१. विषय प्रवेश
साहित्यका विविध रूपमध्येमा एउटा रूप चलचित्रलाई पनि मान्ने गरिन्छ । यसमा पनि श्रव्य र दृश्य दुवै रूपको मिश्रण पाइन्छ तर यो अन्य साहित्यिक विधाहरूभन्दा अलि फरक प्रकृतिको हुन्छ । कला शब्दले सिर्जनाका धेरैजसो भेदहरूलाई समेटेको छ । कलाका सिर्जनात्मक (Creative) कला र प्रदर्शनात्मक (performence) कला गरी दुई स्वरूपहरू फेला पर्दछन् । साहित्य सिर्जनात्मक कला हो भने अभिनयका माध्यमबाट प्रस्तुत गरिने सबै रचनाहरू प्रदर्शनात्मक कलाअन्तर्गत पर्दछन् । चलचित्र नाटकको मूल अनुशासनमा आबद्ध भएर सिर्जना हुने त्यही प्रदर्शनात्मक कलाको सर्वोत्तम प्रविधा मानिन्छ । यस लेखमा विश्वरङ्गमञ्च र विश्वसाहित्यको त्यही लोकप्रिय प्रविधा चलचित्रको थोरै जानकारी प्रस्तुत गरी चलचित्रका लागि आवश्यक कथालेखन, पटकथालेखन र निर्माण प्रक्रियाका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. चलचित्रको सैद्धान्तिक स्वरूप र परम्परा
‘चल्’ मूल धातुमा ‘अच्’ प्रत्यय जोडिएपछि बनेको ‘चल’ शब्द र ‘चित्र्+अच्’ अथवा ‘चि+ष्ट्रन्’ निर्माण प्रक्रियाबाट बनेको ‘चित्र’ शब्दका बिचमा समास भएर ‘चलचित्र’ शब्द निर्माण भएको हो । निर्माण प्रक्रियालाई हेर्दा यसको अर्थ ‘चल्ने चित्र’ हुन्छ । अर्थात् गतिशील तस्बिर, गतिवान् चित्र वा अस्थिर चित्र नै चलचित्र हो । चल र चित्र दुवै तत्सम शब्द हुन् र यसको समस्त रूप चलचित्रले सम्बन्धित विधाको अपेक्षित अर्थलाई प्रतिनिधित्व गरेको छ तापनि यसको सैद्धान्तिक चर्चा, निर्माण प्रक्रिया र प्रयोगात्मक परम्पराको थालनी पूर्वीय जगत्बाट नभएर पाश्चात्य जगत्बाट भएको पाइन्छ । अन्य विधाका तुलनामा चलचित्रको प्रवर्तन निकै पछि मात्र भएको देखिन्छ । साहित्यका अन्य विधाहरू पूर्वमा वैदिक काल र पश्चिममा प्राचीन ग्रिसेली, ल्याटिन साहित्यसँग जोडिन पुग्दछन् तर चलचित्रको सम्बन्ध वैज्ञानिक एवम् प्राविधिक उपकरणसँग जोडिने हुनाले विश्वमा यसको विकास एक सय वर्षभन्दा केही अगाडि मात्र भएको देखिन्छ । यसको सैद्धान्तिक चर्चा पनि अन्य विधाको तुलनामा कमै भएको देखिन्छ । नेपाली सन्दर्भमा समालोचक प्रा. राजेन्द्र सुवेदीले ‘चलचित्र सिद्धान्त र नेपाली चलचित्र’ नामक कृतिमार्फत यसको सैद्धान्तिक स्वरूप निर्धारण र ऐतिहासिक पृष्ठभूमि केलाउने काममा उल्लेखनीय भूमिका खेलेका छन् । यही पूर्वकार्य र सन्दर्भसामग्रीका आधारमा यहाँ चलचित्रका बारेमा सामान्य सूचना प्रस्तुत गरी सिर्जनात्मक एवम् निर्माणात्मक सन्दर्भमा केही मार्गनिर्देश गर्ने प्रयास गरिएको छ ।

अङ्ग्रेजीमा चलचित्रको शाब्दिक रूपान्तरण ‘मोसन पिक्चर’ (Motion Picture) भन्ने हुन्छ तर यसलाई बुझाउनका लागि अङ्ग्रेजीमा विभिन्न शब्दहरू प्रचलनमा छन् । ती शब्दहरूमा ‘फिल्म’ (Film), ‘सिनेमा’ (Cinema), ‘मुभी’ (Movie), ‘टकी’ (Talky), ‘पिक्चर’ (Picture), ‘बाइस्कोप’ (Bi scope) आदि प्रमुख मानिन्छन् । यीमध्येमा सिनेमा चलचित्रका लागि निकै लोकप्रिय शब्द मानिन्छ । अर्थगत व्यापकताका दृष्टिले पनि सिनेमाले निकै फराकिलो अर्थ वहन गरेको देखिन्छ भने अन्य शब्दले लघुतालाई सङ्केत गरेझैँ लाग्दछ ।

