किमकी कवि नीलम गुरुङले जितिसक्नु भएको छ । अहिलेलाई भने पोइट आइडलको उत्कृष्ट ६ सम्म पुग्न सफल कैलालीकी कवि मुनु अधिकारीसँगको वार्तालाप प्रस्तुत गर्ने छु ।
पोइट आइडलको भोटिङ राउन्ड सुरु भएदेखि यता रेड जोन अर्थात् बटम टुमा सबैभन्दा धेरै पटक पर्ने कवि मुनु नै हो । उहाँ चार पटकसम्म रेड जोनमा पर्नुभएको थियो । भोटका आधारमा सबैभन्दा कम भोट प्राप्त गर्ने दुई कवि रेड जोनमा पर्ने गरेका थिए । तीन पटकसम्म त कविताको बलले कवि मुनुले आइडलको मञ्चमा आफ्नो यात्रा सुरक्षित राख्न सफल हुनु भएको थियो । चौथो पटक पनि रेड जोनमा परेपछि भने आइडलमा उहाँको यात्रा टुङ्गिएको हो । फेरि पनि १४/१५ सय कविहरूको भिडबाट उत्कृष्ट ६ सम्म आइपुग्नु आफैँमा ठुलो उपलब्धि मान्न पर्छ । त्यसको लागि उहाँलाई बधाई भन्नै पर्छ ।
कवि मुनुको जन्म २०५२ साल फागुन ०१ गते पाल्पामा भएको थियो । उहाँको स्थायी बसोबास सुखड कैलाली हो भने पछिल्लो ५ वर्षदेखि अध्ययनको सिलसिलामा उहाँ ललितपुरमा हुनुहुन्छ । उहाँ चार्टर्ड एकाउन्टेन्टको विद्यार्थी हुनुहुन्छ । परिवारमा उहाँ कान्छी छोरी हुनुहुन्छ । कविताबाहेक उहाँ कथा विधामा पनि कलम चलाउने गर्नुहुन्छ । सन् २०१७ अर्थात् विगत ६ वर्षदेखि उहाँ कवितासँगको सङ्गतमा हुनुहुन्छ । आफ्ना भोगाइहरूलाई बटुलेर पानामा छर्किने क्रममा कविता बने कि ? भन्ने उहाँलाई लाग्ने गर्छ । “कवितामा समाज अट्नु पर्छ र समाजमा कविता” उहाँ भन्नुहुन्छ ।
अब लागौँ कवि मुनु अधिकारीसँग पोइट आइडलसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंशतर्फ ।
कवितामाथिको पहिलो रियालिटी सो “द पोइट आइडल” सकिसकेको छ । तपाईं पनि उत्कृष्ट ६ सम्म पुग्नु भयो । आइडलको मञ्चबाट बाहिरिसके पछि अहिले के कस्ता प्रतिक्रियाहरू पाइरहनु भएको छ ?
– प्रतिक्रिया एकदम मिठो छ । मैले लेखेका कविताहरूमा आफूलाई पाउँछु भन्नु हुन्छ धेरै जनाले ।
१४/१५ सय कविहरूको भिडबाट कहिले कविताको बलले त कहिले भोटको साथले उत्कृष्ट ६ सम्म पुग्नु भयो । यहाँसम्मको आफ्नो यात्रालाई कसरी हेर्नुहुन्छ ?
– जीवनको सबैभन्दा बबाल यात्राको रूपमा हेरेकी छु । मैले जीवनलाई हेर्ने दृष्टिकोणलाई सुन्दर रूपमा परिवर्तन गरिदिएको छ यो यात्राले ।
पोइट आइडलको मञ्चमा सबैभन्दा धेरै चार पटकसम्म रेड जोन अर्थात् बटम टुम पर्ने कवि तपाईं हो । पहिले तीन पटकसम्म त कविताको सामर्थ्यले आफूलाई जोगाउनु भएको थियो । चौथो पटक पनि जोगाउन सकेको भए कम्तीमा फाइनलसम्म पुगिन्थ्यो । त्यति बेला एकसाथ चार जना रेड जोनमा परेका कारण तपाईं अलिक नर्भस हुनुभएको हो ?
