
यतिबेला साहित्य जगत र बाहिर पनि चर्चाको विषय बनिरहेको छ “द पोइट आइडल” । आइडलको मञ्चमा वाचन गरिएका केही कविताले यतिबेला सामाजिक सञ्जाल विशेषगरी टिकटकमा राम्रो चर्चा पाइरहेको छ । विशेषगरी कवि न्याथन रायन, कवि मुनु अधिकारी, कवि मल्लिका खतिवडा लगायतका कविताले पाठकको माया खुब पाइरहेको छ । मैले भनेको विश्वास लाग्दैन भने “पोइट आइडल” को टिकटक एकाउन्ट सर्च गरेर हेर्न सक्नुहुन्छ । जहाँ एउटै कविता अंशको २५ लाखसम्म भ्युज पुगेको छ । अपवाद बाहेक अङ्ग प्रदर्शनका सामग्रीले मात्र टिकटकको मार्केट तातिने यो समयमा कविताले यसरी दर्शकको माया पाउनु आफैँमा गर्वको विषय हो, कविहरुका लागि ।
पोइट आइडलको गरिमालाई बढाउन र यसलाई अझै ओजनदार बनाउन कार्यक्रम सञ्चालक दिव्यदेवको भूमिका पनि महत्त्वपूर्ण रहेको छ भन्दा फरक नपर्ला । कुशल सञ्चालन शैली, शब्द भण्डार र बुलन्द आवाजले दर्शकलाई कार्यक्रम अवधिभर तानिरहन्छ । उहाँको सुन्दर व्यक्तित्वका बारेमा त मैले भन्न नपर्ला । किनभने उहाँ आफैँमा नायक पनि हुनुहुन्छ । आइडलका निर्देशक अमन प्रताप अधिकारीले “राइट म्यान इन राइट प्लेस” भने जस्तै कार्यक्रम सञ्चालकको रुपमा एकदम सही मान्छे रोज्नु भएछ भन्ने अहिले आएर लागिरहेको छ । फेरि यो कुरा मैले मात्र भनेको भए “धेर जान्ने भइस” भन्नुहुन्थ्यो होला । तर सञ्चालक दिव्यदेवको प्रशंसा सामाजिक सञ्जालमा अरुले पनि गर्नु भएको मैले पाएको छु ।
चर्चामा रहेको यही पोइट आइडलको मञ्चबाट चार जना निर्णायकमध्ये एक, कवि तथा गीतकार विप्लव प्रतीकसँग साहित्यपोस्टको फेसबुकबाट प्रसारण हुँदै आएको कार्यक्रममा कुराकानी गर्ने अवसर जुर्यो । त्यो अवसर जुराउने काम कार्यक्रम संयोजक तथा कवि/चित्रकार जीवित खड्का मगरले गर्नुभयो । पोइट आइडलमा उहाँ बाहेक अरु तीन जना पनि निर्णायक हुनुहुन्छ । कवि उपेन्द्र सुब्बा, रङ्गकर्मी/निर्देशक अनुप बराल र नायिका सुरक्षा पन्त । उहाँहरूलाई पनि कार्यक्रममा निमन्त्रणा गरेको भए हुन्थ्यो नि ! भन्ने तपाईंलाई लागेको हुन सक्छ । हाम्रो पहुँच पुगेसम्म र हाम्रो निमन्त्रणा स्वीकार भएसम्म हामी सबैलाई पक्कै जोड्दै जानेछौँ । तर एक-एक गरेर । यो पटक भने कवि तथा गीतकार विप्लव प्रतीकलाई जोड्यौँ ।
***
विप्लव प्रतीक को हुन् ? भनेर मैले भनिराख्नु सायद पर्दैन होला । मलाई भन्दा बेसी जानकारी तपाईंलाई हुन सक्छ । उहाँका धेरैओटा परिचय छन् । त्यसमा कवि तथा गीतकार भन्दा उहाँलाई बेसी खुसी लाग्छ र हामीलाई पनि । अहिलेलाई यत्ति चाहिँ भन्छु उहाँ लोकप्रिय कवि तथा गीतकार हुनुहुन्छ । कति लोकप्रिय ? उहाँलाई चिनाउन एउटै गीत काफी हुन्छ । “हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि” ।