चलचित्रको सैद्धान्तिक चर्चा पूर्वीय काव्यशास्त्रहरूमा भएको पाइँदैन । यसलाई चिनाउने कार्यमा पाश्चात्य विद्वान्हरूको विशिष्ट भूमिका रहेको देखिन्छ । ‘क्याम्ब्रिज एड्भान्स लर्नर डिक्सनरी’ले चलचित्रलाई एउटा यस्तो नाटक जो क्यामेरामा कैद गरेर चलचित्र भवनमा प्रदर्शन गरिन्छ र शुल्क लिएर दर्शकहरूमा प्रदर्शन गरिन्छ भनी परिभाषित गरेको छ भने कार्ल गुस्ताभ जुङले चलचित्र कुनै जासुसी कथाजस्तो हुन्छ जसले कुनै पनि खतराविना मानिसका उत्तेजना, प्यास र तृष्णा जस्ता त्रासद अनुभवलाई विरेचित गरी मानवीय समाजलाई व्यवस्थित गर्न सहयोग पु¥याउँछ भनी चिनाएका छन् । यसरी नै ‘नेपाली बृहत् शब्दकोश’ले चलचित्र विद्युतीय उपकरणका सहायताबाट रजतपटमा देखाइने चल्ने, फिर्ने कथात्मक नाट्यचित्र, सिनेमा, टाकिज आदिको अर्थ वहन गर्ने चित्रात्मक प्रदर्शन कार्य हो भनी चिनाएको छ । साथै भारतीय चलचित्र अध्येता अनुपमा ओझाले चलचित्रले अघिल्लो चरणमा सिर्जित उपयोगी र ललित सबै कलाहरू तथा कविता, नाटक, आख्यान आदि साहित्यका सबै विधाहरूलाई आफूमा समायोजन गरेर विज्ञान तथा प्राविधिक सन्दर्भलाई सन्तुलन गर्दै आफ्नो मौलिक पहिचान प्राप्त गरेको हुन्छ भन्ने विचार व्यक्त गरेकी छन् भने नेपाली चलचित्र चिन्तक लक्ष्मीनाथ शर्माले विश्वमा भाषा, साहित्य, सङ्गीत, नृत्य, विज्ञान, दर्शन, चित्रकला, वास्तुकला, नाट्यकला आदिका कलाकारको जन्म भइसकेपछि सबै कलाहरूको सङ्गमका रूपमा एउटा सशक्त, प्रभावशाली र मनोरञ्जक कलाको विकास हुन गयो जसलाई आज हामी चलचित्र भन्दछौँ भनी परिभाषित गरेका छन् । यसरी नै चलचित्रका अर्का सिद्धान्त निर्माता प्रा. राजेन्द्र सुवेदीले चलचित्र जीवनको यथार्थताको प्रतिविम्बन हो र यसले समाजका सकारात्मक पक्षहरूप्रति प्रोत्साहन र नकारात्मक पक्षहरूप्रति निरुत्साहनको व्यवस्थापन गर्दै मनोरञ्जन, शिक्षा र सुधारका सन्देशसमेत प्रदान गर्ने विविध प्रतिनिधि स्वर र विभिन्न प्रतिभाको समायोजनबाट सम्पादन हुने कार्य गर्दछ भन्ने विचार व्यक्त गरेका छन् । यी परिभाषाहरूलाई हेर्दा चलचित्रमा साहित्यको उच्चतम प्रयोग हुन्छ, सिर्जना र नाट्यको संयोजन हुन्छ, गीत, सङ्गीत र अभिनयको मिश्रण हुन्छ, द्वन्द्व र संवेगात्मक उतारचढावका कारण दर्शकलाई आकर्षण गर्ने क्षमता हुन्छ र प्रभावकारी भावसम्प्रेषणबाट शिक्षा र मनोरञ्जन दुवै प्राप्त हुन्छ भन्न सकिन्छ । यसका आधारमा हेर्दा उच्च सिर्जनशीलता, विशिष्ट कलाकारिता, संवेगात्मक साधारणीकरण र अद्भुत आकर्षणका माध्यमबाट प्रस्तुत गरिने जीवन र जगत्को विशिष्ट दृश्य रूप नै चलचित्र हो जसमा साहित्यका प्रायः सबै विधाहरूको आंशिक उपस्थिति हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

चलचित्रको प्राचीनताको खोजी गर्न थाल्ने हो भने सिधै पाश्चात्य जगत्मा प्रवेश गर्नुपर्दछ । यसको प्रवर्तन र विकास अन्य विधाको जस्तो झ्वाट्ट नभएर क्रमिक रूपमा भएको देखिन्छ । सर्वप्रथम सन् १८१४ मा दृश्य चित्रलाई स्थायीकरण गर्ने प्रयास स्वरूप बेलायतका पिटर रोजेट नामक एक व्यक्तिले ‘दृश्य स्थायित्वको सिद्धान्त’ प्रतिपादन गरे । यस धारणाका आधारमा बेलायत, बेल्जियम र अस्ट्रियाका अन्वेषकहरूले ‘जेट्रोय’ नामक एउटा यन्त्रको निर्माण गरे । उक्त ‘जेट्रोय’मा रहेको घुम्ने यन्त्रले घुमी घुमी दृश्यलाई चित्रमा उतार्ने काम गर्न थाल्यो । यसभन्दा अगाडि नै फ्रान्सका वैज्ञानिक जोसेफ निकोफोर नेप्केले थालनी भएको फोटोग्राफीको आविष्कार कार्यले सन् १८३९ मा पूर्णता पायो । यहाँसम्मका चित्रहरू पनि चल्ने प्रकृतिका थिएनन् । सन् १८८४ तिर अमेरिकाको न्युयोर्कमा थोमस एडिसनले विलियन केनेडी लारेडिक्सनको सहयोगमा गतिशील चित्र खिच्न सक्ने मुभी क्यामेराको आविष्कार गरे जुन विधि र यन्त्रलाई सन् १८९० मा किनेटोस्कोप नाम प्रदान गरियो । यसरी सुरु भएको चित्राङ्कन पद्धतिले छोटो समयमा युगीन फड्को मार्दै वर्तमानसम्म आइपुगेको देखिन्छ ।