– दिइएको विषय बारे, अल्ली धेरै कविताहरू लेखिसकेको थिएँ । त्यसैले शायद त्यो समयमा केही नौलो लेख्न सकिन होला जस्तो लाग्छ ।
“पहिले पनि तीन-तीन पटक रेड जोनमा परेर आफूलाई सुरक्षित राखेकै हो । अब पनि जोगिहाल्छु नि” भन्ने चाहिँ लागेन चौथो पटक रेड जोनमा पर्दै गर्दा ?
– त्यस्तो त लागेन । हरेक चोटिको अनुभव फरक हुन्छ । सबै जना एक से एक हुनुहुन्थ्यो ।
चार पटकसम्म रेड जोनमा परेर “आशु कवि राउन्ड” मा आधा घण्टाभित्र चार पटक कविता लेख्नु भयो । त्यो आधा घण्टाको समय कत्तिको सकसपूर्ण हुँदो रहेछ ?
– बाँधिएको महसुस हुन्छ । तर आफ्नो क्षमता अझै नजिकबाट नियाल्न सकियो कि जस्तो लाग्छ ।
पोइट आइडलमा भाग लिएर एक किसिमको चर्चा र परिचय त बन्यो नै । यसका साथै थप चुनौती र जिम्मेवारी पनि बोध भइरहेको होला है ?
– कविताप्रति धेरै जनाको मोह बढेको देख्दा, जिम्मेवारी सँगसँगै खुसी पनि लागेको छ । यो जमातलाई सधैँ आफूसँगै लिएर जान पाऊँ ।
उत्कृष्ट ६ मा पुगेर आइडलको मञ्च छाड्दै गर्दा तपाईंलाई त्यति धेरै दुख लागिरहेको थिएन भन्ने कुरा तपाईंको त्यति बेलाको अभिव्यक्ति र तपाईंको कन्फिडेन्सले बताइरहेको थियो । हुन त त्यहाँसम्म पुग्नु पनि ठुलै कुरा थियो । फेरि पनि आइडलबाट बाहिरिँदै गर्दा साँच्चै दुख नलागेको हो अथवा त्यो दुख बाहिर नदेखिएको मात्र हो ?
– म त्यहाँसम्म पुग्नु नै मेरा लागि जित हो । म फाइनल पुग्न पाऊँभन्ने एउटा लोभ त थियो । तर, नपुग्दैमा मैले कम हासिल गरेको चाहिँ होइन जस्तो लाग्छ ।
तपाईंको कविताको एउटा लाइन सापटी लिँदै प्रश्न गर्न मन लाग्यो ।
“जुन दिन
आफूले देखेका सपना
कोही अरूले पूरा गरेको देख्नु हुन्छ नि
त्यो दिन हातखुट्टा त चल्छन् होला
सास पनि फेर्नुहुन्छ होला
तर खासै फरक पर्दैन होल …”
पोइट आइडलमा आएपछि फाइनलसम्म पुग्ने, उपाधि चुम्ने सपना त तपाईंको पनि पक्कै थियो होला नै । तर त्यो सपना अरू कसैले पूरा गरिसक्यो । कवि नीलम गुरुङले उपाधि उचाल्दै गर्दा माथि कवितामा भनेजस्तो तपाईंलाई चाहिँ कस्तो महसुस भयो ?
– हाहा, म जित्छु भनेर आएको होइन । सिक्न आएको हो । आफ्नो ल्याकत थाहा पाउन आएको हो । मभित्र कति के रहेछ भनी खोतल्न आएको हो । मलाई हरेक हप्ता कविता चाहिँ वाचन गर्न पाऊँ भन्ने थियो। जुन पाएँ मैले ।
तपाईंका कविताहरू सुन्दर छन्, सरल छन् । यसमा शङ्का गर्ने ठाउँ छैन । तपाईंका कविताका थुप्रै लाइनहरू सर्वाधिक चर्चामा रहे पनि । अधिक मन पराइयो । यदि ती कविताहरू पोइट आइडलको मञ्चबाहेक अन्त कतै वाचन गरेको भए यसरी नै प्रिय बन्थे होलान् ? यहाँलाई के लाग्छ ?
