गजलका विषयमा बेलाबेला विभिन्न किसिमका बहस (हामीले विवाद भन्छौँ) हुँदै आएका छन् । यी बहस जरुरी छ पनि र छैन पनि । यदि गजलमा विवाद छ भने त्यो केही गजलकारहरूको अहङ्कार र अतिवादी सोचका कारणले छ । हैन भने लेखनको विषयमा बहस हुनु आफैँमा सुन्दर कुरा हो भन्ने लाग्छ । तर त्यो बहस सभ्य किसिमको हुनु जरुरी छ ।

कहिले गजल लेखनको विषयमा विवाद भइरहेको हुन्छ त कहिले गजल प्रतियोगिताका नतिजालाई लिएर सञ्जालमा बहस छेडिएको हामी देखिरहन्छौँ । एक-अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने परिपाटी नेपाली साहित्यमा हाबी हुँदै गएको छ । गजलमा झन् बेसी छ । गजलमा यस्तै अनेक किसिमका उतारचढाव आइरहेकै बेला निक्कै सक्रिय गजलकार लोकेन्द्र बञ्जाराको यति बेला नवीनतम गजल सङ्ग्रह “पलक” बजारमा आएको छ । यो उहाँको तेस्रो गजल सङ्ग्रह हो ।

यसअघि उहाँका  दुई गजल सङ्ग्रह “आँखाभरि सपना” (२०६२) र “जैतुन” ( २०७३) प्रकाशित छन् । तेस्रो गजल सङ्ग्रह “पलक” लाई “पेज टर्नर” ले प्रकाशन गरेको हो । गत जेठ २७ गते शनिवार काठमाडौँमा आयोजित एक समारोहका बिच सो गजल सङ्ग्रह विमोचन गरिएको थियो ।

गजलकार बञ्जार विगत अढाई दशकदेखि गजल लेखनमा सक्रिय हुनुहुन्छ । तेह्रथुमको जलजलेमा २०३९ साल भदौ ५ गते जन्मनु भएका गजलकार बञ्जाराको हालको बसोबास भने झापाको दमकमा रहेको छ । माता पुन्यमाता बञ्जारा र पिता नेत्र प्रसाद बञ्जाराका उहाँ एक मात्र छोरा हुनुहुन्छ ।

२०५५/०५६ सालबाट साहित्य लेखनको यात्रा प्रारम्भ गर्नुभएका गजलकार बञ्जाराको ०५६ सालमा मोरङको एक हवाई पत्रिकामा पहिलो पटक मुक्तक प्रकाशित भएको थियो । अहिले भने उहाँ पूर्ण रूपमा गजल लेखनमै समर्पित हुनुहुन्छ । पत्रपत्रिकामा आफ्नो नाम छापिने लोभ र कसैले चिन्ला कि भन्ने आशाले लेखनमा आएको बताउने गजलकार बञ्जारा अहिले भने लेखन आदत बनिसकेको बताउनु हुन्छ । उहाँ आफूलाई गजलप्रति इमानदार र विधाप्रति सम्मान गर्ने मान्छे हो भन्न रुचाउनु हुन्छ ।

गजल लेखनसँगै उहाँ निजी व्यवसाय सञ्चालन गरिरहनु भएको छ । वैदेशिक रोजगारको सिलसिलामा कुनै समय उहाँ युएईमा पनि रहनु भएको थियो । झापाको दमकमा रहेको कदम थिएटरमा आबद्ध रहनु भएका गजलकार बञ्जाराले  जीवन स्मृति प्रोत्साहन (झापा), आदित्य जंग गौरव पुरस्कार (कपिलबस्तु), सेतुराम मोतिराम (काठमाडौँ) लगायत सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ ।