चित्राङ्कन प्रविधिका बारेमा यस्तो इतिहास पाइए पनि चलचित्र निर्माणका सन्दर्भमा भने फरक पाटोबाट हेर्नुपर्ने हुन्छ । विश्वमा चलचित्रको विकास तीन चरणमा भएको पाइन्छ । सुरुमा मूक चलचित्र, त्यसपछि वाचाल चलचित्र र पछि रङ्गीन चलचित्र हुँदै यसले वर्तमानसम्मको यात्रा पूरा गरेको देखिन्छ । सन् १९०२ मा पोर्टरले अमेरिकामा निर्माण गरेको ‘द ग्रेट ट्रेन रबरी’ नै विश्वको पहिलो चलचित्र मानिन्छ । यो मौन तर क्रियाशील चलचित्र हो । यसपछि सन् १९१२ मा अमेरिकामा मार्क सिनेटले किस्टोन स्टुडियो स्थापना गरेर विभिन्न हास्यचलचित्रहरू निर्माण गरे । विश्वप्रसिद्ध हास्य कलाकार चार्ली च्यापलिन यही स्टुडियोका उत्पादन हुन् । यसरी १९२० भन्दा अगाडि विश्वचलचित्रका क्षेत्रमा अमेरिका, इटाली, फ्रान्स, जर्मनी आदि मुलुकहरूमा प्रवर्तन र विकासका प्रशस्त प्रयासहरू भए । त्यसपछिको एक शतकको अवधिमा भने चलचित्रको विकासमा आशातीत सफलता हासिल भएको देखिन्छ ।

यसरी विश्वचलचित्रको इतिहासमा बाह्र दशकको सङ्घर्षपूर्ण यात्रा देखापर्दछ भने नेपाली चलचित्रले पनि सात दशकको यात्रा गरिसकेको देखिन्छ । वि.सं. २००७ मा कोलकातामा निर्माण भएको ‘सत्यहरिश्चन्द्र’लाई नेपाली चलचित्रको पहिलो नमुना मान्ने गरिन्छ तर यो भारतीय भूमिमा निर्माण भएको हुनाले २०२१ सालमा निर्मित ‘आमा’लाई नेपाली भूमिमा सिर्जना भएको पहिलो चलचित्र मानिन्छ । तत्कालीन राजा महेन्द्रको पहलमा बनेको यस चलचित्रको पहिलो प्रदर्शन २०२२ असोज १५ गते काठमाडौँमा भएको थियो । यसपछि क्रमशः बनेका ‘माइतीघर’ (२०२३), ‘हिजो, आज, भोलि’ (२०२४) र ‘परिवर्तन’ (२०२७) जस्ता चलचित्रहरूले नेपाली चलचित्रको प्रारम्भिक चरणमा निकै ठुलो भूमिका खेलेको देखिन्छ । यसरी ‘सत्यहरिश्चन्द्र’देखि आजसम्मको नेपाली चलचित्रको सात दशकको अवधिमा यसले युगान्तकारी फड्को मारेको देखिन्छ । प्रविधिको द्रुततर विकास र मानवीय चेतनाको अकल्पनीय उन्नति नै यसको कारण हो भन्न सकिन्छ ।

प्रस्तुत सन्दर्भहरूबाट विश्वमा छायाङ्कन प्रविधिको आविष्कार र विकास, विश्वचलचित्रको प्रवर्तन र विकास तथा नेपाली चलचित्रको प्रवर्तन र विकासको सङ्क्षिप्त रेखाङ्कन गरिए पनि यस लेखको मूलभूत अभीष्ट चलचित्रको ऐतिहासिक सर्वेक्षण गर्ने नभएर चलचित्रको कथा, पटकथा, संवाद आदिको लेखन कार्य कसरी हुने गर्दछ भन्ने बारेमा सैद्धान्तिक एवम् व्यावहारिक जानकारी प्रस्तुत गर्ने रहेको छ ।

