(हिक्मत थापा अफ्रिकामा बस्नुहुन्छ । नेपालीको लागि गन्तव्य नबनेको महादेशको पश्चिमी कुनाको समुद्र छेउमा । कर्णालीको छेउछाउको पितापुर्खाको इतिहास र बाल्यकाल अहिले उनको दैनन्दिनका सपना, प्रेरणा सबै हुन् । तिनै सपनाका अंशहरूले उनलाई कविताका हरफमा पोख्छन् र नेपालको रस्तीबस्तीको दुखका झङ्कारले समाजसेवी बनाउँछ । त्यताका पिडाहरूलाई उनले यताका कवितासँगै जोड्दै “चिबोकका केटीहरू” कविता सङ्ग्रह बुने र दिए नेपाली साहित्य भण्डारलाई । गैर आवासीय नेपाली सङ्घको भाषा साहित्य विभागलाई नेतृत्व गर्दै प्रवासका नेपाली साहित्यकारलाई नेपालसँग जोड्न भरथेग गरिरहेका छन् उनी । “अरनिको अन्तर्राष्ट्रिय पुरस्कार” र हालसालै प्रकाशित “यात्रा: नियात्रा” उनकै मिहिनेतका पछिल्ला कडी हुन । बिस वर्ष नपुग्दै धरानमा लक्ष्मी सडकका कविताको सम्पादनमा जोडिएका उनले चितवनमा रहँदा सम्प्रेषण साहित्यिक त्रैमासिकको कार्यकारी सम्पादकको भूमिकामा रहे ।
साहित्यकार पिता गगनसिंह थापाको साहित्यिक धरोहरलाई अवच्छिन्न राखिरहेका थापासँगको साहित्यपाेस्टकाे लागि सर्वज्ञ वाग्लेले लिनु भएको अन्तर्वार्ताको संक्षेप यहाँ प्रस्तुत गरेका छौँ ।)
तपाई अहिले विदेशमा हुनुहुन्छ । व्यस्त पेसामा रहेर पनि अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाई रहनु भएको छ ?
– साहित्य अध्ययन मेरो सानै देखिको सोख र रुचि रह्यो । पिताजी लेखक र अध्येता भएकोले त्यै वातावरणको प्रभाव पर्यो । फुर्सद पाउने बित्तिकै साहित्य पढ्नुको रुचिले निरन्तरता पाइरहेको छ । कहिलेकाहीँ थोरबहुत लेख्छु पनि । पछिल्ला वर्षहरूमा मूलतः पिताजीका पुस्तक प्रकाशनमा लागिरहेको छु । त्यसबाहेक प्रवासका नेपाली साहित्य प्रवर्द्धन र पुस्तकहरू प्रकाशनमा समेत संलग्न रहेको छु । काम अघि पछिको फुर्सद साहित्य सोख पनि भएकोले धेरै जसो यसैमा लगाउँछु । जसले कामको थकान बाट उन्मुक्ति दिन्छ अर्थात् आनन्द आउँछ ।
तपाईंलाई जाँगरिलो समाजसेवी जाँगरिलो लेखक भन्दा हुन्छ ?
– जाँगरिलो भन्दा पनि समाजसेवा र साहित्य सेवा गर्न रुचि राख्ने अभियन्ता भन्न मिल्ला कि ।
तपाईंको पिताजी पनि साहित्यकार तथा समाजसेवी हुनुहुन्थ्यो, बुबाको बारेमा संक्षेपमा बताइदिनु हुन्छ कि ?
– पिताजी गगनसिंह थापा लामो समयसम्म नेपालको प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहनु भयो । शिक्षा , विकास, बन पर्यावरण र समाजको उत्थानका लागि उहाँले धेरै सङ्घर्ष गर्नु भयो । सोह्र सौगातदेखि अस्ताचलको ढोकासम्म उहाँका आठ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् । र दर्जनौँ अप्रकाशित कृतिहरू अझै प्रकाशनको क्रममा छन् ।
साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?
– एकदमै । अध्ययन चेतनाको मूल बिन्दु हो । त्यसलाई चिन्तन मननले मलजल दिन्छ र लेखनले समाजमा त्यसलाई उजागर गर्छ ।
तपाईं आफै कविता र साहित्यिक विधाहरूमा कलम चलाउनु हुन्छ र अन्य धेरै देश विदेशका साहित्यकारका कृतिहरू पढ्नु भएको छ, तपाईंलाई नेपाली साहित्यलाई संसारको साहित्यको तुलनामा अगाडि बढाउन के गर्नु पर्छ जस्तो लाग्छ ?
– मूल कुरो कृतिहरूको उपलब्धता र वितरण हो, जुन फराकिलो बन्न सकेको छैन । अर्को हाम्रा साहित्यिक कृतिहरू पनि गहकिला र विश्व स्तरीय छन् तर भाषाको समस्याले विदेशी पाठकसम्म पुग्न सकेका छैनन् । त्यसैले अनुवाद र विश्वव्यापी बजारीकरणतर्फ अब नेपाली साहित्यलाई लगिनु पर्छ ।
तपाईंले साहित्य लेखनमा प्रेरणा को वाट पाउनु भयो ?
– मेरो साहित्यको अध्ययन रुचि र लेखनको प्रेरणा श्रोत आफ्नै पिताजी हुनुहुन्छ ।
एनआरएनएको भाषा साहित्य संरक्षण तथा संवर्द्धनको क्षेत्रबाट तपाई लगातार लागिरहनु भएको छ । तपाईंले लगातार एनआरएनएबाट नेपाली भाषा तथा साहित्य माथि थुप्रै कार्यक्रमहरू, प्रकाशनहरू गर्नुभयो । अब त्यसमा अब नयाँ के गर्ने सोचमा हुनु हुन्छ ?