उहाँ आफू मात्रै लेख्नु हुन्न, गजल लेख्नेहरूलाई हौसला प्रदान गर्ने काम पनि गर्दै आइरहनु भएको छ । जसको एउटा उदाहरण झापाको दमकमा हरेक दुई महिनामा हुँदै आएको गजल वाचनको शृङ्खला “शेर-अन्दाज” हो । उहाँसहितको टिमले पारिश्रमिकसहितको गजल वाचनको शृङ्खला २०७९ सालको असार ३ गते शुक्रवारबाट सुरु गरेको थियो । सो कार्यक्रममा साहित्यपोस्ट मिडिया पार्टनरको रूपमा रहँदै आएको छ भने अन्य विभिन्न सङ्घसंस्थाले आर्थिक लगायतका सहयोग पुर्याउँदै आएका छन् ।

उहाँको नवीनतम गजल सङ्ग्रह बजारमा आएसँगै सो गजल सङ्ग्रह र गजलसँग सम्बन्धित रहेर उहाँसँग केही कुराकानी गर्ने जमर्को गरिएको छ ।  प्रस्तुत छ गजलकार लोकेन्द्र बञ्जारासँग गरिएको कुराकानीको सम्पादित अंश ।

 

विमोचन समारोह कस्तो रह्यो ? के कस्ता प्रतिक्रियाहरू पाउनु भयो नयाँ सङ्ग्रहलाई लिएर ?

– नेपाली गजलमा  विद्यावारिधि गर्नुभएका गजलकार  डा. कृष्णहरि बराल, नेपाली गजल लयबद्ध अर्थात् गेयात्मक हुनैपर्छ भन्ने अग्रज गजलकार ललिजन रावल दुवैले “पलक” एउटा पढिनुपर्ने, बारबार पढिनुपर्ने  किताब भनिदिनुभएको कार्यक्रम अत्यन्त आकर्षक त  रहने नै भयो । त्यसमा पनि गजलकार बाबु त्रिपाठीको सञ्चालन र  हलभरि उपस्थित गजल प्रेमीहरूको हौसला,अत्यन्त सभ्य र भव्य रह्यो पलक विमोचन समारोह । सबैले राम्रा गजलहरूको सङ्ग्रह निस्किएछ मात्रै नभनी सङ्ग्रहको कभर आकर्षक रहेछ भनेको पनि पाएँ ।

दोस्रो गजल सङ्ग्रह प्रकाशनको ७ वर्षपछि तेस्रो गजल सङ्ग्रह लिएर आउनु भएको छ । यो सङ्ग्रहलाई लिएर तपाईं आफू चाहिँ कत्तिको उत्साहित हुनुहुन्छ ? कत्तिको आशावादी हुनुहुन्छ ?

– नेपाली गजल गेयात्मक हुनुपर्छ भन्ने मान्यताको मान्छे म । त्यसमा पनि धेरै जनाले रुचाएका ,भ्युज धेरै पुगेका  मनलाई मर्मले भरेर कोमल बनिएका गजलहरू लिएर  पलकको रूपमा आएको छु । अघिल्लो  सङ्ग्रह `जैतुन´ आएपछि लेखिएका मन पर्ने गजलहरू रहेको  हुँदा म  एकदमै आशावादी छु । बिक्छ, व्यवसायिक धर्ममा हिँडेर व्यवहारिक खुट्किलो पनि चढ्छ भन्ने आशाले निक्कै  उत्साहित छु ।

गजल सङ्ग्रहको नाम “पलक” राख्नु भएको छ । यो नाम कसरी जुराउनु भयो ? यही नाम राख्नुको केही विशेष कारण छन् भने त्यो पनि खुलाइदिनुस् न ।

– मेरा  गजलहरूमा  प्राय: आँसु, आँखा, जीवन,  चप्पल, दुख, भन्ने शब्दहरू आइरहन्छन् । तसर्थ  यी  शब्दहरूको  एकै रूप  म कुनै  शब्दमा  खोज्दै थिएँ ।   एक दिन  पलक  भन्ने  शब्द  सुनेँ । देखेँ । अर्थ  खोजेँ ।  त्यसको अर्थले मेरो किताबलाई समेट्छ भन्ने लागेर  पलक जुराएको हुँ । त्यसभन्दा अघि त अर्कै नाम  सोचेको थिएँ । त्यसको कहानी अलि बेग्लै छ ।

अपवादलाई छोड्ने हो भने गजल र कविताका कृति उति साह्रो बिक्री भएको पाइँदैन ।  व्यवसायिक हिसाबले अथवा भनौँ बिक्री वितरणका हिसाबले चाहिँ यो सङ्ग्रह कत्तिको सफल होला भन्ने सोच्नु भएको छ ?