३. चलचित्र हुनका लागि के के चाहिन्छ ?
चलचित्रका सिद्धान्त लेखक अविनाश श्रेष्ठले साहित्यको नाटक विधाको संवाद, अभिनेता र द्वन्द्व, उपन्यासको कथानक तथा परिवेश वर्णन, कविता र गीतको प्राञ्जलता र लय, सङ्गीतको गति र छन्द, पेन्टिङ वा चित्रकलामा निहित प्रकाश–छायाको व्यञ्जना अनि रङहरूको आरोह–अवरोह आदि सबै वस्तुहरूलाई चलचित्रले आफूभित्र समेटेको हुन्छ भन्ने विचार व्यक्त गरेबाट चलचित्रमा सिर्जनाको कुनै एउटा विधाको मात्र नभएर धेरै विधाहरूको खिचडी स्वाद पाइन्छ भन्ने कुरा थाहा हुन्छ । एउटा पूर्ण चलचित्र हुनका लागि कथालेखनले मात्र हुँदैन । त्यसका लागि गायन र नर्तन, हास र परिहास तथा द्वन्द्व र संवाद जस्ता स्थानीय तत्त्वहरू र अभिनेता र कलाकार, शृङ्गार र परिधान, दृश्ययोजना, विचार, प्रकाश, ध्वनि र आर्थिक व्यवस्था जस्ता विश्वजनीन तत्त्वहरू सबैको संयोजन आवश्यक हुने गर्दछ । यसका साथै आलेख, अभिनय, क्यामेरा, निर्देशन आदि जस्ता थप तत्त्वहरूले पनि चलचित्रलाई सबल बनाउनका लागि विशेष भूमिका खेलेका हुन्छन् । यी सबै कुराको प्रारम्भिक आधारका रूपमा मूल कथा लेखन, पटकथा लेखन, संवाद निर्माण, परिवेश छनोट, गीत लेखन र सङ्गीत सिर्जनालाई लिने गरिन्छ । यी कामहरूमा मूल भूमिका लेखकको र सहयोगी भूमिका निर्माता र निर्देशकको हुने गर्दछ । हुनत, चलचित्र निर्माण गर्ने योजनाविना स्वतन्त्र रूपमा लेखिएका कृतिहरूबाट विशिष्ट चलचित्रहरू बनेका साक्ष्यहरू पनि हाम्रा सामु पाइन्छन् तापनि सुरुमा नै उल्लिखित क्षेत्रका बारेमा स्पष्ट खाका निर्माण गरी कार्यारम्भ भएमा चलचित्र सुन्दर र व्यवस्थित हुने देखिन्छ ।

दृश्याङ्कन वा छायाङ्कनसँग सम्बन्धित प्राविधिक पाटोलाई केही थाती राखेर सिर्जनात्मक सन्दर्भबाट मात्र हेर्ने हो भने चलचित्र निर्माणका लागि उल्लिखित छओटा कुराहरूमा सर्जकको विशेष भूमिका हुने गर्दछ । चलचित्र एकल सिर्जना नभएर समूह सिर्जना हो । त्यसैले कथा, पटकथा, संवाद, परिवेश, गीत र सङ्गीत यी छओटा कुराका सर्जकहरू अलग अलग पनि हुन सक्छन् र प्रतिभाशाली लेखक भएमा ती सबै कुरा एउटैका सिर्जना पनि हुन सक्छन् । चलचित्र निर्माण परम्परालाई हेर्दा प्रायः मूल कथा एकल वा समूह स्रष्टाको हुने गर्दछ र त्यसमा अरू कसैले पटकथा र संवाद भरेर अनुकूल परिवेश निर्माण गर्दछ अनि एक वा अनेक गीतकारहरूले भावअनुकूल, परिवेशअनुकूल र चरित्रअनुकूल गीत लेखनको काम गर्दछन् र एक वा अनेक सङ्गीतकारहरूले ती गीतमा सङ्गीत भर्ने काम गर्दछन् । यसरी सिर्जनात्मक कार्य सम्पन्न हुने गर्दछ । त्यसैले उल्लिखित छओटा चरणको सिर्जना कसरी गर्ने भन्नेबारेमा स्रष्टा स्पष्ट हुनु जरुरी छ ।

(क) मूल कथा लेखन
चलचित्रको मूल थिम, प्लट वा केन्द्रीय कथ्यमा आधारित भएर उनिएको मूल घटना नै चलचित्रको कथा हो । यसमा समाविष्ट कथा लेखन पनि चलचित्रको उद्देश्य र आयामअनुकूल हुने गर्दछ । आयामका दृष्टिले चलचित्रहरू मूलतः धारावाहिक फिल्म र फिचर फिल्म गरी दुई प्रकारका देखिन्छन् । यसले कथा लेखनमा पनि प्रभाव पार्दछ । यदि स्रष्टाले फिचर फिल्मको कथा लेख्न लागेका छ भने उसले विन्दुमा सिन्धु खिच्ने क्षमता राखेको हुनुपर्छ । यस विषयमा प्रा. राजेन्द्र सुवेदी भन्छन्, “फिचर फिल्मको कथाको गति तीव्र हुन्छ र चाँडै उत्कर्षतातर्फको यात्रा गर्दछ । यस्तो लेखक जीवनका विविध घटनाक्रमलाई कर्तन गरेर अनिवार्य र नभई नहुने सन्दर्भ मात्र कथाको परिधिमा चयन गरेर समायोजन गर्ने काम गरिरहेको हुन्छ । धारावाहिक शृङ्खलाको लेखनमा भने कथाको मूल सन्दर्भलाई पाश्र्वबाट प्रभावित तुल्याउने र कथाको सहायक उपसहायक सन्दर्भलाई समेत सूचित गर्ने कथाहरू पनि जोडिएका हुन्छन् । अझ फिचर फिल्मको कथाको गति सन्देशवाहक हुलाकीको हिँडाइको गतिमा विकसित बनेको हुन्छ भने धारावाहिक शृङ्खलाको कथाको गति अवकाशको समयमा यात्रामा निस्केको पर्यटकको हिँडाइ, रमिता हेराइ र पारख गराइ, सूचनाको ग्रहण गराइका शैलीमा विकसित बनेको हुन्छ ।” यस सान्दर्भिक साक्ष्यका आधारमा हेर्दा फिचर फिल्मको कथा लेखकले एउटै सन्दर्भबाट सिर्जनालाई पूर्णता दिनुपर्छ भने धारावाहिक शृङ्खलाको कथा लेखकले खण्ड खण्डमा, टुक्रा टुक्रामा विषयवस्तुलाई जोडेर एउटा सुन्दर अनि कलाकारितापूर्ण कोलाज निर्माण गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