यति भनिसक्दा नामबाट उहाँलाई नचिन्नेहरुले पनि अब चाहिँ चिन्नुहुन्छ । नाम पो सुनेको हुँदैन त । गीत त हामी सबैले पहिलेदेखि सुन्दै आएकै हो नि । उहाँद्वारा लेखिएका गीतहरु मध्ये यो सार्वाधिक लोकप्रिय मानिन्छ । जसलाई २०५६ सालमा गायक दीप श्रेष्ठको सङ्गीत र आवाजमा रेकर्ड गरिएको थियो । यो गीतको मैले बनाएको प्यारोडी भर्सन सुन्नुहुन्छ ? “हर रात सपनीमा ऐँठन हुन्छ, गाउँमा सायद गल्फ्रेण्ड पोइला गई” । आखिर सबैलाई एउटै कुराले सपनीमा ऐँठन पार्छ भन्ने नहुँदो रैछ । फेरि अहिले घरदेखि टाढा हुने परदेशीहरुलाई पहिरोको भन्दा पनि श्रीमती र प्रेमिकाको चिन्ता बेसी हुन्छ ।
गीतकार विप्लवको अर्को पनि लोकप्रिय गीत छ, “तिम्रो लागि सारा संसार भुलाइदिन्छु म”, जसलाई गायिका अभय सुब्बाले गाउनु भएको छ । यो गीतको शब्दभन्दा पहिले सङ्गीत तयार पारिएको थियो । तयार पारिएको सङ्गीतमा फिट हुनेगरी गीतकार प्रतीकले लय मिलाउँदै शब्द कोर्नु भएको हो । सामन्यतया पहिले शब्द तयार हुन्छ अनि मात्रै सङ्गीत गरिन्छ । यति भनेपछि अब पप गीतमा रमाउने पुस्ताले पनि कवि/गीतकार विप्लवलाई मज्जाले चिन्छ ।
उहाँको बारेमा मलाई अरु पनि केही जानकारी छ । तर त्यसलाई पछिको अर्को कुनै बसाइमा लेखौँला । किनभने आज कवि प्रतीकलाई पोइट आइडलको जजको रुपमा यहाँ राखेर आइडलबारे उहाँले कार्यक्रममा भनेको कुरा प्रस्तुत गर्न लागिरहेको छु । त्यति हुँदाहुँदै पनि एउटा कुरा चाहिँ भन्न मन लाग्यो ।
नेपाली साहित्य जगतमा मदिरा प्रेमी सर्जकहरु थुप्रै हुनुहुन्थ्यो हिजो र आज पनि त्यो सङ्ख्या कम छैन । त्यसमा एक कवि विप्लव पनि पर्नुहुन्छ । तर उहाँ बहुत जतनसाथ पिउनुहुन्छ । उहाँले पिएको कुराले कसैलाई हानी गर्दैन/गरेको छैन भनेर दाबी गर्नुहुन्छ । हुन पनि हो, यस्तो शालीन र कोमल हृदय भएको कविले पिएर अरुलाई दुख दियो अरे भनेर कसैले भनिहाल्यो भने पनि विश्वास गर्न गाह्रो हुन्छ । फेरि अहिलेको जमानामा मदिरा नपिउने को नै पो छ र ? अहिले त नपिउनेहरु अल्पमतमा पर्न थालिसके । सय जनामा एक जना नपिउने भेटियो भने देउता भेटियो भनेर पुज्दा फरक पर्दैन । अनि पिउनेलाई चाहिँ गाली गर्नु ? त्यसो पनि भन्न खोजेको होइन । पिउनेहरुमाथि हाम्रो समाजले हेर्ने दृष्टिकोण त्यति गतिलो छैन नि त ।