– किताब  निकाल्ने  र त्यसलाई  व्यवसायिक  बनाउने भन्ने संस्कार हाम्रोमा अलि गलत खाले छ । त्यसमा पनि कविता त अलिअलि बिक्छ । गजलको  संस्कार भर्खरै बस्दै छ । पलक जतिको सङ्ग्रह पेज टर्नरले  वितरण त गरी नै सक्यो । बिक्न पनि बिक्दै छ । बाँकी पनि  बिक्छ । यसको अर्को संस्करण पनि आउँछ भन्ने विश्वासमा छु म त ।

बिक्री वितरणकै कुरामा अर्को कुरा जोड्न मन लाग्यो । कतिपय अवस्थामा के पनि देखिन्छ भने किताब प्रकाशन भइसकेपछि थुप्रै ठाउँबाट त्यसको माग आइरहेको हुन्छ । तर सम्बन्धित ठाउँसम्म किताबहरू पुग्न नसकिरहेको गुनासो पनि आउँछन् बेलाबेला । यसरी हेर्दा हाम्रो बजारीकरण अथवा भनौँ बिक्री वितरण  प्रणाली चाहिँ अलिक चुस्त छैन कि ? तपाईंलाई के लाग्छ ?

– अघि नै भनिहालेँ काव्यको वितरणमा हामीले गलत  संस्कारको अभ्यास गरिरहेका छौँ । हुन चाहिँ क्वालिटी  हुनु नै पर्छ नत्र बिक्दैन । बेचेर पनि पाप लाग्ला । राम्रो लेख्नु त पर्छ नै । नत्र किन बिक्थ्यो ?  तर हामीले गोजीबाट पैसा हाल्यो, छपाई गर्‍यो अनि साहित्यिक वृत्तमा भेट हुने बित्तिकै निःशुल्क बाँड्यो । त्यो खराब काम भयो। कुरा रह्यो बजारमा चाहिने जति पुग्दैन भन्ने, त्यो त कमै  होला । सायद त्यस्तो नहोला । बिक्यो भने प्रकाशकले कसो नपुर्याउन् भन्ने लाग्छ।

कृति प्रकाशनपछि त्यसको बिक्रीका लागि लेखक आफैँले पनि निक्कै दौडधुप र कसरत गरेको हामी पाउँछौँ ।  कुनै प्रकाशन गृहले कृति प्रकाशन र त्यसको बजारीकरणको जिम्मा लिइसकेपछि पनि लेखकहरू ढुक्कका साथ किन बस्न नसकेका होलान् ?

– कृति प्रकाशनपछि पनि त्यसको प्रमोटको लागि लेखक स्वयं लाग्नु नराम्रो कुरा मलाई लाग्दैन । पाठकहरू प्रकाशन संस्थाभन्दा बढी `एटेच´ लेखकसँग नै भएका  हुन्छन् । पाठकहरूको त्यो एटेचमेन्टलाई क्याच गर्न सकेको खण्डमा लेखक र प्रकाशक दुबैलाई आर्थिक फाइदा हुने देखिन्छ । तसर्थ लेखकहरू उत्तिकै सक्रिय भएर भिडेका हुन् । जति धेर मेहनत त्यति फाइदा सम्झेका हुन् ।