आयामका दृष्टिले जस्तै विषयक्षेत्रका दृष्टिले पनि कथा लेखनमा फरकपन आउने गर्दछ । कस्तो प्रकृतिको चलचित्र निर्माण गर्ने हो त्यही प्रकृतिको कथा लेखन आवश्यक हुने हुनाले एउटै सूत्र, संरचना र फ्रेममा सबै खाले कथाहरू आबद्ध हुन सक्दैनन् । चलचित्रको कथा मनोरञ्जनात्मक, शैक्षिक चेतनामूलक, स्वास्थ्य चेतनामूलक, पारिवारिक सौहाद्र्रतामूलक, नवचेतनामूलक, पुस्तान्तर चेतनामूलक, नवआविष्कार चेतनामूलक, जागृत चेतनामूलक एवम् नीतिचेतनामूलक आदि विभिन्न प्रकृतिका हुन सक्छन् । जुन प्रकृतिको भए पनि कथा लेखनमा कथाका लागि आवश्यक घटना वा कथावस्तु, कथानक, चरित्र, परिवेश, उद्देश्य÷भाव÷विचार, दृष्टिविन्दु, भाषाशैली जस्ता अनिवार्य तत्त्वहरूको संयोजन नभई हुँदैन, जुन कुराको विस्तृत चर्चा कथा लेखनका सन्दर्भमा भइसकेको छ ।

कथा लेखन निर्देशित र अनिर्देशित दुवै प्रकारको हुन्छ । निर्देशित कथा लेखनको थालनी नै चलचित्र निर्माण गर्ने उद्देश्यले गरिएको हुन्छ भने अनिर्देशित कथा लेखनका स्रष्टालाई यस कथाबाट भविष्यमा चलचित्र निर्माण हुने छ भन्ने कुरा पनि थाहा हुँदैन । विश्वसाहित्यमा प्रसिद्ध महाकाव्य, नाटक र उपन्यासहरूबाट पनि विशिष्ट चलचित्रहरू निर्माण भएका छन् । यस प्रकारका कथाहरूमा चाहिँ पटकथाकारको विशेष भूमिका रहने गर्दछ ।

(ख) पटकथा लेखन
मूल कथालाई चलचित्रको फ्रेममा ढाल्नका लागि पटकथा लेखन अनिवार्य मानिन्छ । मूल कथाको आरेख निर्माण गरी त्यसमा खिचिएको कथासारका आधारमा अगाडि बढ्ने काम पटकथा लेखनमा हुने गर्दछ । चलचित्रका भाषामा कथासारलाई ‘आउट लाइन अफ स्टोरी’ भनिन्छ । यसको आशय मूल थिमको अभिरेखाङ्कन हो । यस सन्दर्भमा ‘आउट लाइन अफ स्टोरी’, ‘ट्रिटमेन्ट नोट’, ‘वान लाइनर स्टोरी’ जस्ता प्राविधिक शब्दहरूको प्रयोग हुने गर्दछ । यिनले पाठ्यकथालाई दृश्यकथामा रूपान्तरण गर्ने परिवेश निर्माण गर्दछन् । यीमध्येमा ‘आउट लाइन अफ स्टोरी’ले मूलकथाबाट दृश्यसामग्री मात्र खिचेर कथासार तयार गर्दछ, ‘ट्रिटमेन्ट नोट’मा मूल समस्याको पहिचान गरी समाधानको उपाय खोजिन्छ भने ‘वान लाइनर स्टोरी’मा ‘ट्रिटमेन्ट नोट’का आधारमा पटकथाको शृङ्खला निर्धारण गरिन्छ । यी तीन कुराको समुचित विन्यास भएमा सुन्दर पटकथा निर्माण हुन्छ ।