“मदिरा आफैँमा खराब चिज होइन । यसको आविस्कार नै औषधिको लागि भएको थियो । तर प्रयोग गर्न नजान्नेहरुले यसलाई बदनाम गरिदिएका मात्र हुन् र आफू पनि बदनाम भए”, डा. योगी विकाशानन्दले भनेको याद आयो । उ
सो त म आफैँ पनि महिनामा झण्डै १५ लिटर पिउँछु । रक्सी ? होइन, दूध । अनि रक्सी चाहिँ ? त्यो पर्दैन । पिउने मामलामा कवि प्रतीकको एउटै मान्यता छ, “अरुलाई हानी नगरी आफ्नो तरिकाले जीवन जिउन पाउनु पर्छ” । कस्तो राम्रो सोंच । यस्तो सोच सबैको हुने हो भने कसैले पिएकै कारण हाम्रो समाज यति उछ्रिङ्खल हुने थिएन होला । यो आलेखमा मदिराको कुरा किन राख्नु परेको होला ? भन्ने लाग्न सक्छ । अलिअलि त मसला पनि चाहियो नि । जसरी अहिलेको भोज-भतेर मदिरा बिना खल्लो हुन्छ । यो पनि त्यस्तै केही हो भनेर बुझिदिनु होला । फेरि “कवि विप्लवले मदिरा पिउँछन्” भनेर भन्दा उहाँलाई खासै फरक पर्दैन पनि । किनभने उहाँ त बोतल छेउमा राखेर चुस्की लगाउँदै फेसबुक लाइभ कार्यक्रममा बसिदिने मान्छे हो । कता यस्तो गरेछन् ? भन्नु होला । युट्युबमा खोज्नुस पक्कै भेट्नु हुनेछ ।
कुरो कता पुगिसकेछ । विषय वस्तुमै फर्किऊँ होला । यतिबेला द पोइट आइडल AP1 टेलिभिजनमा हरेक बिहीबार र शुक्रबार राती ८:३० बजे (नेपाली समयमा) प्रसारण भइरहेको छ । टेलिभिजनमा हेर्न भ्याउनु हुन्न भने OSR रियालिटीको युट्युब च्यानलमा फुर्सद निकालेर हेर्न सक्नुहुनेछ ।
अन्तिम प्रतिस्पर्धीको रुपमा भोटिङ राउण्डका लागि छानिएका १४ जनामध्ये हालसम्म तीन जना कवि आइडलबाट बाहिरिसक्नु भएको छ । जसमा रोल्पाका कवि युग सर्वनाम तथा सुनसरीका महेन्द्र राई र छबिना लुङ्गेली मगर पर्नुभएको छ । आइडलको मञ्चमा अब ४ जना महिलासहित ११ जना कविहरु हुनुहुन्छ । त्यसमा पनि दुई जना कविद्वय नीलम गुरुङ र पल्लविब भारतीय नेपाली साहित्यबाट हुनुहुन्छ । यही पोइट आइडलसहित उहाँको लेखन यात्राका अन्य पाटोमा कुराकानी गर्न हामीले कवि/गीतकार विप्लव प्रतीकलाई कार्यक्रममा निमन्त्रणा गरेका थियौँ ।
***
कार्यक्रमको सुरुवातमै मैले “अहिलेसम्मको पोइट आइडलको यात्रा कस्तो भइरहेको छ त ?” भनेर प्रश्न तेर्साएको थिएँ ।
निर्देशक अमन प्रताप अधिकारीको यस ड्रिम प्रोजेक्टमा आफू पनि सहभागी हुन पाएकोमा कवि विप्लव खुसी हुनुहुन्छ । पोइट आइडलमा आफू निर्णायकको भूमिकामा हुनुलाई सौभाग्य ठान्नुहुन्छ उहाँ । निर्देशक अधिकारीको ६ वर्ष अघिदेखिको यो सपना अहिले पूरा हुँदै गएको छ । नेपालमा केही फ्रेन्चाइज शो भित्र्याएर सफल भइसकेपछि त्यही अनुभवलाई कवितामा सदुपयोग गर्ने उहाँको ठुलो योजना थियो । यो बारेमा निर्देशक आधिकारीले पहिलेदेखि आफूसँग कुरा गर्दै आएको कवि विप्लव सम्झिनुहुन्छ ।
