विहिबार बिक्रीको अन्तिम मिति तय गरिएको छ । हलिउडमा आफ्नो प्रभाव अझ मजबुत बनाउन नेटफ्लिक्स, कमकास्ट र प्यारामाउन्ट—यी तीन ठूला कम्पनीहरूले वार्नर ब्रदर्स डिस्कभरीको पूर्ण वा आंशिक स्वामित्व लिन सक्ने अपेक्षा गरिएको छ ।
योजनाबारे जानकार स्रोतका अनुसार, तीनै कम्पनीले किन आफूहरू उत्तम विकल्प हुन् भन्ने तर्कहरू तयार गर्दैछन् । यी तर्कहरू केवल आर्थिक पक्षमा केन्द्रित छैनन्—यद्यपि आर्थिक पक्ष प्रमुख छ—तर राजनीतिक परिदृश्य पनि उत्तिकै प्रभावकारी छ । अन्य ठूला मर्जर र अधिग्रहणझैं, यो सम्झौताका लागि पनि संघीय नियामक निकायको अनुमति आवश्यक हुनेछ। साथै, राष्ट्रपति ट्रम्पले मिडिया स्वामित्वबारे आफ्ना प्राथमिकता स्पष्ट रूपमा व्यक्त गर्दै आएका छन् ।
वाल स्ट्रीट अनुसन्धान संस्था मोफेटनाथनसन का अनुसार वार्नर ब्रदर्स डिस्कभरीको एकल मूल्य ४४४ अर्ब डलर (इक्विटी मूल्य ४३७ अर्ब) आँकलन गरिएको छ । सीबीएस न्यूज, ‘टप गन’ जस्ता फिल्म र एमटीभीजस्ता केबल नेटवर्क सञ्चालित गर्ने प्यारामाउन्टलाई यस प्रतिस्पर्धामा अग्रस्थानमा हेरिएको छ—मुख्यतः यसको वित्तीय र राजनीतिक लाभका कारण । प्यारामाउन्टका मालिक राष्ट्रपति ट्रम्प प्रशासनसँग निकट मानिन्छन् ।
त्यसैगरी, एनबीसी, युनिभर्सल स्टुडियो र थिम पार्कहरू सञ्चालित गर्ने कमकास्टले फरक रणनीति अपनाएको छ । कमकास्ट वार्नर ब्रदर्स डिस्कभरीको स्टुडियो र स्ट्रिमिङ सेवा मात्र किन्न इच्छुक देखिन्छ, ताकि केबल नेटवर्कमाथि हुन सक्ने नियामक छानबिनबाट जोगिन सकियोस् ।
मनोरञ्जन उद्योगको ‘राजा’ मानिने नेटफ्लिक्स पनि स्टुडियो र स्ट्रिमिङ सेवातर्फ नै केन्द्रित भएको एक आन्तरिक स्रोतले बताएको छ । करीब ४७० अर्ब डलर बजार मूल्यसहित नेटफ्लिक्ससँग पूँजीको कुनै अभाव छैन । यदि यो सम्झौता सफल भयो भने, डिज्नी र प्यारामाउन्टजस्ता प्रतिस्पर्धीभन्दा एक कदम अगाडि पुग्ने सम्भावना छ । यससँगै ब्याटम्यान, ह्यारी पोटरजस्ता वैश्विक प्रभाव भएका बौद्धिक सम्पत्तिहरू नेटफ्लिक्सको हातमा पुग्नेछन्, जुन यसको लागि सम्भावित ‘सुनको खानी’ बन्न सक्छ ।
क्यालिफोर्नियाको बर्ब्याङ्कस्थित वार्नर ब्रदर्स स्टुडियो लट पनि उच्च मूल्यको सम्पत्ति हो । तर यिनै कारणहरूले संघीय एकाधिकार विरोधी नियामकलाई चिन्तित बनाएको छ । केही सांसदहरूले सम्भावित सम्झौताप्रति पहिले नै आलोचना व्यक्त गरिसकेका छन् ।
दक्षिणी क्यालिफोर्नियाका रिपब्लिकन प्रतिनिधि ड्यारेल इस्साले गत हप्ता महान्यायाधिवक्ता पाम बोन्डीलाई पठाएको पत्रमा सम्भावित संयोजनबारे गम्भीर चिन्ता उठाइएको छ । उनको भनाइमा, “नेटफ्लिक्सका ३० करोड विश्वव्यापी ग्राहकहरूलाई एचबीओ म्याक्सका ग्राहक र वार्नर ब्रदर्सका प्रमुख सामग्री अधिकारसँग जोड्दा स्ट्रिमिङ बजारको हिस्सा ३० प्रतिशतभन्दा माथि पुग्न सक्छ, जुन परम्परागत रूपमा एन्टिट्रस्ट कानून अन्तर्गत समस्याजनक मानिन्छ ।’’
तर नेटफ्लिक्सले यो तर्क गर्न सक्छ कि उनीहरू गुगल जस्ता प्रविधि कम्पनीभन्दा अझै साना छन्, र युट्युबजस्ता प्लेटफर्महरूले स्ट्रिमिङ बजारमा धेरै ठूलो प्रभाव जमाइसकेका छन् । साथै नेटफ्लिक्सले अझ एउटा तर्क पनि अघि सार्न सक्छ—उसले आजसम्म कुनै पनि प्रमुख हलिउड स्टुडियोको स्वामित्व लिएको छैन, जसले जोखिम कम भएको देखाउन सक्छ ।
— द न्यूयोर्क टाइम्सबाट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