चलचित्रमा पुग्दा मूलकथामा वर्णित परिवेश शब्दमा नभएर दृश्यमा रूपान्तरण हुन्छ भने चरित्रचित्रण वा चरित्रको प्रवृत्ति विश्लेषण पात्रको भूमिकाका आधारमा दर्शकले आफैँ गर्ने गर्दछन् । त्यसैले पटकथा लेखकले मूल कथामा भएका देखाउन मिल्ने सामग्री जतिलाई क्यामेरातिर पठाइदिएर घटनाको रैखिक ढाँचा मात्र बाहिर निकाल्ने काम गरेको हुन्छ । यस कारण चलचित्रका दृष्टिले मात्र हेर्ने हो भने चाहिँ मूल कथा लेखकभन्दा पटकथा लेखक शक्तिशाली लाग्ने गर्दछ ।

(ग) संवाद निर्माण
मूल कथामा वर्णनात्मक पाटो बढी छ भने त्यहाँ संवाद कम हुने गर्दछ । यसका साथै कथावस्तुलाई कथाकारले नै प्रस्तुत गरेको छ र विषयवस्तुको सपाट वर्णन गरेको छ भने त्यसलाई दर्शकसम्म पु¥याउनका लागि संवादात्मक स्वरूप प्रदान गर्नुपर्छ । पाठ्यकथामा त पाठकले पढेर कसको भनाइ हो र त्यस भनाइको आशय के हो भन्ने कुरा पत्ता लगाउँछ तर चलचित्रमा सबै कुराको जानकारी दृश्य र संवादबाट दिनुपर्ने हुन्छ । यसकारण मूल कथाबाट सार झिकेर पटकथा निर्माण गरिसकेपछि त्यसलाई सम्प्रेषणीय बनाउनका लागि संवाद निर्माण आवश्यक हुन्छ । संवाद निर्माण पटकथा लेखकले नै पनि गर्न सक्छ र स्वतन्त्र अर्को व्यक्तिले पनि गर्न सक्छ । चलचित्रमा छायाङ्कनबाट देखिने कुरादेखि बाहेक अन्य सबै कुरा संवादका माध्यमबाट प्रस्तुत गरिन्छ । यसको संवाद एउटाले बोलेकोबोलेकै र अर्काले सुनेकोसुनेकै गर्नेखालको लामो हुनु हुँदैन । संवाद छोटो, सूत्रात्मक, सूचनामूलक, प्रभावकारी, तार्किक र उत्तेजक हुनुपर्दछ । हरेक सन्दर्भमा उत्तेजना र प्रतिक्रियाको निरन्तरता भयो भने त्यो संवाद सबैभन्दा शक्तिशाली मानिन्छ र त्यसले दर्शकलाई जुरुक जुरुक उठाउने काम गर्दछ । त्यसैले संवाद निर्माण चलचित्रका लागि एउटा विशिष्ट कला मान्ने गरिन्छ ।

(घ) परिवेश छनोट
परिवेश छनोट चलचित्रका लागि अर्को महत्त्वपूर्ण चरण हो । कथामा दिइएको परिवेश कहिलेकाहीँ दृश्याङ्कन गर्दा नमिल्न पनि सक्छ । चलचित्रमा परिवेशको उद्घाटन शब्दबाट नभएर दृश्यबाट गरिने हुनाले कथावस्तुको विकासमा यसको निर्णायक भूमिका मान्ने गरिन्छ । परिवेशअन्तर्गत स्थान, समय र वातावरण पर्दछन् । यसमा पर्ने स्थानको छनोटले चलचित्रलाई निकै ठुलो प्रभाव पार्दछ । कहाँ सुटिङ भएको हो भन्ने कुराले विशेष अर्थ राख्ने हुनाले स्थानको छनोटमा बढी सचेतता अपनाउनु जरुरी छ । समय यसको अर्को पाटो हो । कुन कालखण्डको, बिहान, दिउँसो वा बेलुका कुन समयको परिवेश हो भन्ने कुराले कथावस्तुलाई, अभिनयलाई र दर्शक मनोविज्ञानलाई समेत प्रभाव पार्ने हुनाले समयको व्यवस्थापनको विशेष भूमिका हुने गर्दछ । यसका साथै चलचित्रमा प्रयुक्त वातावरणको छनोट पनि यसको विशिष्ट पाटो मानिन्छ । स्थान र काल सुहाउँदो वातावरणको छनोट हुन सकेन भने कथावस्तुमाथिको विश्वसनीयता हराएर जाने सम्भावना हुन्छ । आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित चलचित्र बनाउँदा बिजुलीको पोल देखियो भन्ने कुराले निकै चर्चा पाएको सन्दर्भ स्मरणीय छ । त्यसैले परिवेश छनोट मूल कथा लेखकले भन्दा पनि पटकथा लेखक, संवाद निर्माता वा निर्देशकले गर्नु राम्रो मानिन्छ ।