गामबेसीका कवि भनेर नेपाली साहित्यमा चिनिने स्वर्गीय क्षेत्र प्रताप अधिकारीले छोरा अमन प्रताप खेलाडी भए पनि, टेलिभिजन र फिल्ममा गए पनि, ऊभित्र कविताप्रतिको प्रेमरोपि दिनु भएको रहेछ । जसले गर्दा आज कवितामाथि यति ठुलो कार्यक्रम आयोजना भइरहेको छ । निर्देशक अधिकारीले यो ६ वर्षको अवधिमा धेरै कोसिस गर्नुभयो । अनेक मेहनत गर्नुभयो । त्यसका बाबजुद पनि भनेजस्तो साथ सहयोग उहाँले पाइरहनु भएको थिएन । जसका कारण यो कार्यक्रम अब गर्न सकिँदैन कि ? भन्ने अवस्था पनि सिर्जना भएको थियो । तर सुरुवातदेखि नै आफूले जुनसुकै भूमिकामा भए पनि निर्देशक अधिकारीलाई यस कार्यमा सघाउ पुर्याउने वचन दिँदै आएको कवि विप्लव बताउनुहुन्छ ।
त्यसकारण पनि होला यतिबेला खुसी हुने एउटा बाहाना पोइट आइड भएको छ कवि विप्लवका लागि । मान्छेको जीवनमा खुसी हुने क्षणहरु धेरै थोरै आउँछन् । तीमध्ये एउटा खुसी हुने कारण आइडल भएको उहाँ भन्नुहुन्छ । आइडल सुटिङ हुने दिन सोमबार र मङ्गलबार मात्र बाँचिरहेको छु भन्ने बोध हुन्छ । बाँकी अरु दिन के के हुन्छ उहाँलाई थाहा नहुँदो रैछ । औपचारिक रुपमा पोइट आइडलको घोषणा भएदेखि नै गज्जब महसुस भइरहेको छ । एकदमै राम्रो भइरहेको छ । पोइट आइडल अन्तर्राष्ट्रिय स्तरको हाम्रो मौलिक कार्यक्रम भएकोले यो हाम्रा लागि गर्वको विषय पनि हो । जसरी हामीले अन्य फ्रेन्चाइज शोहरु नेपालमा भित्र्याएका छौँ, त्यसरी नै भोलिका दिनमा यो पोइट आइडल पनि अन्य देशमा जान सक्छ । त्यसबाट हामीलाई नै फाइदा हुने हो ।
अर्को कुरा कविता भनेको सबैलाई चाहिने कुरा हो । कविता भनेको मन्त्र हो । तर कवितामा कहिल्यै पनि पैसा भन्ने कुरा आउँदैन । मान्छेलाई कविता चाहिन्छ तर मान्छे कवितादेखि भाग्न खोज्छन् । यस्तो अवस्थामा पोइट आइडलमार्फत कवितालाई आमपाठकमाझ पुर्याउन सक्नु, पुर्याउने कोसिस गरिनु, त्योभन्दा उत्साहको कुरा अर्को के हुन्छ ? कवि विप्लव प्रतिप्रश्न गर्नुहुन्छ ।