– त्यो भन्न सकिन्छ जस्तो लाग्दैन । कहाँनेरि के कुराले छुन्छ थाहा हुँदैन । तर एउटा कुरा चाहिँ हो कि द पोइट आइडलले धेरैभन्दा धेरै जमातमाझ पुर्याएको छ । जसले गर्दा धेरै चर्चा बटुल्न पाएँ । त्यसमा चाहिँ दुई मत छैन ।
माथिको त्यो प्रश्न सोध्नुको खास कारण चाहिँ एउटा सर्जक र सिर्जनालाई ठाउँ विशेषले कतिको फरक पार्दो रहेछ ? भनेर हो । जस्तो, एउटा ढुङ्गा बाटोमा हुनु र मन्दिरमा हुनुले फरक पारे जस्तो । यसमा यहाँको थप केही अनुभव भए बताइदिन सक्नु हुनेछ ।
– द पोइट आइडलले मलाई कविता सुन्ने जमात र हेर्ने जमातको अलि नजिक पुर्याइदियो । मुनु अधिकारी को हो भनेर छर्लङ्गै बताइदियो । कवितालाई बजारसम्म पुर्याइदियो । जुन एकदमै जरुरी थियो । बाँकी रह्यो सिर्जनाको कुरा, त्यसमा पनि एक प्रकारको ग्रोथ चाहिँ ल्याइदियो ।
तपाईंको मन पराइएका कविताका लाइनहरू मध्ये पनि “हामी फेरि भेट्ने छौँ” सर्वाधिक हिट भयो । तपाईंको हकमा मात्र नभएर समग्र पोइट आइडलको मञ्चमा वाचन गरिएका अन्य कविताका लाइनहरूको तुलनामा पनि यो सर्वाधिक मन पराइयो । यसका थुप्रै प्यारोडीहरू पनि बने । एउटा त म आफैँले पनि बनाएको थिएँ । यी सब भइरहँदा एउटा कविको मन कत्तिको प्रफुल्लित हुँदो रैछ ?
– कविताले पनि यो खालको बजार पाउँदाखेरि चाहिँ दामी फिल हुँदो रहेछ । जमात रहेछ तर छरिएको रहेछ भन्ने लाग्यो। उनीहरूलाई समेट्न सकिँदो रहेछ भन्ने लाग्यो ।
यसैमा जोड्न चाहेँ, जीवनबाट छुटेकाहरूसँग फेरि कुनै दिन भेट हुनेछ भन्ने कुरामा व्यक्तिगत रूपमा तपाईं आफू चाहिँ कत्तिको विश्वास राख्नु हुन्छ ?
– जीवनबाट कोही पनि छुट्छ जस्तो लाग्दैन । हाम्रो जीवनमा जो पनि आउनु हुन्छ, कुनै न कुनै छाप छोड्नु हुन्छ । जसको उपज, आजको हामी हो ।
पोइट आइडलमा अतिथि निर्णायकको रूपमा आउनु भएका कवि/गीतकार डा. नवराज लम्सालज्यूले “यस्तै कविता लेख्यौ भने तिमी यो युगकी टर्निङ पोइट हुन्छौ” भनेर तपाईंलाई प्रतिक्रिया दिनु भएको थियो । उहाँ जस्तो कविताका मूर्धन्य व्यक्तित्वबाट यस किसिमको प्रतिक्रिया आउनु आफैँमा ठुलो कुरा हो । अब उहाँले भनेको यस कुरालाई थप सार्थक पार्न आगामी दिनमा कविता लेखनको आफ्नो यात्रालाई कसरी अगाडि बढाउने योजना छ ?
– अगाडिका दिनहरूमा पनि कविता पहिले जसरी लेख्थेँ त्यसरी नै लेख्छु। भावहरू पोखिन्छन् कवितामा । तिनलाई कहिल्यै मर्न चाहिँ दिन्न । तर, अब चाहिँ सायद अल्लि बेसी अध्ययन गर्छु होला ।
पोइट आइडलमा आउनुभन्दा पहिलेदेखि नै तपाईं टिकटकमा तुलनात्मक रूपमा अलिक बेसी नै भ्यूज, फलोवर्स, लाइक कमेन्ट पाउने कवि हुनुहुन्थ्यो । यो तुलना पोइट आइडलको उत्कृष्ट १४ मा पुग्ने अन्य कविहरूसँग हो । टिकटकमा पाएको त्यो सफलताले पोइट आइडलको यात्रामा चाहिँ कहीँ कतै केही राहत पुर्यायो कि पुर्याएन होला ? र कसरी ?