राजधानीभन्दा पर बसेर साहित्य कर्म गर्नु अनि किताब प्रकाशन र विमोचनका लागि राजधानीसँग भर परिरहँदा कत्तिको सहज/असहज हुँदो रैछ ? तपाईंको अनुभव सुनौँ न ।

– राजधानीभन्दा पर बसेर साहित्य सिर्जनाभन्दा पनि  गजल सिर्जना गर्नु भन्नेतिर मेरो ध्यान छ । यो सजिलो कुरा त कहिल्यै भएन । तर अहिले आएर चाहिँ  सामाजिक सञ्जाल जस्तो फेसबुक, टिकटक, युट्युब आदिमा आफ्नो सिर्जनाले दम देखाएकाहरूलाई  राजधानीले पत्याउन थालेको छ । त्यही पत्याएको  कारण नै पलक पनि जन्मिएको हो । साधारण लेखनभन्दा माथि उठ्न नसक्दा चाहिँ मोफसललाई  राजधानीले गन्दैन । मलाई  त त्यति असहज भएन । बरु  सहज नै भएको छ । मेरो जानपहिचान भएका धेरै कवि  गजलकारहरू राजधानीमा हुनुभएकोले सायद मलाई  सहज भएको  हो ।

तपाईंले यसअघि पनि दुई ओटा गजल सङ्ग्रह प्रकाशन गरिसक्नु भएको छ । ती दुईभन्दा केही फरक लिएर आउनु भएको छ तेस्रो सङ्ग्रहमा ? कि प्रकाशनको निरन्तरता मात्रै हो ?

– पहिलो सङ्ग्रह “आँखाभरि सपना” (२०६२) उतिखेर भर्खर-भर्खर लेखिएका, उमेरका हिसाबले पनि प्रेम र प्रेम बिछोडमा आधारित जस्तो कृति छ । “जैतुन” (२०७३) म विदेश बस्दा त्यता मैले भोगेका र महसुस गरेका मुगलानी कुराहरूको निरन्तरता हो । तर पलक यी दुई सङ्ग्रहभन्दा  बिलकुल अलग हो । यसमा विचार छ । गेय/ लयात्मक गजलमा अन्दाजसहितको प्रस्तुति हो । तसर्थ यो कृति प्रकाशनको निरन्तरता कदापि होइन । पलक त एउटा  आर्ट हो मेरो लागि ।

सामान्यतया गजल र कविता कृतिका लागि प्रकाशक भेट्न गाह्रो हुन्छ, केही अपवाद बाहेक । हैन भने सर्जक आफैँले लगानी गर्नुपर्ने अवस्था छ । तर तपाईंको तेस्रो सङ्ग्रह प्रकाशकले नै प्रकाशन गर्यो । यस अर्थमा तपाईं अलिक भाग्यमानी गजलकार हो ?

–  भाग्यमानी भन्नु त मेरो कर्म हो । २२/२५ वर्षदेखि गजल कर्म गरेरै यहाँसम्म आइपुगेको हुँ । पहिलो सङ्ग्रह  ‘आँखाभरि सपना’लाई बिनोद शिवाकोटी भन्ने साथीले  मलेसियाबाट पैसा पठाइदिएर छापिदिएका हुन् । दोस्रो  ‘जैतुन’मा बरु मेरो आफ्नै लगानी छ । त्यसमा प्रकाशकले मलाई अन्य पक्षमा सहयोग गरेका छन् । तेस्रो सङ्ग्रह पलकमा सुपथ लगानी पेज टर्नरको छ । यसो हुनुमा मेरो  कर्म पनि त हो। त्यति भाग्यमानी पनि नभनौँ होला । गजल लेख्दै रहे जो पनि भाग्यमानी बन्ला भन्ने पो लाग्छ  बरु ।

झापाको दमकमा पारिश्रमिकसहित गजल वाचनको शृङ्खला “शेर-अन्दाज” चलाइरहनु भएको छ । के कस्ता प्रतिक्रियाहरू पाइरहनु भएको छ ? र कतिको सहज छ यस किसिमका कार्यक्रम गर्नलाई ?