एउटा ठुलो जोखिम मोलेर गरिएको काम हो द पोइट आइडल । चाहे त्यो लगानीका हिसाबले होस् अथवा अन्य व्यवस्थापनका हिसाबले । ५ करोड रुपैयाँ भन्दा धेरैको लगानी यसमा रहेको उहाँ खुलासा गर्नुहुन्छ । कविताका लागि यत्रो ठुलो आर्थिक भारको चुनौती मोल्न सक्ने निर्देशक अधिकारीको साहसलाई उहाँ खुलेर प्रशंसा गर्नुहुन्छ । यसमा त म आफैँले पनि पहिलेदेखि निर्देशक अधिकारीको तारिफ गर्दै आएको छु । लगानी डुब्ने स्थिति आइहाले पनि फरक नपर्ने हिसाबले निर्देशक अधिकारी यसमा होमिएको कवि विप्लव उल्लेख गर्नुहुन्छ । तर हाम्रो चाहाना भने लगानी सुरक्षित होस् । लागि उठेर केही नाफा पनि होस् । ताकि पोइट आइडलका अन्य सिजनहरु गरिरहन निर्देशक अधिकारीलाई हौसला मिलोस् ।
कविहरु कविता कर्मबाटै आर्थिक रुपमा सम्पन्न होऊन् भन्ने चाहाना राख्ने हामीले कविताका यस किसिमका कार्यक्रमले नाफा कमाओस् भनेर कामना गर्नु नराम्रो पक्कै होइन होला । मलाई यस्तो लाग्छ । आइडलमा ९० जनाभन्दा धेरै व्यक्ति प्रत्यक्ष/ अप्रत्यक्ष रुपमा जोडिएर एकसाथ काम गरिरहनु भएको छ । उहाँहरु दिनरात नभनी खटेर काम गरिरहनु भएको छ । सबैले आ-आफ्नो तर्फबाट राम्रो गर्ने कोसिस गरिरहनु भएको छ । यसरी गरिएको कामलाई आमपाठकले अहिले जुन किसिमले मन पराइदिरहनु भएको छ, यो पहिले कल्पना गरिएको थिएन भन्नुहुन्छ कवि विप्लव ।
पहिले कविता नबुझ्ने, कविताप्रति चासो नदेखाउनेहरुले पनि अहिले पोइट आइडल हेरेर राम्रा-राम्रा प्रतिक्रियाहरु दिन थालेको, कविता मन पर्न थालेको भनेर आफूलाई सुनाउने गरेको कवि विप्लव बताउनु हुन्छ । केही साथीहरू पहिले रिसाएछन् पनि उहाँ पोइट आइडलको निर्णायक भएकोमा । त्यस्तो कार्यक्रममा किन गएको ? भनेर उहाँलाई प्रश्न पनि गरेछन् । “किन नजाने यार ? कविता भनेको छुनै नहुने चिज हो र ? कविता भनेको सुन्नै नहुने चिज हो र ? कसैले एउटा असल उद्देश्य लिएर गरिरहेको काममा सहभागी नहुने ? के ले छेक्छ त्यसलाई ? त्यसकारण म त सहर्ष गएँ ।” आइडलमा निर्णायक भएर जानुको कारण उहाँ यसरी प्रष्ट्याउनु हुन्छ ।
अहिले यसको नतिजा राम्रो आइरहेको छ । पोइट आइडलले पहिलो एपिसोडबाटै पिकअप लिइरहेकोमा उहाँ खुसी व्यक्त गर्नुहुन्छ । कसैलाई चित्त बुझ्यो होला, कसैलाई बुझेन होला त्यो आफ्नो ठाउँमा छ । तर पनि अहिले कार्यक्रमलाई माया गर्नेहरुकै सङ्ख्या बेसी देखिन्छ, अपवाद आलोचनालाई छोडेर हेर्दा ।
त्यसमाथि १४/१५ सय कविहरुबाट छान्दै-छान्दै अन्तिम प्रतिस्पर्धीको रुपमा १४ जना छान्नु आफैँमा सजिलो काम थिएन भन्नुहुन्छ कवि विप्लव । १४ जना छान्न निक्कै सकस परेको उहाँ उल्लेख गर्नुहुन्छ । पोइट आइडलमा निर्णायकको जिम्मेवारी पाएदेखि राम्रोसँग हाँस्न पनि पाएको छैन भन्दै उहाँ मेरो प्रश्नमा हाँस्नु भयो । “१४ सयबाट १४ जना छान्न कत्तिको सकस पर्यो त ?” भन्ने मेरो प्रश्न थियो । “आज आएर म बल्ल हाँसे । भनेपछि मलाई कति सकस परेको थियो होला ?” प्रतिप्रश्न गर्दै त्यसको अनुमान लगाउन उहाँले मलाई नै जिम्मा दिनु यो ।