– गैर आवासीय नेपाली सङ्घले नेपाली भाषा र साहित्यको संवर्द्धनमा प्रवासमा रहेका लेखक र साहित्यमा रुचि राख्ने, साहित्य अध्ययन गर्ने व्यक्तिहरूलाई समेट्दै नेपाली भाषा साहित्यको प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । यसै अनुसार गोष्ठी, सम्मेलन, प्रकाशन र प्रतियोगिताहरू गरिराखेको छ । हाल गैर आवासीय नेपाली लेखकलाई प्रोत्साहन गर्न दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको स्थापना गरी वार्षिक रूपमा पुरस्कृत गर्ने काम भइरहेको छ । नयाँ भन्नुपर्दा नेपाली साहित्यका उत्कृष्ट पुस्तकलाई विदेशी भाषामा अनुवाद गरी प्रकाशन र वितरण गर्ने सोच हो ।
खाली समय कसरी बिताउनु हुन्छ ?
– खाली समय नै पाइँदैन । पाइएमा पुस्तक पढ्ने पहिलो प्राथमिकता रहन्छ ।
तपाईंलाई कविता, कथा, निबन्ध र उपन्यास कुन मन पर्छ ? यो राम्रो लेख्न के गर्नु पर्ला ?
– मलाई सबै मन पर्छ । पाए र मिलेसम्म सबै पढ्छु । भाषा र विषय वस्तु समाजको जीवन्ततासँग जोडिएको अझै मन पर्छ । राम्रो लेख्न समाज र जीवनमा जे छ, जे भोगिन्छ त्यसलाई सरल र सहज रूपमा उतार्न सके पुग्छ जस्तो लाग्छ मलाई ।
नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?
– नेपाल र नेपाली साहित्यको प्रवासदेखि देशभित्र सम्म एउटा गौरवमय इतिहास थियो, साहित्यिक पत्रकारिताको । जसले हजारौँ साहित्यकारहरू जन्मायो र साहित्यलाई लाखौँ पाठकसम्म बिस्तार गर्यो । तर अब साहित्यिक पत्रकारिताको स्थान र अवस्था बदलिएको छ । प्रविधिले यसलाई जबरजस्त सुधार र परिवर्तनको स्थानमा ल्याएको छ । समयसापेक्ष हुँदै जाँदा अझै पनि साहित्यिक पत्रकारिता लेखक र कृति रचनालाई प्रवर्द्धन गर्ने मूल माध्यम नै हो ।
साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?
– लेखेर बाँच्न त साहित्यिक कृतिको बजार बिस्तार र अध्ययन संस्कृतिको विकास हुनु पर्छ । त्यसमाथि राम्रा कृति पनि लेखकबाट आउन सक्नु पर्यो जसलाई पाठकहरूले रुचाउन् ।
अहिलेको साहित्यमा विचार, युग, चेतना र विश्व परिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ?
– यो त स्वतः पर्ने प्रभाव हो । लेखकले त्यही समाजलाई आफ्नो अक्षरबाट साहित्यमा उतार्ने हो । त्यसैले युग परिवेश र चेतनाले साहित्य स्वतः प्रभावित छ ।
पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?
– बढ्दो छ। त्यै पनि अपेक्षाकृत स्वच्छ र पारदर्शी भइदिए अझै राम्रो हुन्थ्यो भन्ने हो ।
तपाईंको प्रकाशित कविता कृति “चिबोकका केटीहरू”का बारेमा केही बताउनु हुन्छ कि ?
– सन् २०१४ मा नाइजेरियाको चिबोकको स्कुलबाट बोको हराम आतङ्ककारी समूहले अपहरण गरी लगेका ४०० भन्दा बढी स्कुले छात्राको बारेमा लेखिएको कविता चिबोकका केटीहरूको कवितालाई पुस्तकको नामको रूपमा राखिएको यो कविता सङ्ग्रहमा नेपाल र अफ्रिकामा लेखिएका नयाँ र पुराना कविता सङ्ग्रहित छन् ।
डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?
– बढी रहेको नेपाली डायस्पोराले नेपाली भाषा, साहित्य र संस्कृतिलाई पनि व्यापक रूपमा बिस्तार गरेको छ । डायस्पोरा अब नेपाली साहित्यको पाठक मात्र नभएर उद्गम पनि बनिरहेको छ । यसलाई मातृभूमिसँग जोड्दै अझै स्तरीय र फराकिलो बनाउनु पर्छ ।
अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ?
– अनेसास अब डायस्पोराको नेपाली भाषा साहित्यको सबैभन्दा ठुलो सञ्जाल बनेको छ । धेरै राम्रा कामहरू गरिरहेको छ । तर अब यसलाई अमेरिकामा मात्र केन्द्रीकृत नगरी नेपाली भाषा र साहित्य संस्कृति पुगेका १५० भन्दा बढी देशमा संसारभरि पुराउनु पर्छ । र त्यहाँ साना ठुला जेजस्ता भए पनि नेपाली भाषा र साहित्य प्रवर्द्धन गर्ने गतिविधि बिस्तार गर्ने कार्यमा लाग्नु पर्छ ।
अन्त्यमा पाठकलाई के भन्न चाहनुहुन्छ ?
– नेपाली भाषा, साहित्य र संस्कृतिको लागि सबैले आफै केही गरौँ । लेखौँ । लेख्ने प्रयास गरौँ । नभए माया गरौँ । नेपाली भाषाका कृतिहरू किनिदिउन्, पढिदिउन् र तिनको पहुँच क्षेत्र बढाउनमा ससानो भए पनि योगदान दिउन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।