– दमकको हकमा कदम थिएटरसँगको सहकार्यमा शेर  अन्दाज चल्दै छ । तसर्थ त्यस्तो अकाट्य गाह्रो भने भएको छैन । धेरै वर्षदेखि गजलमै रहेका अर्का गजलकार मित्र  कृष्ण काश्यपले यसमा व्यवस्थापकीय सहयोग गर्नुहुन्छ ।  कदम थिएटरले साउण्ड, कुर्सीसहित हल प्रदान गर्छ । शुभेच्छुक  साथीहरूले गच्छे अनुसारको अन्य  सहयोगहरू गरिरहनु भएकोले शेर-अन्दाज चलिरहेको हो ।

“गजललाई प्रेम गर्ने मान्छे हुँ” भन्नुहुन्छ आफूलाई । गजल प्रतिको प्रेम झिकिदिने हो भने तपाईंको जीवन अधुरो रहला उसो भए ?

– कस्तो सुन्दर प्रश्न प्रभु ? अवश्य ।  जब घरमा मान्छे बसेन भने त्यो घरको के काम ? फूलको वासना नभए के ?  पलाँस भन्ने उत्तर आउला । हो त्यही पलाँस बाँकी रहला। फूल त फूल नै हुँला तर नीरस, उदास, दुखी, त्यस्तै के के ।  माछालाई पानीबाट झिकिए जस्तो । थोरै दिनको आयुको ।

गजलमा उठान गरिने विषयवस्तुका हिसाबले अहिलेको पुस्ताले के लेखिरहेको छ ? जे लेखिरहेको छ ठिक लेखिरहेको छ ? तपाईंलाई के लाग्छ ?

– यो त अत्यन्तै गहन प्रवृत्तिगत नियाल्ने विश्लेषकलाई सोध्ने प्रश्न भयो । उत्तर दिनै गाह्रो पर्ने  । गजलमा उठान गरिने विषय जीवनसँग जोडिएका  छक्क पार्ने, हो र ? भन्ने खालका, भोगिएका तर थाहै नपाएका जस्ता, नत्र दर्शनले ओतप्रोत, मर्मभेदी, हुनुपर्ने  हो । अहिलेको पुस्ताले लेख्न खोजेको पनि त्यही हो । कहिलेकाहीँ भाँती नपुग्नुमा गजलकारको अध्ययन, मनन, चिन्तन र अभ्यास नपुगेको होला भन्ने लाग्छ । केही छन्  जसले सिक्न खोजेका छन्।केही छन् जसलाई सिक्न जरुरी छ । थोरै छन् जसले बुझेका छन् तर सिर्जनामा  डेलीभर गर्न कम मात्र सकेका छन् ।तसर्थ नेपाली गजल  यता त्यताको लडाइँबाहेक ठिकै चल्दै छ भन्ने लाग्छ।  व्यावसायिक हुँदै छ ।

गजल लेखनमा तपाईंको चाहिँ केन्द्रीय विषय के हो ?

– जीवनदर्शन । गजलको अन्तिम दर्शन यही हो सबैको ।  दुख,आँसु,चप्पल, प्रेम,जीवन हुन् । यस सम्बन्धी  लेखिएका महसुस भएका कथा कहानी काव्य सब दर्शन हुन् । भाँती नपुगेको भने मान्छु ।

नेपाली साहित्यमा निक्कै मन पराइएको र रुचाइको विधा गजल पनि हो । तर नेपाली साहित्यको मूलधार भनिने साहित्यिक वृत्त अथवा भनौँ भनिँदै आएको नेपाली साहित्यको केन्द्रीय सत्ताले गजल र गजलकारहरूलाई उति साह्रो महत्त्व नदिएको हो कि भन्ने लाग्छ । के छ अवस्था ?