कविता भनेको एकदम नितान्त एक्लै बसेर गर्ने एउटा साधनाको काम हो । एकदम गम्भीर अवलोकन गर्नुपर्ने काम हो भन्नुहुन्छ कवि विप्लव । अरुको लागि संवेदनशील हुने र आफ्नो लागि संवेदनशील हुने दुई किसिमका मान्छे हुन्छन् संसारमा । त्यसकारण कसैलाई मैले गरेको व्यवहारले केही नराम्रो परेको छ कि ? केही अप्ठ्यारो परेको छ कि ? भनेर सोच्नु भनेको त्यो उच्च तहको संवेदनशीलता हो । उच्च तहको चेतना हो । त्यस किसिमको संवेदनशील भएर आफूभित्रका ईर्ष्या, अहंकार, लोभ, क्रोध, मोह यी सबैलाई त्यागेर साधना गर्नु, एउटा सन्त जस्तो हुनु पर्ने काम कविता हो भन्ने उहाँको बुझाइ छ । फेरि यी कुरा निश्चित रूपमा एउटा कविको आफ्नो अभ्यासमा भर पर्ने उहाँको भनाइ छ ।
पोइट आइडलमा कुनै एउटा विषय वस्तुमाथि टेकेर निश्चित समयमा कविता लेखिसक्नु पर्ने हुन्छ । कार्यक्रमलाई अलिकति रोचक, अलिकति सकसपूर्ण र अलिकति गाह्रो बनाउँदा कार्यक्रमको महत्त्व बढ्छ भन्ने हिसाबले यस्तो गरिएको उहाँको भनाइ छ । यसको मतलब त्यहाँ रहनु भएका कविहरु एउटा ठुलो परिक्षाको घडीमा बसिरहनु भएको छ । यसले उहाँहरूलाई चुनौतीको सामना गर्न सिकाउने र निखार्दै लैजानेछ । यस किसिमको अभ्यासले उहाँहरूले आइडलको मञ्चबाट केही न केही सिकिरहेका छन ।
छानिएका १४ जना सबै उत्तिकै राम्रा छन । राम्रा नभइकन पक्कै पनि त्यहाँसम्म आइपुग्न सम्भव थिएन भन्ने उहाँको आशय हो । १४ पछि भोटिङका आधारमा आउट हुने कुरा आफ्नो ठाउँमा छ । हरेक हप्ता कम्ती भोट ल्याउने दुई जना कवि बटम टुमा परेपछि निर्णायकले दिने विषय वस्तुमाथि ३० मिनेटभित्र कविता लेख्नु, त्यस खालको चुनौतीको सामना गर्नु, त्यहाँबाट आउट भएर निस्किएर जाँदा पनि मनमा आनन्द लिएर जान सक्नु, यहाँसम्म भए पनि आइपुगेँ भनेर चित्त बुझाउनु, यात्रा यहाँ टुङ्गिएको छैन भनेर निस्किएर जान सक्ने कविहरु छान्न सक्नु आफैँमा गज्जबको कुरा हो भन्ने उहाँलाई लाग्छ । यसरी प्रतिस्पर्धी कविहरुले जुन किसिमको चुनौतीको सामना गरिरहेका छन, त्यो ठाउँमा आफू भएको भए त्यस्तो गर्न सकिँदैन थियो होला भन्नुहुन्छ कवि विप्लव । कार्यक्रम हेरिरहँदा म आफैँलाई पनि त्यसरी कविता लेख्न सक्छु होला जस्तो लाग्दैन । किनभने त्यसरी दबाबमा मैले कहिल्यै कविता लेखेकै छैन भन्दा फरक पर्दैन ।