(ङ) गीत लेखन
गीत चलचित्रका लागि अर्को सौन्दर्यको पाटो हो । गीतिले चलचित्रलाई अत्यन्त मार्मिक, संवेदनशील र मनोरञ्जक बनाउँछ । चलचित्रमा प्रयोग हुने गीत कथावस्तुकै एउटा अङ्ग बनेर आउने गर्दछ त्यसैले कथावस्तुसँग कुनै सन्दर्भ नमिल्ने गीत चलचित्रका लागि सौन्दर्यवर्धक नभएर सौन्दर्यनाशकचाहिँ हुने गर्दछ । कतिपय सन्दर्भमा त गीतले नै चलचित्रको वर्षौंको कथा भन्नुपर्ने पनि हुन सक्छ भने कतैचाहिँ जीवनकथामा महत्त्वपूर्ण मोड दिनुपर्ने पनि हुन सक्छ । चलचित्रको गीत कथाले मागेअनुसारको विषयवस्तुलाई समेटेर गीतकारले नै लेख्नु राम्रो मानिन्छ । कथाकार, पटकथाकार र गीतकारको संवेदनात्मक अवस्था पनि फरक हुने र तिनमा भिन्नाभिन्नै प्रकारको सिप र क्षमता हुने हुनाले कथाकारले नै गीत लेख्दा त्यसमा अपेक्षित संवेदनशीलता नआन सक्छ । आजभोलि लगानी बचाउने नाममा कतिपय चलचित्रहरूमा कथा लेखन, पटककथा लेखन, गीत लेखन, सङ्गीत सिर्जना, निर्देशन, अभिनय आदि सबै आफैँले गर्ने प्रवृत्ति बढेको देखिन्छ । त्यस प्रकारका चलचित्रहरू रहरका मात्र हुन सक्छन्, तिनले युगीन महत्त्व राख्न सक्दैनन् ।

चलचित्रमा गीतको निकै ठुलो भूमिका हुने गर्दछ । कतिपय चलचित्रहरू त एउटा गीतका कारण पनि चर्चित बन्ने गरेका देखिन्छन् । त्यसैले पनि चलचित्रको गीत लेखन स्वतन्त्र लेखनभन्दा जटिल मानिन्छ । त्यसमा कथावस्तुअनुकूल भाव पनि समेटिनुपर्छ र कथातन्तुहरूलाई जोडेर स्वाभाविक गतिशीलता प्रदान गर्नुपर्ने पनि हुन्छ । यो पूर्णतः निर्देशित लेखन हुन्छ । गीतमा उच्च कवित्व, संवेगात्मक अवस्थाको चूडान्त प्रयोग र लयसौन्दर्यको सर्वोच्च पालना हुनुपर्ने हुनाले जोकोहीबाट यसको रचना सम्भव छैन । कथाको परिवेशलाई राम्ररी बुझेको गीतिकारले सम्बन्धित कथा र चरित्रमा आफैँलाई अन्तर्निहित गरेपछि लेखेको गीत मात्र कालजयी हुने गर्दछ ।

(च) सङ्गीत सिर्जना
गीतको रचना भइसकेपछि त्यसलाई सुन्दर र मनमोहक सङ्गीतको आवश्यकता पर्दछ । शब्दमा धुन प्रदान गर्नु नै सङ्गीत सिर्जना हो । यसमा लय, ताल र बाजाको संयोजन हुने गर्दछ । सङ्गीत प्रभावकारी भयो भने सामान्य शब्दले पनि जीवन पाउँछ तर सङ्गीत फितलो भयो भने शक्तिशाली शब्दको पनि प्राणहरण हुन्छ । त्यसैले भावअनुकूल गीतमा भावअनुकूल सङ्गीत प्रदान गर्न सकियो र त्यसलाई प्रतिभासम्पन्न गायकले गायो भने त्यस गीत र सङ्गीतले चलचित्रलाई नै माथि उठाइदिने गर्दछ । त्यसैले सङ्गीत सिर्जना पनि एउटा विशिष्ट कला नै हो ।

यसरी सङ्गीत सिर्जनापछि चलचित्रका लागि आवश्यक सिर्जनात्मक कार्य सम्पन्न भएको मानिन्छ । यतिसम्ममा यी सबै कुरा पाठ्यसामग्री वा श्रव्यसामग्रीका रूपमा रहेका हुन्छन् । यसपछि यिनलाई दृश्य रूप प्रदान गर्नका लागि प्राविधिक कामहरू सुरु हुन्छन् । प्राविधिक कार्यका लागि एउटा सफल निर्देशकको आवश्यकता पर्दछ । निर्देशकमा सिर्जनात्मक ज्ञान र प्राविधिक ज्ञान दुवै हुनु अनिवार्य छ । निर्देशकलाई समूहज्ञानको सङ्गमविन्दु मान्ने गरिन्छ । एउटा कुशल निर्देशकमा सिर्जनात्मक प्रतिभा, कल्पनाशक्ति, अभिव्यक्ति कुशलता, व्यावहारिक ज्ञान, कामप्रतिको प्रतिबद्धता र अथक लगाव जस्ता कुराहरू अनिवार्य मानिन्छन् । उल्लिखित विशेषता भएको निर्देशक भयो भने छायाङ्कनकै क्रममा पनि कतिपय सिर्जनात्मक पक्षहरू थपोट हुन सक्छन् तर निर्देशनलाई लेखनभन्दा फरक कला मान्ने गरिन्छ ।