– पुर्यायो जस्तो लाग्छ । एक खालको जमात हुनुहुन्थ्यो मलाई चिन्ने । उहाँहरूले चाहिँ पछिसम्म साथ दिनु भयो जस्तो लाग्यो र त्यो जमात द पोइट आइडलले अझै मजाले बढाइदियो ।
टिकटककै कुरा गर्दा तपाईंको टिकटकको बायोमा लेखिएको कुरालाई सापटी लिन मन लाग्यो । “म लेख्छु, त्यसकारण म जीवित छु” भनेर बायोमा लेख्नु भएको छ । जीवित हुनुसँग लेख्नुको के साइनो हुँदो रैछ ? अथवा भनौँ “म बाँचिरहेको छु” भन्ने कुरालाई लेखाइले कसरी प्रमाणित गरिदिँदो रैछ ?
– लेख्नु कता-कता मेरो लागि सपना जस्तो हो । अनि सपनाले मान्छेलाई जिउँदो राख्छ जस्तो लाग्छ । म लेख्दा आफूलाई पाउँछु अनि बाँचिरहेको छु जस्तो लाग्छ ।
पोइट आइडलको मञ्चमा तपाईंले भनेको कुरालाई यहाँ जोड्न चाहेँ । “कविता मर्नु भएन । कविता नै त्यसको बेस हुनु पर्छ । कविता नै त्यसको धरातल हुनु पर्छ । कवितालाई चाहिँ झिक्नु मिलेन । तर त्यसमा अरू चिजहरू हालेर प्राण भर्न त पाइयो नि त ।” भन्नुभएको छ । पोइट आइडलमा कविता वाचन गरिरहँदा, कविता लेखिरहँदा “कविताको मूल मर्मलाई मैले मारिन” भन्ने कुरामा तपाईं आफू चाहिँ कत्तिको विश्वस्त हुनुहुन्छ ?
– यो कुरामा चाहिँ म विश्वस्त नै छु । किनभने हरेक चोटि पहिले कविता नै लेखियो । अनि बल्ल त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने बारे सोचियो । प्रस्तुतिको हिसाबले कवितालाई डोर्याइएन । कमसेकम मैले चाहिँ डोर्याइन । कविता चाहिँ बाँचोस् जैले पनि भन्ने लागिरह्यो ।
फेरि पनि तपाईंकै भनाइलाई जोड्न मन लाग्यो । “पहिले पहिले म कविता लेखेर व्यक्तिगत रूपमा कसैलाई पनि सुनाउँदिन थिएँ । आफूमै सीमित राख्थेँ । पछि मात्र सामाजिक सञ्जालतिर अपलोड गर्न थालेको हो ।” भन्नुभएको छ । आफ्ना कविताहरू अरूलाई त्यसरी नसुनाउनुको कारण आफ्नो कविताप्रति आफैँलाई विश्वास नभएर हो अथवा अरू नै कुनै कारण थियो ?
– कविता लेख्न थालेको खासै धेरै समय भएको थिएन । अनि कोही सुन्ने व्यक्तिहरू पनि थिएनन् । अनि, आफूसँग बाहेक कोही अरूसँग त्यति सहज नै लागेन ।
पोइट आइडलको फिजिकल अडिसनमा तपाईंले वाचन गर्नुभएको कविताको एक लाइन याद आयो ।
“म हत्यारा हुँ आफ्नै सपनाको,
म हत्यारा हुँ आफ्नै खुसीको”…
तपाईंले चाहिँ जीवनमा आफ्ना के कस्ता सपनाहरूको हत्या गर्नुभएको छ ? कि यो कविता मात्रै हो ?
– सबैले हत्या गरेका हुन्छन् जस्तो लाग्छ । मैले पनि गरेकी छु । यो त्यो भन्दा पनि समग्रमा भन्नुपर्दा समाजको रितअनुसार हामी चल्नु पर्छ नि त । अनि त्यतै कतै, मारिए जस्तो लाग्छ ।
पोइट आइडलको उत्कृष्ट ६ बाट दुई जना कविहरू बाहिरिँदै गर्दा एउटा रमाइलो दृश्य देख्न पाइयो । कवि अनुप न्यौपाने र तपाईंको ड्रेस कलर एउटै थियो । जुत्ताको रङ समेत मिलेको थियो । यो संयोगलाई चाहिँ कसरी हेर्नुहुन्छ ?