– खाइरहेको खान्की, बसिरहेको ठाउँ, हिँडिरहेको बाटो अरूलाई अलिकति दिनुपर्दा यथास्थितिको हर्मोन बढी  हुने गरेको ज्यानले बरु त्यसो नगर भन्नु, त्यस्तो हुँदैन भन्नु  त के अचम्म भयो र ? अरूको अस्तित्व स्वीकार गर्नु पर्दैन ? तर अहिले साहित्यको सत्ताको पहुँचमा सबै  सकारात्मक देख्छु । एकेडेमीले नै गजल महोत्सव गर्यो ।  धेरै ठाउँतिर गजललाई साथ र सहयोग दिएका छन् ।  कहीँ कतै गजलको प्रतिपक्षी भएनन् भने त गजललाई पनि त सुध्रेर अगाडि बढ्न गाह्रो हुन्छ नि ।

गजलकारसँग अन्तर्वार्ता गरिसकेपछि छुटाउनै मन नलाग्ने एउटा कुरा हुन्छ, गजलको विवाद । गजल लेखनको विषयलाई लिएर होस अथवा कहिलेकाहीँ गजल प्रतियोगिताका नतिजालाई लिएर होस् सामाजिक सञ्जालमा विवाद देखा परिरहन्छ । यस्तो किन भइरहेको होला जस्तो लाग्छ यहाँलाई ?

– एक वाक्यमा यो अस्तित्वको लडाइँ हो । सिर्जनशीलहरूलाई अस्तित्वको सङ्कट हुँदैन । विवाद त्यसले गर्ने हो जोसँग सिर्जना गर्ने क्षमता छैन ।  `अटेन्सन सिकर´हरूले गरेका हुन् विवाद । नेपाली गजलमा विवाद नै छैन । विवाद चाहिँ ल्याइन्छ बेला-बेला । झगडा गर्न मन लागेर निहुँ खोजे जस्तो ।

जब-जब गजलको विवाद सञ्जालमा देख्छु, तब मैले भन्दै आएको कुरा के हो भने, “गजल लेखनको विषयले भन्दा पनि केही गजलकारहरूको अहङ्कार र अतिवादी सोचका कारण यी विवादहरू आएका हुन्” भनेर मैले भन्ने गरेको छु । मलाई लागेजस्तै तपाईंलाई पनि लाग्छ ?

– लाग्छ । मैले जाने जति कसैले जानेको छैन भन्ने कथित अहङ्कारले ल्याउँछ विवाद । नेपाली गजलमा अतिवादीहरू धेरै छन् । हुन सक्छ मैले यति भनेकै निहुँमा मेरो खेमाको आकलन  गर्दै होलान्, केही उद्देश्यविहीन विवाद।

कुनै पनि कुरामा विवाद सिर्जना हुनु, त्यसमाथि छलफल र बहस हुनु राम्रै हो भन्ने पनि लाग्छ । किनभने बहसले नै एउटा समाधानको विन्दुमा पुर्याउने गर्छ । तर गजलमा भने केवल विवादका लागि विवाद जस्तो मात्र भएको पाइन्छ । कुनै सार्थक बहस गरेर गजल लेखन सम्बन्धी जुन विवाद देखा परिरहन्छ त्यसलाई सधैँका लागि टुङ्ग्याउन किन नसकिएको होला ?
– छलफल र बहस पनि त स्वस्थ र कोमल हुनुपर्यो नि !

कसैलाई “तँ गजल लेख” भनेर अह्राएर कसैले कसैको लागि गजल लेखिदिने हो र ? होइन नि त ! तब त यो  लेखन भन्ने कुरा आत्माको आवाज हो । आत्मालाई तँ   यस्तो लेख तैँले उस्तो लेख्नुपर्छ भनेर कसैले भन्ला ?  त्यही कारण हो । यो टुङ्गिने अथवा टुङ्गिनु पर्ने विवाद नै  होइन । बोकेर ल्याइएका कुराहरू ल्याउनेले हटाइदिएपछि  हटेको मानिन्छ । हट्छ पनि । एक दिन त लडाइँ पनि सकिन्छ नै । अनि आँगन फराकिलो हुनेछ ।