४. चलचित्र लेखन र निर्माणका लागि आवश्यक चरणहरू
(क) सिर्जनात्मक चरण/चलचित्र लेखन

चरण १: मूल कथा लेखन (स्वतन्त्र वा निर्देशित)
चरण २: पटकथा लेखन (‘आउट लाइन अफ स्टोरी’, ‘ट्रिटमेन्ट नोट’ र ‘वान लाइनर स्टोरी’ तीनै कुराको समुचित संयोजन)
चरण ३: संवाद निर्माण (कथाको आशय, पात्रको चरित्र र परिवेशको उद्घाटन हुन सक्ने खालको)
चरण ४: परिवेश छनोट (कथाले मागेअनुसारको स्थान, समय र वातावरण मिल्ने खालको) ।
चरण ५: गीत लेखन (घटनाको पूरक बन्न सक्ने, सान्दर्भिक र सौन्दर्यवर्धक)
चरण ६: सङ्गीत सिर्जना (लिखित गीतलाई विशिष्ट सङ्गीतकारबाट सङ्गीत निर्माण)

(ख) प्राविधिक चरण/चलचित्र निर्माण
चरण ७: निर्देशक छनोट (समूहज्ञान भएको मूल निर्देशक, सिपयुक्त द्वन्द्वनिर्देशक र नृत्यनिर्देशकको चयन)
चरण ८: निर्माताको खोजी र आर्थिक व्यवस्थापन (चलचित्र निर्माताको खोजी गरी त्यस निर्माण कार्यका लागि आवश्यक अनुमानित लागतको व्यवस्था)
चरण ९: प्रविधिको व्यवस्थापन (छायाङ्कनका लागि आवश्यक क्यामेरालगायतका सम्पूर्ण सामग्रीहरूको व्यवस्था)
चरण १०: कलाकार चयन (कथाले माग गरेअनुसारका विभिन्न प्रकारका चरित्र अभिनेताहरूको चयन)
चरण ११: पूर्वअभ्यास (चलचित्रको गुणात्मकता र समयको बचतका लागि पनि छायाङ्कनमा जानुभन्दा अगाडि नै आवश्यक पूर्वअभ्यास)
चरण १२: संवाद स्वराङ्कन (चलचित्रमा प्रस्तुत गरिने सबै संवादहरूको रेकर्डिङ)
चरण १३: शुभमुहूर्तमा छायाङ्कनको शुभारम्भ (उपयुक्त समय चयन गरी सुटिङको थालनी)
चरण १४: मूल कथामा आधारित छायाङ्कन (आवश्यकताअनुसार मूल कथामा आधारित घटनाहरूको टुक्रा टुक्रामा छायाङ्कन)
चरण १५: द्वन्द्वनिर्माण (कथाले मागेअनुसार आवश्यक स्थानमा द्वन्द्वको संयोजन गर्ने गरी छायाङ्कन)
चरण १६: गीत गायन र रेकर्डिङ (सङ्गीतबद्ध गीतलाई स्वरसम्पन्न गायकहरूबाट गायन)
चरण १७: गीत सम्पादन (गीतलाई पूर्णता दिनका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्यको सम्पन्नता)
चरण १८: नृत्य छायाङ्कन (गीतअनुसारको नृत्य वा अभिनयको छायाङ्कन)
चरण १९: सम्पादन/संयोजन (टुक्रा टुक्रा रूपमा छायाङ्कन गरिएका सम्पूर्ण खण्डलाई एकै ठाउँमा संयोजन गरेर त्यसलाई आवश्यक प्रविधिको प्रयोगसहित सम्पादन)
चरण २०: प्राविधिक परीक्षण (सिङ्गो स्वरूप प्राप्त चलचित्रलाई विभिन्न कोणबाट आद्योपान्त परीक्षण)
चरण २१: कानुनी परीक्षण (निर्माण सम्पन्न चलचित्रलाई देशको संविधान, ऐनकानुन आदि कुरासँग बाझिने पक्षहरूबाट मुक्त गर्नका लागि कानुनविद्बाट कानुनी परीक्षण र सेन्सर बोर्डबाट चेकजाँच गराई प्रदर्शन गर्ने योग्यता प्राप्ति)
चरण २२: प्रदर्शन प्रारम्भ (उपयुक्त दिन छनोट गरी चलचित्र प्रदर्शनको थालनी)

५. निष्कर्ष
चलचित्र लेखन सिर्जनात्मक कार्य हो भने चलचित्र निर्माण प्राविधिक कार्य हो । स्रष्टाको काम सिर्जनासँग सम्बन्धित हुनाले एउटा स्रष्टाको दक्षता मूल कथा लेखनमा देखिने गर्दछ । त्यसपछि पटकथा लेखकको क्षमता परीक्षण हुने गर्दछ अनि क्रमशः संवाद निर्माण, परिवेश छनोट र गीत लेखन तथा सङ्गीत सिर्जनाको काम आउने गर्दछ । यतिलाई चलचित्रको सिर्जनात्मक कार्य भनिन्छ । यसपछि चलचित्रलाई कुन स्तरको बनाउने भन्ने कुराको जिम्मा निर्माता र निर्देशकका हातमा हुने गर्दछ । निर्माताको लगानी र निर्देशकको प्रतिभा र क्षमताका आधारमा चलचित्रको स्वरूप निर्माण हुने हुनाले यसका ऋणात्मक र धनात्मक दुवै पक्षको मूल्याङ्कनमा सिर्जना, लगानी, प्रविधि र कलाकारिताको विशेष भूमिका हुने गर्दछ ।

क्रमशः अर्को हप्ता…