१४ जनामध्ये एक जनाले उपाधी जित्ने हो । बाँकी एक-एक गरेर आउट हुँदै जाने नै हुन् । कसले जित्छ त्यो ठुलो कुरा होइन । ठुलो कुरा त यो हो कि जो-जो यहाँ सहभागी भए उनीहरू सबैले यहाँबाट केही न केही चिज बोकेरै गएका छन । केही न केही नयाँ कुरा थाहा पाएरै गएका छन । १४ जना बाहेक पनि आइडलबाट पहिले जो जो छुटेर गए उनीहरूले पनि केही न केही कविताको बीउ लिएर गएको उहाँ उल्लेख गर्नुहुन्छ ।
आफूहरुले पनि उनीहरुलाई जाने जति सिकाउँदै आएको कवि विप्लव बताउनु हुन्छ । यसको मतलब पोइट आइडल निरन्तर रुपमा आगामी दिनमा पनि चल्नु पर्छ भन्ने उहाँको धारणा छ । यसले कवितालाई नबिगार्ने उहाँ दाबी गर्नुहुन्छ र भोलिका दिनमा पोइट आइडलमार्फत थुप्रै राम्रा कविहरु जन्मिनेमा उहाँ विश्वत हुनुहुन्छ ।
संसारको कुरा भन्नका लागि एक जना मात्र कवि भएर पुग्दैन । यो कुरा उहाँले लामो समयदेखि भन्दै आउनु भएको छ र पुन: दोहोर्याउनु भयो । हरेक कविले कविताको माध्यमबाट आफ्नो यात्रा भन्न पाउनु पर्छ भन्ने उहाँको मान्यता छ । तर त्यसमा कविता हराएको कविता लेखेर, कविताको ढाँचामा लेखेर मात्र नहुने उहाँ स्पष्ट पार्नुहुन्छ ।
त्यसकारण आइडलमा सहभागी कविहरुले अहिले जसरी साधना गरिरहनु भएको छ, भोलिका दिनमा पनि यसलाई निरन्तरता दिनेछन् भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ । “मेरो देशमा मेरो देशको कहानी भन्नको लागि बहुत उम्दा-उम्दा कविहरु अरु पनि आउनुहुन्छ । त्यसपछि पनि । अहिले जो छन् उनीहरूको मात्र कुरा होइन । मलाई त्यस्तो लाग्छ ।” कवि विप्लव भन्नुहुन्छ ।
***
जाँदाजाँदै,
कवि/गीतकार विप्लव प्रतीकलाई कार्यक्रममा जोड्ने पक्का भएपछि मैले उहाँको बारेमा थोरै अध्ययन गरेँ । अध्ययन गर्दै जाँदा उहाँका बारेमा थुप्रै कुराहरू थाहा पाएँ । जो यसअघि कहिल्यै थाहा थिएन । उहाँको जीवन कहानी र सङ्घर्षका कथाहरुले मलाई भित्र-भित्रै हिर्काउन थाल्यो । कार्यक्रमको अघिल्लो दिन उहाँसँग अफलाइनमा कुराकानी गरेपछि झन् बेसी प्रभावित भएँ उहाँका कुराहरूबाट । सोही दिन राती अर्थात कार्यक्रम हुने अघिल्लो रात शुक्रबार उहाँलाई सम्झिँदै एउटा कविता लेख्ने कोसिस गरेँ । नेपाली साहित्यमा एउटा कविको बारेमा अर्को कविले कविता लेख्ने चलन कत्तिको छ ? त्यसमा त म जानकार छैन । यदि लेखिँदै आएको रहेछ भने त्यसमा एउटा म पनि थपिने भएँ । होइन त्यस्तो चलन छैन भने पनि त्यसको सुरुवात मबाट हुन्छ । मैले कविता भनेर लेखेको यो कुरा कविता नहुन पनि सक्छ र यसमा अझै थुप्रै कुराहरु अटाउन सकिन्छ । अहिलेलाई भने जति लेखेको छु त्यति यहाँ राख्न मन लाग्यो ।