अपवादलाई छोड्ने हो भने अधिकांश गजलकारहरू कि त सैद्धान्तिक रूपमा गजल लेखनको पक्षमा छन्, कि त स्वतन्त्र अथवा भनौँ आधुनिक गजल लेखनको पक्षमा छन् । मैले थाहा पाएसम्म तपाईं भने स्पष्ट रूपमा यी दुवै पक्षको वकालतमा उभिएको देख्दिन । मतलब दुवै पक्षका गजलकारहरूसँग तपाईंको सम्बन्ध राम्रो छ । यो विवादको झन्झटमा पर्न नचाहेको हो ? अथवा साथीहरू रिसाउलान् कि भनेर हो ?

– गजल आत्माको अभिव्यक्ति  हो । यसलाई विभिन्न बाटो भएर यात्रा गर्नुपर्छ । यात्रामा कतै ओराली आउला, कतै  उकाली, त कतै सम्म बाटो आउला । म त गजलयात्री हुँ । मैले सबै बाटो हिँड्नै पर्छ । कि त यात्रा पूरा गर्नुपर्यो, कि त छोड्नु पर्यो । मैले किन छोड्ने ? सैद्धान्तिक  बहरमा पनि लेख्छु । बिना बहरमा पनि लेख्छु । मेरा लागि सबै  साथीभाइहरू उत्तिकै बराबर हुन । बहर नजान्नेले स्वैच्छिक लयमा लेखौँ । बहर पनि सिकौँ । बहरमा लेख्ने कोसिस गरौँ, के भयो त ? भन्ने पक्षमा म रहेको हुँदा म कतै नराम्रो    गर्दिन। झन्झटमा, विवादमा पर्ने हो भने लेखन सकिन्छ ।  मलाई धेरै लेख्नु छ । बेकार दुस्मनी के मोल्नु ? भोलि भेट भएर गले मिल्ने साथीहरू तिनै हुन् । मेरो सबैलाई माया छ ।मेरो कसैलाई निषेध छैन ।

साहित्यपोस्टसँग कै अन्तर्वार्तामा गजलकार तपेन्द्र घोडासैनीज्यूले, “यस्ता विवादले गजलका सम्बन्धमा अझ बहस र छलफल हुने गरेको छ । यस्ता छलफलमा गजलसम्बन्धी चर्चा हुने भएकाले गजल विधा अझ विकास र परिष्कृत हुन सहयोग पुग्छ । त्यसैले यस्ता बहस र विवादले अन्ततः गजल विद्यालाई नोक्सानभन्दा बढी नाफा नै गरेको मैले पाएको छु ।” भनेर भन्नुभएको थियो । तपाईंलाई पनि यस्तो लाग्छ ? अथवा के भन्न चाहनु हुन्छ उहाँको विचारमाथि ?

– तपेन्द्रजीले बहस स्वस्थ हुँदा राम्रो हुने भन्नु भएको हो । सही हो पनि त्यो त । तर समस्या के हो भने हाम्रो बहसको संस्कार कोमल छैन । हृदय ओछ्याएर हो बहस गर्ने भनेको । यहाँ जित्नको लागि मात्र बहस गरिन्छ । त्यसको केही फाइदा छैन । यहाँ मान्छेले जित्छन्, जित्नु चाहिँ गजलले पर्ने हो ।

अढाई दशकदेखि गजल लेखनमा लागेको तपाईंको अनुभवका आधारमा भन्नुपर्दा, भोलिका दिनमा गजल विधालाई अझै स्तरीय र लोकप्रिय बनाउनका लागि गजलकारहरूको तर्फबाट के के गर्न सकिएला भन्ने लाग्छ ?