– एकदम रमाइलो थियो त्यो क्षण । कलर म्याच भएको देख्दा, हामी नै हो आज आउट हुने भन्दै जिस्किरहेका थियौँ, पहिलेदेखि नै ।
पोइट आइडलमा हरेक हप्ता एउटा विषयवस्तु दिएर कविता लेख्न लगाइन्थ्यो । “आशु कवि राउन्ड” मा पनि विषय दिएर कविता लेख्न लगाइन्थ्यो । त्यसको साटो आफैँले पहिले लेखिसकेका अथवा आफ्नै इच्छाअनुसार त्यति बेला लेखेका कविता प्रस्तुत गर्न पाएको भए अझै राम्रो हुन्थ्यो होला भन्ने पनि लाग्यो कहिलेकाहीँ ?
– विषय नदिएको भए, आज यो लेबलको ग्रोथ हुन्थ्यो जस्तो लागेन । हरेक खालको परिस्थितिमा कविता जन्मिन्छ भन्ने उदाहरण हो यो जस्तो लाग्छ ।
तपाईंको नजरमा पोइट आइडलको सबैभन्दा सुन्दर पक्ष के हो जस्तो लाग्छ ?
– मान्छेको कविता, मान्छेको बिच पुर्याइदियो । त्यो सबैभन्दा सुन्दर पक्ष हो ।
“रियालिटी सो” भनेपछि भोटको कुरा आइहाल्छ । आइडलको मञ्चमा तपाईंले पनि थुप्रै पटक आफ्ना लागि भोट माग्नु भयो । एउटा कविका लागि कत्तिको गाह्रो हो रैछ यो भोट माग्ने कुरा ?
– भोट माग्ने कुरा चाहिँ सबैभन्दा गाह्रो पक्ष थियो मेरो लागि र कुनै कुनै बेला आएको भोट बचाउन नसक्दा चाहिँ साह्रै दुख लाग्यो ।
लामो समयसम्म पोइट आइडलको क्लोज क्याम्पमा रहनु भयो । त्यहाँको बसाइ चाहिँ कस्तो रह्यो समग्रमा ?
– मजाको रह्यो । सय दिनसम्म, कविता लेखेरै पनि बाँचिँदो रहेछ भनेर थाहा पाइयो ।
द पोइट आइडल हुँदै छ भनेर पहिलो पटक सुन्दा तपाईंको पहिलो प्रतिक्रिया के थियो ?
– म त ढुक्कै जान्छु ।
पहिले कविता लेखिरहँदा कुनै दिन यसरी कविताको पनि रियालिटी सो आउला भन्ने सोच आउँथ्यो कहिलेकाहीँ ?
– आउँदैन थियो ।
पोइट आइडलमा भाग लिएर विशेष के कुरा सिक्नु भयो कविता सम्बन्धी ?
– एउटै कुरालाई धेरै प्रकारले कवितामा समेट्न सकिँदो रहेछ भन्ने थाहा पाएँ ।
पोइट आइडललाई समग्रमा कसरी हेर्नुहुन्छ ? यस किसिमका कार्यक्रमले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?
– कविताहरू किताबको पानाबाट ओर्लिएर, बाहिर निस्किएर, मान्छेको जीवनसम्म पुग्नु पर्छ र यस्तो कार्यक्रमले बढावा दिन्छ जस्तो लाग्छ ।
जाँदाजाँदै अन्त्यमा केही ?
– मलाई माया गर्ने सबै जनालाई, मेरो हृदयदेखि नै औधी-औधी माया र सम्झना । यति धेरै माया पाउँछु भनेर सोचेकी थिइन । म कतै गएकी छैन । यहीँ छु, तपाईंहरू कै माझ, सधैँ कविता नै बोकेर । साहित्यपोस्टलाई धेरै धेरै धन्यवाद । हामी फेरि भेट्नेछौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