कविता : एक्लो प्रतीक
ऊ चर्चित छ
ऊ लोकप्रिय छ
ऊ सबैको प्रिय छ
तर पनि ऊ एक्लो छ
वर्षौंदेखि ।
साथमा बोल्ने मान्छे
कोही नभएपछि
कहिले ऊ भान्छाघरमा
तरकारीसँग बात मारिरहेको हुन्छ
आलुलाई भनिरहेको हुन्छ
म तँ जस्तै मिजासिलो छु
जेमा पनि मिल्ने
जोसँग पनि मिल्ने
तर पनि म एक्लो छु
मान्छेले मलाई
आफ्नो आवश्यकताअनुसार
ताछिरहेका छन् ।
ऊ करेलालाई भनिरहेको हुन्छ
म तँ जस्तै स्वस्थकर छु
सबैका लागि
तर सत्य पचाउन नसक्नेहरुले
मलाई तीतो भन्छन्
ऊ हितकर छ
तर पनि ऊ एक्लो छ ।
ऊ खोर्सानीलाई भनिरहेको हुन्छ
म नाममा विद्रोह बोकेर हिँडिरहेको छु
तर तँ जस्तो विद्रोही हुन सकेको छैन
कसैका लागि पनि ऊ
कहिल्यै पिरो हुन सक्दैन
तर पनि ऊ एक्लो छ ।
ओछ्यान पनि दिक्क मान्दो हो
सधैँ एक्लै पल्टिएको देख्दा
सिरानीलाई पनि झ्याउ लाग्दो हो
सधैँ एउटै टाउको थामिरहनु पर्दा
जिन्दगीभर उसलाई
साथ दिन्छु भनेर आएकाहरु पनि
बिच बाटोमै छुटेर गए
जानेहरूले पनि उसलाई
खै के खोट लाएर गए होलान् ?
जो आफैँमा प्रेम र कोमलताको
सागर बोकेर हिँडेको छ
ऊ प्रेमिल छ, ऊ कोमल छ
तर पनि ऊ एक्लो छ ।
भन्नलाई त ऊ
पृथ्वी, चन्द्रमा र सूर्यसँग
आफूलाई दाँजेर
एक्लो भएकोमा गर्व गर्छ
तर उसको एक्लोपनले
उसैलाई थिचिरहेको छ
जसरी लाखौँ पैतालहरुले
पृथ्वीलाई थिचिरहेका छन्
ऊ निसास्सिएको छ भित्रभित्रै
जसरी प्रदुषित वातावरणले
पृथ्वी निसास्सिएको छ
उसलाई भगवान ठान्नेहरुले पनि
बेलाबेला कुल्चिरहन्छ्न्
जसरी भगवान मानिएको
चन्द्रलाई मान्छेले कुल्चिएको छ
आठ अर्ब टाउकाहरुको
भारी बोकेर हिँडेको पृथ्वी जत्तिकै
विशाल छ उसको हृदय पनि
तर पनि ऊ एक्लो छ ।
हिजो बा’को सम्झनाले
हर रात सपनीमा ऐँठन हुने उसलाई
आज कसको यादले
उसको निद्रा बिथोलिरहेको होला ?
त्यसैले हरेक रात
ऊ मातेपछि मात्रै निदाउँछ
तर ऊ मातेको खबर
सहरले चाल पाउँदैन
सुस्तरी पिउँछ
मानौँ
प्रियसीलाई चुम्बन गरिरहेको छ
कसैले नदेख्नेगरी
मातेर पनि होस नगुमाउनेहरु
मलाई खराब लाग्दैनन्
पिएर पनि ऊ शालीन छ
तर पनि ऊ एक्लो छ ।
ऊ चर्चित छ
ऊ लोकप्रिय छ
ऊ सबैको प्रिय छ
तर पनि ऊ एक्लो छ
वर्षौंदेखि…
(साहित्यपोस्टको फेसबुक पेज तथा युट्युब च्यानलमार्फत हरेक शनिबार राती ८ बजे प्रसारण हुँदै आएको कार्यक्रम “साहित्यवार्ता : स्रष्टा सिर्जना” मा गरिएको कुराकानीमा आधारित ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