– यसको जवाफ एउटै छ, गजलकारले गर्ने भनेकै अध्ययन, मनन, चिन्तन र अभ्यास मात्र हो ।

साहित्य लेखनको सुरुवाती दिनमा तपाईं मुक्तक पनि लेख्नुहुँदो रैछ । मुक्तकबाट गजलमा कसरी आइपुग्नु भयो ? र अहिले मुक्तक लेखनको अवस्था के छ आफ्नो ?

– नयाँ-नयाँमा केही नजाने पनि केही लेखिन्छ र त्यसको नाम मुक्तक हुन्छ क्या । मेरो त्यही भएको हो। मुस्किलले मैले १० ओटा जति मुक्तक लेखे हुँला त्यही पनि अत्तो न पत्तो थाहा बिनाका । त्यसपछि यसो पत्रपत्रिकाहरूमा लेखहरू पढेँ। अनि गजल भनेर जानी नजानी लेख्न थालेँ। हुन त अहिले पनि जानी नजानी नै  लेखिरहेको छु ।

तपाईं आफूलाई गजलप्रति इमानदार र विधाप्रति सम्मान गर्ने मान्छे हो भन्न रुचाउनु हुन्छ । आफ्नो विधाको सम्मान गर्नु त राम्रो कुरा हो। “गजलप्रति इमानदार” भनेको चाहिँ के रहेछ ? बताइदिनु भएदेखि अन्य गजलकारहरूलाई पनि गजलमा इमानदार हुन सजिलो हुन्थ्यो कि ?

–  गजलकार भएर स्टेज चढ्नु अनि एउटा मुक्तक अथवा अन्य टुक्राटाक्रीबाट सुरुवात गर्नु, गजलकार चाहिँ ठुलै हुँ खतरै हुँ भन्ने तर सानातिना कलिला चिचिलाहरूसँग प्रतियोगितामा भिड्नु र भाग खोस्नु, गजलका आयाम अथवा गजल सम्बन्धी विचारहरूसँग अपडेट नहुनु,भेट्ने बित्तिकै गजल बाहेकका अरू स्टेजमा वाचनका लागि  बस्नु, बहर/बेबहर भनेर लाखापाखा गर्नु, ठाउँ, काल, समय नहेरी , जतिखेरै जहाँ पनि रमाइलो मेलामा भेटे पनि लु जाओस् भनेर गजल सुनाउन खोजिहाल्नु, सुनाइहाल्नु आदि आदि धेरै कुरा गजलप्रति बेइमानी हुनु हो ।

पत्रपत्रिकामा आफ्नो नाम छापिने लोभ र कसैले चिन्ला कि भन्ने आशाले लेखनमा आएको बताउनु हुन्छ । लेखनको यो अढाई दशकको यात्रामा लेखनकै माध्यमबाट आफूलाई कति हजारको सङ्ख्याले चिन्छ होला भन्ने लाग्छ ?

– चिन्ने भन्ने कुरा कुन हिसाबले चिन्छन् भन्नेमा भर पर्छ।  कस्तो गजल लेखन गर्ने मान्छे हो भन्ने बारेमा चिन्छन्  त्यो मलाई थाहा छैन । यतिले नै चिन्लान् भन्ने ज्ञान  अहिलेसम्म छैन प्रभु । पाँचै सयले चिने पनि लोकेन्द्र बञ्जारा राम्रो गजलकार हो भनेर चिनिदिए पुग्छ ।

माथिका प्रश्नहरूमा छुटेका तर भन्न मन लागेका आफ्ना र गजल सम्बन्धी केही कुराहरू छन् भने यहाँ राख्न सक्नु हुनेछ ।

–  खासै केही छैन । गजल भन्नु एउटा संस्कार हो । हामीले   गजलको इज्जत गर्न सकियो भने मात्र गजलले हाम्रो  पनि इज्जत राख्छ । गजलको स्टेजमा मुक्तक सुनाएर र गीत  गाएर गजलको हुर्मत लिन बन्द गरौँ । र, पलक  किनेर पढ्दिनुहुन सादर अनुरोध सहित ।